भर्खर २० वर्षमा टेकेकी थिइन् कमला। ठुली दिदी, उनीभन्दा सानी एक बहिनी, एक भाइ र बुवा आमा गरी जम्मा ६ जनाको उनको परिवार। उनकी ठुली दिदीको एसएलसी दिएको वर्ष नै त्यसको नतिजा समेत कुर्न नभ्याई विवाह भएको थियो। त्यो हिसाबले त पालो उनकै थियो। फेरि दिदीको बिहेको अवस्था हेर्दा उनका परिवारका लागि कमलाको बिहेको समय नभएको भन्ने कुनै तुक थिएन।
दिदीको घर माइतीबाट धेरै टाढा नभई नजिकै नजिकै विवाह भएको थियो। आमालाई उनको विवाह त्योभन्दा पनि नजिक भइदिए केटामा अरू कुनै गुण चाहिएको थिएन। भयो त्यस्तै, उनको माइती र केटाको घरको दूरी जम्मा हिँडेर करिब ४५ मिनेटको बाटोमा पर्ने रहेछ।
केटो उनलाई हेर्न आयो, हेर्यो र गयो। बुवा-आमासँग कुरा टुङ्गिएपछि उनको बिहे हुने मिति त्यही केटाबाट थाहा पाउँदा खुसी हुने कि दुःखी छुटाउनै सकिनन् कमलाले तर पनि केही बोलिनन्! केटाले सोच्यो मौन स्वीकृति लक्षण।
कुरा छिनिएको एक महिनामा नै विवाह भयो, एकदमै छोटो तरिकाले। अहिलेको आधुनिक समयमा पनि सायद केटालाई हेर्दै नहेरी बाबु आमाले जे भने त्यही गर्नु भएन होला तर कमलाले पहिलो पटक यहीँ नेर एक महिलाको सम्झौताको यात्रा सुरु गरिन्।
विवाहको समयमा श्रीमानको जागिर बर्दियामामा रहेछ। लुरुलुरु उनकै पछि लागेर सल्यानबाट बर्दियातिर लागिन्। श्रीमानले कमलाको माइतीबाट ४५ मिनेटको घरमा होइन, त्यही बर्दियाको डेरामा भित्राए। त्यहाँ उनलाई भित्र्याउने घरबेटी दिदी मात्र थिइन्। औपचारिकता पूरा भयो, दुलही बनाएर उनलाई श्रीमानले भित्र्याएपछि विवाह सकियो। त्यहाँ कुनै तामझाम भएन।
दुलही हुँदाको त्यो थकान कमलालाई केही थिएन जुन दिनभर जग्गेमा बस्दा प्रायः दुलाहा दुलही आत्तिने गरेको देखिन्थ्यो तर मन थकित थियो। उनकी आमाले छोरी माइतीबाट नजिकै विवाह गरेर जाँदै छे भन्ने कुरा विवाहको दिनमै फेरियो। महिला भएको नाताले कमलाकी आमाले यहाँनेर सजिलै आफूलाई सम्झौता गरिन्। यस विषयमा कहिल्यै कुरा निकाल्न चाहिनन्।
विवाहपछि तीन महिनाको उनको बसाइँ श्रीमानसँगै बार्दियामा रह्यो। त्यसपछि श्रीमानको त्यहाँको काम सकिएपछि उनी काठमाडौँ तिर लागे। कमलाले श्रीमानको घर सल्यानमा पहिलो पटक पाइला टेक्ने अवसर पाइन् जहाँ उनकी सासू र एउटी जेठानी दिदी पनि थिइन्। उनका श्रीमानका तीन दाजुभाइ मध्ये जेठा दाजु आफ्नो परिवारसहित छुट्टै व्यवस्थाका साथमा रहेका थिए। माइला दाजु विदेशमा भएकाले माइली जेठानी दिदी र उनका छोराछोरी सहित सासू त्यो घरमा थिए।
कमला त्यो घरको कान्छी बुहारी भएर आएकी थिइन्। बर्दियामै रहँदा उनको पेटमा बच्चा हुर्कँदै थियो। श्रीमानलाई केही समयपछि बच्चा पाउनलाई सुस्तरी अनुरोध नगरेकी होइनन् कमलाले तर त्यहाँ सायद उनको जोडबल पुगेन अनि विनम्र अस्वीकारलाई पनि स्विकारिएको मानियो। श्रीमान् काठमाडौँ उनी घरमा भएको त्यसै समयमा सल्यानकै स्थानीय अस्पतालमा जेठो छोराको जन्म भयो।
बिहेकै सालमा श्रीमानको घरमा दाजुभाइ भिन्न हुने चर्चा चल्यो। केही क्षण त कमलालाई नरमाइलो लाग्यो। मिलेर बसेको परिवार उनी भित्रिएकै सालको केही महिनामा नै छुट्टिएको देख्दा आफ्नै कारण यसो भयो कि भन्ने पनि सोचिन् तर कान्छो छोराको बिहे पछाडि यो सबै ठिकै होला भनेर मन बुझाइन्।
सम्पत्तिको भागबन्डामा केही गाह्रो थिएन; तीन भाइ अनि एउटी आमाको नाममा बराबर बन्डा लाग्यो तर पेचिलो विषय रहेछ आमाको भागबन्डा गर्ने। कमलाका ससुराले कान्छी लिएर हिँडेकाले यो परिवारको सारा जिम्मेवारी उनकी सासूले खेप्नु भई महिला सशक्तीकरणको एक उदाहरण भएको थाहा पाएपछि कमलालाई सासूप्रति अझै गौरव र सम्मान बढेर आयो।
सन्जोग विगत लामो समय कान्छी श्रीमती लिएर बरालिएका कमलाका ससुरा अहिलेको यो अवस्थामा साथमा नै थिए।
आमालाई तीन भाइ मध्ये एक रोज्न लगाइयो र कमलाकी सासूले कान्छो छोरो रोजिन् जसमा कान्छी बुहारी भएकाले कमला आफूलाई नै रोजेको जस्तो मानी मक्ख परिन्।
यो कुरा जेठो छोरालाई मन परेन, सँगै ससुरालाई पनि मन परेको थिएन। सासू कान्छो छोरासँग भएपछि ससुरालाई पनि त्यही बस्नुपर्ने बाध्यता हुन्थ्यो। सायद कान्छी श्रीमतीले उनलाई बेवास्ता गरी घरबाट निकालिदिएकी थिइन्।
एउटी आमालाई आफ्ना छोरा रोज्न बाध्य पार्ने सायद कमलाको घरको बाध्यता थियो होला तर एउटी आमाको लागि यो फलामको चिउरा चपाए सरह थियो।
कमलाकी सासूले कान्छो छोरालाई रोज्दा कमला खुसी थिई तर बढ्दो जिम्मेवारीले केही डराएकी पनि थिई। यी सबै घटनापछि कमलाको पहिलो बच्चाको पास्नी (भात खुवाई) त्यही घरमा गरेर कमला, उसको श्रीमान् र सासू काठमाडौँमा आए।
कमलाको श्रीमानको विचार रहेछ आमा, बुवा अनि श्रीमती त्यतै सल्यानको घरमा बस्छन्। बुवा घरको आड भरोसा पनि भइहाल्नु हुन्छ भन्ने। तर त्यस्तो भएन। कमलाका श्रीमान् काठमाडौँ गएपछि ससुराले जग्गा बेच्ने भनेर ग्राहक लिएर आए। त्यहाँसम्म पनि ठिकै थियो, जग्गा बेच्ने भन्ने कुरामा कसैको असहमति थिएन। तर कमलाकी सासूको नामको जग्गा बेच्ने कुरामा जग्गाको बैना गरेको पैसा सासूको खातामा राख्ने भन्ने कमलाका श्रीमानको कुरालाई बुहारीले जग्गा बेच्न दिइन भन्दै निस्किएका थिए।
त्यो बैना गरेको पैसा कहाँ राख्ने समस्या पनि हुने थिएन तर ससुराको इच्छा त्यो पैसा लिएर कान्छी श्रीमती कहाँ जाने योजना कमलाले थाहा पाएपछि समस्या आएको थियो। आखिर बैना पैसा सासूको खातामा राख्ने भन्दा ससुरा हिँडेपछि त्यो कुरा प्रमाणित पनि भएको थियो। ससुराले कान्छी श्रीमतीलाई यताको जग्गा बेचेको पैसा लगिदिएर खुसी पार्न चाहन्थे।
अब ससुरा हिँडेपछि सासू र कमला अनि सानो बच्चालाई एक्लै सल्यानमा गाह्रो हुने ठानेर उनीहरू काठमाडौँ आउने निर्णय गरेका थिए।
प्लस-टु सकेर ब्याचलर दोस्रो वर्षमा अध्ययन गर्दै गर्दा कमलाको बिहे भएको थियो। कमलाका श्रीमान् जसले त्यस्तो कष्टकर अवस्थामा पनि आफ्नो पढाइलाई निरन्तरता दिएको हुँदा कमलाको मनमा उनको पढाइलाई यत्तिकै छुटाउनु पर्ला भन्ने लागेकै थिएन। तर सोचेको भन्दा फरक परिस्थितिसँग फेरि एक पटक कमलाले सम्झौता गर्नुपर्यो।
आयोगको पनि तयारी गर्छु पढाइलाई पनि निरन्तरता दिन्छु भनेको श्रीमानबाट ‘अब तेरो पढाइ भनेको आमाको स्याहारसुसार, बच्चाबच्चीको रेखदेख हो। योभन्दा पर सोच्ने होइन’ भन्ने जवाफ उनले पाइन्।
कमलाको जीवनको लागि त्यो जवाफ नमिठो भए पनि उनका श्रीमानको ठाउँमा बसेर हेर्दा ठिकै जस्तो मानिन्। ससुराले कान्छी श्रीमती लिएर हिँडेपछि कमलाकी सासूले तीन भाइ छोरा अनि पाँच बहिनी छोरीको ठुलो परिवारलाई हिम्मतका साथ यो अवस्थामा पुर्याएकी थिइन्। कमलाकी सासूका माइतीले यो सबै जिम्मेवारी बहन गर्न आफ्नी चेलीलाई गाह्रो होला भनेर माइतीमै आएर बस्न भनेका पनि थिए रे। तर उनी आफ्नो जिम्मेवारीबाट भागिनन् जसले गर्दा आज त्यो परिवारका कोही पनि बच्चाबच्चीलाई अनाथ बन्नु परेन।
त्यस्ती महान् नारीका साथमा रहेर आफ्ना सानातिना चाहना मार्दा कमलाले कुनै त्याग गरेकी होइन भन्ने ठानेर श्रीमानको निर्णयलाई सहज रूपमा लिई आफ्नो जिम्मेवारी पूरा गर्न लागिन्।
सुहागरातको दिनमा बेहुला बेहुलीले आफ्नो भविष्यको योजना बनाउँछन् भन्ने लाग्दथ्यो कमलालाई। एक अर्कामा नजिक हुन उनीहरूमा मिठा-मिठा कुराकानी हुन्छन् भन्ने पनि लागेको थियो तर उनको त्यस्तो भएन। उनका श्रीमानको त्यो दिनको निचोड थियो कि ‘अरू कुरा बिस्तारै थाहा हुँदै जान्छ, आमाको खुसी नै यो परिवारको खुसी हो। आमाबाट कुनै गुनासो नरहोस्, आमा बाहेक अरू कुरा सामान्य हुन्।’
त्यो समय कमलालाई अरू केही अचम्म लागेन तर एउटा छोराले आफ्नो सुहागरातको दिनमा आमाको खुसीका लागि जे भन्दै थियो त्यसमा केही बेर सोच्न बाध्य भएकी थिइन्। श्रीमतीका सामु श्रीपेच लगाउने धेरै लोग्ने मानिसहरू छन् हाम्रो समाजमा जसमा म यस्तो म उस्तो, तिमीलाई धेरै माया गर्छु जीवनभर साथ दिन्छु भन्ने, भलै विवाहका केही वर्षमा झैझगडा नै किन नहोस् तर विवाहको पहिलो दिनमा मिठास जरुर भर्थे। त्यसको सट्टा त्यो महत्त्वपूर्ण समयमा पनि त्यस्तो कठोर रूपमा प्रस्तुत भई एक किसिमको वाचा गराउन तल्लीन श्रीमानसँग जीवन बिताउन आएकी कमलालाई अप्ठ्यारो महसुस हुनु स्वाभाविकै थियो।
अब कमलाको जीवनमा एउटै उद्देश्य बाँकी रह्यो, सासूको खुसी। आफ्नो जीवनकाल भरि समस्यै समस्यामा रहेकी अनि आफ्ना सन्तानको खुसी एकल उद्देश्य बोकेकी सासू र अबका दिनमा सक्दो सेवा गरेर सासूमा सबै परिवारको खुसीलाई एकल उद्देश्य ठानेकी कमलामा खासै भिन्नता रहेन।
छोराहरूले त्यति बेला आमालाई छोरा रोज्न लगाए, आमाले एउटा छोरा रोजिन् तर त्यही तितो सत्य पचाउन नसकेको अवस्था पनि कमलाको परिवारमा देखियो। छोरो रोज तर मैलाई रोज भन्ने सासूको कुनै एक छोराको सोचाइ रहेछ। त्यो पूरा हुन सकेन। त्यसका कैयौँ पाटा होलान्। कमलाभन्दा कैयौँ वर्ष अगाडि बिहे गरेर आएकी जेठानी दिदीले ती सासूको एकल खुसी नै यो परिवारको खुसी, इज्जत जिम्मेवारी हो भन्ने कुरा बुझिन् या बुझिनन् भने कमलाका श्रीमानले जस्तै आमालाई सर्वोपरि ठान्ने कुरा उनका श्रीमानले बुझाए या बुझाएनन् त्यो पाटो उनीहरूले केलाउनु जरुरी थियो तर त्यसो भएन।
बरु कान्छो छोरो रोजेको सजाय फेरि कमलाकी सासूले जीवनको उत्तरार्धमा पनि भोगिरहेकी छन्। न ती आमाले त्यो छोराका सन्तान नातिनातिनालाई अपनाउन पाएकी छन् न ती नातिनातिनाले हजुरआमालाई अपनाउन सकेका छन्। निकै संघर्ष गरेको त्यो परिवारमा अझै पनि ८० वर्षको हाराहारीमा रहेकी कमलाकी सासूलाई आरोप छ, आमाले हेला गरी।
कमलाको बिहे भएको ९ वर्ष बढी हुन थाल्यो। जीवनमा आइपरेका कैयौँ समस्याहरूमा जुध्ने हौसला त्यही परिवारले उनलाई दियो। अझ भन्दा आफूले जुन-जुन चाहनाहरू त्याग्दै हिँडेकी थिइन्, त्यसको बदलामा एउटा आमाले आफ्ना सन्तानको लागि आफ्नो जीवनकाल बिताउँदा पनि उसले जीवनको अन्तिम कालमा सन्तोष भएर मर्न पाउनु पर्छ भनेर यो घरमा जुन जिम्मेवारीमा छिन् त्यसको बदलामा अहिले आफ्ना सपना पूरा गर्ने बहानामा यो जिम्मेवारीबाट अलग हुनु परेको र त्यो त्यागबाट गुज्रेकी उनकी सासूको मुहारमा खुसी नल्याएको भए ती सारा कमलाले त्यागेका चाहनाबाट पाएका उपलब्धिले समेत यो सन्तुष्टि दिँदैन थिए भन्ने उनलाई लाग्छ।
अहिले सासूका सबै आफन्तहरूमा कमलाप्रति ठुलो विश्वास छ, भरोसा छ। त्योभन्दा पनि कमलाका माइतीलाई समेत उनीप्रति प्रति गर्व छ र खुसी छ। त्योभन्दा बढी कमला जस्ता हामी महिलाले यो समाजसँग केही आशा पनि त गरेका छैनौँ।
कमलाकी सासू जस्ता कैयौँ आमाहरूले आफ्ना सन्तानका लागि आफ्नो सारा जीवन व्यतीत गरिदिन्छन् तर जीवनको उत्तरार्धमा उनीहरूले आफ्नै सन्तान र बुहारीबाट आत्मसम्मानको जीवन समेत पाउँदैनन्।