भीर, पाखा, पहरा
जल्दै जल्दै आयो
गाउँ, बस्ती र घरबार
जल्दै जल्दै गयो
आगो निभाउन
कसैले चाहेन
बलेको आगो
ताप्दै रमाए
जब जब आगाका
लप्का कम हुन्थे
थपिन्थ्यो घिउ
हो,
सिंहदरबारमा बसेर
रोल्पाको आगो ताप्न
मजा हुने रहेछ
न त जनताको छोराको
आलो रगत गनाउने
न त डढेका घरको धुवाँले आँखा पोल्ने
उता आगोको लप्का
फैलिँदै थियो
यता ग्यालरी बैठकमा राष्ट्रिय खेल
चल्दै थियो
हुन्छ र हुन्न
लखेट र भाग
समात र फुत्काऊ
फुटाल र जोडको
असमानता,
विभेद,
अन्याय,
अत्याचार,
घुसखोरी,
लुटतन्त्र,
अशिक्षा,
गरिबी
र
बेरोजगारीका
झुर्नाहरू
यत्रतत्र
छरिएपछि
आगो
सल्काउन कसलाई
गाह्रो होला र?
गाउँका गाउँ मानिसहरू
बाध्यताले जंगल पसे
कोही सहरको कंक्रिटको
कोही डाँडा-पाखा र भीरको।
साथी वैरी
भाइ शत्रु
र
ज्वाइँ दुस्मन
भएपछि
इण्डो चाइना,
कार्गिल र काश्मीर,
बर्मा र फक्ल्याण्ड,
अरब र इजरायल,
इरान र इराक,
अनि
लरेन्ट कबिला र मोबुतु से से को
सबै-सबै घरभित्रै हुँदा रहेछन्
अक्षम र सक्षम
आरोप र प्रत्यारोप
बिचमा
जब
आगो निभाउनु पर्ने
मूल मान्छे पनि
आफैँ आगो ताप्न कसियो
तब आँधी चल्यो
कसैलाई उडायो
कसैलाई थेचार्यो
आगो निभेजस्तै भयो
तर
आँधीले बढारेर पनि घर सफा हुन्छ र?
हुरीले निभाएको आगो पनि निभ्छ र?