उमेरमा अविनाश मभन्दा चार महिना मात्र जेठो हो। तर सानैदेखि मभन्दा धेरै आँटिलो र बलियो थियो। सात/आठ वर्षको हुँदा होला उसको सिको गर्दै रूख चढ्न खोज्दा हाँगाबाट चिप्लिएर म भुइँमा पछारिएको थिएँ। टाउकोबाट ह्वालह्वाली रगत बग्न थाल्यो। रूखको टुप्पोबाट झरेर उसले गन्जीले मेरो घाउ बाँधिदियो र बोकेर घरसम्म पुर्याएको थियो।
‘जहिल्यै त्यो अविनाशेको पुच्छर भएर हिँड्छ यो लोसे। भरेदेखि भात खान नि त्यसकै गए हुन्छ। आइन्दा त्यसको पछि लाग्या थाहा पाएँ भने तँलाई धुलो पीठो पार्छु’ भन्दै आमा रिसाएकी थिइन्। तर त्यति सानो उमेरमा पनि आमाको धम्की क्षणिभंगुर हो भनेर मलाई चेतना थियो। त्यसले हाम्रो मित्रतामा कुनै असर गरेन।
सानैमा अविनाश कहिले एक हातले त कहिले दुवै हात छोडेर साइकल चलाउँथ्यो। उसले मलाई पनि साइकल चलाउन सिकायो। आठ कक्षामा नपुग्दै बाइक कुदाउन थालिसकेको थियो। उसको बाइकको पछाडि बसेर हामी कहिले चाँगु त कहिले साँगासम्म पनि पुग्थ्यौँ। बजारमा रश्मिलाई कहिलेकाहीँ देखियो भने जोड जोडले हर्न बजाउँथ्यो र चिच्याउँथ्यो- ‘रश्मि, तिमीसँग विराजको के कुरा गर्नु छ रे।’
रश्मिका कौतुक आँखाहरू मतिर पर्दथे। आफूले भन्दै नभनेको कुराको गाल आइपर्दा पनि म लाजले भुतुक्कै हुन्थेँ। भन्न नपर्ला पढाइ हाम्रो अस्तव्यस्त थियो। जसोतसो बाह्र कक्षा सक्यौँ।
केहीलाई छोडेर हाम्रो बस्तीका साथीभाइ सबै विदेश हानिइसकेका थिए। अविनाशले मलाई अस्ट्रेलिया जाने योजना सुनायो।
‘तँ पनि घरमा खबर गर्दिराख्।’
तर के-के ‘क्राइटेरिया’ पुगेन भन्दै त्यता जाने योजना तुहियो। त्यसपछि एक दिन अचानक पोर्चुगल जाने कुरा भयो।
छोरो विदेश जाने कुरो अविनाशकी आमालाई पटक्कै चित्त बुझेको थिएन। सधैँ मृदुभाषी उसकी आमा त्यस दिन चियाको गिलास नमाझेको निहुँमा छोरोलाई गाली गर्दै थिइन्।
‘अहिले नआएको बुद्धि कहिले आउने हो! अब सिङ पलाउने होइन, पुच्छर आउने होइन।’
मेरी आमाको भने विपरीत प्रतिक्रिया थियो। सधैँ छोरो बाठो छैन, घरबाहिर एक्लै कसरी गरी खाला भन्ने उनको भावभंगीमामा भने आश्चर्यजनक निस्फिक्री देखिन्थ्यो।
‘जवानीमा नकमाए कहिले कमाउने? भानिजहरूले खाडी गएर पुग्दो कमाइसके। यसको केही चालामाला छैन।’
आमाले राखेका तर्क अकाट्य थिए। उनको बोलीमा दृढनिश्चयता झल्के पनि आँखाहरू लल्याकलुलुक परेका थिए। मलाई थाहा थियो आँखाहरूले कहिल्यै भावना लुकाउन सक्दैनन्। निःसन्देह उनलाई पनि म विदेश जान लागेकोमा अथाह पिर परेको थियो।
विदेश जाने भनेर अड्डी कसेपछि अविनाशका र मेरा बाबुहरूलाई पनि मान्न करै लाग्यो।
हाम्रो, अझभन्दा अविनाशको हठले हामीलाई पोर्चुगल पुर्यायो। तर हठसँगै उसको मनमा चञ्चलता पनि थियो। त्यहाँ स्टोरमा काम गर्न थालेको केही महिनापछि फेरि भन्न थाल्यो।
‘यहाँ बसेर पैसा खासै छैन। रसियाको फौजमा भर्ती खुलेको छ रे। थोरै टायममा झ्याप्पै पैसा कमाइन्छ। अब रसिया जाने हो। एक जना दाइसँग मेरो कुरो भइसक्यो। अलिकति पैसा दिनुपर्छ उनले त्यहाँ पुग्ने व्यवस्था मिलाउँछन्।’
फौजमा जाने कुरामा मलाई रुचि थिएन। जहिल्यै हुन्छ सुन्ने बानी परेको अविनाश मेरो सन्देहात्मक भावले अवाक् भयो।
‘तँ युद्धसँग डराएको, यार! म छु नि। यस्तो घिटीघिटी पैसाले कुन मुख लिएर घर फर्कने? अहिले फौजमा भर्ती मात्र हुनी हो। फेरि लडाइँ भन्ने कुरा सालभरि भइरहने होइन।’
‘घरमा बाउले मान्दैनन् नि।’
‘घरमा अहिले कसले खबर गर्छ र? पछि भर्ती भएसि भनौँला।’
मन नलागी नलागी मैले मानेँ।
अनि सुरु भयो रसियातर्फको हाम्रो पट्यारलाग्दो यात्रा। हामी दुवैलाई थाहा थिएन कुन रुटबाट कसरी त्यहाँ पुर्याउँदै छन् भनेर। यात्राको बिच-बिचमा म झल्याकझुलुक पहाडहरू देख्थेँ। चाँगुका पहाडभन्दा अग्ला थिए तर रूख भने त्यहाँको भन्दा होचा थिए। बेलाबेलामा फाँटहरू देखिन्थे। छालिङ नजिकैको फाँटजस्तै तर यहाँ एउटा पनि बस्ती थिएनन्। कहिले रेलमा, कहिले जिपमा र अन्तिममा बेलारुसबाट प्लेनमा हामी रसिया पुग्यौँ।
अविनाश र म फौजको एउटै युनिटमा भर्ती भयौँ। त्यसमा केही दर्जन रसियाका सैनिकहरू, तीन चार जना इन्डियन र केही बंगलादेशी युवक थिए। सुरुको तालिममा कमान्डरले अविनाशको निशानाको खुब वाहवाही गरेको थियो। युनिटका सबैले थपडी बजाएका थिए।
कालो टिसर्ट, कम्ब्याट पाइन्ट र कालो बुट लगाएको मेरो शैशव कालको साथी खुसीले पुलकित थियो। राइफल समाएर ‘पोज’ दिँदै उभिएको उसको फोटो मैले मोबाइलबाट खिचिदिएँ।
‘दोस्रो महायुद्धमा हिट्लरसँग सारा युरोपले घुँडा टेक्दा हामी एक्लैले डटेर सामना गरेका थियौँ र अन्ततः उसलाई हरायौँ। यो लडाइँ पनि हामी जित्छौँ। अबको विश्वको भविष्य तिमीहरू युवाको हातमा छ।’ कमान्डरले रुसी भाषामा भनेको कुरा इन्डियन साथीले हामीलाई उल्था गरिदियो।
अग्लो, गोरो र सामान्यभन्दा अलिक बढी तौल भएको त्यस कमान्डरले भनेको बडे-बडेमा शब्दको मेरो लागि कुनै अर्थ थिएन। म र मेरो साथी बिरानो ठाउँमा बिराना मान्छेहरूबाट घेरिएको थियौँ।
तालिम सकिएपछि हामी लडाइँको ‘एक्सन’मा तैनाथ भयौँ। रण मैदानमा हाम्रो टोली तितरबितर भयो। अविनाश मेरो दृष्टिगोचरबाट धेरै पर पुगिसकेको थियो। अनि मैले प्रत्यक्ष देखेँ युद्धको विभिषा। सानोमा ‘ब्ल्याक हक डाउन’ सिनेमा हेर्दा सैनिक भएर गोली चलाउनु बडो सानको कुराजस्तो लाग्थ्यो।
हिन्दी फिल्ममा हिरोले एक्लै मेसिन गनले भएभरका भिलेनलाई गोली बर्साउँदा म कति आनन्दित हुन्थेँ। तर वास्तविक लडाइँमा बन्दुक पड्केको आवाज, सैनिकहरूको भाग दौड र चिच्याहटसँगै मलाई समय रोकिएजस्तो भयो। वरिपरिका सबै दृश्य हराएर गए। दिमागमा आमा बा, घर, अविनाश, चाँगुनारायणको मन्दिर र रश्मिको हाँस्दै गरेको तस्बिरहरू एकपछि अर्को गरी नाच्न थाले। विवेकले काम गर्न छोड्यो। मैले बन्दुक पड्काएँ कि पड्काइनँ मलाई कुनै सम्झना छैन।
पछाडिबाट कसैले मलाई जोरसँग घचेटेर लडायो र भुइँमा सुतायो।
‘अरे खोपडी खाली है क्या तुम्हारी। निचे लेटो।’
इन्डियन साथी भूपेन्द्रले मलाई विपक्षीको गोली लाग्नबाट त्यसरी लडाएर जोगायो। भुइँमा पछारिएपछि बल्ल मेरो विवेकले अलिअलि काम गर्न थाल्यो। मुटुको धड्कन तेजसँग बढेको थियो। हात र गोडा डरले थरथरी काँपिरहेका थिए। कुन दिनमा फौजमा भर्ती भएछु भन्दै आफैँलाई सराप्न थाले। क्षणभरमै फेरि यो सबै सपना मात्र हो कि, निद्राबाट बिउँझिन्छु होला जस्तो लाग्यो। फेरि एकै क्षणमा वरिपरिको कोलाहलले जीवन बेकारजस्तो लाग्यो। एकै पलमा ईश्वरको अस्तित्व छैन भन्नेमा निष्कर्षमा म पुगेँ। फेरि केही क्षणपछि मनको भित्रदेखि नै मैले ईश्वरलाई गुहार्न थालेँ।
यो नर्कबाट मलाई छुटकारा दिलाइदेऊ भन्दै प्रार्थना गरेँ। युद्ध मैदानमा यी सबै कुराहरू माथि उल्लेख गरेझैँ यति संगठित रूपमा मेरो मानसपटलमा आएका होइनन्। त्यस बेला त मनमा विचारहरू बिजुलीको वेगमा अनि कुनै क्रमबद्ध सिलसिलाबिना नै आउने र जाने गरेका थिए।
लडाइँबाट बेलुकी हामी एक टोलीलाई एघार नम्बरको अस्थायी शिविरमा लगियो। त्यहाँ अविनाश थिएन। मैले सूचना हेर्ने अफिसरलाई अविनाश कुन शिविरमा छ भनेर खोजी गर्न अनुरोध गरेँ। उसको छोटो जवाफ थियो कि जानकारी आएपछि खबर गरौँला।
शिविरमा असामान्य नीरवता छाएको थियो। कसैले केही नबोले पनि सबैको आँखामा ज्यान जोगाउन सकेको खुसी र भोलि फेरि लडाइँमा गइहाल्नु पर्ने हो कि भन्ने भयको मिश्रण थियो। राति मलाई एक सैनिकले एउटा सानो कागजको चिर्कटो थमाएर गयो। त्यहाँ अंग्रेजीमा लेखिएको थियो कि ‘कार्की अविनाशलाई अर्कै मोर्चामा पठाइएको छ।’ योभन्दा बढी त्यसमा केही थिएन। त्यति जानकारीले मात्र पनि म ढुक्क भएँ।
पालबाहिर निस्पट्ट अँध्यारो थियो। भूपेन्द्रले म पल्टेको म्याट छेउमा आएर के जानकारी आयो त अविनाशको भनी सोध्यो। मैले त्यही जवाफ दिएँ कि अर्कै मोर्चामा छ रे। मेरो जवाफसँगै अचानक उसको अनुहार मलिन हुन थाल्यो।
उसले हर्याण्वी लवजको हिन्दीमा भन्यो, ‘एउटा रसियन जवानले अविनाशलाई भुइँमा चिच्याएर ढलेको देखेको थियो रे। यो अर्को मोर्चामा पठाएको छ भन्ने त कुरा मात्र हो। त्यसैले आफ्नो मुटु दह्रो बनाएर राख। तिमी र म आज बाँच्यौ तर भोलि बाँच्ने संजोग छ छैन केही थाहा छैन।’
उसले थप केही भन्दै गयो तर मैले केही सुनिनँ। मेरा आँखाहरू पूरै रसाए, हात गोडा चिसा भए। दिमाग भाउन्न भयो। मैले भित्र बाहिर अँध्यारो बाहेक केही देखिनँ। त्यो रात अनिश्चय र सुर्तामा बित्यो।
रणनीति परिवर्तन भन्दै हाम्रो र अरू चार वटा शिविरका सैनिकहरूलाई भोलिपल्ट त्यहाँबाट अन्तै सारियो। त्यही बिचमा भूपेन्द्रले मलाई फौजबाट भाग्ने योजना सुनायो। शिविरको एउटा अधबैँसे भान्सेलाई उसले भने जति पैसा बुझाएर हामीहरू मालसामानको जिपमा चढेर राति निस्कियौँ। मेरो लागि त्यो अत्यन्त लामो रात थियो। मानौँ कहिल्यै बिहान नै हुँदैन कि जस्तो।
तर प्रकृतिको विधानमा कुनै छलकपट थिएन। भोलिपल्ट घाम उदायो। हामीहरू टाढा कुनै अर्कै बस्तीमा पुगिसकेका थियौँ। बाटोको एक ठाउँमा दुई जना छ/सात वर्षका बच्चीहरू साइकलमा कुदिरहेका मैले देखेँ। एउटी अलिक अगाडि पुगेर पछाडिबाट बिस्तारै आउँदै गरेकी साथीलाई कुरिरहेकी थिई। हाम्रो जिप अगाडि बढिरह्यो। ती बच्चीहरू धेरै पछाडि परे।