जन्मभर जीवनसँगै जिउने कसम खाएका थियौं सरिता र मैले। प्रमाणपत्र तह पढ्दै बिहे गरौं भनेर ढिपी कसिन् तर मैले मानिनँ। जागिर खाएपछि मात्र बिहे गर्ने मेरो निर्णय बल्लतल्ल स्वीकार गरिन् सरिताले।
जीवनभर एक हुने कसम दुई वर्षमै धर्मरायो! टाल्न कोसिस गरेँ। दुईमध्ये एक विकल्प छनोट गर्नुपर्ने बाध्यता आइलाग्यो मलाई।
सरिता छान्ने कि देशमा बस्ने? सरिता बिदेश जाऊ भन्ने म नमान्ने। एकले अर्कालाई मनाउन सकेनौं। सम्बन्धमा त्यहीबाट दरार आयो। अन्ततोगत्वा सम्बन्धमा बिराम लाग्यो। उनी टाढिइन्। म हारेँ।
सरकारी जागिरलाई सर्बेसर्वा मान्ने मेरो परिवारले विदेशलाई त्यसबेला चुथ्थो ठान्यो। विदेश जाने अनुमति दिँदै दिएन। गइनँ म विदेश। सरिताको मायाले भन्दा देशले तान्यो। परिवारको इच्छाले रोक्यो। मैले परिवारको आदेशलाई नाघ्न सक्दै सकिनँ।
पचासको दशकमा माओवादीको स-शस्त्र द्वन्द्व बढेपछि सरकारले युवालाई विदेश पठाउने नीति लियो।
विदेश जान प्रोत्साहित गर्यो। तत्कालीन सरकारको बुझाइमा युवाहरू माओवादीमा लागे। उनीहरूलाई देश बाहिर पठाउन सकियो भने माओवादीको विस्तार र फैलावट कम हुन्छ भन्ने ठम्याइ सरकारको रह्यो। सोही कारण लाखौं युवा श्रमिक विदेश पुगे।
विद्यार्थीहरू र अन्य पेशाका मानिसहरू विदेश जाने प्रचलन बल्ल सुरू भएको थियो।
अहिले जस्तो व्यापकता थिएन। केही नेपालीहरू अमेरिका, युरोप र अष्ट्रेलियातिर जाँदै थिए। तिनै हुलमा मिसिइन् होला सायद सरिता! अहिले जस्तो जान गाह्रो थिएन। सहजै जान पाइन्थ्यो। सरिताले यही विवाह गरिन् वा उतै गएर विवाह गरिन् भेउ पाइनँ मैले।
मन थिएन मलाई र पनि सरितासँगको सम्बन्धमा बिराम लाग्यो। सम्बन्धको दु:खद् अवसान भयो। सामाजिक संजालमा समेत भेट्न सकिएन। कुराकानी हुने सम्भावना झनै भएन। खासमा उनले चाहिनन्। साँच्चिकै रिसाइन्। उनले भनेको मानिनँ रे! विदेश गइनँ रे म!
प्रमाणपत्र तहको अध्ययन सक्ने बित्तिकै नेपाल सरकारको सुब्बा भएँ म। सरितासँगको सम्बन्ध टुङ्गिएपछि चिनजानकै केटीसँग मागी विवाह भयो। यद्यपि सरिता मनमा घुसेकी थिइन्। सरितालाई बिर्सन पनि बिहे गर्नुपर्ने भयो। गरेँ। मुटुमाथि ढुङ्गा राखी सम्हालेँ मनलाई।
हाम्रा वर्तमान प्रधानमन्त्री केपी ओलीले भनेझैँ 'बीस वर्षमै बिहे गर्नू' भन्ने कुरा हुबहु कार्यान्वयन त भएन तर त्यसैको सेरोफेरोमा बिहे भयो त्यसबेला। बिहेकै अर्को वर्ष अधिकृत भएँ। छोरा पनि जन्मियो। भाग्य लेखेको हुन्छ वा देखेर हुन्छ वा भाग्य परिवर्तन गर्न सकिन्छ भन्ने कुरा अझै भ्रममा छु। तै पनि पनि भाग्यमानी सम्झिएँ आफुलाई।
आज आज भोलि भोलि गर्दै दिन बिते। छोराले १२ कक्षा पास गरेपछि विदेश जाने रूचि देखायो। रोक्न सकिएन। विदेश जाने-नजाने असमझदारी हुँदा आफ्नो प्रेम सम्बन्ध टुटेको झलझली याद आयो। छोरो विदेश पुग्यो। छोराले पढाइसँगै काम पनि अगाडि बढायो। पैसा राम्रै कमायो। उसको पैसा आश गरेनौं। उसको स्नातक दीक्षान्तमा म पनि विदेश पुगेँ। त्यहाँको राज्य व्यवस्थापन र सुशासन देखेर लोभिएँ। शासन ब्यवस्था भनेको त त्यस्तो पो हो!
तर मेरो देशमा राज्य ब्यवस्था नै फेल छ। कुशासनले जरो गाडेको छ। देशमा लोकतन्त्र होइन दलतन्त्र छ। युवाहरूमा गहिरो निराशा छ। देशमा भविष्य देखेका छैनन्। शासन ब्यवस्थाबाट वाक्क छन् जनता। सक्ने जति देश छोड्न चाहान्छन्। देश छोड्नुलाई जित ठानिरहेका छन्। मेरो छोरो पनि आम युवाको प्रतिनिधि थियो। अन्ततः उसले पनि देश छोड्यो।
एउटा निमुखो कर्मचारीले के परिवर्तन गर्न सक्थे र यहाँ ? कल्पना गरेँ र आफै निराश भएँ।
केही महिनाको विदेश बसाइपछि फेरि नेपाल फर्किएँ। उता छोरोले घर किन्यो। उतै सेटल भयो। उतैको स्थायी बासिन्दा बन्यो। देश नफर्कने कुरा गर्यो। यस्तै बिडम्बनामा छ देश। युवा बेचेर रमाउँदै छ नेपाल। देश हाँक्ने नेतृत्वमा चेत कहिले आउने हो? भन्न सकिन्न।
बेला बेलामा छोरालाई बिहेको बारेमा जिस्क्याउँथ्यौं। तैंले सकिनस् भने हामी खोज्छौं। तैंले खोजिस् भने पनि बुहारीसँग नेपाली भाषामा कुरा गर्न पाउनु पर्छ। या त उनले नेपाली सिकेको हुनुपर्छ या त नेपाली नै हुनुपर्छ। यो मेरो पूर्व सर्त थियो। सर्त सुनेर छोरो हाँस्यो। कुनै जबाफ दिएन।
केही महिनापछि एकाबिहानै सरप्राइज दियो उसले हामीलाई। एउटा फोटो पठायो। कस्तो लाग्छ फोटो? सोध्यो। अनुहार र बानी व्यवहार सबै राम्रो भएको केटी बिहे गरोस्! त्यो हाम्रो प्रार्थना थियो। फोटोलाई धेरै पटक हेर्यौं। त्यसलाई धुलाएर हार्ड कपी नै बनाएँ। अनुहार र रूपरंग मिलेकै जस्तो लाग्यो। तँलाई मनपर्छ भने स्वीकार छ भन्यौं। खुसी भयो ऊ। बानी ब्यवहार थाहा हुने कुरा भएन।यसो हेर्दा नेपाली मूलकै केटी हो भन्ने अनुमान लगायौं।
फोटो पठाउनु अघि नै उनीहरूले अदालतमा कोर्ट म्यारिज गरिसकेका रहेछन्। हामीलाई मात्र होइन, केटीका परिवारलाई पनि थाहा नदिएका रे! बाबा ममीको मन राख्न मात्र सोधेको रहेछ छोराले। सम्धिनीसँग कुरा गर्दा मात्र थाहा पाएँ त्यो कुरा पछि।
बिहे सामान्य रूपमा नेपाली परम्परा अनुसार दुबै पक्षका सीमित चिनजानका मानिस उपस्थित भएर गर्ने कुरा बतायो। कार्ड नछाप्ने र अनावश्यक तडकभडक नगर्ने भन्यो। तेरो विचार जस्तो छ, त्यसै अनुसार गरौं। उसको कुरामा सहमति जनायौं। सबै कुरा ओके भयो।
नेपाली न पर्यौं। केटीको नाम के हो? अष्ट्रेलियाकै हुन् वा अरू देश कि हुन्? अनेक प्रश्न सोध्यौं।
तपाईंहरूले खोजे जस्तै छ। युविका हो उसको नाम। नेपाली नै बुहारी पाउनु भयो। बधाई छ तपाईंहरूलाई भन्यो। अरू कुरा गर्न चाहेन। हामीले पनि थप सोधेनौं। मेरो माग पूरा भयो। जाति- भाषा, रूप-रङ, संस्कार सबै मिलेकोमा दङ्ग थिएँ म।
दुबै एउटै कलेज पढेका रहेछन्। दुबै जागिरे। बिहेका लागि हामी पुग्यौं अष्ट्रेलिया। एउटा छोरो त्यसमाथि आफूले खोजे जस्तै बुहारी पाएकोमा खुसीको सिमाना थिएन। विवाहको ५ दिन अगाडि त्यहाँ पुग्यौं। सामाजिक संजाल र फोनबाट आफन्तलाई निम्ता भयो। नेपालको जस्तो धेरै कुरा जोरजाम गरेनौं त्यहाँ।
छोरो दुलाहाको रूपमा सजियो। थोरै जन्तीसहित बिहे मण्डप पुग्यौं। केही आफन्तहरू आफ्नै तरिकाले विवाहस्थल पुगे। छोरोसँगै हामी बुढाबुढी एउटै कारमा बस्यौं।
जब कार विवाह मण्डपमा पुग्यो। अचम्मै भयो! अनौठो दृष्य देखेँ मैले। २५ वर्ष अगाडि मलाई छोडेर हिँडेकी सरिताको उपस्थिति थियो त्यहाँ! दुलहीसँगै थिइन् उनी। तिर्मिराएँ म! यो के भएको क्या? सम्धिनी परिछन् पूर्वप्रेमिका! अनायास प्रश्नमाथि प्रश्न थोपरिए। के गरौं र कसो गरौं भयो। दुनियाँको आठौ आश्चर्य लाग्यो मलाई।
बिहे स्थलमा हामीलाई दुलही तर्फबाट उनका बाबा र ममीले स्वागत गरे। मलाई सपना हो कि विपना हो? भ्रम भयो। एकै पटक अनेक मनोदशाबाट ग्रसित भएँ। विवाहमा ब्राह्मणले आफ्नो कर्म गर्दै थिए। मैले सरिताको अनुहार राम्रोसँग हेर्न सकिनँ। सरिताजी के सोच्दै हुनु होला? अनुमान मात्र लगाएँ। छोराको बिहेभरी मैले क्याम्पस अध्ययन गर्दाका आफ्नै अतीत सम्झिएँ। उनले लेखेका प्रेम पत्र सम्झिएँ। विभिन्न पोजमा खिचेका फोटाहरू सम्झिएँ। जुन अझै सुरक्षित छन् मसँग। लुकाएर राख्न धौ परेको छ। त्यो रङ्गिन विगतलाई फिल्मझैं दिमागमा घुमाएँ मैले।
वास्तवमा सरिता र म बाहेक यो कुरा थाहा पाउने कोही छैन यहाँ। बोल्न मन पहिला सम्धिनीसँग थियो। तर विगतमै परिचित थिएँ भन्ने देखाउनु नि भा छैन। बोल्नु अगाडि एउटा प्रक्रिया त मिलाउनु पर्यो। पहिले सम्धीसँग कुराकानी गरेँ।
'नेपालमा हजुरको घर कहाँ पर्छ? नेपाल नगएको कति वर्ष भयो?' आदि आदि...। बल्ल सरिता( सम्धिनी) सँग कुरा गर्ने बाटो फुक्यो।
अपरिचित जस्तै कुरा सुरू गरेँ मैले।
'हजुरको फेसबुक आइडीमा नाम के छ' भनेर सोधेँ। किनकि मैले लाखौंपटक सामाजिक संजाल (फेसबुक र टिकटक) मा खोजेको थिएँ उनलाई। ज्यान जाला भेटिनँ। अलि अप्ठ्यारो मान्दै सरू खडका छ भन्नुभयो।
श्रीमानको थर जोडेर सरितालाई सरू बनाएपछि भेट्ने कुरै भएन। त्यसैले त नभेटेको रहेछु। आफैसँग मनोवाद गरेँ।
बिहे कार्यक्रम सकियो। खानपिन सकिएपछि सम्धी-सम्धिना भेट्ने प्रचलन त्यहाँ पनि भयो। औपचारिक रूपमा चिना परिचय गर्यौं। मन भने उकुसमुकुस थियो। सम्धिले नेपालमा जस्तै 'पाले पुण्य मारे पाप' भनेर छोरी जिम्मा लाएका छौं' भन्नुभयो।
मैले पनि 'यिनी हाम्री छोरी हुन्। बुहारी होइनन्' भनेँ। 'यिनले पनि छोरीको जत्ति नै माया पाउँछिन्। तर दुर्भाग्य हाम्रा छोरी छैनन्। यिनै छोरी हुन अब।'
सम्धिनी र मेरो पूर्वपरिचय थियो भन्ने कुरा सुइँको पनि कसैले पाएन। श्रीमती, सम्धी, छोरा-बुहारीले थाहा पाउने कुरै भएन। भए पनि भन्नू कसरी? लाजको मर्नु!
संसार ठूलो छ भनेको होइन रहेछ। साँघुरो रहेछ। पच्चीस वर्ष अगाडिकी भूतपूर्व प्रेमिकालाई आज सम्धिनीको रूपमा भेट्न पाएँ। गजबको र अनौठो संयोग! कहिल्यै कल्पना गरेको थिइनँ। सरूलाई कस्तो लागि कुन्नी? म भने आश्चर्यमा परेँ।
(उल्लेखित नाम सबै काल्पनिक हुन्)