मेरो त्यो पुरानो चप्पल
कतै झारिएका पुराना पातजस्तै
धुलोमा ढाकिएर, माटोमा मिसिएर
कति पटक ज्यान बचाउन खोज्यो
तर आफैँ छिन्नभिन्न भइदिन थाल्यो।
कति गोरेटो पार गरियो
कति मोडहरूमा फन्को लगाइयो
दाउराको भारी बोक्दै, घाम- पानी सहँदै
मेरो साथी बन्यो
दुई खुट्टाको दुखाइ बिसाउने आस बन्यो।
प्वाल परेका तल्ला, फुटेका छालाहरू
सपनाको यात्रामा धेरै पटक उड्न खोज्यो
तर कहिल्यै उफ्रन सकेन
भुइँमा नै घस्रिएर
माटोसँगै झुमियो।
बजारमा नयाँ चप्पल हेरेँ
झिलिमिली, चम्किला, फेसनमा राम्रा
तर त्यहाँ त्यो आत्मीयता थिएन
त्यो पुरानो चप्पलले दिएको
सुख दुःखको सम्झना थिएन।
सपना बोक्ने साथीहरू थिए
तर जीवनको कथा सम्झाउने
मेरो पुरानो चप्पल थियो
कहिलेकाहीँ सोचिरहन्छु
नयाँले साथ दिन्छ तर
पुरानाको जति माया गर्न सक्दैन।
यो पुरानो चप्पल
कहिलेकाहीँ जीवनकै प्रतिबिम्ब
हामीले त देखेका केही हुन्नौ
तर उसले त सबै बुझेको छ
साथमा हिँड्दा उसले बुझायो
कि जीवन
जसरी उसले पनि आफ्नो
चोट सहेर अघि बढ्नुपर्छ
त्यसरी नै
हामीले पनि सहनुपर्छ।