ऋण नखाएको ऋणी हुँ
बाजे
यसो भन्दै भन्दै
धर्तीबाट विलीन भए
बाजेको अनुहार त देख्न पाइनँ
तर बाजेसँगै
पौरखी संस्कार पनि घट्दै गयो
उब्जाउ भूमिहरू
उराठ लाग्दा देखिन थाले।
बाजे बितेपछि
बाजेका सन्तानहरूमा
छुट्टै मोह बढ्न थाल्यो
विदेशका ठुला–ठुला
कम्पनीमा काम गर्ने
रहरसँगै
गाउँमा युवाहरू देखिन छाडे
भएका युवाहरू पनि
कुलतका सिकार हुन पुगे
कोही गाउँमै बसेर बिग्रिए
कोही सहर पसेर
उतै हराए।
सहर पसेकाहरू
कोही
आफ्नै देश परिवर्तन गरी
गाउँलाई चटक्कै माया मारी
तेस्रो देश पुनर्वास हुनसम्म भ्याए
गाउँमा बसेर कुलतमा फसेकाहरू
कुलतबाट त निस्किए
जब उसले थाहा पायो
कुलतमा थिएँ भनेर
त्यस बेला उसलाई आफ्नाले नै
छाडिसकेका थिए।
कुलतमा फसेको कारणले
उसले आफ्नाहरूलाई छुट्टै
ऋण बोकाएको छ
त्यही ऋणमोचनका लागि
उसका सन्तान
आज पनि
विदेशका गल्ली गल्लीहरूमा
कुल्ली भएर कुदिरहेको छ
के थिएन र मेरो देशमा
पानी थियो, सिँचाइ थिएन
बल थियो, श्रम थिएन
श्रमिक थियो, ज्याला थिएन
उब्जनी थियो, विनिमय थिएन
बिरुवा थियो, जंगल थिएन
सरकार थियो, आकार थिएन।
बाजेले उबेला
रोपेको सुन्तला अहिले पनि खान मिल्छ
तर
हाम्रो संस्कारले फूल रोप्न सिकाएन
लगाउन सिकायो
लगाउनका पछि दगुर्दा दगुर्दै
बाजेको सन्तति सकियो
बाको पनि सकियो
अब त हामीले उठ्ने
बेला भएको छ।
बाजेले रोपेका बिरुवालाई
सम्हाल्दै नयाँ बिरुवा लगाउनु छ
बाको सन्देश लिएर
नयाँ उजागर गर्नु छ
परदेशिएका सन्तानहरूलाई
देशमै केही गर्न सकिन्छ
भनेर देखाउनु छ।
किन हुन पर्यो शरणार्थी हामीले
किन जानु पर्यो ज्यामी बनेर
गरौँ आफ्नै देशमा कुल्ली अनि
ज्यामीका कामहरू गरौँ
काम सानो-ठुलो हुँदैन
स्वाभिमान ठुलो हुन्छ
आफ्नो देश ऋणमा डुबेको बेला
हामीले सहारा दिएर
बनाउनु छ देशलाई
सुखी र समृद्धि
ल्याउनु छ नयाँ बिहानी
सदा सदाको लागि
ऋणमोचन गरेर।