खै! मैले माया गर्न जानिनँ कि उनले। बहुत गाह्रो हुने रहेछ माया गरेको मान्छेलाई भुल्न। न त अब पाउन सक्छु न त भुल्नै। उनी एकदम शालीन, भद्र, व्यवहारिक अनि राम्री। बयान गर्दा पनि नथाकिने।
करिब ६ महिना भएको थियो हामी प्रेमी बनेको। एकअर्कालाई बहुत माया गर्थ्यौँ। माया के हो भन्ने कुरा मैले उनीबाटै सिक्ने अवसर पाएको थिएँ। उनी लगायत उनका पारिवारिक सदस्यसँग पहिल्यै चिनजान थियो। नजिकैको भएर होला एकअर्कालाई बुझ्न बुझाउन गाह्रो थिएन।
सुरुआती चरणका ती पलहरू सम्झँदा प्रथम विश्वयुद्ध जितेको भान हुन्छ। च्याट गर्दा बिताएका ती रात, खाएका ती कसम तथा वाचा सम्झँदा पनि झसंग हुने गर्दछु। भर्खरै परीक्षा सकेर बसेको थिएँ। खाली समय भएकाले मसँग समय पर्याप्त थियो। समय समयमा हामी भेट्ने, सुख दुःखका कुराहरू गर्ने गर्दथ्यौँ। दिन बितेको पत्तै हुँदैन थियो। उनी आफ्नो भाइसँग बस्ने गर्दथिन् भने म साथीसँग।
उनीसँग छोटो अवधिमा यस्तो माया बस्न पुग्यो कि भेट भएपछि राति अबेरसम्म पनि कोठामा जान मन नलाग्ने हुन्थ्यो। उनको भाइले फोन नगरेसम्म हामी छुट्दैन थियौँ। भेट नहुँदा हामी भिडिओ कलमा घण्टौँ बिताउने गर्थ्यौँ।
कहिलेकाहीँ सम्बन्धमा दरार आएको महसुर हुन्थ्यो। म्यासेजमा झगडा हुने गर्दथ्यो। कहिले उनी नबोल्ने, कहिले म। म उनको मायामा डुबिसकेको थिएँ। न खान मन लाग्थ्यो न त कुनै काम गर्न। आउँथ्यो त केबल उसको याद र ऊसँग बिताएका पलहरू। कहिलेकाहीँ झगडा हुँदा २/३ दिनसम्म बोलचाल बन्द हुने गर्दथ्यो।
पछिल्लो समय म्यासेज खासै आउन छाडेपछि फोन गर्ने गर्दथेँ। उनको फोन उठ्दैन थियो र रिप्लाई पनि आउँदैन थियो। उनको फोन नउठ्दा घर नजिकैको प्रतीक्षालयमा गएर घन्टौँ रात बिताउने गर्दथेँ। उसैको यादमा हराउने गर्दथेँ। चौतारो मेरो लागि पीडा बिसाउने र दुःख पोख्ने सारथि स्थल बनेको थियो।
घरका सदस्यले कहाँ हरायो यो भनेर खोज्ने गर्दथे। हरेक दिन र रात यसरी नै बित्थ्यो। हप्ता/दश दिनमा कहिलेकाहीँ कुरा हुने गर्दथ्यो। उनीसँग बोल्दा मेरा आँखा रसाउने गर्दथे। पहिलो पटक कसैको मायामा आँसु बगाएको थिएँ। न उनको माया पाएँ, न त उनलाई नै। समय बित्दै गयो तर उनका ती यादहरू भने मेरो मानसपटलमा हरेक दिन झन् पछि झन् पीडादायक बन्न लागे।
घन्टौँ समय बोल्दा बोल्दै निदाएका उदाहरण पनि धेरै थिए। ती उदाहरण उदाहरणमै सीमित भए। एक त दूरी टाढा भइसकेको थियो। त्यसैमाथि उनी आफ्नो जिल्लामा जागिर खान गएकी रहेछिन्। पछि अन्य स्रोतबाट थाहा पाएँ। दूरी टाढिएसँगै उनको माया पनि टाढियो।
उनको मायाले म एकोहोरो भइसकेको थिएँ। खान मन लाग्दैन थियो। न काम गर्ने जाँगर, न त पढ्न। हरेक दिन उनको फोन, म्यासेजको प्रतीक्षामा बस्ने गर्दथेँ। उनकै बारेमा सोच्थेँ। म सम्बन्ध टिकाइराख्न चाहन्थेँ। छुट्न त मनै थिएन तर अन्तिम विकल्प मसँग केही रहेन।
एक दिन बेलुका ७/८ बजेको समयमा फोन गरेँ। उनले मेरो नम्बर ब्लकलिस्टमा राखेको रहिछन्। सम्पर्क हुन सकेन। अर्को दिन बिहान मैले मात्र हेर्न मिल्ने गरी स्टोरी राखेको पाएँ। जहाँ लेखिएको थियो- ‘त्यो बोली नै अन्तिम थियो अब चाहेर पनि सुन्न पाउँदैनौ।’ झसंग भएँ। अक्क न बक्क भएँ। धैर्य गर्न सक्नु पर्छ हरेक कुराको दिन आउँछ भन्ने सुनेको थिएँ, धैर्य गरेँ तर न उनी सम्पर्कमा आइन्, न उनको म्यासेज र कल नै।
उनले भेटमा भन्ने गर्दथिन्- ‘मलाई पनि सेतो सर्ट, निलो पाइन्ट, गुलाबी सारीमा सजिएर कार्यालय जान, सरकारी कर्मचारी हुन मन छ। पूरा भयो सपना मेरो भन्ने गीतमा भिडिओ बनाएर फेसबुक र इन्स्टामा भिडिओ राख्न मन छ। कहिले आउला सपना पूरा हुने दिन?’
उनको कुरा सुन्दा मैले पनि छिटै सपना पूरा होस् भन्ने प्रार्थना गर्ने गर्दथेँ।
बोलचाल बन्द भएको करिब एक महिना भएको थियो। उनले प्रदेश लोक सेवा आयोगमा सहायक स्तर पाँचौँ तहमा खुलामा नाम निकालेको पाएँ। बधाई दिएँ। लगत्तै अन्तर्वार्ता रहेछ। उनी खासै बोल्न नरुचाएपश्चात् हाम्रो सम्पर्क हुन छोडेको थियो।
उनको र मेरो अलग क्षेत्र भए तापनि माया गरेको मान्छे भएर होला अन्तर्वार्ताको लागि सो क्षेत्रसँग सम्बन्धित विषयवस्तु करिब २० पाना जति खोजेर पठाइदिएँ। मलाई पनि उनी सफल भएको हेर्ने ठुलो रहर थियो। अन्तर्वार्ताको १/२ दिनअघि कुरा भएको थियो। २/४ वटा विषयवस्तु हेर्न अनुरोध गरेँ।
अन्तर्वार्ताको दिन फोन गरेँ। कस्तो भयो भनेर प्रश्न गरेँ। समग्रमा राम्रो भएको जानकारी प्राप्त भयो। अन्तर्वार्ता सकिएको ३/४ दिनपछि एक फेर फोनमा कुरा भएको थियो। अहिले न त फोन हुन्छ न त म्यासेज नै। अन्तर्वार्ताको नतिजाको पर्खाइमा छौँ। छिट्टै सपना पूरा भएको देख्न पाऊँ। सफलताको शुभकामना प्रिय।