मंसिरको महिना थियो। चारैतिर बिहेको चहलपहल देखिन्थ्यो। मेरो छिमेकीकी छोरीको पनि लगन जुरेछ क्यारे,महिनौंदेखि सबैजना लागिपरेका थिए। ऊ मभन्दा उमेरमा अलि कान्छी नै थिई।कहिलेकाहीँ घरमा भन्थेँ पनि 'सिम्रनलाई अन्माउन कति हतार गरेका है मामु।'
'तँ जस्तै हुन्छन् त सबै?'
मामुको जबाफले मुखमा भोटे ताल्चा लाग्थ्यो र फेरि बहस गर्ने हिम्मत नै जुट्दैनथ्यो।
वार्डमा दिदीहरूलाई पनि कहिले स्टाफको त कहिले कसैको बिहे खान भ्याइनभ्याई थियो। आफूलाई भने कागलाई बेल पाक्यो हर्ष न विस्मात् भनेझैं काम र घर बाहेक अन्त ध्यान नै जाँदैनथ्यो।यसरी नै चल्दै थियो जिन्दगी।
घरमा सिम्रनको बिहेको निम्तो पनि आइसकेछ। मलाई पनि मामुले ड्युटी मिला है आमा छोरी जानुपर्छ भनी पहिल्यै भनिसक्स्याथ्यो। मामुको मन राख्नलाई मात्रै भए पनि हवस् त भनेँ तर जान मन भने फिटिक्कै थिएन।
बिहेमा पाल्नुहुने आन्टीका रङ्गीविरङ्गी प्रश्नहरू जस्तैः बिहे कहिले गर्छ्यौ?,आजसम्म किन नगरेकी?,ब्वाइफ्रेन्ड छ र?,फलानो केटा छ है के छ तिम्रो विचार?,आदि -इत्यादिसँग सधैं अनभिज्ञ नै हुन्छु जस्तो लाग्थ्यो। दु:ख त तब लाग्थ्यो जब मसँग कुनै एक प्रश्नको पनि जबाफ हुँदैनथ्यो। ट्वा परेर सुन्ने र एकैछिनमा भुल्ने बाहेक अर्को विकल्प थिएन।
मामुलाई खुसी पार्नलाई मात्रै भए पनि अघिल्लो दिन ड्युटी मिलाएँ। तर रातिदेखि नै ज्वरो आएको नाटक पारेर बिहेमा भने गइनँ। मलाई त हाइसुख्खै भयो कसैका प्रश्नहरूसँग जुध्न परेन। तर मामु भने भरे घरमा आएर बिहेको रट लाउन लाइस्यो। अप्रत्यक्ष रूपमा मामुसँग मेरो बारेमा चासो राखेर सताएछन् क्यारे। सकेजति मामुलाई सम्झाउन कोसिस गरेँ।
'मामु, यो समाजले तोकिदिएकै उमेर, नियममा बाँधिएर बिहे गर्नुपर्छ जस्तो मलाई लाग्दैन। म आफूलाई परिपक्व छु,अब त बिहे गर्नुपर्छ है जस्तो लाग्दैन तबसम्म बिहे गर्दिनँ। नआत्तिस्यो न बिहे हुने त हो नि एकदिन' भनेर सान्त्वना दिएँ। मामु एकछिनलाई मात्रै भएनि शान्त भैस्यो।
काम र घर बाहेकको मेरो अर्को दु:ख,सुख बिसाउने ठाँउ पनि थियो-सेन्ट्रल लाइब्रेरी।
म अक्सर समय मिलाएर भए पनि जाने गर्थें। लेखकका शब्दसँग डुब्नु मेरो लागि स्वर्ग यहीँ हो लाग्थ्यो। काल्पनिक र वास्तविक घटनासँग पानीमा चिनी घुलिएझैं म पनि शब्दमै घुलिदिन्थेँ। भावुक हुँदै कहिले रोइदिन्थेँ त कहिले हाँसी पनि दिन्थेँ। पात्रहरूमै पनि कसैको जिन्दगी आहा लाग्थ्यो त कसैको जिन्दगी कठै लाग्थ्यो।
सिम्रनको बिहे भएको करिब महिना दिनपछि आन्टी छोरीको न्यास्रो लाग्यो भन्दै मलाई नै भेट्न आउनु भएको रहेछ।
मामु घरमा नभएकोले मैले नै चिया बनाएर दिएँ। आन्टीलाई भने मेरो उमेर र बिहे बाहेक अरू कुनै कुरामा पनि मसँग सम्बन्ध हुँदैनथ्यो। चिया सकिँदै लाग्दा'रइ पइ कुरा उइ' भनेझैं आन्टी बिहेको प्लान के छ भनी सोध्नथाल्नु भयो।
छोरीको न्यास्रोको निउँमा बिहेको कुरा पो गर्न आएको भनेर रिस पनि उठ्यो। तर मलिन हुँदै बिहेलाई अहिले नै कुनै प्लान नभएको कुरा प्रष्ट्याइदिएँ। भेटघाट हुन पाएकोमा खुसी प्रकट गर्दै आन्टी निस्किनुभयो।
जसोतसो मंसिरलाई बिदा गरिसकेकी थिएँ। पुसको महिना त लगन नपर्ने हुँदा ढुक्क थिएँ। चिसो उत्पात नै भैसकेको थियो। उता साथीहरूले भने केही दिनको लागि कुमाइ ट्रेक जाने कुरा चलाइरहेका थिए। घरमा कुरा राखेँ। मामुले पनि जान त फ्रेस भएर आइजा भन्स्यो। हस्पिटलमा एक हप्ताको लागि बिदा मिलाइदिन आग्रह गरेँ। मङ्गलबार डे अफ थियो। आमाछोरी भएर सपिङ गर्न गयौं। प्याकिङ गर्नमा मामुले सघाइस्यो। भोलिपल्ट बिहानै गाडी घरमै लिन आयो। सल्लाह अनुरूप हामी साथीहरू मात्रै जाने कुरा थियो। तर उनीहरू भने पार्टनरसहित आएका रहेछन्। झुट बोलेकोमा रिस उठ्यो तर करिनाले 'भैहाल्यो सरी नरिसा न अब' भनेपछि चाहिँ शान्त भएँ।
हुस्सुले केही पनि देखिँदैनथ्यो। करिना, सुयोगा, रमिता, दुर्गा र म अनि, रमित, सुयोग, दिपेश र बासुदेब यात्राका सहयात्री भयौं। बासुदेब चाहिँ सुयोगको मामाको छोरा रहेछन्। घरमा एक्लै हुने भएकाले सँगै लिएर आएको रे।
म प्रकृतिप्रेमी, यात्रा औधी मनपर्छ। त्यसैमाथि झ्यालबाट बाहिर हेर्न पाउनु त सुनमा सुगन्ध जस्तै लाग्छ। त्यसैले मैले झ्याल छेउकै सिट पहिल्यै भनिसकेकी थिएँ। सबै जना जोडी भएर बसेँ तर आफू भने पहिलो सिटमा एक्लै। कतिबेलै त 'हलुवामा बालुवा हुन आइएछ' लागिरहन्थ्यो। उनीहरूको जोडी रमाएको देख्दा कोही त चाहिँदो रहेछ भन्ने नलागेको चाहिँ हैन। पुग्दा त झमक्कै रात नै परिसकेको थियो।
बस्ने खानेको व्यवस्था पहिले नै गरिसकेकाले हामीलाई त्यति गाह्रो भने भएन। राति सबैलाई थकाइ लागेको र भोलिपल्ट बिहानै निस्कन पर्ने भएकाले बेलुका खाना खाइवरि लगत्तै सुत्यौं।
भोलिपल्ट बिहानै ब्युँझेर फ्रेस भएर सबैलाई उठाएँ। चिया पनि उतै पिउने सोचेर निस्कियौं। ट्रेकिङको लागि कुमाइ अन्त्यन्तै योग्य ठाँउ रहेछ। त्यहाँको मनमोहक दृश्यले मन मोहित नै पार्यो। तेस्रो दिन पनि रमाएरै कट्यो। तर चिसो अन्त्यन्तै बढेको अनि बसाइ पनि टेण्टको भएकाले नै होला चौथों दिनदेखि भने मलाई रूघाखोकीले छोइहाल्यो। सिटामोल बोकेर लगेकी थिएँ। औषधिको केही चलेन। पाँचौं दिनको रातिदेखि भने ज्वरो बेस्सै बढेर आयो। नजिकै कुनै मेडिकल पनि थिएन। अबेरसम्मै बसेर साथीहरूले कोल्ड कम्प्रेस गरेँ। टाउको दुख्न कम भएसी उनीहरूलाई सुत्न पठाइदिएँ। तर बासुदेब भने जान मानेनन्। मेरो टेण्टको छेउमै टेण्ट गाडेर सुते। बिहान चार बजेतिर फेरि ज्वरो बढेपछि भने पानीपट्टि लगाइदिएरै बसे। छैंठो दिन पनि मलाई निको हुने कुनै लक्षण नदेखेपछि भने सबै जनाले घर फर्किनु पर्ने बताए। फर्किंदा पनि गाडीमा बासुदेब मेरो छेउकै सिटमा बसे। जसले गर्दा मलाई धेरै नै सहज भयो। मलाई घर पुर्याइदिएर मात्रै उनीहरू आफ्नो घरतिर लागे। ट्रेक रमाइलो रह्यो तर ज्वरोको कारण एकदिन अघि नै निस्किन परेकोले मलाई भने खल्लो महसुस भैरहेको थियो। २-३ दिन सम्म पनि थकान नहटेकाले काममा फेरि बिदा थपिदिन हुन इन्चार्ज दिदीसँग आग्रह गरेँ।
आइतबारदेखि त ड्युटी जानु नै पर्छ भन्ने अठोट गरेकी थिएँ। यो १० दिनमा सबै लथालिङ्ग भएझैं पनि लागिरहेको थियो। मर्निङ ड्युटी गएकाले दिउँसोमा लाइब्रेरी पनि पसेर आएँ। धेरै दिनपछि मन आनन्दित थियो। बेलुका घर आइपुग्दा मोबाइलमा नयाँ नम्बरदेखि फोन आएको रहेछ। साथीहरूले स्वास्थ अवस्था बुझ्न फोन गरेकी सोचेर फर्काइहालेँ। फोन एक घण्टीमै उठ्यो।
'हेलो'।
'हाई, म बासुदेब। कस्तो छ हजुरलाई दिपिका जी?'
'ए ए,हजुर ठिक छ मलाई। काममा पनि जान थालिसकेँ अब त।'
'हो र?, ल बधाई छ। अनि फेरि बिरामी पर्न जाने हैन त कुमाइ?' हाँस्दै उनले भने।
'जाम्ला नि त्यति केयर गर्ने मान्छे भए त चिन्तै हुँदैन,' मैले नि जिस्क्याइदिएँ।
'हो नि है। हवस् दिपिका जी आफ्नो ख्याल राख्नुस्। हजुरसँग कुरा गर्न पाउँदा खुसी लाग्यो। फेरि पनि स्वास्थ्य लाभको कामना है।'
'हवस्, थ्यान्क्यु सो मच।'
फोन कट्यो।
बिरामी परेकाले आएदेखि फोटो समेत हेर्न भ्याइनँ। मोबाइल खोल्नै लाग्दा मामुले बोलाइसेको सुनेर भान्सा पसेँ। म कुमाइ गएको बेला छिमेकी आन्टी घरमा बिहेको कुरा लिएर आएको मामुले बताइस्यो।
'हेर् नानी, जहिले गरेनि बिहे गर्नैपर्छ। तँ सँगैका सबै साथीले घरजम गरिसके। कसैको इङ्गेजमेन्ट भैसक्यो। सबैजना आत्तिसक्नु भयो। केटा असल छन् रे। अस्ट्रेलियामै पढाइ सकाएका, अहिले १० वर्षपछि बिहे गर्न भनेरै नेपाल आएका रहेछन्। तँभन्दा त्यै उमेरमा ८-९ वर्षले मात्रै धेरै होलान्। बिहेको लागि नर्स नै खोजिरहेकोले हाम्लाई कुरा राख्न आएका। भन् है के गर्छिस्।' मामुले आफ्नो सबै कुरा खुलस्त पार्दिस्यो।
'मलाई अहिले नै बिहे गर्न मन छैन मामु। त्यसैमाथि अन्जान पुरूषसँग म कसरी जान सक्छु। धन सम्पत्ति मात्रै सबै थोक हैन नि। ऊ १० वर्ष बाहिर बसेको रहेछ। २/४ दिनमै कसरी बानी व्यवहार बुझ्न सकिन्छ र मामु?'
'हैन नि नानी, परिवार राम्रा छन् रे। त्यसैमाथि सिम्रनका मावली खलक रहेछन्। चिनेको परिवारमा सम्बन्ध जोड्न पाउनु त राम्रो हो नि। तेरो बाबालाई सोधेको, छोरीलाई सोध उसको निर्णय नै मेरो निर्णय भन्स्यो। भन त अब म के गरूँ?' दु:ख बिसाएझैं कुरा राख्स्यो।
'बिहे उसको परिवारसँग गर्ने हो र मामु? उसलाई नर्स नै चाहिएको रे। अनि के उसले मेरो प्रोफेसनसँग बिहे गर्न लाको हो र? गर्दिनँ है म, हजुर कर नगर्स्यो। त्यसैमाथि मलाई विदेश जानु नै छैन। नेपालमै केही गरिरहेको केटासँगै बिहे गर्छु। पिआरवालासँग त मरेनि बिहे गर्दिनँ, है मामु।' मैले नि निर्धक्कका साथ भनिदिएँ।
'हेर, काँचो माटोझैं दिमाग यसको। तँ सुखी हुन्छिस्। तेरो खुसी नै हाम्रो खुसी त हो नि।'
'अँ, मलाई सम्पत्तिसँग तौलेर पठाइस्यो अनि म खुसी हुन्छु नि? गर्दिनँ म बिहे सिहे।'
रिस देखाउँदै जुरूक्क उठेर कोठातिर लागेँ। १० बजिसक्दा पनि फिटिक्कै निन्द्रा लागेन। छोरीको उमेर बढेसँगै बा-आमालाई पनि चिन्ता हुन्छ भन्छन्। मैले गर्दा उहाँहरूलाई कतै प्रेसर परिरहेको त छैन? अब मैले नि केही सोच्नैपर्छ भनिरहँदा कुमाइ यात्रा पनि कुमाइ यात्राका पल सम्झनामा आउन थाले। सबैका जोडी सम्झिँदा मलाई पनि बासुदेबको यादले सतायो। म बिरामी हुँदाको उनको केयरिङ नेचर मन परेको थियो। दुई-चार दिनदेखि दिमागमा त्यही कुरा मात्रै खेलिरहेको थियो। तर घरमा पनि सँगै बिहेको कुरा चलेको हुँदा केही सोच्न भने सकिनँ। फोन खोलेँ। उनको र मेरो एउटा फोटो रहेछ। फोनको वालपेपरमा राखेँ। खै किन हेरिरहन मन लाग्यो। आफैदेखि लाज पनि लागेर आयो। सँगैको फोटो प्राइभेट एल्बममा पासवर्डसहित राखेँ। आजसम्म प्रेममा नपरेकी म, बिहे भने प्रेम नै गर्छु भन्ने अठोटमा थिएँ।
एकपटक फेरि ऊसँग भेटेर कुरा गर्न मन लाग्यो। कतै उनको अरू कोही पो छ कि? भन्ने सोचेर मनमा थोरै भय उत्पन्न भयो।
'आ-जे होस्,एकपटक फोन गर्छु,' नै भन्ने सोचेर मोबाइल खोलेँ। ला, एक पो बजिसकेछ। हैन, भोलि कामबाट फर्किंदा नै फोन गर्नुपर्छ भनी मोबाइल बन्द गरेँ र भोलिको कल्पना गर्दै निदाउन कोल्टे फेरेँ।