कविता
काली पस्दिनँ आमा, महाकाली बन्छु म
जिजुआमा, हजुरआमा,आमा अनि छोरी
कति पुस्ताले सहनु पर्ने हो र? हिंसा घरिघरी।।
मैले हिम्मत गरेँ पो सन्ततीले गर्लान्।
सही गलत छुट्टाएर महिला सम्मान गर्लान्।।
मलाई बुहारी भन्ने नाता टुटे टुटोस् बरू,
मेरी प्यारी आमाको छोरीको घटाउदिनँ
मेरी सानी छोरीलाई टुहुरी बनाउदिनँ।।
हिम्मत दिनुस् आमा मलाई एक्लै गरिखान्छु।
जिउँदै जल्दिनँ आमा
उसको हातबाट मर्दिनँ
काली पस्दिनँ आमा, महाकाली बन्छु म
डोरी कस्दिनँ आमा बरू सँगै बस्दिनँ।
दाइ! तैंले मेरो कुरा किन पत्याउँदैनस्।
बाआमालाई नभन भन्दै किन फकाउछस्।
मलाई हिंसा भाको भिडियो पठाउनै पर्ने हो र?
कि मेरो लाशको फोटो मिडियामा आउनु पर्ने हो र ?
घर बिगार्ने इच्छा त मेरो पनि होइन
सम्झाएर नमान्नेलाई सजाय नभई भएन।
हिम्मत दिनुस् दाजु मलाई हिँसा विरूद्ध बोल्न।
महिलालाई सम्मान गर्न अभिप्रेरित गर्न।।
मलाई भाउजू भन्ने नाता टुटे टुटोस् बरू ।
मेरो प्यारो दाजुको बहिनी घटाउँदिनँ
काली पस्दिनँ दाजु, महाकाली बन्छु म।।
डोरी कस्दिनँ बरू एक्लै जिउँछु म
बाबा हजुरले पुजेको ढुंगा त
भगवान सरी पुज्थेँ।
ऊ त मान्छे थियो हजुरले जल खाएर पुजेको
त्यसैले मैले भगवान मानी खुट्टा ढोगेको।
सम्मान मैले खोज्या थिइनँ हिंसा नगरे पुग्थियो।।
देउतै हुन पर्दैन थियो राक्षस नभए हुन्थियो।
कति सम्म सहने मेरा क्षमता इच्छाहरू मार्ने।
हजुरको इज्जत राख्न भन्दै कति चुप लाग्ने।।
सकियोस् बरू हजुरले ज्वाइँ भन्ने नाता
आँट दिनुस् बाबा उसलाई सजाय दिलाउँछु
जुत्ता भन्दै हेप्नेलाई शिरमै राख्ने हैसियत बनाउँछु।।
काली पस्दिनँ बाबा, महाकाली बन्छु म
डोरी कस्दिनँ बाबा, एक्लै बस्छु म।।