कविता
हिजो बा मलाई समय पढाउनु हुन्थ्यो
आज म बुवा भएर बाबुलाई समय पढाउँछु।
थाहा छैन,
तर
पहिलो पाइला बा कै औंला समाएर हिँडेको हुनुपर्छ
पहिलो शब्द बा नै बोलेको हुनुपर्छ
पहिलो अक्षर बा ले नै लेखाएको हुनुपर्छ
त्यसैले भन्छु बा!
तिमी नै मेरो जीवनको पहिलो गुरू हौ
पथप्रदर्शक हौ र मार्गदर्शक हौ।
हिजो मलाई ठूलो बनाउन सपना देखाउने बा!
म सानो छँदा काँधमा बोकी परसम्म देखाउने बा!
मेरै उज्यालोको लागि मैनबत्ती बनेर बल्दिने बा!
घरको हरेक जिम्मेवारीमा आफ्नै काँध हाल्दिने बा!
मेरो लुगा फाट्दा आफ्नौ दौराको फेर च्यातेर टाल्दिने बा!
सम्झन्छु, हिजो बा सँगका मेरा ती दिनहरू...
बाबु तँ साह्रै अल्छि भइस् सबेरै उठ्ने बानी बसाल्नु
जा घाँस, दाउरा, गोबर सोर अनि किताब पल्टाउनु
भविष्यमा सबैले मान्ने ठूलो विद्धान बनेस् है बाबु
आइज म पाठ पढ्छु त घण्टी बजाउनु।
बा!
म मेरा हरेक अप्ठ्याराहरूमा तिम्रो काँधमा हुन्थेँ
म भन्दा बडेमानको भारी तिम्रो पिँठ्युमा हुन्थ्यो
तै पनि म थाक्थेँ, खुट्टाहरू गल्थे, रून्थेँ र कराउँथें
तर कहिल्यै थाकेनन् तिम्रा ती जिम्मेवार काँधहरू।
मेरै हाँसोमा आफ्नो हाँसो बिर्सिएका बा!
गरिबी र जिम्मेवारीले पिल्सिएका बा!
म सोच्छु मेरो खुसीका लागि के गरेनन् र बाले
सबथोक सहे, जिन्दगी भर पसिनाले नुहाए।
यदि दुःखको पर्यायवाची शब्द कुनै छ भने त्यो बा नै हुनुपर्छ
खुसीको पर्यायवाची शब्द छ भने पनि बा नै हुनुपर्छ
हामी स–साना खुसीमा रमाउँथ्यौं,
बा! हाम्रो खुसीमा रमाउँथे।
एक दिन साँझ टुकीको मधुरो उजेलीमा
मझेरीको एक छेउमा किताब पढ्दै गर्दा
'आमा' कविता पढेँ
आमा! पढ्दै गर्दा मनमा कौतुहलता जाग्यो
किताबको हरेक पाना पल्टाएँ
अहँ! बा कहीँ भेटिनँ
मेरा आँखा बा तिर तेर्साउँदै
बा लाई नै प्रश्न गरेँ
बा!
बा कविता हाम्रो किताबमा किन नराखेको?
बा को मौनता बीच फेरि अर्को प्रश्न गरेँ
मैले बा को बारेमा कहिले पढ्ने बा?
बा का ती मौनताहरू अझै तोडिएका छैनन्
तर आज म आफै बा भएपछि बल्ल थाहा भयो
बा! त पढाइ होइन, भोगाइ हो
बा! लेखाइ होइन, सिकाइ हो
बा! कविता होइन काव्य हो भनेर
सायद त्यै भएर होला कुनै कविले पनि
बा लेख्ने शब्द भेटेनन् कि क्या हो!
मैले आमा पढेँ, परिवार पढेँ, समाज पढेँ, राष्ट्र पढेँ
तर अहँ! बा कहिल्यै पढिनँ।
म त भन्छु बा!
धर्ती हुन्, ब्रह्माण्ड हुन्, आकाश हुन्
या त भनम् बलियो खम्बा हुन्
हरेक विपत्तिमा ब्रह्माण्ड आत्तियो होला
तर अहँ! मेरा बा कहिल्यै आत्तिएनन्
भूकम्प आयो घर भत्कियो, जमिन भासियो
पानीका मुहान सुके
तर मेरा बा न ढले, न भासिए, न सुके
बा को त्यो अचम्मको साहस देखेर म छक्क पर्थेँ
बेला–बेला आकाश पनि रून्छन्, कराउँछन्, आँसु बगाउँछन्
तर मेरा बा कति साहसी पीडामा पनि आँसु लुकाउँछन्।
बा!
शितल छहारी हुन्
हामी त्यही छहारीमा गर्मी छउन्जेल शितलता ताप्यौं
शितलता सँगै आ–आफ्नो बाटो लाग्यौं
तर बा आज पनि त्यही शितलताका लागि
परिवार पर्खी रहन्छन्, कुरी रहन्छन् बाटो हेरी रहन्छन्।
खै बा आज पनि म अन्योल मै छु
तिमीले देखाएको मार्गहरू गन्तव्यमा पुगे या पुगेनन्...
सपनाको सहरमा बिलाए, या त बाटो बिराए ...
निन्द्रा त झुपडीमै मिठो लाग्थ्यो बा!
यहाँका बिछ्याउनाहरूले पनि बिझाएका छन्
तर यति भन्छु बा!
ती तिमीले देखेका सपनाहरू बिलाएका छैनन्
भरोसाहरू टुटेका छैनन्
दुःखमा सल्लाह दिने त आफन्त पनि हुन्छन् बा!
तर साथ दिने तिमी बाहेक भेटेको छैन।