आजकल चुप छु म
जो म कहिल्यै थिइनँ
जो नि आउँछन्, जे पनि बोल्छन्
गिराउँछन्, खिस्याउँछन्
निकम्मा देखाउँछन्, लक्ष्यहीन भन्छन्
मलाई म नै ठान्दैनन्
म छु या छैन मतलब राख्दैनन्
तैपनि चुप छु म
बोल्न मनै लाग्दैन
तर्क दिनै मन लाग्दैन
जे भन्छन् सुन्छु, सुनिदिन्छु
गिराउँछन्, गिरिदिन्छु
पागल ठान्छन्, भइदिन्छु।
कोही म नबोल्दा खुसी
कोही म नखुल्दा खुसी
कोही म खुसी हुँदा दुखी
कोही म दुखी हुँदा खुसी
जति राम्रो गर्न खोज्यो
त्यति नै नराम्रो म
दुःख गर्यो जस पाउने अरू
गर्दा नि सुख छैन
नगर्दा नि सुख छैन।
त्यसैले सुन्दिनँ म अचेल
आँखा छन् देख्दिनँ म अचेल
यसो गरे मेरै गल्ती
उसो गरे मेरै गल्ती
जे-जे आरोप लगाए पनि
जवाफ फर्काउँदिनँ अचेल
जे भन्छन् हस् भन्छु
‘ह’मा ह मिलाउँछु
यति गर्दा सबै खुसी हुन्छन् भने
म चुपचाप बसिदिन्छु।
आऊ तिमी पनि मनका भडास पोख
जे भन्न मन छ भन मलाई
लगाऊ के-के आरोप छन् मलाई
तिमी पुरुष म नाथे आइमाई
म सीता बन्न तयार छु
म द्रौपदी बन्न तयार छु
तर यति कुरा ख्याल गर
कुनै दिन म विस्फोट भएँ भने
के तिम्रो धान्ने औकात छ?