खोटाङ, दिक्तेल भन्ने बित्तिकै 'एक घर, एक निजामती कर्मचारी' भन्ने भनाइ प्रचलित छ। प्रत्येक घरमा कुनै न कुनै सदस्य निजामती सेवामा आबद्ध छन्।
म पनि त्यही क्षेत्रमा मामाघरमा बसेर ब्याचलरको चौथो वर्षको अध्ययन गरिरहेको थिएँ।
ब्याचलरको चौथो वर्षको अन्तिम दिनको परीक्षा सकेर घरतर्फ लाग्दै गर्दा बाटोमा दिदीसित भेट भयो।
दिदीले 'कता गएर आएकी बुने?' भनेर सोध्नुभयो।
मैले भनेँ, 'दिदी, ब्याचलरको चौथो वर्षको परीक्षा चलिरहेको छ, आज अन्तिम दिन हो, सकेर आएको।'
त्यसपछि दिदीले भन्नुभयो, 'अब विदेश जाऊ, भविष्य बन्छ!'
मैले भनेँ, 'दिदी, म त लोक सेवाको तयारी गरौं कि भनेर सोच्दैछु। साथीहरू जागिरे भइसके।'
दिदीले भन्नुभयो, 'बुने भिनाजुलाई हेर। भिनाजु शाखा अधिकृत हुनुहुन्छ। महिनाको ४५/५० हजार तलब छ, तर कोठाको भाडा महिनाको १९ हजार तिर्नुपर्छ, अनि नानीहरूको स्कुलमा महिनाको २०/३० हजार तिर्नुपर्छ। जागिर खानको लागि पहिले पनि भिनाजुले ऋण लिएर काठमाडौं बसेर तयारी गर्नुभएको थियो। जागिर खाएको ५ वर्ष भयो, अझै तिर्न सकेको छैन। नेपालको जागिरले पुग्दैन रहेछ बुने, तिमी बेलैमा विदेश जाऊ भनेर दिदी आफ्नो घरतर्फ लाग्नुभयो र म पनि आफ्नो घरतर्फ लागेँ।
घरमा पुगेपछि मामाले भान्जी, 'तिम्रो परीक्षा कस्तो भयो?' भनेर सोध्नुभयो।
मैले भनेँ, 'मामा, ठिकै भयो।'
त्यसपछि मामाले भन्नुभयो, 'अब, विदेशको प्रक्रिया चाल्नुपर्छ बेलैमा।'
मामाले विदेश जाऊ भनेको सुनेर मामा नजिक बस्नु भएको हजुरबुवाले भन्नुभयो, 'नातिनी तिमीले सरकारी जागिर नै खानु, सरकारी जागिरले मान सम्मान इज्जत दिन्छ, नत्र कुनै व्यापार व्यवसाय गरेर नेपालमै बसेर केही गर्नु, अरूको देशमा नोकरझैं काम गर्नु भन्दा स्वदेशमै केही गर्नु, त्यो बिरानो देश न भनेको बेला हामीले देख्न पाइन्छ, भेट्न पाइन्छ, दसैं, तिहार, चाडपर्व खल्लो, पैसा मात्र सबैथोक होइन नातिनी विदेश नजाऊ है स्वदेशमै केही गर्नुपर्छ।'
सरकारी जागिर खाएकाले नै विदेश जाने सल्लाह दिएपछि मैले स्टुडेन्ट भिसामा जापान जाने निधो गरेँ, प्रक्रिया थालेँ। आठ महिनापछि भिसा आयो। केही दिनपछि जापान उडेँ। जापानको टोकियोमा ठूलो बुवाको छोरा दाइ हुनुहुन्थ्यो, र उहाँ एयरपोर्टमा लिन आउनु भयो। दाइले आफू बसेको कोठा नजिकैको कोठा खोजिदिनुभएको रहेछ। गएको भोलिपल्ट दाइले मलाई कलेज र काम गर्ने ठाउँमा लगेर चिनाइदिनुभयो।
विद्यार्थीले हप्ताको २८ घण्टा काम गर्न पाउने नियम रहेछ, कलेज पढाइ शुल्क महिनाको २० हजार थियो अनि कोठा भाडा महिनाको ५० हजार थियो। आफूले काम गरेको ठाउँबाहेक पनि पार्टटाइम काम खोजेर गर्न थालेँ।
कलेज बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको थियो। कलेज सकेर कामतिर लाग्दै गर्दा एक्कासि टाउको दुख्यो, ज्वरो आउला जस्तै भयो। अनि फेरि बाटोबाटै काममा नगइकन कोठातिर लागेँ।
कोठामा गएर ओछ्यानमा पल्टिएँ, मनमनै सम्झिएँ— अलिकति रूघा लाग्दा आमाको नजिक गएर रोएको, आमाले तातो पानी तताएर दिनुभएको, खाना खान्न भन्दा कमजोरी हुन्छ भनेर आफ्नो हातले खाना खुवाइदिनु भएको। बुवाले अस्पताल लानुभएको। अनि फेरि आफैलाई गाली गर्न मन लाग्यो— विदेश त म आफैले रोजेको हुँ। विदेशको कुरा आउँदा हजुरबुवाले भन्नुहुन्थ्यो, 'सरकारी जागिर खानु, नातिनी, विदेश नजानु,' तर मैले विदेश रोजेर दुःख पाए जस्तो लाग्यो फेरि आफैलाई सम्झाएँ। विदेशिनु मेरो रहर त पक्कै थिएन, घरको जेठो सन्तान बुवा आमाले किसान पेसाबाटै पढाउनु भयो स्नातक, भाइ बुने सानै थिए, परिवारप्रति केही गर्ने जिम्मेवारी मैमाथि आएको थियो। अब फर्केर जान पनि कुनै बाटो छैन। १५/१६ लाख ऋण भार लिएर आएको छु, आमा-बुवाको आशा बोकेर आएको छु।' यस्तै रहेछ जिन्दगी भन्दै औषधि पसलमा औषधि लिन गएँ।
औषधि पसलबाट औषधि लिएर कोठामा आउँदा, मेसेन्जरमा फोन आइरहेको रहेछ। कक्षा ११/१२ सँगै पढेको साथीले फोन गरेको रहेछ। फोन उठाउने बित्तिकै उसले भन्यो, 'के छ तिम्रो खबर? सन्चै छौ?'
मैले भनेँ- ठिक छ मेरो खबर, अनि तिम्रो?
उसले अँध्यारो अनुहार पार्दै भन्यो, 'ठिक छ, मेरो पनि साथी, म पनि खरिदारको जागिर छोडेर जापानको प्रक्रिया चालुम् कि भनेर सोचिरहेको छु। जीवन चलाउन एकदमै गाह्रो भएको छ। तीन वर्ष काठमाडौंमा बसेर तयारी गरेपछि करिब २२ ठाउँमा परीक्षा दिएपछि मात्र खरिदारमा नाम निस्केको थियो।
'३२००० तलब छ, कोठा भाडा तिर्छु १५०००, अफिस जान दिनको ८० रुपैयाँ तिर्छु। अन्तिममा महिना बित्दा १०००० सम्म हुँदैन। आमा बुवालाई एकसरो राम्रो लुगा पनि किन्न सकेको छैन। लोक सेवामा नाम निकाल्दा काकाले भन्नुहुन्थ्यो इमानदारिताका साथ काम गर्नु, घुस लिने र दिने दुवै भ्रष्टाचारी हुन्। दिने त कानुनको दायरा बाट झुकिएर उम्केला तर लिने एक दिन न एकदिन फस्छ त्यसैले राज्यको सम्पति हिनामिना नगरी काम गर्नु, तर साथी इमानदारिताका साथ काम गर्ने मान्छेलाई जिन्दगी चलाउन एकदमै गाह्रो रहेछ।
खै कसलाई दोष दिनु साथी! हिजो म नजिकै बस्नु भएको एक जना सरले एक जना सेवाग्राहीलाई भन्नु हुँदै थियो, 'तपाईंले ल्याएको सिफारिस मिलेको छैन, काम हुँदैन।'
अनि सेवाग्राहीले भने, 'सर, काम त भइहाल्छ नि! बरू यसो बाहिर गएर चिया पिएर आऔं।' भनेर दुबै बाहिर गए। बाहिर गएको १५/२० मिनेटपछि दुबै आए। अघि सिफारिस मिलेन भनेको मान्छेले सबै ठिक छ, तपाईंको काम भयो भनेर सेवाग्राहीलाई भने।
अनि मैले भनेँ, 'सर, अघि त प्रक्रिया पुगेन भन्नुहुन्थ्यो त फेरि अहिले सबै कागजात मिल्यो भन्नुहुन्छ।' अनि उनले भने, 'सर, हजुर चुप लागेर आफ्नो काम गर्नुहोस्। म जेसुकै गरूँ, मेरो काममा तपाईंले वास्ता नगरेकै राम्रो।'
साथी, यस्ता केही भ्रष्टाचारी कर्मचारीका कारण इमानदारिताका साथ काम गर्ने कर्मचारीलाई समेत भ्रष्टाचारी भन्ने गरिन्छ। हामीले मेहनत गरेर कमाएर घर घडेरी जोडे पनि, फलानाले भ्रष्टाचार गरेर कमाएको सम्पत्ति हो भन्छन्। अस्ति, मित दाइलाई बिहे गर्न केटी माग्न गएका थियौं। जेठा ज्वाइँ भ्रष्टाचार मुद्दामा भर्खरै जेल गएका रहेछन्।
केटीको बुवाले भने, 'बरू हलो जोत्ने किसानलाई मेरी छोरी दिन्छु, तर निजामती सेवामा आबद्ध कर्मचारीलाई छोरी दिन्नँ।'
लाग्दैछ नेपालमा पढेर दुःख पाएँ। सरकारी जागिर खाएर दुःख पाएँ, नेपालमा बसेर दुःख पाएँ।
उसले बोलुन्जेल सुनी रहे अनि भनेँ, 'साथी, तिमीले नेपालमा पढेर दुःख पायौं, सरकारी जागिर खाएर दुःख पायौ, मैले विदेश रोजेर दुःख पाएँ। आज बिरामी भएर सुतिरहेको छु, तातो पानी तताएर दिने मान्छे पनि छैन। तिमी त आपतविपत परेको बेला आफ्नो घर जान पाउँछौ, म त मरिहाले पनि मेरो परिवारले लाश समेत नभेट्ने ठाउँमा छु। दसैंमा आमाबुवाको हातको आशीर्वाद थाप्न पाउँदिनँ, तिहारमा आफ्ना दाजु, भाइलाई माला लगाउन पाउँदिनँ। सुख विदेशमा पनि छैन। सबैभन्दा ठूलो कुरा जे छ त्यहीमा रमाउनु ठूलो कुरा रहेछ। मैले भनेको मान्छौ भने जे गर स्वदेशमै गर, सरकारी जागिरले भएन भने केही व्यापार गर, जागिरेभन्दा व्यपारबाट पैसा कमाउन सकिन्छ। मैले यति भन्दा पनि तिमी विदेश जाने सोच बनाउँछौ भने पानी तातो छ भन्ने कुरा थाहा पाउँदा पाउँदै त्यही पानीमा हात हालेर हात पोलियो भन्नु उही हो! तिमी त्यहाँ कुर्सीमा बसेर काम गर्दैछौ, यहाँ विदेशमा त होटलमा भाँडा मोल्नु पर्छ।
तिमी त घरको एकल सन्तान होइन? आफैले सोच तिमी पनि विदेश गयौ भने तिम्रो बुढाबुढी भएका बुवा आमा बिरामी हुनुभयो तातो पानी तताएर समेत दिने मान्छे हुँदैन। अरू त कुरा छोड तिम्रो बुवाआमा केही कारण बित्नुभयो भने दागबत्ति दिन समेत भनेको समयमा आउन पाइँदैन।
मेरो कुरा सुनेर उसले 'धन्यवाद साथी मलाई यति उपयोगी उपदेश दिएकोमा, हो रहेछ साथी जे छ त्यहीमा रमाउँदा मात्र जीवन सुखी हुनेरहेछ' भन्दै साथी बाई है भनेर उसले फोन राख्यो म पनि खाना बनाउनतिर लागेँ।