ऊ अर्थात् एक नारी।
ऊ शिक्षाको अवसर नपाएर आफ्नो अधिकारबाट वञ्चित नारी होइन। आत्मनिर्भर हुन नसकेर पिछडिएकी नारी पनि होइन। झट्ट हेर्दा, पुरुषसरह शिक्षादीक्षा पाएर आफ्नो पेसागत क्षेत्रमा अब्बल सशक्त महिला हो।
आफ्नो दौडधुपकै बिच हिन्दु नारीहरूको महान् चाड हरितालिका तीज मनाउन ऊ पनि तम्सिएकी छ।
‘भोलि त महिला बिदा, माइत जाने होला, म्याडमहरूलाई रमाइलो छ।’
कार्यालयमा अलिकति छेड छाड नसही, आफ्नो अधिकारले दिएको बिदा लिन पाई उसले।
जसोतसो काम भ्याएर, दर खाने निम्तो मान्न माइती पनि पुग्नु थियो। भोलिपल्ट तीज, चलिआएको चलन, एक जोर साडी ब्लाउज लगाउनै पर्यो, चुरा-पोतेको जोहो पनि गर्नु छ।
वर्षौँअघि छोडेको माइतीमा आफ्ना पुराना कपडा पनि कहाँ पुगे होलान्।
ऊ हत्तपत्त घर पुगी। घरमा भेला भएका नन्द-आमाजूलाई दर खुवाउने जिम्मा सासूलाई छोडिदिई। यसरी छोडेकोमा गैर जिम्मेवार भएको आरोप सुन्नलाई तीज सकिए पछिका धेरै दिनहरू बाँकी नै छन्, आजलाई भने ऊसँग ती आरोप सुनिदिने समेत फुर्सद भएन।
दूधे बालकलाई दिउँसो दुःखसुख, अरूले हेरिदिए पनि रातभर छोडेर हिँड्ने छुट उसलाई छैन। जिम्मेवारीबिच ममता भरिएको मन कति पटक निचोरिन्छ, त्यसको हिसाब राख्ने समय पनि मिलेको छैन।
रहर उसलाई पनि थियो, ‘को खाई, को खाई’ गरेर बच्चालाई आफूले चाहेजस्तै लिटो बनाएर खुवाउन, आफ्नो बच्चाले पहिलो पाइला चाल्दा उसकै सामुन्ने बसेर हौसला दिन, हुर्कँदै गरेको बच्चासँग बच्चाजस्तै बनेर दिन बिताउन। तर ऊ मातृत्वलाई केवल जिम्मेवारीजस्तो निभाइरहेकी छ।
ऊ जुटाइदिन्छे डाइपर र वाइप्सहरू। सेरलेक र ल्याक्टोजिनहरू। कपडा धोइदिने, तेल लगाइदिने सहयोगी दिदीहरू। र सुन्छे, ‘बच्चा पनि अरूले नै हुर्काइदिएका छन्, कति सजिलो, कस्तो आनन्द’ भन्ने तीखा शब्द वाणहरू।
मातृत्वका खुसी समेट्न उसलाई समय नै पुग्दैन। तृप्त हुने गरी आमा बन्न समेत भ्याई नभ्याई छ उसलाई।
बच्चो च्यापेर, चुरा पोते बटुलेर, नयाँ/पुराना कपडाको एउटा पोको बाँधेर ऊ निस्किई।
धन्न उसको सहरमा राइड सेयरिङको सुविधा भने उपलब्ध छ। झपक्कै अँध्यारो भइसक्दा पनि अनलाइनबाट बुक गरेको ट्याक्सीले माइतीघरको बाटो समात्यो।
बाटैमा भए पनि एक छिन सामाजिक सञ्जाल नियाल्न थाली ऊ। महिनै दिन भयो होला, दर खाएका फोटो सञ्जालमा छाएको। यी कस्ता नारीहरू हुन्, ऊ बुझ्दिन। उनीहरूको जीवनको हिसाबकिताब अनुमान लगाउन ऊ सक्दिन। एउटा समूहको दर खाएको दिन एउटा पहिरन, अर्को समूहमा दर खान जाँदा अर्कै। सकेसम्म गरगहना पनि छुट्टै। कसैको भने, समूहका सबैको उस्तै पहिरन।
न्युरोडका गल्लीमा एउटा ठिकठाकै देखिने साडी किन्नु परे उसको झन्डै हप्ता दिनको तलब सकिन्छ। बुटिकको ज्यालामा फल्स, पिको, ब्लाउजको हिसाब उस्तै महँगो। यो सबैको बिचमा प्रत्येक समूहको दरमा समावेश हुँदा अलग-अलग साडी र गरगहना लगाउन पुग्ने हिसाब उसको दिमागले केही गरे पनि भ्याउँदैन। ऊ त्यसबारे टाउको दुखाउनै छोड्दिन्छे।
सहरको आधुनिक दरको 'मेन्यु'मा मदिरा कसले राख्यो, त्यो ऊ जान्दिन।
अफिसको दरमा मदिराको अफर उसलाई पनि नआएको होइन। उसले नकारिदिई।
उसको लागि अझैसम्म दरको परिभाषा, तीजको अघिल्लो रात आमाले एघार बजे उठाएर खुवाएको खिर र सिमीको तरकारीमै अल्झिएको छ।
दिउँसो आमाको हातमा राख्दिनलाई दुई/चार केजी फलफूल मिठाई किन्ने न सम्झना भयो न फुर्सद।
‘चोकमा एकै छिन रोक्दिनुस् है।’
धन्न यति अनुरोध मान्दियो ट्याक्सी ड्राइभरले।
हतार हतार कोसेलीको जोहो गरेर माइतीको आँगन पुगी ऊ। छिमेकीका छोरीहरू अघिल्लै दिन आएर घर उज्यालो बनाइसकेका रहेछन्।
छिमेकीकी छोरीले आफ्नै छतबाट भनिन्, ‘हेर, आमाले दिउँसैदेखि बाटो हेरेको हेर्यै हुनुहुन्थ्यो। दर खाने दिन पनि यति राति मात्रै आइस् कान्छी? कसैले नखाएको जागिर तैँले नै खाएकी रहेछस् है।’
यो सुन्नु कुनै नौलो कुरा ठानिन उसले। सुन्दा सुन्दा अब मान्छेहरूका यस्ता कुरा जायजै मान्न थालिसकेकी छ उसले।
जवाफमा ‘त्यस्तै भयो’ को भावमा फिस्स हाँसेर नमस्कार टक्र्याई र भित्र पसी।
फुपूहरू, दिदी-बहिनीहरू, भदैनीहरू सबै भेला भइसकेका रहेछन्।
सन्चो बिसन्चोको खबर आदानप्रदानपछि, उमेरले आठ दशक पार गर्न लागेकी हजुरआमाले आफ्नो समयको तीजको कहानी सुनाउन सुरु गर्नुभयो।
‘तीजको दिन त पानी पनि कहाँ पिउँथ्यौँ र हामी। हाम्री सासूले नुहाउँदा मुखमा पानी पर्छ है भनेर जोगिन लगाउनु हुन्थ्यो। ठुलो परिवार हुन्थ्यो। तीजको दिन घरमा सबै छोरी-बुहारी भेला भएर पूजा लगाउँथ्यौँ।
साँझमा घाम अस्ताएपछि बत्ती बालेर, दर्जन-दर्जन केरा र दूध अगाडि राख्दिनु हुन्थ्यो। सके जति खाइन्थ्यो, सबै पच्थ्यो पनि।
भोलिपल्ट फेरि चौथीको पूजा। अनि पर्सि पञ्चमी। खोलामा गएर विधि पुर्याएर नुहाएर, जल लिएर फर्किन्थ्यौँ।
त्यस दिन खानलाई हलो नलगाएको माटोमा उब्जाउने चलन थियो। बारीको एउटा गरामा त्यसै दिनलाई भनेर छुटाएर मकै रोपिन्थ्यो, आफैँले खनेर। पञ्चमीको साँझमा भने पोलेका मकै र दही खान्थ्यौँ।’
हजुरआमाका कुरा सुन्दा कथा सुनेजस्तै लाग्थ्यो। अबको पुस्तामा यसरी पूजा गरेर तीज मनाउने ज्ञान, समय, आस्था सबैको अभाव खट्किँदै छ। चाहेर पनि नसकिएको जस्तो, भारी लाग्न थालेका छन् संस्कारहरू पनि। यस बारेमा वहाँका आफ्नै गुनासाहरू थिए। सन्ततिले संस्कार भुलेका गुनासाहरू।
‘तैँले त पञ्चमीको व्रत कहिल्यै लिइनस् है?’ उसैलाई औँल्याएर सोध्नुभयो हजुरआमाले।
उसले सम्झिई, सरकारले रूढिवादी परम्परा भनेर केही वर्षअघि ऋषि पञ्चमीको दिन दिइने बिदा हटाएको कुरा।
यसबारे खासै सोच्न भ्याएकी थिइन।
फेरि त्यही कुरा सुन्नुपर्ने भो, ‘कसैले नखाएको जागिर...’
तैपनि सत्य कुरो बताइदिई उसले, ‘त्यस दिन त छुट्टी नै हुँदैन आमा, व्रत बसेर दिनभरि काम गर्दा कमजोर भइएला कि भनेर हो।’
हजुरआमाका गन्थन मन्थनसँगै दर पनि पाक्यो। दर खाइसकेपछि नाचगान गर्ने कुरा भयो। पुराना तीजका गीतहरूमा सासूले दुःख दिएका कथा जोडिन्थे। नन्दआमाजूले पिरेका व्यथा जोडिन्थे। माइतीको आँगनमा पिर व्यथा पोखेर नाचिन्थ्यो।
अबका नारीका पिर व्यथा अलग छन्। आत्मनिर्भरताको नाममा थपिएको दोहोरो जिम्मेवारीले सास फेर्ने फुर्सद नमिलेको पिर कुन गीतमा गाउनु? स्वाभिमानको रहर आफ्नै हो, त्यसले थपेको व्यथा कुन गीतमा जोड्नु?
जेसुकै होस्। एक दिन अफिस बिर्सिएर, घर बिर्सिएर, माइतीघरमा थकान मेट्न पाउनु ठुलो कुरा हो। पिर सम्झिने पनि खासै फुर्सद नभएको बेलामा पाएको एक दिनलाई रमाइलोमै बिताउने निर्णय गरी उसले, मनमनै।
भदैनीले स्पिकरमा गीत जोडिदिई, ‘कमाउने नि हो, रमाउने नि हो...’
ऊ मुसुमुसु हाँस्दै, दिदी-बहिनीहरूसँगै कम्मर हल्लाउन तम्सिई।