कविता
मेरो थोत्रो चस्मा,
समयलाई फरक दृष्टिले देख्छ
जुनलाई घाम देख्छ घामलाई जुन
मेरो चस्मा आफ्नै समयलाई झुक्काइ रहन्छ।।
मेरो थोत्रो चस्मा,
सम्बन्धहरूलाई गन्धको दृष्टिले हेर्छ
यात्राहरूमा सम्बन्धको अपब्याख्या गरिदिन्छ
मेरै चस्मा मलाई सम्बन्धहरूमा झुक्काइ रहन्छ
मेरो थोत्रो चस्मा,
कहिले दृष्टान्त युद्धमा अनेकौं प्रश्न खोज्छ
कहिले निश्चल शान्तिमा आफै प्रश्न बन्छ
मेरो चस्मा आफैलाई प्रस्नोत्तरमा खोजिरहन्छ।।
मेरो थोत्रो चस्मा,
अहिलेको समयसँग युगको प्रश्न सोध्छ
समयसँगै बदलिएको प्रवृत्तिहरू संग्रह गर्छ
गोलमटोल जीवनका अध्यायहरूसँग घरीघरी
मेरो चस्मा आफैलाई जीवन शैली खोजिरहन्छ।
मेरो थोत्रो चस्मा,
मानिसहरूसँग मानवियताको सुगन्ध खोज्छ
अठस मठस हुने गरी मानिसहरू गन्हाइसक्दा
मानिस हुनुको औचित्यभित्र सुँगा रटाइ देख्छ
मेरो चस्मा आफैलाई यसैमा जीवन खोजिरहन्छ
मेरो थोत्रो चस्मा,
घरी घरी इतिहासमा जीवन रिती खोज्छ
विगतका जीवन परिवर्तनको आधार खोज्छ
यथार्थ छोडिदिन्छ कल्पनामा घुमाइरहन्छ
मेरो चस्मा आफैलाई समयसँगै दुखाइरहन्छ।।