वर्षायाममा उर्लिएको खहरे खोलाजस्तै बहुतै बेचैन भएको थियो मेरो मन। त्यही बेचैन मनलाई शान्त बनाउन छाता ओढेर बाग्मती किनारमा पुगेँ। साँझ साँझ पर्न लागेको थियो, पारि-पारि प्रष्ट देखिने दृश्यहरू बिस्तारै धुमिल हुन लागेको थियो।
बिस्तारै अन्धकार छाउँदै थियो। भ्यागुता कराएको आवाज भने स्पष्ट सुनिन्थ्यो। साइडसाइडमा कतिपय तन्नेरीहरू मायाप्रितीका गफ गरिरहेका थिए भने कतिपय हात समातेर हिडिँरहेका थिए। कोही म जस्तै बेचैन हुनेहरू परपरसम्म बसेर खोलाको रौद्र रूप हेरिरहेका थिए।
यी सबै दृश्यले मलाई मेरो बाल्यकाल, यौवन अवस्था र उमेर ढल्किँदै जाँदाको भोगाइ सम्झाइरहेका थिए।
साइड-साइडबाट गाडी, बाइकले लगाएको हर्नले भने म झस्किरहेको हुन्थेँ। खोला हेरिरहेको मेरो मन एक्कासि अशान्त हुन्थ्यो। खोलाको रौद्र रूप हेरेपछि थप बेचैन भयो मन। उता समाचारमा मानिसहरूलाई बाढीले बगाएको, गाडी पुरिएको र घर बगेका दृश्यले मन यसै पनि अशान्त बनिरहेकै थियो। एकछिन खोला हेरिरहेँ।
उर्लंदो खोला हेर्दा जवानीको खुब याद आयो। त्यो जोश, त्यो जाँगर, त्यो आँट अनि ती संकल्प। अहिले बगेर गएको खोलाजस्तै भए ती समय कहिल्यै नफर्किने, कहिल्यै नआउने अनि कहिल्यै नदोहोरिने।
ती समयमा मेरो कपाल फुल्छ, दाह्री फुल्छ र रिटायर्ड लाइफ यसरी बिताउँछु होला पनि कहिल्यै लागेन। जागिर खाँदासम्म समय बितेको पत्तै भएन, कहिले यता, कहिले उता। सबैको सम्मान, जिम्मेवारी र दायित्वले आजको समयबारे सोच्ने फुर्सद नै मिलेन। अहिले तिनै विगत सोचेर बस्ने भन्दा अरू काम छैन।
अहिले मसँग जतिबेलै समय छ, तर ती मान्छे छैनन्, त्यो क्षण छैन। यतिसम्म कि जीवनभरि साथ दिन्छु भनेर आएकी श्रीमती समेतबीच बाटोमा एक्लै छोडेर बाटो लागिन्। अझै पनि आफूलाई बुढो भए काम गर्न सक्दिनँ भन्ने भान त भएको छैन। तर, जागिरबाट पेन्सन भइसकेपछि कतै काम गर्न जाने कुरा पनि त भएन नि!
दिनभरि विगत सम्झ्यो, रातभरि गर्न सकेका नसकेका काम सम्झ्यो, अनि बिहान यसो पार्कतिर टहलाउन पुग्यो, खोई यी दिनचर्या मलाई मन नै परेको छैन किन हो किन!
घरमा छोराबुहारी नातिनातिना नभएका पनि त होइनन्, सबका आफ्नै काम छन्। आफ्नै काममा व्यस्त हुन्छन् अनि मैले सुनाउन चाहेको कहानी उनीहरूलाई सुन्न मन पनि त नहोला। यहीँ सोच्दै अहिलेका दिनहरू काटिरहेको छु। अनि मलाई केही समयअघि अमेरिकन लेखक तथा पत्रकार मिच एल्बमले लेखेको ट्युज्डे विथ मोरी भन्ने किताबको याद आयो। जहाँ एक जना बुढा प्रोफेसर जीवनको उत्तराद्र्धमा थिए, उनी रोगले थलिएका थिए। आफ्नो काम आफै गर्न नसक्ने भइसकेका थिए। अनि उनको अनुभवलाई सम्हालेर एक जना पूर्वविद्यार्थीले एउटा पुस्तक लेख्छन्। जुन उनको जीवनभरिको अनुभव थियो, गर्न सकेको, गर्न नसकेको, विवाह, जीवन, मृत्यु, पैसा र पश्चातापका बारेमा समेटिएको थियो।
कतिपय गर्न नसकेका कामलाई लिएर उनले पश्चाताप गरेका छन्। रिस, आवेग र विवेक गुमाएर लिएका निर्णयप्रति उनको पश्चाताप छ। अनि म पनि धेरै कुरा सम्झिएर आत्तिएको छु, पटकपटक रोएको छु। फेरि मैले त्यो पुस्तक दोहोर्याएर पढ्न थालेको छु।
हरेक सम्बन्ध होस् वा समय साथमा हुँदासम्म महत्व हुँदैन अनि जब तिनीहरू बितिसक्छन् अनि बल्ल त्यसको महत्व थाहा हुन्छ। मानिसले ती चिजको महत्व थाहा हुँदा निकै ढिला भइसकेको हुन्छ अनि पछुताउनु बाहेक के नै विकल्प रहन्छ र? म पनि त अहिले त्यस्तै पश्चातापभरी जिन्दगी बिताउँदैछु।
जागिर छँदासम्म मलाई यहीँ लागेको थियो म धेरै पावरफूल हुँ। सबैको अगाडि ठूलो बन्नुपर्छ, ममा केही छ, केही हुँ। तर अहिले रिटार्यड जिन्दगी बिताउँदै गर्दा महसुस हुन्छ, म भ्रममा रहेछु। आखिर ती सबै कुरा क्षणिक रहेछन्, नाशवान् रहेछन्, हामीलाई थाहा पाउन मात्रै समय लागेको रहेछ। बितेका ३० वर्षलाई सम्झेर खुसी र दुखी एकैपटक हुन्छु।
अचेल यसो सम्झन्छु त्यतिबेला मेरो पावर वा काम देखेर आउनेहरू अचेल कहिले पनि सम्झिँदैनन्, हालखबर सोध्दैनन्। कसैका लागि ज्यानै दिएर पनि काम गरेको थिएँ। ती पनि अचेल बोल्दैनन्। त्यहीँ भएर एक्लै बसेर सोचिरहन्छु, जीवनमा आफूले कुनै गलत कार्य गर्दा पनि आएर मैले यो गल्ती गरेँ भन्न सक्ने मान्छे भेट्नु सानो कुरा होइन नि। अनि महाअपराध नै गरे पनि कुखुराले बच्चा छोपेजसरी छोपिदिने मानिस पाउनु जस्तो ठूलो कुरा के हुन्छ! सबैसँग न खुलेर हाँस्न सकिन्छ न त रूनै। मन भारी भएको बेला पीडा बिसाउने र खुसीले गद्गद् भएका कुरा निर्धक्क भएर सुनाउन सक्ने मान्छे भेट भएपछि जीवनमा हरेक कुरा गर्ने आत्मबल मिल्ने रहेछ। तर, बुढेसकाल लागेसँगै यी कुरा सुनाउने मानिसको अभाव हुने रहेछ।
अनि कहिलेकाहीँ मन्दिर जान्छु बिहानभर आफूजस्तै भेटिएका मानिसहरूसँग कुरा गर्छु उनीहरूका अनुभव सुन्छु। हरेकको जीवनको कहानी र भोगाइ दु:खद् नै छ तर विषय मात्रै फरक रहेछ। हरेकलाई आफ्नो बितेको दशकौं लामो जिन्दगीप्रति कहीँ न कहीँ वितृष्णा रहेछ। कमी महसुस भइरहेको रहेछ। अनि म पनि घण्टौं लगाएर आफ्नो कहानी सुनाउँछु। गरेका गर्न नसकेका, पश्चाताप लागेका अनेक कहानी सुनाउँछु अनि उनीहरू चाख दिएर सुनिदिन्छन् मेरा कुरा। त्यसमै म बहुतै खुसी हुन्छु। अनि लाग्छ, कोही त मेरो कुरा सुनिदिने, मलाई बुझिदिने मानिस भेटियो।
अनि मैले यसो सोचेँ मानिस मन खुसी हुने ठाउँमा त बस्ने होला। तर, घरमा मेरा मन न खुसी छ न शान्त छ। छोराबुहारीले खान लगाउन दिएकै छन् भनेर मात्रै पनि त नहुने रैछ। मेरा कुरा सुन्ने, मैले सोचेँ अनुसार व्यवहार गर्ने र उनीहरूसँग मेरो सोच त मिल्दैन। अनि अर्को कुरा उनीहरूसँग समय पनि छैन। छोराबुहारी दिनभरि काममा जान्छन्, आउँदा थाकेका हुन्छन्, खाएर सुत्नकै हतारो हुन्छ सधै|। उनीहरूको दिनचर्या बेग्लै छ अनि मेरा भावना बेग्लै छन्। म उनीहरूलाई मेरा कुरा सुनिदेऊ भनेर जिद्दी पनि त गर्न सक्दिनँ।
मेरो सोच मिल्ने उस्तै उमेरका वृद्धवृद्धा बस्ने ठाउँ बाहेक मलाई कतै चयन मिल्छ जस्तो लागेन। जहाँ एकअर्काको कुरा घण्टौँसम्म सुनेर मनन गर्न सकियोस्। गर्न सकेका र गर्न नसकेका कुरा सुनाउँदा खुसी मिलोस्। जोसँग मेरा कुरा साइडमा बसेर सुनिदिने घण्टौँको समय होस्। यी बाँकी रिटायर्ड लाइफमा मेरो यति चाहना थियो। सायद श्रीमती हुन्थिन् भने यो पूरा पनि हुन्थ्यो होला। पूरै जीवन सँगै बाँच्ने संकल्प गरेकी उनी आधा बाटोमै सदाका लागि अलग भइन्। अनि त्यसपछि म पूरै एक्लो भएँ। अनि एक्लोपनले मलाई पीडा दिन थाल्यो। कति बस्ने यहीँ घरको एउटा कोठामा अपराधी जेलमा बसेको जस्तो लाग्न थाल्यो।
अनि एउटा झिसमिसे उज्यालोमा घर छोड्ने निर्णय गरेँ। छोराबुहारी कसैलाई भनिनँ। एउटा कालो ब्यागमा मेरा केही थान लुगा राखेँ, केही पैसा राखेँ, औषधी राखेँ अनि बुढीसँगको एउटा फोटो पनि राखे अनि घरबाट निस्किएँ। म निस्किँदा घरमा बाँधेको कुकुर बेस्सरी घुकिरहेको थियो। मानौँ उसले नजानु यतै बस्नु न भनेजस्तो लाग्नेगरी। अनि मन गह्रुंगो पारेर भर्याङ्गका सिँढीबाट झरेँ। गेटबाट निस्किएपछि घरलाई हेरेर एकैछिन आँसु झारेँ अनि कालो ब्याग काँधमा भिरेर म वृद्धाश्रमतिर पुगेँ। जहाँ अब मेरो जिन्दगीको रिटार्यड लाइफ खुसीखुसी बिताउन चाहन्छु।