'हेलो सुमी! तँलाई र तेरो स्वामुलाई निम्तो दिन फोन गरेकी, पर्सि आओ है होटल र्याडिसनमा दिउँसो चार बजे।'
उत्साही भएर नितुलाई सोधेँ, 'ओई! प्यारी, किन हो है, केको निम्तो गरेकी त्यो पनि भव्य होटलमा?'
नितु आफ्नो खुसी रोक्न खोज्दै बोली, 'हेर्न साथी, बेबी सावर नगरौं भन्दा उहाँले मान्दै मानिसेन। अस्ति हाम्रो बेबी सावर विरूद्धको बहस खेरै गयो।' यति भनेर नितु हाँस्न थाली।
ऊ हाँसेको आवाज फोनबाट बाहिरै सुनिएको थियो।
ऊ अझ बोल्दै थिई, 'अचेलको चलन हामी पनि किन नगर्ने भन्दै उहाँले जिद्दी गरिस्यो, उता मम्मीले पनि कसैगरी मेरी छोरीको पनि बेबी सावर गर्ने गर्ने भन्नुहुन्छ। नानी पेटमा आएदेखि खाली भन्नुहुन्थ्यो, 'अमेरिका गएर बुहारीको बेबी सावर गरेको देखेँ। आफ्नो पालामा गर्ने चलन नै थिएन। मेरी छोरी नेपाल बसेकी छ भन्दैमा किन नगर्ने म त जसरी पनि गर्छु। उता कति रमाइलो गरेर बुहारीको बेबी सावर गरे यता आफ्नी छोरीको चाहिँ झन् नगर्नू, मलाई ठूलो रहर छ ज्वाइँसाहेव।' भनेर भन्नुभयो। अनि त के चाहियो, ज्वाइँ र सासू मिलेर भव्य रूपमा नै गर्ने भनिसेको छ। तेरो पनि अर्को महिना धुमधामले गर्नुपर्छ है। जसरी भए पनि आइजो नत्र म रिसाउँछु नि।'
नितुको फोनले दिनभरि मस्तिष्कमा तरङ्ग ल्यायो। रातभरि निद्रा लागेन। नसोचौं भन्दा पनि बाध्य भएँ सोच्न। साँच्चै हामीहरूले नै समाजमा थाहै नपाइ फराकिलो खाडल खन्दा रहेछौँ। आफ्नै बोली, आफ्नै सोच, आफ्नै व्यवहारमा लागू गर्न निकै कठिन हुँदोरहेछ। पढेलेखेका बुझेका बुद्धिजीवी भन्ने जमातहरूले पनि यो खाडल खन्न कम्मर कसेका रहेछौं। हाम्रै समाजमा कसैलाई मान्नै पर्ने चाडपर्व र संस्कार धान्न त धौधौ परेको छ। कसैलाई भने चाडपर्वका नाममा विकृति फैल्याएको थाहै छैन। हुनेखानेको देखासिकीमा लागेर तडकभडक गर्दा भएको जायजेथा बेचेर मुग्लान पस्न बाध्य परिवार पनि देखेकी छु। बिहेको नाममा उस्तै विकृति भित्र्याएको छ। नयाँ नयाँ चलन अवलम्बन गरेर सर्वसाधारणको ढाड सेकेको छ। बिहे, ब्रतबन्ध, गुन्यूचोली, तीज, साउन, के के हो के के पैसाको खोलो बगाएको छ। मलाई त बरू चाडपर्व नै नआए राम्रो जस्तो लाग्न थालिसक्यो। साँच्चै मसँग मनग्य पैसा नभएर पो हो कि यस्तो तडकभडक र संस्कृति फिटिक्कै मन नपरेको?
टन्न पैसा भएको भए म पनि आधुनिक चाडपर्व उफ्रीउफ्री मनाउने पो थिएँ कि! आफैलाई प्रश्न गर्दै आफ्नै मनोवादमा निकैबेर रुमलिएछु।
आ! पैसै भए पनि मचाहिँ अनावश्यक खर्च मरिगए गर्ने थिइनँ। के भएको होला, बेलाबेलामा मलाई ती आइमाईहरूसँग तुलना गर्न मन लाग्छ। जो बिहान बेलुकाको छाक टार्न संघर्ष गरिरहेका छन्। बच्चाको कापी किन्नको लागि दिनभरि गिट्टी, बालुवामा जोतिएका छन्। चाडपर्वको नाममा पैसा हुनेहरूले यो तामझाम गरेको देखेर तिनीहरूको मन र मस्तिष्कमा कस्तो आँधीहुरी आउँदो हो। छोराछोरीलाई कसरी सम्झाउँदा हुन्? हामी आफूलाई सामाजिक प्राणी भन्छौं तर हाम्रो गतिविधिले समाजलाई कस्तो प्रभाव पार्छ एकरत्ती सोच्न पनि सक्दैनौं।
हे प्रभु! मस्तिष्क भएकाहरूले पनि किन नसोचेका होलान्? यो अनावश्यक खर्च किन गर्नुपर्यो? रमाइलो गर्न त प्रदर्शन नगरे पनि हुन्थ्यो होला। बरू पैसा हुनेले यो खर्च जोगाएर कुनै सामाजिक कल्याणका काम गरे कति राम्रो हुन्थ्यो। नितु पो सप्पन्न छे र गर्छे पाँचतारे होटलमा पार्टी। हामी सक्छौं? साधारण मास्टरको जागिरले सुत्केरी खर्च कसरी टार्ने भन्ने चिन्ता सुल्झाउन सकेको छैन आफूले, बित्थामा! आ जान्नँ, म पनि गर्दिनँ बेबी सावर न टावर।
नितुको फोन आएदेखि निकै दिनसम्म मस्तिष्कमा विचारहरूले परेड खेलिरहे । जाने नजानेबीच युद्ध चलिरह्यो तर अन्तिम दिन मनले हार खायो।
मनै त हो जाने दिन त मलाई पनि नितुको पार्टीमा जाऊँ जाऊँ पो लाग्यो। के के गर्दा रहेछ्न् ? कस्तो हुँदोरहेछ पाँच तारे होटलको पार्टी र आधुनिक संस्कृति? बेबी सावर कसरी मनाउँदा रहेछन् ? आ! जे पर्लापर्ला जान्छु। कस्ता कस्ता मान्छे त आफ्नै विचारको धरातलबाट खसेका छन्। हामीले त आफ्नै साथीहरू माझ त विरोध गरेका थियौं नि! अनि मेरो मन ढुक्क भयो।
पार्टीमा उसै गए जोकर भइन्छ फेसन गर्नै पर्यो। अनि सुन जस्तै देखिने गहना पनि छपक्क लगाएँ। आफूलाई त उति सार्यो मन पर्दैन नि तर के गर्नु सबैको अगाडि उभिनै पर्यो। रिमिक्क परेँ अनि स्वामुको बाइकमा पछाडि बसेर बिस्तारै गएँ।
होटल भव्य रहेछ। निकै खर्च गरेर पार्टी आयोजना गरेका रहेछन्। खानाको आइटम देखेर तीन छक्क परेँ। जातजातका मिठाइ अरू केके हुन् बयान गरेर साध्य छैन।
अर्को अचम्मको कुरा त्यहाँ खाना आफ्नै हातले जति झिकेर खाए पनि हुन्थ्यो तर भद्र देखिएका धेरै महानुभावहरूले चाहिँदो भन्दा बढी खाना लिएर फालेको देखेँ। निकै दुःख लाग्यो। खोइ सभ्य भनाउँदा मान्छेको चेतना! हेर्दाहेर्दै ती सुटधारी मान्छेहरू मेरो आँखामा नाङ्गो मान्छे झैँ भए। म चारैतिर घुमेर पार्टीको रमझम हेर्दैछु। मान्छेका गतिविधि नियाल्दैछु। मान्छेहरूको विरार सुन्दैछु,
'सहरदेखि गाउँसम्म, तराईदेखि हिमालसम्म सबैतिर बेबी सावर मौलाउँदै छ। हुनेले त गरे गरे नहुनेहरूले पनि सापट खोजी खोजी गर्नु परेको छ। स्मार्ट युगमा, स्मार्ट संस्कृति अवलम्बन गर्न हामी सबै माहिर छौँ।
आधुनिकीकरण र प्रविधिको हावाले हामी सबैलाई चाहेर वा नचाहेर छोएकै छ र त हामी यहाँ भोज खान जम्मा भएका छौँ यसरी। विरोध गर्नेहरूले पनि स्वीकार गर्नु परेको छ। कतिलाई बाध्यता होला, कतिलाई करकाप। नयाँ नयाँ चालचलनबाट हामी अलग बस्न चाहेर पनि नसक्ने रहेछौँ।' यति भन्दै लामो श्वास तानेर फेरि बोल्न थाल्नुभयो हामीलाई समाजशास्त्र पढाउने सर, 'सामाजिक सञ्जाललाई मान्नैपर्छ छोटो समयमा दही चिउरा खुवाउने संस्कृतिमा यो किसिमको विकृति यति द्रुत गतिमा फैलियो। संस्कार र संस्कृतिलाई साधारण तरिकाले पनि सम्पन्न गर्न सकिन्छ। तर देखासिकीले हाम्रो समाजलाई तीव्र गतिमा लखेट्दैछ। आयातित चाडपर्व र संस्कारहरूले मौलिक परम्परा र संस्कृतलाई आफ्नो साम्राज्यको तुवाँलोभित्र छोप्दै छ। पुरातन संस्कृति र परम्परालाई ओझेल पार्दैछ।'
बोल्दा बोल्दै अँध्यारो मुख लगाएर सर जुरूक्क उठेर वासरूमतिर लाग्नुभयो।
म नितुको हजुरआमा सासू र सासू भएको ठाउँतिर घुम्दै गएँ।
नितुको सासूको अनुहार कालोनिलो थियो। कोही बोलेको आवाज मैले सुनेँ, 'परिवर्तन नै जीवन हो। जो समयसॅंग बद्लिन सक्दैन या जान्दैन त्यो अप्ठ्यारोमा पर्छ। अशान्ति, चिन्ता र अनिद्राले उसलाई घेर्छ। अनि कहिले अन्त्य नहुने प्रश्नहरूको दलदलमा फस्छ। हरेर कुराबाट सकारात्मक कुरा मात्र बटुल्ने अभ्यास गर्नु पर्छ हेर! अनि सुख पाउँछेस्।' आवाज रहेछ असी बसन्त पुगेकी नितुकी बूढीसासूको जो आफ्नी छोरीलाई सम्झाउँदै रहिछिन्।
नातिनी बुहारीको बेबी सावर हेर्न बुढीमाउ निकै उत्साहित भएकी थिइन्। सासूचाहिँ भन्दै थिईन्, 'नचाहिने ढर्रा गरेका छन् लाजसरम केही छैन। सम्धिनी पनि उस्तै हौसे रहिछिन्। वाहियात! मरेर कमाको पैसा बढ्ता भाको यिनीहरूलाई। खोस्टा उडाएझैँ उडाका छन्।' गनगन गर्दै गरेकी नितुकी सासू आफ्नो छोरोसँग असन्तुष्ट भएको स्पष्ट देखेँ।
नितुकी बुढीसासूको कुरा सुनेर म पनि सकारात्मक कुरा मात्र सोच्ने अठोट गर्दै अगाडि बढेँ।
जीवनमा एक वा दुई चोटि मात्र आउने पललाई उत्सव मनाएको देख्दा रमाइलो मान्दै गएँ। पुटुक्क पेट देखिने गुलाबी रङको गाउन लगाएर नितु बेहुलीझैँ सजिएकी थिई। केक पनि चार तल्लाको थियो। हातमा हात समातेर श्रीमतीलाई पूर्ण भरोसा र विश्वास दिन पछि परेका थिएनन् ध्रुव सर।
नितुको सासूको अनुहारमा चाहिँ औँसीको कालो रात अझ हटेको थिएन। नितुकी बुढीसासू आफ्नी छोरीलाई अझ सम्झाउँदै थिइन्, 'के भा’की तँ! छोराछोरीको खुसीमा खुसी हुनुपर्छ। हिजो जे थियो, थियो आज ती कुरा सक्कियो हाम्रा पालामा यस्तो थियो र उस्तो थियो भनेर छोराबुहारीलाई दिक्क नपार है। तँले जे गरिस् आफ्ना पालामा, अब यिनीहरूले पनि त्यही गर्नुपर्छ भन्ने तेरो सोच ठीक होइन। बेलैमा होस् गर। हिजोको कुरा कति गर्छेस् सम्झेर साध्य छन्? धर्मले पनि आजमा रमा भन्छ। तँ पनि त दिनभरि त्यो के जाति टिकटक हेरेर बस्छेस्। तँ तरुनी हुँदा थियो त त्यस्तो जिनिस? दहीचिउरा तँलाई पनि खुवाएकै हो। दहीचिउराकै अर्को रूप हो यो बेबी सावर भन्ने मान न अनि पो आनन्द हुन्छ। बित्थामा पिरोल्लिएको छ हुँदोनजाँदो।'
आफ्नी आमाका कुरा सुनेर नितुकी सासू झनक्क रिसाउँदै बोल्छिन्, 'आमा तपाईंचाहिँ किन यतिविधि खुसी हुनुभएको नि! जोरीपारीले के भन्लान् जस्तो लाग्दैन?'
उन्मुक्त हाँसो छर्दै बूढीमाउ बोल्छिन्, 'हेर! म त जेमा नि रमाउँछु। मर्ने बेला भैगो। हरेक दिन जस्तोसुकै होस्। म त रमाएर बिताउँछु। नौलो प्रयोगमा चुनौती त अवश्य हुन्छन्। के तेरो मोबाइलका चुनौती छैनन् र ? आज हातमा फोन बोक्ने नेपालीको संख्या ह्वात्तै बढेको छ। फाइदा र बेफाइदा बराबरी छ। प्रयोग गर्नेमा भरपर्छ। आफ्नो खुसी हेर्नुपर्छ तर आफ्नो कारणले अरूलाई दुःख चाहिँ दिनुहुँदैन। यति विचार गर्नुपर्छ, संस्कृति र सभ्यतालाई जोगाउनुपर्छ। परम्परा र संस्कृतिको संरक्षण, संवर्धन र प्रवर्द्धन गर्नुपर्छ।'
म छक्क परेँ।
असी काटेकी बुढीमाउ विश्वविद्यालयका प्रोफेसरभन्दा कम थिइनन्। नितुको सासूले आफ्नी आमालाई फुत्त जबाफ फिर्काइन्, 'तर आमा परिवर्तनको नाममा पहिचान त हराउनु पटक्कै भएन नि अनि स्वतन्त्रताको नाममा स्वाधीनता नै गुमाउने ?’ नितुकी सासू छट्पटिँदै बाहिर निस्किइन्।
म यताउता हेर्दै दङ्ग परेर नूतन पर्वको आनन्द उठाउँदै थिएँ। स्वामु आफ्नै तालमा मस्त हुनुहुन्थ्यो। त्यहाँ गुलाबी रङलाई प्राथमिकता दिएको देखेर भित्रबाट मक्ख परेँ। कैयौँ दिदीबहिनीहरू हिजोआज पनि अरूको दबाबमा नीलो रङ रोज्न विवश छन्। नीलो रङको आशक्तीले गुलाबी रङलाई जरैदेखि काटेर रक्ताम्य पारेको घटनाहरूको स्मरणले मलाई विक्षिप्त पार्यो।
आज पनि हाम्रो समाजमा आफ्नो घरमा गुलाबी रङ मन नपराउने जमातको कमी छैन। तिनै मान्छे अरूको घरमा फुलेका सुन्दर फूललाई च्यातेर तहसनहस पार्न पछि पर्दैनन्। हुर्किन नपाउँदै गुलाबी रङहरूलाई नष्ट गरिदेने मानसिकता अझ पनि भएको समाजमा यो एउटा ठूलो परिवर्तन हो जस्तो लाग्यो। हुन त रङले लिङ्ग निर्धारण गर्ने होइन। हरेक रङमा सबैको समान अधिकार हुन्छ। विवाद गर्न बस्यो भने विवाद कहिल्यै सकिँदैन। रङ त एउटा प्रतीक मात्र हो। त्यस्तै बेबी सावरमा पनि साङ्केतिक रङले लिङ्गको प्रतीक हुँदोरहेछ। नीलो रङ भए छोरा र गुलाबी रङ भए छोरी। यही समाजमा भिडिओ एक्सरेमा छोरी छ भन्दा शिर निहुर्याउँदै अभागी ठान्ने जमात अझै छन्, त्यतिले नपुगेर सम्भव भएसम्म गर्भपतन गर्न आतुर मानसिकतालाई गुलाबी बेबी सावरले गालामा थप्पड हानेकोझैं लाग्यो। छोरी जन्मे पनि हेला गर्ने संस्कार अझ बाँकी नै छ। त्यसैले खुसी र हर्सोल्लासका साथ लाखौँ खर्च गरेर छोरीलाई स्वागत गरेको देख्दा मेरा आँखा रसिला भएछन्। पार्टी निकै भव्य तरिकाले भएको थियो। बेबी सावरको अर्को संस्कृति आँखा अगाडि देखियो।
म बुवा, म सानिमा, म काका, म मामा, म दिदी लेखेको प्लाकार्ड बोकेर बेबी बम्पलाई देखाउँदै तस्वीर खिचाउनेको कमी थिएन।
‘म हजुरबुबा’ लेखेको प्लाकार्ड बोकेर नितुको ससुराबा मुन्टो निहुँर्याएर, कालोनीलो मुख पारेको दृश्यले मलाई नमज्जा लाग्यो। हजुरबुबालाई सायद यस्तो संस्कृति मन परेको थिएन। सबैले बुहारीको पेटमा हात राख्दै ,चुम्मा खाँदै गरेको दृश्यले हजुरबुबा निस्सासिनु भएको अनुमान लगाउन मलाई गाह्रो भएन।
बिचरा बुबाले पुरानो संस्कार अङ्गाल्दै आउनुभएकोले यो संस्कृतिलाई सजिलै पचाउन गाह्रो मान्नुभएको थियो। संस्कृतिको ट्रमामा हुनुहुन्थ्यो सायद। मैले पनि म आन्टी लेखेको कार्ड बोकेर फोटो खिचाएँ अनि रेड भेल्भेट केक खाएर अबेर राति घर आएँ।
'सुमी तिमीलाई कस्तो लाग्यो त बेबी सावरको पार्टी?' स्वामुले जिस्क्याउँदै सोध्नुभयो।
मलाई अचम्मको अनुभूति हुँदैथियो। पार्टीका दृश्यहरू झलझली आँखामा नाचिरहेका थिए। अनि उत्साही हुँदै भनेँ, 'जानुभन्दा अगाडि जान्नँ जस्तो लागेको थियो। गएपछि त मलाई आउनै मन लागेन कति रमाइलो भएको हगि? अनि स्वामुको मुहार हेरेर भनेँ, 'स्वामु ! अर्को महिना हाम्रो बाबु पनि आठ महिनाको हुन्छ। त्यत्रो पार्टी त गर्न सकिँदैन तर घरमा आफन्त र मिल्ने साथीहरू बोलाएर दही चिउरा चाहिँ खुवाउने व्यवस्था गर्नू है। दही चिउरा खायो भने शीतल भएर समयमा बच्चा जन्मछ रे! हजुर र म पनि नीलो रङको लुगा लगाउनुपर्छ है।' मेरो कुरा सुनेर स्वामुले अनुहार बिगार्दै भन्नुभयो, 'के कुरा गरेकी माया तिमीले। हामी जस्तो मान्छेले यस्तो कुरा गरेको सुहाएन। दहीचिउरा त खुवाउने तर उस्तै रङका लुगा चाहिँ नलगाउने लाजको पसारो! तिम्रा र मेरा साथीहरूलाई बोलाएर रमाइलो गरौंला। गाउँबाट तिम्रो र मेरो बाआमा आउन पनि सक्नुहुन्न। फेरि के भनेर बोलाउने न न्वारन न पास्नी?' स्वामुको कुरा सुनेर अचानक मेरो मन भारी भयो।
मै विरोधी थिएँ यस्ता कुराहरूको आज मलाई के हुँदैछ? भव्य किसिमले मलाई पनि बेबी सावर गर्न पो मन लाग्दै गयो। अनि भारी मनले भनेँ, 'हुन्छ दही चिउरा मात्र खाऊँला हजुरले भनेको जस्तै गरौँला।'
मध्यरातसम्म यस्तै यस्तै कुरा गरेर हामी बुढाबुढी ओछ्यानतिर गयौँ। मलाई फिटिक्कै निद्रा लागेन। नितुको बेबी सावरको रमाइलो आँखामा झलझली नाचिरह्यो। बेबी सावरको त्यत्रो विरोध गर्ने म। आज त कताकता आफैलाई त्यस्तैगरी रमाइलो गर्न पाए पो भन्ने लाग्न थाल्यो बाबै! बेबी सावरको पार्टीबाट आएदेखि आफ्नो परिस्थिति र अवस्था सम्झेर चिन्ता र तनावले घेर्न थाल्यो। दिन पनि नरमाइलो लाग्दै गयो। खाली नितुसँग आफूलाई तुलना गर्न मन लाग्न थाल्यो। म त एकोहोरो पो हुँदै गएछु। अनुहारमा उदासी छाएको देखेर स्वामुलाई नरमाइलो लागेछ अनि एकदिन भन्नुभयो, 'माया तिमी नितुको पार्टीबाट आएदेखि किन निन्याउरी भएकी? पाँच तारे होटलमा गर्न नसके पनि घरमा धुमधामले गरौँला क्या! तिम्रो पनि बेबी सावर।'
म आफै छक्क परेँ। पैसा टन्न भए पनि यस्तो तडकभडक गर्दिनँ भन्ने मान्छे कसरी मन अमिलो बनाउन पुगेछु। सङ्गतको असर हो कि देखासिकी? म जति सचेत मान्छेलाई त नवीन संस्कृतिको यस्तो नशा चढ्दो रहेछ। थाहै नपाई मानसिक तनाव पो परेछ। नसोचौं भन्दा पनि दिमागमा यस्ता कुराले डेरा जमाउँदो रहेछ।
सबै सहकर्मीले नितुको पार्टीमा भन्दै थिए, 'अब अर्को महिना सुमीले पार्टी दिन्छे।'
म चुपचाप त्यो झिलिमिलीमा रमाउँदै थिएँ। रमाइलो मान्दा मान्दै खुसी लिएर घर फर्किनु पर्ने अन्तिममा त मैले तनाव पो बोकेर घर आएछु। अचेतन मनमा पनि बेबी सावरको भूतले मलाई धेरै दिनसम्म लखेटिरह्यो।