सायदै सदियौँ देखिको
मनको द्वन्द्व कम गर्न
सक्दो हो
एक दिनको नाचले
यो एउटा मेलो हो मनको
गहिरो घाउको दागलाई छोप्ने
जुन घाउ न कसैले देख्न सक्छ
न कसैले बुझ्न सक्छ
न कसैले नजिकबाट महसुस गर्न सक्छ!
तीज एउटा गहिरो पीडा भुलाउने
माध्यम बन्न सक्छ
जुन पीडा न कुनै हस्पिटलको
उपचारले निको हुन्छ
न कुनै औषधिले
यो एउटा हृदयबाट बजाइने आवाज मात्र हो
बाहिर सुनिएका ध्वनिहरू
त्यसैले मलाई त्यति आकर्षक लागेनन्
कहिले यो गीतहरू
किनकि
हृदयको आवाज सुन्न
हृदय नै चाहिन्छ।
आज एक दिन नाचेर जीवन भरिको कुण्ठा
मनभरि दबाएर बाँच्ने त्यो कठोर समयमा
हाम्रो अग्रजहरूको सानो प्रयास थियो त्यो!
तर आज
परिवेश परिवर्तन भयो
देश, काल, परिस्थिति परिवर्तन भएपछि
न अब भजन गाएर कुनै अर्को
मानिस खुसी पार्न सकिन्छ
न त संस्कारको नाममा
जीवन दाउमा लगाउन हाम्रो मनले दिन्छ
अब गाउनु पर्ने हुन्छ गीतहरू
समग्र मानव मूल्य मानवता सहितको
प्राकृतिक अस्तित्वको
आफ्नै कर्म र पसिनाको रङ्गको
जुन जीवन धान्न जीवनभरि श्रम गरेर पनि
खुसी साथ सास लिन नपाउने
परिवेशको अन्त्य हुनु पर्ने
संगीतले भरिनु पर्नेछ
हाम्रै वरपरका चार दिवारभित्र कैद
सजीव तर लुप्त आकृति खोज्नु पर्नेछ!
एकातर्फ अरूको भर नपर भनी
आत्मनिर्भरताको ढोलक बजाइरहने
अनि अर्कोतर्फ दासता र विभेदलाई
बढवा दिने संगीत घन्काइरहने हो भने
सफलताको सिँढीहरू
जटिल बन्दै जानेछन्
आफैले रचेको परिवेशले
आफैँलाई थिचेपछि
कसले साथ दिन्छ दुःखद परिवेशमा?
तसर्थ,
नारीहरू सहित यो समाजले अब
जीवन साधनाको लयमा तीजलाई
सामेल गर्नु पर्नेछ
जहाँ बज्नेछन् केबल आत्मसम्मान
मानवता, ममता र मातृत्वका संगीतहरू
जुन कुनै लिङ्ग भेदी नभई
केबल एउटा सिङ्गो मानिस
भएर बाँच्न पाउने पलसँग चित्रित हुन्छ।