बन्द परेली।
स्थिर मन – बिल्कुल विचारविहीन, शान्त।
संगीतको मधुर ध्वनि तरंग बगिरहेछ, पर देवालयबाट आइरहेको, सायद।
यही ध्वनिसँग प्रवाहित हुँदैछु म, निरन्तर। तरंगमा रूपान्तरित हुँदैछु। क्रमशः शून्यमा परिणत हुँदैछु, विलीन।
यो कस्तो अलौकिक यात्रा?
यात्राबीचै देख्छु, कता हो कताबाट दिव्य आभा उत्सर्जन भइरहेका, बहुरंगी। फैलिरहेका, चारैतिर। आभाको केन्द्र भाग हुँदै एक ज्योतिपुञ्ज अगाडि बढिरहेछ। पर–पर गइरहेछ, नभयान जस्तै, निरन्तर। बादलका गर्तहरूमा छिरिरहेछ। नभमा मिल्दैछ, एकाकार हुँदैछ।
विशाल ब्रह्माण्ड प्रकट हुन्छ आभामाझ, बिस्तारै। जाज्वल्यमान। सारा जगत ज्योतिर्मय देखिँदैछ। के यही हो अन्तरआकाशको यात्रा भनेको? पारलौकिक अनुभूति भनेको? शून्यबाट निराकार हुनु भनेको?
ब्रह्माण्डका आयामहरू उघ्रँदैछन्, एकएक गर्दै, पुस्तकका पानाजस्तै। आश्चर्य! ग्रह-उपग्रहहरू शून्यमै झुन्डिइरहेका। अत्यन्त मनोहर।
दृश्य लहरमाझ पृथ्वी देखिन्छ, नीलो। क्रमशः विभिन्न मुलुक देखिए, नेपालभन्दा धेरै पछि जन्मेका। र पनि विकासको उच्चतम शिखर चुमेका।
'ऊ हिमाल, पहाड, तराई,' आयामहरूबीचै नेपाल देखियो।
उफ्! यो कस्तो दुरावस्था मुलुकको? मानिसहरू किन यति निराश, मुर्झाएका, ओइलाएका – नीरस? जता हेर्यो त्यतै बिग्रेको देखिन्छ, भत्केको। लथालिंग, भताभुंग।
विशाल कम्पान्डभित्र सेतो भवन देखियो। संसद भवन पो रहेछ, बन्धक, अवरूद्ध। मानिसहरू नाराबाजीसँगै आरोप-प्रत्यारोपमा उत्रिएका। यो श्रृंखला आखिर कहिलेसम्म? के यो सब अर्कोलाई हिलो छ्यापेर आफू सुकिलो देखिने खेल हो यो, षड्यन्त्र ? सत्ताको खुदो चाट्ने प्रपञ्च?
यो कस्तो मनोवृत्ति, मनोविज्ञान? खै नैतिकताको राजनीति? राजनीतिक संस्कार, पद्धति?
राष्ट्रिय हितका मुद्दामा समेत दलहरू किन एकै ठाउँ उभिन नसकेका? राज्यको मुहार फेर्ने सत्कार्यमा हातेमालो गर्न नसकेका?
घटनाक्रमहरू कति अभेद्य, दुर्बोध्य?
खै निष्ठाको राजनीति? खै देशप्रेमी नेता, इमानदार?
हाम्रो दुर्भाग्य!
जनप्रतिनिधिहरू हेर, सिद्धान्तबाट स्खलित भएका! अख्तियारको दुरूपयोग गरिरहेका। पद र पैसाका निम्ति खुलेयाम नैतिकता लिलामी गरिरहेका। निष्ठा, इमान बेचिरहेका।
के यही हो विधिको शासन?
संसदीय प्रणाली किन यति विकृत बन्दै गएको, विसंगत? कुरूप, फोहोरी।
राज्यका हरेक तह किन यति विघ्न स्वेच्छाचारी? अनुशासनहीन? के हामी स्वतन्त्रताको नाममा स्वच्छन्द बन्दै गइरहेका हौं? क्रमभंगताको नाममा अराजक बन्दै गइरहेका हौं?
यी सबको उत्प्रेरक को?
जघण्य अपराधलाई कहिलेसम्म राजनीतिक पछ्यौरीको घुम्टो ओढाइरहने? रगत लत्पतिएका हातहरू पखालिरहने, चोख्याइरहने? सत्ताको सौदाबाजी गरिरहने?
यो कस्तो दण्डहीनता?
दृश्य परिदृश्य कति निर्लज्ज! नग्न! घीनलाग्दा!
के यो देशमा कानुन मरेको छ?
कि दण्डित हुनुपर्नेहरूकै हातमा राज्य संयन्त्रको लगाम छ, बागडोर? जो नेपत्थ्यमा बसेर रिमोट थिचिरहेछ। नाटक मञ्चन गराइरहेछ। पानीमाथि ओभानो बन्ने दुष्प्रयत्न गरिरहेछ।
यो कस्तो विरोधाभास? यो कस्तो पाखण्डी समय?
समृद्धि त धेरै परको कुरा भो। खै सामाजिक न्याय, सुशासन? बढ्दो भूराजनीतिक चलखेलको दूरगामी संकेत के?
भयंकर अथलपुथलको पूर्वसंकेत हो यो, विघटनको? के हामी असफल राष्ट्रमा दर्ज हुँदैछौं?
राज्य व्यवस्थाको वैधतामाथि यो कस्तो सन्देह? उफ्! यो कस्तो वीभत्स समय?
अब, अगाडिको बाटो के हुने?
मनोबल किन यति कमजोर हुँदै गएको? लघुताभाष बढ्दै गएको?
यी सबको क्षतिपूर्ति कसरी हुने, भरपाई? नैतिक जिम्मेवारी कसले लिने?
मुलुक समृद्ध बनाउँछौं भन्नेहरू आफू समृद्ध बने। तर मुलुक?
देशको बागडोर सम्हाल्नेहरू कहिले सुध्रने? सफेद पोसाकको आवरणमा राज्यदोहन कहिलेसम्म? यो चीरहरण कहिलेसम्म?
मानिस किन यति विघ्न व्यभिचारी बन्दै गएको, अधर्मी? कसको विश्वास गर्ने यहाँ? हरेक मानिस सन्दिग्ध लाग्छ मलाई, सन्देहास्पद।
के हामीले परिकल्पना गरेको राज्य व्यवस्थाको ब्लुप्रिन्ट यस्तै थियो?
...
यन्त्र मानव गामा छ मेरो साथमा।
'ती छन् नि सडकमा ओहोरदोहोर गरिरहेका, देख्नुभो ?' सोध्यो गामाले।
'अँ ...... ' मेरो स्वीकारोक्ति।
'ती सबै आर्टिफिसियल इन्टलिजेन्स प्रयुक्त यन्त्र मानव हुन्। कृत्रिम बुद्वि प्रत्यारोपण गरिएका, चेतनशील .... ....'
गामाका संवाद पछ्याए मेरा नजरहरूले। देख्छु, यन्त्र मानवहरू दुरूस्तै प्राकृतिक मानव जस्ता, स्निग्ध। कोमल।
'....... रचनात्मक क्षमता भएका ती बौद्धिक पनि छन्, आत्मनिर्भर। परिस्थितिअनुरूप उपयुक्त निर्णय लिन सक्षम,' बोल्दै थियो गामा।
'यही त होला विज्ञानको चरम विकास अनि सदुपयोग भनेको?' सडकमा बगिरहेका यन्त्र मानवहरूलाई हेरिरहेँ मैले, आँखै झिमिक्क नगरी।
'रोचक कुरा .......' गामा थप्दैछ।
'............,' मेरा जिज्ञासु नजर ऊतिरै हुत्तिए।
'तिनीहरू यस देशका नागरिक हुन्, नागरिकता प्राप्त। नागरिक हक प्रदत्त ............' गामा बोलिरहेछ।
'यन्त्र मानव! नागरिकता प्राप्त! यो कसरी सम्भव हुन सक्छ? कतै यो प्रावधान मानव सभ्यताकै लागि चुनौती बन्ने त होइन?' आसन्न संकट देखेँ मैले, सुदूरमा।
...
आधुनिक, सुविधासम्पन्न सहरमा छु म यतिखेर।
पहाडको छातीभित्रभित्रै दौडिएका सुरूङमार्ग। कतै पहाडकै छातीमा झुन्डिएका, कतै सुतेका। विकासको उच्चतम स्वरूप प्रदर्शन गरिरहेको सहर।
देख्छु, स्वास्थ्य क्षेत्र स्वचालित यन्त्र मानवहरूले सम्हालेका।
शिक्षण विधिलाई परिष्कृत रूपमा पस्किइरहेका।
ट्राफिक व्यवस्थापन कति चुस्त, दुरूस्त! सडकमा सेन्सर जडित स्वचालित सवारी साधन हुइँकिइरहेका।
कृषि, उद्योगधन्दा, विपद् व्यवस्थापन एवं उद्धार कार्यमा यन्त्र मानवहरू नै खटिएका।
कर्मचारीतन्त्रलाई नयाँ उचाइमा पुर्याएका।
रोचक कुरा, अपराध अनुसन्धानमा यन्त्र मानव। वैज्ञानिक अनुसन्धान प्रणाली अंगीकार गरिएका।
न्यायालय तिनैले धानेका। ढिलो न्याय दिनु, न्याय नदिनु सरह हो, यस तथ्यलाई प्रमाणित गरेका।
यन्त्र मानवहरूको सहर, परिष्कृत। साँच्चै नै सुन्दर युग, सभ्य अनि सुसंस्कृत। लाग्छ, यो पृथ्वी नभएर अर्के ग्रह हो, नयाँ।
सत्य युग, सुनिएको, यस्तै थियो कि, सायद? – कल्पन्छु म।
मानिसहरूको सहर सम्झँदा ग्लानीले गल्दै गएँ म। हीनताबोधले लुलिँदै गएँ।
...
आमनिर्वाचन नजिकिँदै थियो। दलहरू उम्मेदवार चयनको अग्निपरीक्षामा थिए। यन्त्र मानवहरूले स्वतन्त्र उम्मेदवारी घोषणा गरे। नागरिक हकको सदुपयोग गरे।
देश यन्त्र मानवमय बन्यो।
नागरिक आक्रोश पोखियो, मत पेटिकामा।
यन्त्र मानवहरूले पूर्ण बहुमत प्राप्त गरे। सुशासनको जनआकांक्षा, सायद मुखरित भयो।
सरकार प्रमुखको कुर्सीमा यन्त्र मानव आसिन भयो।
नवयुगको सुरूआत हो यो, समृद्ध मुलुकको प्रस्थान विन्दु – सोचेँ मैले। यन्त्र मानवहरूको सुव्यवस्थित सहर सम्झेँ, कुनै समय आफ्नै आँखाले प्रत्यक्ष देखेको।
असमानताका पर्खालहरू भत्किँदै गएका देखेँ मैले। विभेदका सीमारेखा मेटिँदै गएका, साँधहरू सम्याइएका। सामाजिक न्यायको धरहरा अग्लिँदै गएको। अर्थ व्यवस्था सुदृढ बन्दै गएको।
अनि देखेँ, जनताको सर्वोच्चता कायम भएको, नयाँ इतिहास रचिएको।
समृद्ध मुलुकको ब्लुप्रिन्ट, जो अधुरो अपुरो थियो। हो, त्यसले अब मूर्त आकार लिनेछ, आशावादी बन्दै गएँ म।
...
सत्तामा के जादु हुन्छ, अदृश्य? जसले सत्ता, शक्तिमा पुग्नेलाई अभिमानी बनाउँछ – अहंकारयुक्त। उन्मत्त, मैमत्त।
के सत्ताको कुर्सीमा दृष्टिदोष हुन्छ? जहाँबाट हेर्दा, अन्याय, अत्याचार, तस्करी, भ्रष्टाचार केही देखिन्न? या सत्तामा पुगेको शासक अन्धो हुन्छ? विकृति, विसंगति, शोषण, उत्पीडन केही नदेख्ने।
त्यो बहिरो पनि हुन्छ कि? भुइँ मान्छेका वेदना, चित्कार, करूण क्रन्दन केही नसुन्ने।
ऊभित्र जीउँदो मुटु चल्दै चल्दैन, सायद। त्यसैले होला, नागरिकहरूका टुक्रिएका सपनाले नपोल्ने उसलाई। समाजमा व्याप्त हत्या, हिँसा, दण्डहीनता नबिझाउने। लुट, अपराधले नछुने।
के उसलाई अस्थिर अनि जर्जर राज्य संयन्त्र समेत दुख्दैन?
दुख्दैन सायद, यदि दुख्थ्यो भने मुलुक दिनप्रतिदिन रसातलमा भासिँदै गएको कसरी हेर्न सक्थ्यो ऊ? कि, ऊ पराधीन छ, निरीह? केही गर्न सक्ने हैसियतमा छैन, टुलुटुलु हेर्नु सिवाय।
सत्तारोहणसँगै यन्त्र मानवहरूमा विचलन देखिन थाल्यो। पदलोलुपताको रङ पोतिन थाल्यो, अनुहारमा, व्यवहारमा। कर्तव्यच्यूत हुँदै गए उनीहरू।
मुलुकको अवस्था बीसको उन्नाइस भएन।
के यन्त्र मानव तिलस्मी थिए? निर्वाचनका समय गरेका बाचा केवल मिथ्या थिए, साजिस? मानिसहरूमा व्याप्त असन्तुष्टि एवं निराशाको व्यापार, सत्तारोहणको भर्याङ निर्माण, सत्ता प्राप्ती, उनीहरूका मकसद थिए?
यन्त्र मानवहरू कर्मचारीतन्त्रमा प्रवेश गरे। बर्चस्व बढाउँदै गए।
सुरक्षा निकायहरूमा पकड जमाउँदै गए। कूटनीतिक, सामरिक अंगमा हाबी हुदै गए। राज्य संयन्त्रमाथि नियन्त्रण बढाउँदै लगे।
हर क्षेत्रमा मानव जातिको पकड क्रमशः कमजोर हुँदै गयो, दमित। इकोसिस्टम खल्बलिँदै गयो।
दुर्भाग्य, हामीले ज–जसलाई नायकत्व प्रदान गर्यौं, समयक्रमसँगै ती सबै खलनायकमा परिणत हुँदै गए। यन्त्र मानवहरू सियो बनेर छिरे, फाली बनेर निस्किए।
...
समयले कोल्टे फेर्यो। वैचारिक विभेद बढ्दै गए। सामाजिक सद्भाव खलबलिँदै गए। यन्त्र मानवहरू रौद्र रूपमा प्रकट हुन थाले, अनुदार।
हरे ! यो कस्तो बर्बरता? यी कस्ता दुर्दिन?
समाज क्रमशः दुई धारमा ध्रुवीकरण हुँदै गयो। एकातिर प्राकृतिक मानिस अर्कोतिर यन्त्र मानव। कित्ताकाट भयो, छुट्टिए।
कसैको परीक्षण गर्नुछ? उसलाई शक्ति प्रदान गर। कतै पढेथेँ, सम्झेँ।
यन्त्र मानवहरूलाई नागरिक हक प्रदान गरियो। भारी जनमत सहित सत्तामा पुर्याइयो। शक्तिशाली बनाइयो। आज हेर, प्रतिद्वन्द्वी अवतार!
यो कस्तो अनपेक्षित समय, घातक?
दिनहरू अप्रत्यासित बनेर उदाउन थाले। यन्त्र मानवहरूमा शासक बन्ने महत्वाकांक्षा चुलिँदै गयो, दुस्वप्न। निरंकुश, तानाशाही अवतारमा अवतरित हुन थाले। उनीहरूका हैकम नमान्ने, दासत्व स्वीकार नगर्नेहरू कारवाहीको भागिदार बन्न थाले।
'यो कस्तो अधिनायकवाद? खै हाम्रो स्वतन्त्रता? खै आफ्नै भूमिमाथिको हक, अधिकार? के हामी दोस्रो दर्जाका नागरिक हौं?'
स्वतन्त्रता हरणसँगै आज स्वतन्त्रताको महत्वबोध हुँदै गयो। हो, आफ्नै आविष्कार निल्नु न ओकल्नु भयो हामीलाई, तातो आलु जस्तै।
बस्ती आतंकित बन्दै गयो। शक्तिशाली यन्त्र मानवका अगाडि मानव जाति बिल्कुल निरीह देखिए, निरूपाय। घर छाडेर हिँड्न थाले, पलायन भए।
'कतै मानव जातिलाई आफ्नै भूमिबाट विस्थापित गर्दै जाने प्रपञ्च त होइन यो, षड्यन्त्र? मन्द विष जस्तो? सफायाको प्रस्थान विन्दु?' – हृदय चिऽऽऽसो लाग्यो, चिरिँदै गए जस्तो।
अगाडिको बाटो के हुने?
चुनौतीका अग्ला पहाड देखिए अगाडि, उक्लनुपर्ने। कष्टपूर्ण महासागर देखेँ, अराजक छालहरू नाघ्नुपर्ने।
मानिसहरू बस्ती छाडेर हिँड्ने क्रम बढ्दै गयो।
वृद्ध बुबाआमा, छोराछोरीलाई सुरक्षित स्थानतर्फ पठाएँ मैले। श्रीमती जान मानिनन्। भनिन् – 'संकटको यस घडीमा तपाईंलाई छाडेर जान्न म। बाँचे सँगै बाँचुला, मरे सँगै मरूँला।'
वृद्धवृद्धा, बालबालिका, महिलाहरूको लामो ताँती देखियो। कुम्लो कुटुरो बोकेर निस्केको, सुँक्क सुँक्क गर्दै। उनीहरूका भारी गोडा बसका सिँडी उक्लिए। धीमा गतिमा। सीटमा बसे।
ती सब बाहिरबाट हेरिरह्यौं हामीले, चिरिएको मन थामेरै।
बस स्टार्ट भयो, हामीभित्र भूकम्पको तरंग ब्युँताउँदै। थर्थरायौं हामी, भत्कियौं। पोखियौं।
बसभित्रबाट हामीतर्फै चियाइरहेका अश्रुपुरित नेत्र। बिदाइका असंख्य हात हल्लिइरहेका। हाय! कति कारूणिक तस्बिर, हृदयविदारक।
आँशु पिएरै हेर्यौं हामीले। हेरिरह्यौं।
यो कस्तो निःशब्दता? शब्दहरू घाँटीसम्मै आएर अड्किए। थर्थराएका हात हल्लायौं हामीले। हल्लाइरह्यौं।
बस गुड्यो, अनिश्चित अनि गन्तव्यहीन यात्रातर्फ। गुडिरह्यो।
वृद्धवृद्धा, बालबालिका, महिलाहरूले बस्ती छाडेको खबर यन्त्र मानवहरूबीच चैतको डढेलोसरि फैलिएछ।
उनीहरूले यसलाई मानिसहरूका कमजोरी ठाने या अरू नै केही? थप बर्बर बने। मानव जातिका लागि चुनौती बन्दै गए, अभिसापसिद्ध।
आफ्नै छानोमुनि बस्न समेत ठूलै हिम्मत जुटाउनुपर्ने भयो।
बाँकी रहेका मानिसमध्येबाट ठूलो समूह थातथलो छोडेर हिँड्यो फेरि। छिमेकी मुलुकतर्फ हान्नियो। फेरि पनि टुलुटुलु हेरिरहनुको विकल्प थिएन, हेरिरह्यौं।
यन्त्र मानवहरूको धरपकड, दुर्व्यवहार बढ्न थाल्यो। आफ्नै भूमि समेत असुरक्षित बन्दै गयो। खतरापूर्ण।
मानवीय भावनामा प्रहार हुन थाले। आस्थाका धरोहरहरू भत्काइए। मठ मन्दिर, मस्जिद ढलाइए। चर्च, गुम्बा जलाइए। मानव इलाका रणमैदान बन्दै गयो, कुरूक्षेत्र। आगोको ज्वालामा परिणत हुँदै गयो।
यो कस्तो निर्दयी समय, उद्धण्ड? त्रासदीपूर्ण यस श्रृंखलाको अन्त्य कहाँ?
बाँकी रहेका युवाहरू समेत पलायन भए। बस्ती रित्तिँदै गयो।
आफ्नै रगत पसिनाले सिञ्चेको भूमि। समवेदना, संस्कृति टाँसिएको धुलो। प्रेम, करूणा र शान्तिको प्रतीक। न उखरमाउलो गर्मी, न मुटु छेड्ने चिसो। अमृत फल्ने देवभूमि, भूस्वर्ग। यी सब कसरी छोडुँ चटक्क? भयानक अन्तरद्वन्द्व चल्यो मभित्र, चलिरह्यो। मातृभूमिबाटै अस्तित्वको लडाइँ लड्न चाहन्थेँ म। सम्भव देखिएन।
हामीले के अपराध गरेका थियौं र? मानिस हुनुको नियति भोग्न विवश थियौं, आधुनिकताको दास बन्न अभिशप्त।
भारी मन बोकेर आँगनमा निस्कियौं हामी – श्रीमान श्रीमती। औंसीको रात, कालो। पाइलाहरू आँगन पार गर्दै थिए। सास पटकपटक अड्कियो। घरलाई नियालेँ मैँले। जो अँध्यारो मुख लगाएर उभिइरहेथ्यो, चुपचाप।
पाइलाहरू गह्रौं लागे। बस्ती निस्तब्ध देखियो। समय नै टक्क अडिए जस्तो, गतिहीन। उफ्! यो कस्तो कठोर समय? लाग्यो, मेरो मुटु यतै कतै छोडिँदैछ, खोसिँदैछ।
समवेदनाहरू छचल्किए। पुछेँ, परेलीहरू।
पुसको ठिहिरो। कुहिरो सोहोरिएर आयो, देखेँ। ढाक्दै गयो क्रमशः।
...
मानिसहरूको आर्तनाद सुनियो, चित्कार – पऽऽरऽऽपऽऽरबाट आइरहेको।
'हे भगवान! यो के हुन लागिरहेछ?' देवीदेवता भाकेँ मैले।
क्षणभरमै विशाल मानव समुद्र बग्दै आयो, फाल हाल्दै, देखेँ। सिंगो समुद्र त्रसित देखियो, आतंकित।
बग्दो महासमुद्रमा समाहित भयौं हामी पनि। बग्न थाल्यौं।
'कहाँ पुगिने हो?' लहरसँगै हुत्तिएको मनले मनलाई नै सोधेछ।
'...... ...... ......?,' उत्तर थिएन।
गति बढाउन खोज्छु, 'पाइला कति धीमा भएका?'
दौडदै गरेको एउटा मानव आकृति लड्छ, अचानक। छोडिन्छ।
मभित्रको त्रासले आकाश छुन्छ, ह्वात्तै। बेतोड भाग्छु।
'खै आरती ?' श्रीमती छलिइछन्, भीडमा, कतै। थाहा पाएँ।
'अब के गर्ने?' बिलखबन्दमा परेँ म, 'कहाँ खोज्ने यो महासमुद्रमा?'
'आऽऽरऽऽतीऽऽऽ....आऽऽरऽऽतीऽऽऽ ,' जोड जोडले चिच्याउँछु, म।
मेरो आवाज महासमुद्रमै विलीन हुन्छ।
'आऽऽरऽऽतीऽऽऽ....,' चिच्याएँ फेरि।
फेरि पनि हरायो आवाज, विलीन भयो।
पीडामाथि वियोग थपियो। मुटु फुल्दै गयो। श्वास घाँटीसम्मै आएर अड्कियो।
श्रीमतीबिना एक्लै कसरी अगाडि जाने? अगाडि नबढौं, यन्त्र मानवद्वारा मारिनुको विकल्प छैन।
हरे! यो कस्तो धर्मसंकट? यो कस्तो नियति?
मृत्युको कल्पना मात्र पनि भयानक त्रासदीपूर्ण हुँदो रहेछ। न्वारनदेखिको बल निकालेर भाग्छु म।
महिला आकृतिहरूमा आरतीलाई खोजेँ मैँले, भाग्दै गर्दा। कतै देखिनँ।
अर्को मानिस लड्छ, फेरि। देख्छु। धन्नैले उसका गोडामा अल्झिनँ। भाग्यले बचायो। बेतोड भाग्छु।
श्वास फुल्दैछ। गोडाहरू गल्दैछन्। शिथिल शरीर, शक्तिहीन। सकिनसकी भागिरहेँ।
छिमेकी मुलुकको सीमाना देखियो, पऽऽऽर। यत्ति दुरी पार गर्न सके मृत्यु छल्न सकिन्थ्यो – कल्पेँ।
थकित शरीर, क्लान्त। धीमा गति। बाँच्ने लालसाले दौडाइरह्यो।
कुर्कुच्चामै कुल्चियो कसैले। धन्नैले लडिनँ। टाउको घुमाएँ, थोरै। देख्छु, यन्त्र मानव छेउमै आइसकेछ। नशा नशामा चिऽऽसो रगत बग्यो।
सीमाना केही कदम पर छ।
कठालोमै समात्यो कसैले। यन्त्र मानव हुनुपर्छ, सायद।
सर्ट च्यातियो। फुत्किएँ। शरीरभरि काँडा उम्रिएछ, थाहा पाएँ। बेतोड कुदिरहेँ। जीवनको महत्व मृत्युको पञ्जाबाटै फुत्किएकालाई भन्दा बढी अरूलाई के थाहा?
म अघिअघि, मृत्यु पछिपछि।
सीमाना केही कदम मात्र पर देखिन्छ। जो पार गर्न सके जिन्दगी लामै देखेँ मैले।
सेकेन्डको महत्व हुन्छ, सुनेथेँ। मिलिसेकेन्डले यहाँ जीवन–मृत्यु निर्धारण गर्दैछ।
ठेस लाग्यो। हुत्तिएँ, गुल्टिएँ।
यन्त्र मानव नजिकिँदै थियो। आँखा जुधे। त्यसका क्रूर आँखाहरूमा मृत्यु नाचिरहेको देखियो, भयानक हिंस्रक।
'मेरो भाग्यमै अस्वाभाविक मृत्यु लेखिएको रहेछ, सायद,' नौनाडी गलेर आए।
'मानव जातिको अस्तित्व रक्षार्थ पनि मैले बाँच्नुपर्छ,' कर्तव्यबोधले झक्झक्यायो तुरून्तै।
कसो कसो उठेछु, अवचेतनामै। बेतोड दौडिएँ। भागेँ।
सीमानामै पुगेँ। अगाडि पराई भूमि छ। मेरो विह्वल मन भावविभोर बन्छ। परेलीहरू छचल्किन्छन्। के यही हो माटोप्रतिको प्रेम, आशक्ति, राष्ट्रप्रेम?
सीमा पार गरेछु, थाहा पाएँ।
मातृभूमितर्फ फर्केर हेरेँ। यन्त्र मानव देखियो, केही कदम पछाडि। बीचमा दुई मुलुक छुट्ट्याउने मसिनो सीमारेखा छ। जहाँ रोकिएका छन् त्यसका पाइलाहरू। लाग्यो, मृत्यु पराजित भएको छ।
'हे भगवान! नियतीले कहाँ ल्याइपुर्यायो?'
भर्खर सीमा पार गरी आएकाहरूको भीडमा आरतीलाई खोजेँ फेरि, पऽऽरऽऽपऽऽरसम्मै। केवल बिराना अनुहार देखिए।
खै श्रीमती?
खै मेरो भाषा, रहन सहन, भेषभुषा?
खै मेरो धर्म, संस्कृति, सभ्यता?
खै सालनाल गाडिएको माटो?
खै मेरो इतिहास, वीरगाथा?
खै मेरो मुलुक?
विडम्बना! पराई भूमीमा सुरक्षित महसुस गर्नुपर्ने? अस्तित्व गुमाएर, पहिचान गुमाएर? जीवनको यो कस्तो मोड, जहाँ जीवन प्राप्ति समेत सुखद उत्सव बन्न सकिरहेको छैन।
यो कस्तो नियति? यी कस्ता दुर्दिन?
मन आहत छ, मर्माहत। फेरि पनि सम्हालिनुको विकल्प छैन। लड्नु, उठ्नु, धुलो टक्टक्याउनु, फेरि अगाडि बढ्नु। यही नै जीवनको शास्वत सत्य रहेछ, सायद।
'यात्रा सकिएको कि? भर्खर सुरू भएको?'
'... ... ... ... ... ... ... ... ...,'
संगीतको मधुर ध्वनि तरंग ठोक्किन आउँछ कानहरूमा।
'ऊँ ऽऽऽ सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः
सर्वे भद्राणि पश्यन्तु, ....... ........ ........' ध्वनि तरंगसँगै संस्कृतका श्लोकहरू घोलिएर आउँछन्।
दीर्घ निःश्वास छोडियो। उद्वेलित मन क्रमशः मत्थर हुँदैछ, शान्त। तलाउको पानी जस्तै। बन्द आँखाहरू खोल्छु बिस्तारै। ज्ञान मुद्रामा पाउँछु आफैलाई, ध्यानस्थ।
हो, ध्यान समाधिबाट फर्कँदै रहेछु म, अन्तरआकाशको यात्राबाट।
देख्छु, वातावरण अत्यन्त शान्त छ? सबैथोक भइकन पनि केही नभएजस्तो? वा केही नभइकन सबैथोक भए जस्तो?
...
जुन दिन मुलुकको दर्दनाक तस्बिर देखियो, त्यस दिनदेखि यो मन अधीर बन्दै गइरहेछ, अस्थिर। हतोत्साहित। के मभित्रको जिजिविषा निभ्दै गइरहेको हो, मर्दै?
कौसीमा निस्कन्छु। सन्ध्याकालीन आकाश देखिन्छ, क्षतविक्षत्। रक्तस्राव भइरहेको। अलि पर खाटा बसिसकेका घाउहरू देखिए, काला – चन्द्रागिरिको शिरमाथि।
दुखेँ म। मेरा अस्थिर नजरहरू घाइते आकाशमै भौंतारिइरहे। उत्तर-पश्चिमतिरको आकाश झन् भयावह देखियो, जलेको। आगाका अग्ला अग्ला लप्का ओकल्दै गरेको।
बिजुलीको चम्चमाउँदो धार उछिट्टिएर आयो, पर कतैबाट। रेट्यो त्यहिनेर, फेरि।
'हाय! ती सब कसरी सहन्छ त्यो आकाश? कति दुख्दो हो त्यसलाई? बादलुको घुम्टोमा छेलिएर रूँदो हो, राति। मुसलधारे आँशु खन्याउँदो हो, पीडामुक्त हुने भ्रममा।'
उफ्! समय कति निर्दयी? कठोर?
सुनौला बिहानी कसरी मुस्कुराउलान् यो आकाशमा, फेरि?
कल्पनासम्म गर्दा पनि मुटु गाँठो पर्छ।
विनाशकारी आँधीबेहेरीको पूर्वसंकेत हो यो? सदियौंदेखि कायम हाम्रो भातृत्व, सद्भाव, राष्ट्रिय एकता भत्काउने नियत बोकेको? माटोसँग गाँसिएको रगतको नाता छिन्नभिन्न पार्न उद्यत?
लाग्यो, यिनै अभीष्ट पूरा गर्न नाटक मञ्चन गराइरहेछ कोही। नेपथ्यबाट रिमोट थिचिरहेछ।
...
देख्छु, संसदको गतिरोध उस्तै छ।
दलहरू एकअर्कालाई हिलो छ्याप्नमै तल्लीन छन्। कुण्ठा ओकलिरहेछन्।
राजनीतिक साख खस्कँदै गएको पत्तो छैन कि? खै जनाधार? अब पनि नसच्चिए कहिले सच्चिने?
ध्यान समाधिबाट देखिएको मुलुकको दर्दनाक तस्बिर देखाएरै आज शीर्ष नेतृत्वलाई सोध्न मन लागेको छः
– 'शिरमाथिको क्षतविक्षत् आकाश देखेका छौ, आलो रगत बगिरहेको? यी सबको उपचार के छ तिमीहरूसँग?'
– 'आम मानिसका टुटेका मन, टुक्रिएका सपना अनि विश्वास जोड्ने रसायन के छ?'
– 'मुलुकलाई कहिलेसम्म भ्रष्टाचार, अस्थिरताको दलदलमा धकेलिरहन्छौ? बेथितिको अखडा बनाइरहन्छौ?'
प्राप्त उपलब्धिहरूको जगेर्ना गर्दै मुलुकलाई यो दलदलबाट माथि उठाउने जिम्मेवारी कसको? तमाम निराशाहरूलाई उल्ट्याएर आम नागरिकमा आशाको सञ्चार गर्ने दायित्व कसको? – प्रश्न गर्न मन छ।
दिगो शान्ति, मौलिक हक अधिकारको रक्षा सहित सुशासनको प्रत्याभूती दिने जिम्मेवारी कसको?
शासन प्रणाली जतिसुकै उन्नत किन नहोस्, त्यसले आमनागरिकका निराशा सम्बोधन गर्न सकेन, समुन्नतिको मार्गप्रशस्त गर्न सकेन, जीवनस्तर उकास्न सकेन भने त्यसको के अर्थ?
के तिमीहरूले नागरिक शक्तिलाई नजरअन्दाज गरेका हौ? – सोध्न मन छ।
नागरिक नै शासन प्रणालीको निर्णायक शक्ति हुन्, अजेय शक्ति। उनीहरूमा हर किसिमका दुश्चक्र तोड्ने शक्ति हुन्छ। क्रान्तिको लहर उराल्ने सामर्थ्य हुन्छ। आँधीबेहेरी उठाउने ताकत हुन्छ।
विश्वमै, यस शक्तिसामु कैयन शासक नांगिएका छन्। तिनका अहंकार खरानी भएका छन्। सत्ता ढलेका छन्। धूलिसात भएका छन्। व्यवस्था उल्टिएका छन्। हो, घुडा टेकेका छन् तिनले।
अनि भन्न मन छ – अब पनि सच्चिएनौ भने आमनागरिक तिमीहरूकै विकल्प खोज्न तयार हुनेछन्। समृद्ध मुलुक निर्माणका लागि जस्तोसुकै मुल्य चुकाउन समेत पछि पर्ने छैनन्। बलिदान हुन परे पनि पछाडि हट्ने छैनन्। चेतना भया!
***