चराचुरुङ्गीको चिरबिर चिरबिर, कुहिरोले छोपेको पारि डाँडा, बादलले डम्म छेकेको घाम, शरीरमा काँडा उमार्ने सिरसिरे बतासमा रम्दै सम्झनामा हराउँदा लाग्छ जीवन भनेकै विगत हो।
समय पनि कति बलवान् छ है! कति छिटो छोडिदिन्छ हामीलाई पछाडि। उस्तै रहेर पनि बनाइदिन्छ हामी सबैलाई भिन्न।
थाहै नदिई छोडेर गराइदिन्छ अथाह परिवर्तन!
यस्तै समयको भिडमा कतै हराएको छ मेरो बालापन। सँगै हराएका छन् साथीहरू। र तिनै यादहरूको डोरी पछ्याउँदै आएको छु उहीँ ठाउँ जहाँ बिताएको छु जीवन कै सबैभन्दा मूल्यवान् पलहरू।
जहाँ खर्चेको थिएँ एक मुठी समय र आर्जेको छु एक जुनीलाई पुग्ने मिठा याद र सम्झनाहरू।
जहाँ गाँसिएको छ बोट बिरुवादेखि बग्ने खोला नालासँग सम्बन्ध। जहाँ म लिन्थेँ साथीहरू बिच आनन्दका स्वादहरू। जहाँ दसैँको छुट्टीमा पिङमा त तिहारको छुट्टीमा भैलोमा। होलीको छुट्टीमा रङमा अनि शनिबारे छुट्टीमा स्याउलीले बनाइएका घरमा तर स्थिति भने सधैँ एकै रहेन अब।
दसैँ, तिहार, होली, शनिबारे छुट्टी सबै रहेर पनि रहेन अब त्यो उमङ्ग। होलीको रङमा झुम्ने साथीहरू अहिले जीवनकै रङ बदल्नमा व्यस्त छन्। र त आइरहन्छ बेजोडले याद। यादहरू पनि कस्तो बेइमान है! पत्तो नदिई आइदिन्छन् र बढाइदिन्छन् न्यास्रोका थुप्रा।
यसै भन्न सकिँदैन यहाँ बतास चल्दै छ वा बहँदै छ यादहरू जगाउने ओखती!
नयाँ किताबका पानाझैँ पल्टन्छन् यहाँ सम्झनाका पानाहरू। दिएर जान्छन् एउटा अनौठो आनन्द अनि स्फूर्ति। जहाँ मिश्रित रहन्छन् खुसी र केही गुमाएका पीडाहरू। जहाँ हराउन मन लाग्छ आफैभित्र। आफ्नो हातबाट छुटेका केही पलहरूमा! सायद यही न हो जीवन। केही सम्झनाहरूको सङ्ग्रह पनि। पत्तो नपाई बदलिन्छन् वर्तमानका यादहरूमा।
केही मूल्यहीन लागेका समयपछि लाग्छन् सम्झँदा निकै मूल्यवान्। केही अर्थहीन लागेको विगत बनिदिन्छन् पछि अर्थपूर्ण।
त्यसैले सायद तिता मिठा यादहरूको जगमै थप्छन् सबैले सपनाका तल्लाहरू! सजाउन खोज्छन् जो केहीले उपलब्धिका चाङहरू र त धानिएको छ यहाँ हर कोही।
आफूले हिँडेका केही बाटाहरू फेरिएका छन् तर पनि लाग्छ यहाँ कतै-कतै पैतालाका अवशेष सुरक्षित छैनन्। छैनन् भन्ने पनि के? मन मस्तिष्कमा सधैँ सिँगारिएका छन्, अमिट छाप बनेर। पहिलेका छाला घोच्ने चुथ्रोका केही घारी हराएका छन् र छोडिएका छन् मन घोच्ने अवशेषहरू। जहाँ विगत खोज्दा भेटिन्छन् विकासे परिवर्तनहरू।
हामीले मन्दिर मानेर फेरा हाल्ने रुखको मन्दिरलाई आज घाँसले फेरा हालेछ। मेटिएछ हामीले पुज्ने विष्णु र सरस्वतीका चक्र तर आस्था मेटिन सकेको रहेनछ। त्यसैले होला त्यस ठाउँ पुग्दा हरबखत अनायासै मेरा दुई हात जोडिन्छन्।
त्यस्तै आफ्नो ठाउँको घर जस्तै प्यारो लाग्ने चौपारी अहिले कुनै भत्केको घरको भग्नावशेष जस्तै हुन गएछ। चिसो बतासमा थाकेर पसिनाले भिजाएको आँत सुकाउन बस्थ्यौँ। तल बगेको दरौखोला हेर्थ्यौँ र गफमा हराउँथ्यौँ, चौतारी छेउमा चरालाई साँचेर राखिएको पोखरीको पानीमा हात चोबल्दै।
तर आज त्यो चौतारी आफ्नो पहिचानको खोजीमा छ। जहाँ उम्रने दुबोलाई उछिनेर प्लास्टिकका बोतल र चाउचाउका खोलले ढाकेका छन्। कुवा पानीले नभएर सुकेका पातले भरिएका छन्। लाग्छ चौतारी मरणासन्न छ। चिसो हावा चल्छ तर त्यहाँ कुनै जीवन भेटिँदैन र म छुट्टाउन सक्दिनँ कि यसको दोषी हामी हौँ या हो हामीले भोगेको समय?
भारी मस्तिष्कमा यो धारिलो प्रश्न, अमिलो मन बनाएर फर्किन्छु त्यही निराश वर्तमानमा जसलाई भुलाउन आएको थिएँ विगतमा म आफै!