आशा बाँडियो, भरोसा बाँडियो
सत्तापछि तान, मान र सानसँग
हरिया राहदानी बाँडियो
ए सरकार!
तिमीलाई लाग्दैन
हरिया त यहाँका खेत हुनु पर्ने
पाखा पखेरा हुनुपर्ने?
गाउँ शून्य बनाउँदै
आमा बुवाका काख रित्याउँदै
एयरपोर्टको टर्मिनलहरूमा
रातो टीका र खाँदासँगै
प्रेयसीका आँखामा आँसु बाँडियो।
रेमिट्यान्सका नाममा
थाहा छैन कहिलेसम्म बग्ने हुन
खाडीमा पसिनाका बादलहरू?
कहिलेसम्म लगाउने हुन्
भित्तामा टाँगिएका तस्बिरले
रातो टीका र जमरा?
कहिलेसम्म ओइलाउने हो
बहिनीले रोपेका सयपत्रीका फूल?
कहिलेसम्म लतपतिने हो
रातो रगतसँगै
रातो बाकसमा आँसुले
आमाका पछ्यौरीहरू?
ए सरकार!
अब त अति भयो
कति सुत्छौ चेतना शून्य भई
अब त बताइदेऊ न
यी सब कहिलेसम्म?