दैलेख घर भए तापनि सुर्खेतमा बसी लोक सेवाको तयारी गरिरहेको थिएँ। गण्डकी प्रदेश लोक सेवा आयोगको अप्राविधिक पाँचौँ तहको पहिलो पत्रको परीक्षा दिन म पोखरामा थिएँ, त्यो पनि पहिलो पटक।
पोखरा प्रकृतिले सजिएको, मनमोहक फेवा ताल र हरियालीले घेरिएको सहर। काखैमा माछापुच्छ्रे हिमाल आएर बसे जस्तो! यो सहरले मेरो मनमा विशेष स्थान बनाइसकेको थियो।
भोलिपल्ट परीक्षा थियो तर प्रवेश पत्र निकाल्न बाँकी थियो। त्यसैले म लेकसाइडबाट प्रवेश पत्र निकाल्न साइबर जाने तयारीमा थिएँ। समय बिहानको करिब ८ बजे। सडकमा हल्का चिसो हावा चलिरहेको थियो। म त्यही चिसो हावासँगै नगर बस कुरिरहेको थिएँ। स्कुलका दिनहरू सम्झन मन हल्का व्यस्त थियो।
केही समयपछि बस आयो। बस चढेको केही समयमा उनी बसमा चढिन्। उनको नाम सुप्रिया रहेछ। मैले सुप्रियालाई पहिलो पटक देख्दा केही विशेष महसुस गरेँ। म उनीप्रति पहिलो नजरमा नै आकर्षित भएँ। उनको आँखामा केही विशेष देखिन्थ्यो। जस्तो कि ती आँखाले केही कथा बोकेको होस्।
उनी पनि प्रवेश पत्र निकाल्न साइबर जाँदै थिइन्। त्यो संयोग थियो कि हामी एउटै बसमा र एउटै उद्देश्यका लागि गएका थियौँ।
साइबरमा अलिक भिड थियो, हाम्रो काम गर्न केही समय प्रतीक्षा गर्नु पर्ने कुरा त्यहाँ काम गर्ने एकजना दाइले भन्नुभयो। म र उनी प्रतीक्षा गर्दै थियौँ। त्यो प्रतीक्षा नै हाम्रो पहिलो संवादको सुरुआत थियो। म बोल्न केही हिचकिचाएँ तर उनको मुस्कानले मलाई सजिलो बनायो।
‘तपाईं पनि प्रवेश पत्र निकाल्न आएको?’ मैले सोधेँ।
‘हो, तपाईं पनि?’ उनले जवाफ दिइन्।
त्यो सानो प्रश्न उत्तरले हामी बिचको दूरीलाई घटायो। हामीले हाम्रो तयारी परीक्षा र आशाहरूको बारेमा कुरा गर्यौँ। समय बित्दै गयो र प्रवेश पत्र निकालेपछि अझ अर्को संयोग जुर्यो; परीक्षा केन्द्र पनि एकै रहेछ, पोखराको छोरेपाटन मावि।
मनमनै मुस्कुराउँदै आफैसँग भनेँ- ‘संसार सानो रहेछ। कहाँ विश्वको भूगोलमा हाउगुजी लेखेछ।’
शनिबार आयो, जुन दिन लोक सेवा परीक्षा थियो। म केही असहज महसुस गर्दै थिएँ, खास गरी परीक्षाको तनाव र नयाँ ठाउँको कारणले। तर सुप्रियासँगको संवादको यादले मेरो तनावलाई घटायो।
परीक्षा केन्द्रको गेट बाहिर हाम्रो भेट भयो। केही समसामयिक विषयमा छलफल गर्यौँ। केही समयमा घण्टी बज्यो, हामी सँगै कक्षाकोठा खोज्न लाग्यौँ। सायद नियतिको चाहना हो कि भावीको लेखान्त थियो, हाम्रो कक्षा कोठा पनि एकै परेछ।
परीक्षापछि हामी पुनः भेट्यौँ।
‘कस्तो भयो परीक्षा?’ मैले छ्वास्स सोधिहालेँ। सुप्रिया केही बोलिनन्, मात्र मुस्कानमा आत्मविश्वास झुल्किरहेको थियो।
त्यो दिन पोखराको मौसम चिसो हावासहितको न्यानोपन थियो।
बसपार्क छेउको होटेलमा पुग्यौँ। मैले चिया पिउन प्रस्ताव गरेँ। उसले सहर स्वीकार गरिन्।
मैले औधी मन पराउने त्यो चियाको चुस्की आज उनको मुस्कानभन्दा फिक्का लागिरहेको थियो। केही समयमा हामी छुट्यौँ; उनी काठमाडौँ अनि म सुर्खेत। लागिरहेको थियो म आज दुई टुक्रा भएको छु। मनमा नानाथरी कुरा खेलिरहेका थिए, आइक्युका प्रश्नको उत्तरमा दिएका विकल्प झैँ।
फोनमा कुरा भइरहन्थ्यो। उनको नाम सुप्रिया त्यसै राखिदिएका रहेनछन् ज्योतिषले, जसरी उनी मेरो लागि सर्वप्रिय बनिसकेकी थिइन्। हामी छोटो समयमै निकै नजिक भइसकेका थियौँ।
करिब एक महिनापछि लोक सेवा परीक्षाको पहिलो पत्रको नतिजा आयो। हामी दुवै जनाको नाम सफल उम्मेदवारको सूचीमा थियो। एकले अर्कालाई बधाई दियौँ। दोस्रो र तेस्रो पत्रको परीक्षाको मिति अर्को महिनाका लागि तोकिएको थियो।
हाम्रो सम्बन्ध अझै गहिरो हुँदै गइरहेको थियो। हामीले साथमा पढ्ने, परीक्षा तयारी गर्ने र एक अर्काको साथमा समय बिताइरहेका थियौँ।
लिखित पत्रको परीक्षा पनि आइपुग्यो। यस पटक हाम्रो भेट लामो समयको लागि विशेष रूपमा भयो। परीक्षा हलमा मात्र होइन, हामी पोखराका सुन्दर ठाउँहरू घुम्यौँ। फेवातालको किनारामा हिँड्दै पारिका सेता हिमाल जस्तै सपनाको चित्र कोर्दै, हरियाली डाँडा पाखा झैँ योजनाहरू र भविष्यका कुरा गर्यौँ।
ती पल यति गाढा भइसकेका थिए कि हरेक पाइलामा प्रेम, हरेक कुरामा प्रेम र हरेक नजरमा प्रेम थियो।
मलाई लाग्दै थियो म सर्वश्रेष्ठ लोक सेवाको परीक्षाभन्दा बढी सुप्रियाको व्यवहार र त्यो मिठो मुस्कानमा भौँतारिइरहेको छु।
सुप्रिया हाँस्न मन पराउने र खुला हृदयकी अनि म भने गम्भीर र विचारशील। सायद यी नै फरकले होला हामी बिचको माया गाढिएको।
हाम्रो लिखितको परीक्षा पनि सकियो, हामी फेरि छुट्टिने समय आइसकेको थियो। लागिरहेको थियो- केही महत्त्वपूर्ण कुरा गुमाएर धेरै टाढा जाँदै छु। सायद उनले पनि त्यस्तै सोचिरहेकी थिइन्। त्यो सधैँ मुस्कुराइरहने ओठ आज केही मलिन थिए। आँखा भित्र-भित्रै आँसुले लुकामारी खेलिरहेको थियो।
हामी छुट्यौँ, उनी देशको राजधानी तिर अनि म सुप्रियाको हृदयको राजधानीबाट कर्णाली प्रदेशको राजधानी तिर एक मिठो अँगालोसहित।
हाम्रो गफहरू निरन्तर भइरहेको थियो तर समय हाम्रो पक्षमा थिएन, अचानक सुप्रिया हराइन्। उनको फोनमा सम्पर्क हुन छाड्यो, म्यासेजको उत्तर आएन र हाम्रो त्यो सहयात्रा समयले यही ल्याएर टुङ्गाइदिएको थियो, पातल छाँगोको रहस्यझैँ।
आज पनि म पोखरालाई सम्झन्छु; फेवातालमा हिँडेका ती पल, पहाडमा बसेका ती सूर्यास्तका छाया र सबैभन्दा बढी सप्रियाको मुस्कान।
लोक सेवाले हार्यो, प्रेमले जित्यो र अन्तमा समयले दुवैलाई हरायो।