नेपालगञ्जको सहर मलाई सधैं प्रिय लाग्छ। यो ठाउँको विशेषता मात्र नभएर यहाँका मानिसहरू, यहाँका गल्लीहरू, मठमन्दिर, पार्क, सडक, तारे होटल, सिनेमाहल र यहाँका प्रसिद्ध क्याफे रेस्टुराँहरू पनि आकर्षक र मन छुने छन्।
म पहिलेदेखि नै ग्रामीण परिवेशमा हुर्किएको मान्छे। तर, नेपालगञ्जमा बसाइ सरेपछि म सहरको जीवनसँग पनि अभ्यस्त, सँगै परिचित हुन थालेको थिएँ।
एकदिन, म प्रायः जाने नेपालगञ्जको प्रसिद्ध क्याफे, 'चायघर' मा गएको थिएँ। त्यहाँ, एक अपरिचित युवतीसँग मेरो आँखा जुध्यो। ऊ कफी लिँदै, फोन हेर्दै मुस्कुराई रहेकी थिई।
म पनि एक्लै थिएँ, ऊ पनि एक्लै नै थिई। 'चाय घर' सुनसान थियो। संगीतको मीठो धुन फैलिरहेको थियो। एउटा चिटिक्क परेकी मान्छे पोछा लाउँदै थिई।
उसलाई बेवास्ता गर्दै कफीवालीतर्फ आकर्षित भएँ। के बोलेर सुरू गरौं? के सोच्ने हो बोल्दा मनमा निकै खुल्दुली भयो। जे पर्ला आँट गर्छु, रिसाए सरी भनूँला बरू। प्लान बनाएँ ऊसँग बोल्ने?
'हेलो हाई, तिमी पनि एक्लै छौ म नि एक्लै भएर बोल्न मन लाग्यो। तिम्रो नाउँ के हो?' मैले गाउँले पाराले उसलाई सोधेँ।
ऊ फिस्स हाँसी नाउँ भनेको सुनेर? मलाई झिस्काएझैं 'मेरो नाउँ सृष्टि हो। अनि तपाईंको नाउँ नि के होला?' हाँस्दै सोधी उसले।
'मेरो नाम प्रकाश।'
नाम सृष्टि थियो। पहिलो भेटमै केही अनौठो प्रकारको सम्बन्धको आभास भएको थियो। हामी दुबैमा एउटा सहजता थियो, ऊ पनि बोल्नमा खपिस् थिई। म पनि कुरा गर्न सिपालु नै छु लाग्छ! हामीले एकअर्कासँग केही अन्तरङ्गका कुरा गर्यौं।
'तिमी यहाँको स्थानीय/रैथाने हौ?' मैले सोधेँ।
'हो, म यहीँको स्थायी बासिन्दा हुँ। अनि तपाईं?'
'म गाउँबाट आएको हुँ। गाउँमै हुर्किएको, तर अब यस सहरको पनि बासिन्दा हुन थालेको छु।' मलिन स्वरमा जबाफ दिएँ।
ऊ फिस्स हाँसी। मेरो कुरा गर्ने स्टाइल देखेर। मेरो बोली र लवाइखुवाइमा कुनै सहरियापन थिएन। तर मनमनै सोचिरहेको थिएँ उसमा पनि त गाउँलेपन छैन। हामीबीच भिन्नता थियो। गाउँ र सहरको!
त्यसदिन हामीले धेरै कुरा गर्यौं। सृष्टिको सहरिया जीवनशैलीले मलाई भित्रबाट आकृष्ट गर्यो र म उसलाई मेरो गाउँले जीवनको बारेमा बताउँदा उसले पनि चासो देखाई। हामी त्यस दिनका लागि छुट्यौं। ऊ आफ्मो घर लागि म आफ्नो डेरा।
दिनैभरी खुल्दुलीले सतायो। भनेको बेला फेसबुक हेर्न डाटा हुँदैन थियो कि डेराको वाइफाई कि हाम्रो मो:मोको फ्री वाइफाईबाट काम चलाइन्थ्यो। साझ ८:०० बजे खाना खाएर बेडमा पल्टने तयारी गरेँ र उसको याद आयो।
औसत उचाइ, गोरी, कालो चस्मा र कर्ली कपाल। फेसबुकमा नाम सर्च गरेँ सृष्टि न्यौपाने। सर्च लिस्टको पहिलो नम्बरमा आई र प्रोफाइल क्लिक गरेँ। ऊ क्या राम्री देखिएकी थिई। बागेश्वरी मन्दिरको पृष्ठभूमिमा खिचेको फोटो थियो। हेर्दा प्रोफाइलको ड्रेसअप साँच्चै आकर्षक थियो। उसले चयन गरेका वस्त्रहरू धेरै सुन्दर थिए, खुब मन पर्यो उसको गेटअप।
उसलाई हेर्दै रिक्वेस्ट पठाउनै बिर्सेको रहेछु। हतारमा उसको प्रोफाइलको एड फ्रेन्ड बटनमा थिचेँ। र केही मिनेटमै उसले एसेप्ट गरेको नोटिफिकेसनले खुसी थपेको थियो। यो प्रतिक्षाको पनि समाप्ती भैसकेको थियो। हामी फेसबुकमार्फत् जोडिन थाल्यौं।
सामान्य चिनजानदेखि हामी एकअर्कासँग परिचित हुनमा फेसबुकका भावनात्मक च्याट र भिडियोकलले सहयोग गर्यो।
दैनिक भिडियो कल र च्याटभित्र हामीले आफ्नोपन, माया, प्रेम स्नेह भेट्न थालिसकेका थियौं। प्रेम त मनदेखि निस्किने कुरा रहेछ, एउटा कुनै अदृश्य भावना उजागर भएर आएको पत्तै भएन।
प्रेमको क्षेत्रफल र उचाइ बढ्दै थियो। यसले कस्तो आकार लिन्छ भन्ने हेर्न मैले उसलाई प्रेम प्रस्ताव राख्नुको विकल्प थिएन। प्रेम प्रस्ताव राख्न आफैमा कठिक कुरा रहेछ, अलि डर भने पक्कै लाग्दो रहेछ। मुख्य कुरा उसले मेरो प्रस्तावलाई कसरी लिन्छे होला भन्ने डर निश्चित थियो। तर आँट गरेँ जे पर्ला पर्ला भनेर।
शुक्रबार राति १० बजेर ४५ मिनेट जाँदै थियो घडीमा। उसलाई च्याटमार्फत् सोधेँ- भोलि के छ काम मर्निङमा?
उसले फुर्सदमा रहेको जानकारी दिई। मैले अप्ठ्यारो तरिकाले सोध्ने चेस्टा गरेँ। 'भोलि बागेश्वरी भेट्न आऊ है मिल्छ भने?' उसले हाँस्दै 'मिल्छ' भनी।
एकछिन त खुसीले सीमा नै नाघ्यो। ऊ आउने भई बागेश्वरी मन्दिर। पहिलो पटक बागेश्वरी मन्दिर जान मलाई डर लाग्यो। अलि नर्भस भएँ। बिहान एउटा अपरिचित नम्बरबाट कल आयो। मेरो निन्द्रा त्यो कलले खोलिदियो। मिठो आवाज थियो र सुरूमै उसले भनी 'म सृष्टि। भेट्न बोलाएर सुति बस्ने' ऊ रिसाई। म मजाले आँखा मिच्दै उठेँ। उसको नम्बर मैले माग्दा दिएकी थिइन उसले। मैले पठाएको थिए जबरजस्ती।
एक छिनमा आउँछु भन्दै म तयार हुन थालेँ। १- २ पटक उसले कल गरिसकेकी रहिछ। हतारिँदै कल फर्काएँ 'म आउँदै छु' भन्दै फोन राखिदिएँ।
बसपार्कबाट बागेश्वरी अटोवाला दाइलाई अलि फास्ट जाम है भनेँ । हुन्छ भन्दै हुँकियो अटो नेपालगन्जको पिच सडकमा तर इअटो भएकोले उफार्ने र थचार्ने काम जारी रह्यो।
बागेश्वरी गेटमा पुगेर फोन गरेँ 'कहाँ छौ तिमी?' 'गेटमै छु' उसले भनी। हेरे यता उता देखिनँ। अलि परबाट गेटमै आउँदै गरेको देखेँ। ऊ हाँसी 'कति छिटो मान्छे' भन्दै म लजाएँ।
म पहिलो पटक लजाएँ कसैसँग। उसमा कुनै डर भने थिएन। ऊ त वर्षौंदेखि चिनेजानेकोसँग जस्तो व्यवहार गरिरहेकी थिई। मन्दिर गयौं उसले पूजा गरी। मन्दिर ढोगी, मैले पनि उसले जस्तै गरेँ।
बागेश्वरीमा एउटा सेल्फी लियौं र निस्क्यौं बाहिर। नजिकैको रत्नामिस्ठान मिठाइ दुकानमा छिर्यौं लड्डु अर्डर गर्यौं एक एक वटा र उसको आँखामा हेर्दै मैले सोधेँ- के माग्यौ मन्दिरमा आएर, ऊ लजाई , मलाई सोधन के माग्नुभयो। उसले सोधी मैले तिमीलाई भन्दा ऊ लजाएकी थिई। अलि मलिन आखामा आँसु देखिएका थिए उसका। आँसु पुछिदिएँ। लड्डु ल्याउने दाइले जिस्काए। हामी दुबै जनाले उसको कुरा हाँसोमा उडाइदियौं।
मीठो भेटपछि ऊ पनि आफ्नो बाटो लागि, म पनि आफ्नो बाटो लागेँ। त्यो पटक धेरै मायाका प्रेमका कुराहरू हुन सकेनन्। बाटोभरि ऊ याद आइरही। उसको उपस्थितिले पनि खुसी थपेको थियो। कसैको आगमनले परिस्थिति पनि भिन्दै खालको बन्दो रहेछ महसुस गरेँ।
दिनैभरी हरायौं हामी आफ्नै दुनियाँमा। बेलुकापख खाना खाएँ। बेडको आडेस लिँदै। उसलाई मेसेज गरेँ। एउटा प्रेम पत्र जस्तै भावनाहरू छरपस्ट हुने गरी लेखेँ-
'प्रिय सृष्टि,
भावनाहरू शब्दमा व्यक्त गर्न निकै कठिन हुँदो रहेछ तै पनि मेरा मनका भावनाहरूले व्यक्त गर्ने अनुमति दिन्छौ भने केही लेख्ने चेस्टा गर्दैछु। हामी भेटेको धेरै दिन भएको छैन। यति दिनमै प्रेम हुन्छ भन्छौ भने तिमीप्रति जुन भावनाहरू छन् नि अन्याय हुन्छ। लाग्छ म तिमीलाई प्रेम गरिरहेको छु। प्रिय सृष्टि म तिमीलाई माया गर्छु। मेरो मनका भावनाहरूलाई न्याय दिनेछौ भन्ने आशा छ।
आई लभ यु सृष्टि।'
अब झन् डर लाग्यो। मलाई कस्तो खाल्को केटा हो भन्दै ब्लक पो गर्छ कि गलफ्रेन्ड नबनेकी भए पनि साथीको सम्बन्ध पनि गुमाउँछु कि डर लाग्यो। तर नतिजा जे म चाहन्थेँ त्यही भयो।
उसले म्यासेजलाई लभरियाक्ट गर्दै लभ यु टु मिस्टर प्रकाश भनी।
खुसीले सीमा नै नाघ्यो। लाग्यो फेरि हरेक कुराको सीमा हुन्छ, सीमा नाघेको राम्रो मानिँदैन। आफैलाई सम्झाएँ। धन्यवाद दिएँ। उसलाई प्रेम प्रस्ताव स्वीकार गरिदिएकोमा। आजबाट हामी साथीबाट प्रेमी प्रेमिका भयौं। संसार जिते जस्तो लाग्यो। मानौं कुनै युद्धमा प्रथम भएको जस्तो महसुस भयो। लाग्थ्यो ऊ सबैथोक हो। ऊ प्रतिकाका यी सकारात्मक, नि:स्वार्थ प्रबुलित हुँदै भुरेका भावना हुन्। अबेरसम्म उसको बारेमा सोच्दै निदाएको पत्तो नि भएन।
समय बित्दै गयो, र म सृष्टिको जीवनमा गहिरिएँ। हामीसँगै नेपालगञ्जका गल्लीहरूमा हिँड्थ्यौं, सृष्टिले मलाई सहरको हरेक कुनाहरू चिनाउँथी। म ऊसँग हुँदा सधैं नयाँ कुरा सिक्थेँ।
नेपालगन्जको मेरो बसाइ पनि छोटिँदै थियो। म काठमाडौं जाने तयारीमा पनि थिएँ। नेपालगन्ज पनि निकै प्यारो थियो, त्योभन्दा प्यारी थिई सृष्टि। ऊ साँच्चै प्यारी थिई। उसलाई छोडेर काठमाडौं जान पनि मन थिएन। तर बाध्यताले घेरेको जिन्दगीमा सोचेझैं नहुने रहेछ। जानपर्ने नै भयो काठमाडौं। लोक सेवा तयारी गर्न। उसले नजान आग्रह गर्दै थिई। हामी दुबै जनाको भविष्य उज्यालो हुने कुरा गरेपछि ऊ सहमत भएकी थिई। आँखाभरी आँसु लुकाउँदै मुस्कुराउने कोसिस गरेकी आज पनि ताजै लाग्छ।
काठमाडौं आएँ। नेपालगन्ज जस्तो उसलाई भेट्ने अवसर पनि कम हुँदै गए। लोक सेवाको पढाइ प्रेसर पनि निकै थियो। प्रेमलाई कम महत्त्व दिएझैं लाग्दै थियो। कुरा भएको बेला सबै कुरा भन्थेँ उसले बुझ्थी। हाम्रो भौगोलिक दुरी बढ्यो। भावनात्मक दुरी भने घटाइरहेँ।
उसको जीवनलाई सहज बनाउने कोसिस गर्दै काठमाडौंमा संघर्ष र प्रेमलाई सँगै लिने कोसिस जारी राखेँ।
एक दिन एउटा अपरिचित नामबाट फ्रेन्ड रिक्वेस्ट आयो। मैले इग्नोर गरेँ।
उसले नै म्यासेज गरी। 'मलाई चिन्नु भयो' भनेपछि। उसको प्रोफाइल लक थियो। रिक्वेस्ट एसेप्ट गरेँ। ऊ त सृष्टिको मिल्ने साथी। स्मृति काफ्ले थिई। ऊसँग नेपालगन्जको भेरी हस्पिटल नजिकैको पसलमा सँगै पानीपुरी चटपटे खाएको याद दिलाई। मैले पनि चिनिहालेँ।
'भन के कति कामले सम्झ्यौ।'
उसले हाँसेको इमोजी पठाई?
'किन हाँसेकी?'
उसले 'तपाईंको सोधाइको तरिका देखेर। मेरो काम हैन मिस्टर तपाईंको लागि जानकारीमूलक कुरा लिएर आएको छु।'
'के हो भन त छिटो, हतार छ। तिम्रो कुराले झन् हतार लाग्यो।'
'सृष्टिसँग कस्तो कुरा भैराको छ?' उसले प्रश्न गरी।
'निकै व्यस्त भएकोले कम कमै कुरा हुन्छ अचेल। ए ए । के भयो भन त?'
'सृष्टिको विवाहको कुरा आको छ रे।' उसले भन्दै सुनाएकी थिई मलाई 'तपाईं यो कुरामा जानकार हुनुहुन्छ कि नाइँ भनेर भनेको मैले सुनाइ भनेर नभन्नु ल पिलिज।'
'कुन ठाउँ बस्ने केटा रे भन त?'
अस्ट्रेलियाको मेलबर्न सिटीको ग्रीनकार्ड होल्डर हो भन्ने सुनेको। अरू त थाहा भएन। उसैसँग जान्छु भन्दै थिई। चाँडै बिहे नि हुँदैछ अरे। अहिले अलि हतारमा छु प्रकाश जी बाई,' भन्दै छुटिन् उनी पनि।
कथाले अर्कै मोड लियो। मनमा चिसो पस्यो। उसलाई मेसेज कल गर्नु कि नगर्नु अक्क न वक्क भएँ। उसलाई मैले गरेको प्रेमको अर्थ, मतलब के भयो र? आखिर प्रेम पाउनलाई पैसा कुनै विदेशको सहरमा बस्ने मान्छे भए पुग्दो रहेछ। झोंक चल्यो। रिस उठ्यो कल गरेर गाली गरौं लाग्यो तर मैले प्रेमको धर्म निभाउनै पर्छ लाग्यो। उसलाई कल नि गर्न मन लागेन।
उसैले कल गरी 'किन नबोल्नु भएको?'
म नि:शब्द भएँ। कोही कसैको हुन यति आतुर हुँदा पनि मसँग मायाको मजाक भैरहेको अनुभव भयो। ऊसँग कुनै विवाद तर्क गर्नै मन लागेन। निशब्दताले घेर्यो। आँखाभरी आँसु आए। डाँको छोडर रून मन लाग्यो? छिमेकीले सुने भने के भन्लान् भन्दै बाथरूममा पानी खुल्ला छोडर कराए मन भरुन्जेल। रूँदा मन हलुका हुँदो रहेछ। तितो अनुभव गरेँ। वर्षौं लामो साथ पनि सपना जस्तो लाग्यो। उसले बोलेका सबै कुरा झुटा प्रमाणित भए। ऊ मेरो प्रेमिकाबाट कसैको श्रीमती हुँदैछे। म पूर्वप्रेमीको स्थानमा सीमित भएँ। या उसको पूर्व प्रेमीको लामो लिस्टको पुछारमा अटाए होला। खिन्नताले सतायो। उसको साथीलाई वैवाहिक जीवनको शुभकामना भनी दिनु भन्दै फेसबुकको फराकिलो संसारबाट टाढिएँ।
उसलाई भेटेको सहर नेपालगन्ज पनि कुरूप लाग्यो। उसलाई भेट्ने गरेका ठाउँ जाँदा नराम्रो लाग्यो। उसलाई भुल्न निकै समय लाग्यो। उसको यादमा कफी खाने ठाउँमा जाँदा अचेल रक्सी खाने गरेको छु। भट्टी पसलदेखि घृणा लाग्ने म अचेल खुब भट्टीहरू धाउन थालेको छु। अचेल लाग्छ प्रेमका सबै चरण त्यति सुन्दर नहुन पनि सक्छन्, जति हामी सँगै हुँदा सोच्छौं प्रेम साँच्चै सुन्दर छ। कुनै बेला रक्सी नखाने प्रेमी अचेल रक्सीको मातसँग प्रेम गर्न विवश छु।