तिमीले चलाएको हावाले
तिम्रै गन्ध बोक्छ प्रिय मान्छे
तिमी किन असिना झार्छौ
रूखका चम्किला पातहरूमा र
प्वाल पार्छौ आफ्नै वस्त्रहरूमा?
तिमीमा बगिरहेको विषले
रूख कसरी ढल्ला र प्रिय मान्छे
किन बोक्छौ
काँडाजस्तो दुस्मनी एक्लो रूखसँग?
तिम्रा नङ्ग्राहरू त
तिम्रै नैतिक स्वास्थ्यका हानिकारक हुन्छन्
फाल विषालु नङ्ग्राहरू
लगाऊ फुस्किँदै गरेको वस्त्र
सम्हाल आफैले उठाएको वाग्मतीको जस्तो दुर्गन्ध
संसारमा कोही अमर छैन प्रिय मान्छे
रूख ढल्यो भने
तिम्रा जोबनका जराहरू उप्कनेछन्
तिम्रा सम्बन्धहरू टुक्रिनेछन्
अस्ताउनेछ तिम्रो आयुको घाम
तर
तिमी सधैँ अमर रहनुपर्छ
नाङ्गिएर होइन
झाँगिएर
नङ्ग्रा लिएर होइन
हरिया पातजस्ता आँखामा
राता नीला फूलजस्ता सपना लिएर
खोजी गर साँघुरिँदै गरेको अनुहारको
समाऊ फुस्किँदै गरेको गरिमा
सम्हाल छुट्दै गएको रूखको काख
तिमी रहनुपर्छ धर्तीमा
मान्छेजस्तै भएर
थाम पग्लिरहेको उचाइ
फैलाऊ हातहरू रूखले झैँ आकाशतिर
र खोज आफ्नो अनुहार
तिमीले खाली देखेको भरि आकाशमा
तिमी बाँच्नुपर्छ प्रिय मान्छे
त्यसैले समय निकाल र अँगाल
त्यो हरियो रूखलाई
आकाश नभए
तारा कहाँ उदाउला र प्रिय मान्छे?