ए, तिमीले हिमाल चढ्यौ
अनि तिमी हिमाल चढेको मान्छेले देखे
तर तिम्रा खुट्टामा हिउँले खाएर बनाएका
घाउ कसैले देखेनन्
तिमीलाई कष्ट भयो हिमाल चढ्दा
त्यो कसैले बुझेनन्
अनि तिमी कसलाई सोधेर
त्यस्तो अप्ठ्यारो पहाड उक्लेको नि?
तिमी हिमाल चाहिँ कसका लागि
चढ्न गएको नि?
तिमीलाई हिमाल चढ्न कसले
बाध्य बनायो नि?
आफ्नो आफ्नो भारी बोकेर
जीवनको अनन्त यात्रामा निस्किएका
ती अनजान मान्छेहरूले?
तिमीलाई थाहा छ
गुलाफको फूलले आफ्ना शरीरका काँडाको डर लाग्यो भनेर
कहिल्यै रोइलो गरेको छ?
जीवन र जगतलाई नै चिस्याइदिने
हिउँदका कठ्याङ्ग्रिने दिनहरूलाई छिचोलेर
हरियाली ल्याइदिने वसन्त ऋतुले कहिल्यै
आफ्नो कष्टको रुन्चे गीत गाएको छ
प्रत्येक वर्ष तिम्रो जीवनमा वसन्त ल्याइदिन
प्रकृतिले कति रूप फेर्नु पर्छ
कस्तो परिवर्तन बेहोर्नु पर्छ
तिमीले चाहिँ कति पटक हिसाब गरेका छौ नि?
कि तिमीलाई आफूले
आफ्ना लागि आफू खुसी
गरेको दुःखको मात्र हिसाब गर्न आउँछ?
छोडिदेऊ तिमी हिसाब गर्न
कसले देख्यो कसले देखेन
बन्द गर तिम्रा आग्रही आँखा
आफूलाई विश्वास गर
अनि सत्कर्मको मार्गमा अघि बढ
त्यागिदेऊ तीव्र प्रतिक्रिया वादलाई
बाँकी सबै कुराको फैसला
समयको इजलासले गर्नेछ।