रातको दुई बजिसकेको छ। आकाशमा ताराहरू टिलपिलाई रहेछन्। मन्द हावाको झोक्काले मौसम शीतल छ। सबै मानिसहरू मस्त निद्रामा छन्।
सहरको एउटा गल्लीको एउटा सानो कोठामा मधुर प्रकाश छरिएको छ। त्यही मधुर प्रकाशको उज्यालोमा भास्कर केही लेखिरहेछ। सायद आफ्नै भाग्य। उसलाई निद्राले नसताएको कहाँ हो र! दिनभरि उभिएर चिच्याउँदाको थकानले नअत्त्याएको पनि कहाँ हो र! तर उसले आफ्नो आदर्श पुरुष अब्दुल कलामलाई सम्झिँदै कलम र दिमाग दुवै दौडाइरहेछ। लाग्छ उसको शरीर मात्र थाकेको हो। थाकेका छैनन् सपना देख्ने आँखाहरू अनि जसरी पनि गन्तव्यमा पुगेरै छाड्ने अठोट बोकेको मन।
भास्कर, सहरमा बसेर सङ्घर्ष गरिरहेको एक आम पात्र। ऊ पनि अरूजस्तै एसएलसी सकाएर सहर पसेको हो उच्च शिक्षा हासिल गर्न। उसले पनि सोचेको हो धेरै पढ्ने, राम्रो जागिर खाने अनि भविष्य बनाउने। उसले धेरै पढिसकेको छ तर खान सकेको छैन राम्रो जागिर अनि बनाउन सकेको छैन उज्ज्वल भविष्य।
मास्टर डिग्री सकाइसकेको छोरो भएर पकेट खर्चका लागि आमा बुवालाई दुःख दिनु उसको नैतिकताले पनि दिँदैन। त्यसैले धाउन थालेको छ ऊ श्रमको शोषण गर्ने एउटा बहु प्रचलित अड्डा अर्थात् बोर्डिङ स्कुल। उसलाई आफ्नो काम अनि दाममा सामञ्जस्य नमिलेको प्रस्ट थाहा छ तर पनि ऊ जीविकोपार्जनको एउटा भए पनि बाटो पत्ता लागेकोमा खुसी नै छ।
उसलाई मास्टर डिग्री सकेपछि मात्र थाहा भयो कि नेपालमा राम्रो डिभिजन ल्याएर केही हुँदैन। ठुलाबडाको पहुँच नभई सामान्य नोकरी पाउन पनि असम्भव प्राय छ। उसलाई सधैँ यसै गरी घसिपिटी जिन्दगी चल्दैन भन्ने लाग्न थालेको छ। त्यसैले त जुटेको छ लोक सेवाको तयारीमा।
चुनौतीका पहाडहरू खडा छन् उसका सामु। एक्लो ज्यान। बिहानै उठ्छ। उठेपछि सिधै खाना बनाउनतिर लाग्छ किनभने बिहान ८ बजेसम्म बोर्डिङ पुगिसक्नु छ उसलाई। हतार हतार भातको गाँस निलेर निस्किन्छ र दिनभरि चिच्याउँछ। अनि लखतरान भएर साँझ ६ बजे घर आइपुग्छ। हुन त उसले थकाइ मार्नुपर्ने हो। मोबाइल चलाउँदै मनोरञ्जन लिनुपर्ने हो। तर ऊ त्यसो गर्दैन। कुकरमा खाना बसाउँछ। बिहानकै दाल र तरकारी तताउँछ। घरमा एक चोटि फोन गरेर बुवा, आमा र बहिनीको सन्चो बिसन्चोको खबर लिन्छ। त्यसपछि पल्टाउन थाल्छ शाखा अधिकृतका किताबहरू।
सजिलो कहाँ छ र लोक सेवाको परीक्षामा सफल हुन! तर ऊ धेरै असफलताहरूलाई सफलतामा बदलेरै यहाँसम्म आइपुगेको छ। सरकारी स्कुल पढेर एसएलसीमा डिस्टिङ्सन ल्याउन असम्भव छ भन्ने सबैको मुखमा उसले पचासी प्रतिशत अङ्क ल्याएर बुझो लगाइदिएको थियो। सरकारी स्कुल पढेको मान्छे काठमाडौँका खतरा अङ्ग्रेजी बोल्ने विद्यार्थीहरू सामु टिक्न सक्दैन भन्ने भाष्यलाई उसले कलेजको फर्स्ट टर्मिनल इक्जाममै कलेज टप गरेर गलत साबित गरिदिएको थियो।
यस्ता धेरै कहानीहरू छन् उसका। अब ऊ लोक सेवा आयोग पास गर्न फलामको चिउरा चबाउनु बराबर हो भन्ने भनाइलाई गलत साबित गर्न लागिपरेको छ। यही त खासियत छ नि उसको लागि, परेपछि पर्यो पर्यो।
उसलाई प्रथम पत्रका विषयहरू सजिलै लागेका छन्। सामान्य ज्ञानमा स्कुल पढ्दादेखिकै रुचि। फिजिक्समा मास्टर्स गरेको मान्छेलाई आइक्यु गाह्रो लाग्ने विषय भएन अनि अङ्ग्रेजी त जसोतसो पार लागिहाल्छ। प्रथम पत्रका विषयवस्तु देख्दा रमाउने ऊ लेखनका विषयहरू पल्टाउन थालेपछि गरुडको अगाडि परेको सर्पझैँ हुन्छ किनभने उसले हालसम्म पढ्दै नपढेका विषयहरू छन् अनि सुन्दै नसुनेका विषयवस्तु।
उसले सोचिरहेको छ, लेखन पत्रको तयारी कक्षा लिनुपर्ला। तर त्यही त हो। ऊसँग समय कहाँ छ र? अनि समय जसोतसो निकालिहाले पनि अर्थ व्यवस्थापन गर्न गाह्रो छ। यस्तै दोधार दोधारमै उसले पहिलो पटक शाखा अधिकृतको परीक्षा दियो तर पहिलो प्रयासमै नराम्ररी चिप्लिएपछि आफूले मात्र पढेर प्रशासनिक विषय पार लाग्दैन भन्ने निष्कर्षमा पुग्यो। प्रथम पत्र त निकै राम्रो भएको थियो तर लेखनका पत्रहरूले उसलाई डुबाए न सोचेजस्तो राम्रो लेख्न सक्यो उसले न त सबै प्रश्नहरूको समयमै हल गर्न।
असफल भएको रात उसलाई लाग्यो पनि छोडिदिऊँ यो सबै झन्झट तर ऊ यति सजिलै हिम्मत हार्ने मान्छे कहाँ हो र? सोच्यो, यसरी भएन। दिनभरि पढाएर थकित भएर पढ्न नसकिने रहेछ। यसको लागि त दिमाग फ्रेस र ज्यान चङ्गा हुनुपर्ने रहेछ। तर पढाउनै छोडे उसको गाँस र बासको उठिबास हुने खतरासँग ऊ परिचित नै थियो। के गर्ने के नगर्ने भन्ने दोधारमै बोर्डिङ स्कुल फुल टाइम नपढाउने निचोडमा पुग्यो।
यो कुरा प्रिन्सिपललाई सुनाउँदा उनी हातबाट एउटा राम्रो मुर्गा फुत्किने भयो भन्ने चिन्ताले ग्रसित देखिन्थे। तथापि उनले भास्कर जतिको शिक्षकलाई गुमाउनु हुँदैन भन्ने कुरा पनि बुझेका थिए। ऊ विद्यार्थी र अभिभावक सबैको प्रिय थियो। मेहनती अनि अनुशासित पनि। उनले मन नलागी नलागी उसलाई एउटा सर्तमा पार्ट टाइम जागिर दिने कुरा अघि सारे। सर्त थियो– उसले आफ्नो ठाउँमा ऊ जत्तिकै सक्षम शिक्षकको व्यवस्था गर्नुपर्ने।
काठमाडौँ खाल्डोमा शैक्षिक बेरोजगारहरूको कमी कहाँ छ र? उसले आफ्नो ठाउँमा आफ्नै साथी समीरलाई ल्यायो र आफू दिउँसोको चार पिरियड मात्र हेर्ने गरी बोर्डिङमा अनुबन्धित भयो।
यसरी ऊसँग केही समय निस्कियो पढ्नको लागि। आफ्नो सपना पूरा गर्नको लागि। उसले अब तयारी कक्षा लिने योजना बनायो र बुझ्न गयो नाम चलेको इन्स्टिच्युटमा। पूरै कोर्स सकाउन उसको दुई महिनाको तलबले पनि नपुग्दो रहेछ। आफूले पैसा बचत गर्न नसकेकोमा पछुतो भयो उसलाई। फेरि उसले जसरी पनि आफ्नो लेखन पत्र राम्रो बनाउनु थियो।
त्यसैले पैसाको चिन्ता नगरी कक्षामा जोडिने निधो गर्यो र केही रकम सापटीको लागि अमेरिकामा बस्ने आफ्नो फुपू दिदीको छोरासँग सम्पर्क गर्यो। धेरै होइन उसले जम्मा २० हजार १ वर्षको लागि सापटी मागेको थियो तर उनले पैसाको कुरै नगर भाइ भन्दै फोन राखिदिए। उसले मन अमिलो बनाउँदै गुहार्यो केही कमाउ धन्दामा लागिसकेका साथीहरूलाई। तिनले पनि उसलाई निराश नै बनाए। अन्तिममा केही सिप नलागेपछि उसले बुवालाई सय कडा ३ मा ऋण खोज्न लगायो र पढ्न थाल्यो बिहानीको समयमा।
लोक सेवाका कक्षाहरू उसले सोचे जति उपयोगी त पाएन तथापि केही प्राविधिक ज्ञानहरू सिक्ने मौका मिल्यो। आफूभन्दा अग्रजहरूबाट सफलताको मन्त्र पायो अनि आफ्ना प्रतिस्पर्धीहरूको नाडी छाम्ने अवसर पनि। पढाइले गति लिँदै थियो। विज्ञापन पनि राम्रै सङ्ख्यामा खुलेको थियो।
परीक्षा आउन करिब एक महिना जति बाँकी थियो। यही बेलामा आमा बिरामी परिन्। गाउँको डाक्टरले तत्काल काठमाडौँ जँचाउन जान सल्लाह दिए। आमाभन्दा ठुलो परीक्षा होइन। उसले पन्ध्र दिनसम्म टिचिङ हस्पिटलमा बसेर आमाको टाउकोको ट्युमरको अपरेसन गरायो। आमाको टाउकोमा पलाएको ट्युमर तत्काललाई निकालेर फालियो। पछि फेरि पलाउन सक्ने खतरा जीवितै भए पनि अहिले आमा ठिक हुनुभयो। यही कारण यो बिचमा पढाइको मेसो छुटे पनि ऊ खुसी भयो।
लोक सेवा आयोगले पाठ्यक्रममा राखेका विषयहरू यस्ता छन् कि एक हप्ता जति हेर्न छुट्यो भने भुसुक्कै बिर्सिहालिन्छ। त्यही पनि उसले उच्च मनोबलका साथ प्रथम पत्रको परीक्षा दियो। प्रथम पत्र त उसको पहिलेबाट नै राम्रै थियो। उसलाई मुख्य चुनौती दिएको लेखन पत्रका परीक्षाहरू साँपले झैँ फँडा फिँजाएर बसेका थिए। उसले कक्षामा गएपछि लेखन अभ्यास नगरी पास हुन गाह्रो हुन्छ भन्ने कुरा बुझेको थियो। त्यसैले हरेक दिन हरेक पत्रको एउटा प्रश्नको उत्तर लेख्न थालेको थियो। सरहरूलाई उत्तर देखाउँदा राम्रै छ भन्ने प्रतिक्रिया पनि पाउँथ्यो। यसले उसको हौसला झन् बढाएको थियो।
कति पढ्यो भने लोक सेवा आयोग पास भइन्छ? यो प्रश्नको उत्तर सजिलो छैन। पास हुने मान्छेलाई पनि पास भइसकेपछि मात्र थाहा हुन्छ कि मेरो तयारी पुगेको रहेछ भनेर। यसको एउटा मात्र सजिलो उपाय भनेको अन्य प्रतिस्पर्धीको तुलनामा आफूले राम्रो गर्नुपर्छ। त्यसको लागि आफूले सकेको अधिकतम बल लगाउनुपर्छ। यस्तो कुराहरू ऊ बिस्तारै बुझ्दै थियो। परीक्षा आइ त हाल्यो। यो पटक पनि उसले परीक्षा सोचेजस्तो गर्न सकेन तथापि पहिलो पटकको भन्दा केही राम्रो भने भएको थियो।
परीक्षा आफूले सोचेको जस्तो नभएपछि उसको निराश मनले सोच्यो– पढ्ने समय बढाएँ, कक्षा पनि लिएँ तर पनि लोक सेवा आयोग पार लाग्ला जस्तो छैन। लगभग दुई वर्ष यसैको लागि भनेर व्यतीत भइसक्यो। होस् अब पूर्णकालीन शिक्षक भएर काम गर्छु। शिक्षण पेसा पनि नराम्रो होइन। दुःख गर्यो, खट्न सक्यो भने राम्रो पैसा कमाउन सकिन्छ।
एक हप्ता जति ऊ शिक्षण र निजामती सेवा बिचमा तुलना गर्दै बस्यो।
लोक सेवा पनि नशा नै होला सायद। केही समयपछि फेरि उसले आफ्नो निराश मनलाई थुमथुम्याउँदै सोच्यो- मेरो तयारी अधिकृतलाई नपुगेको हो। एक पटक नासु र खरिदार किन ट्राई नगरूँ? आखिर धेरै विषयहरू त मिली नै हाल्छन्। पाठ्यक्रम अलि हलुका पनि छ।
केही समय विश्राम लिएको ऊ फेरी लोक सेवाको मैदानमा होमियो। पहिलाको भन्दा अझ धेरै स्फूर्ति बोकेर।
एक साँझ गाउँबाट बुवाको फोन आयो- 'आमालाई निकै गाह्रो हुन थालेको छ। उसले तँलाई भेट्ने इच्छा व्यक्त गरेकी छ।'
उसले बुवाको फोनको गाम्भीर्य बुझ्यो र नाइट बसको टिकट काटेर घर लाग्यो। आमा अपरेसनपछि निकै गलेकी थिइन्। निकै मायालाग्दो भएको थियो उनको मुहार। आमालाई देखेर उसलाई रोऊँ रोऊँ लाग्यो।
'किन यस्तो साह्रो दुब्लाउनु भएछ त आमा? खाना खानु हुन्न कि के हो?' उसले मायालु पारामा सोध्यो।
'अब बुहारीको हातले बनाएको खाने' भन्दै हाँसिन् उनी।
उसलाई आमाले बुहारीको कुरा गरेको भन्दा पनि उनी हाँसेको निकै राम्रो लाग्यो।
खासमा उसलाई घर बोलाइनुको कारण उसको बिहेको बारेमा सल्लाह गर्नु रहेछ। ऊ अस्ति फागुन २९ देखि २९ वर्ष नै लागेको थियो। बिहे गर्ने उमेर पुगेको मात्र होइन बिहेको सामाजिक मानक उमेर कटिसकेको थियो। एउटा राम्रो सरकारी जागिर खाएर बिहे गर्ने सोच बनाएको थियो। यस विषयमा उसले मात्र सोच बनाउँदा हुन्थ्यो किनभने उसले कसैलाई प्रेमिका बनाएको थिएन।
कहिलेकाहीँ साथीहरू कलेजमा रामकृष्ण ढकालले गाएको गीतको प्यारोडी बनाउँदै गाउँथे – मन पराउने हजार भेटिन्छन्, जुनी काट्ने बाउले खोज्दिन्छन्। ऊ वास्तवमै आमा बुवाले खोजिदिएकै केटी बिहे गर्ने मनसाय बनाएर बसेको थियो।
बिहेको कुरा चल्दा उसले जागिर खाएको छैन भन्ने अस्त्र प्रयोग गर्यो तर उसको अस्त्रलाई आमाको आँसुले विफल तुल्याइदियो। उनी बुहारीको मुख नहेरी कालले लैजाने भयो भन्दै घुँक्क-घुँक्क गर्न थालिन्।
बाबाले सम्झाउँदै भन्नुभयो, 'हेर् छोरा, बिहे भन्ने कुरा समयमै गरेको राम्रो। म तेरो उमेरमा हुँदा तँ ६ वर्ष भइसकेको थिइस्। पढाइ करियर भन्दाभन्दै तिस पुग्न लागिसकिस्। फेरि यही समयमै नाम निस्किन्छ भन्ने केही ग्यारेन्टी पनि त छैन नि। जागिरमा नाम फेरि पनि निस्किन्छ तर यस्तो राम्रो खानदानबाट कुरा नआउन सक्छ। मामाले कुरा मिलाइसकेका छन् अरे। केटो हेर्ने र केटाकेटी दुवैको मन परापर भयो भने बिहे गर्ने भन्ने कुरा छ। यस विषयमा धेरै जिद्दी नगर्। आमाको स्वास्थ्य अवस्था पनि दिनानुदिन बिग्रँदो छ। फेरि बिहे गरेपछि जागिर खान सकिँदैन भन्ने पनि होइन। झन् सहारा मिल्छ। दुःख सुख साट्ने साथी हुँदा जिन्दगीमा धेरै प्रगति गर्न सकिन्छ छोरा।'
यति धेरै कुरा आइसकेपछि उसलाई आमा बुवाको मन राखिदिन भए पनि केटी हेर्न जान करै लाग्यो।
भोलिपल्ट बिहानै उनीहरू मामाघरतर्फ लागे। मामाघरबाट केटीको घर आधा घण्टा जति दक्षिणमा रहेछ। भास्कर एकदम नर्भस भएको थियो। पशु बजारमा बेच्न राखिएको पशुजस्तो निरीह पाएको थियो आफूलाई। केटीको बुवा रिटायर्ड उपसचिव रहेछन्। अलि गफाडी जस्ता लाग्थे बुढा। आफू निजामती सेवामा रहँदा यस्तो गरेँ उस्तो गरेँ भनेर केही बेर धाक लगाइसकेपछि बुढाले मुख्य कुरा गरे, 'अनि साँच्ची बाबु अहिले केमा अरे?'
सुरुको प्रश्न नै सेलेबसभन्दा बाहिरबाट आएझैँ भास्कर तर्सियो। बुढाले ऊ पहिला नै निजामती कर्मचारी हो भन्ने बुझेका रहेछन्। मामाले थोरै प्रष्टीकरणका साथ कुरा राख्नुभयो, 'अहिले बोर्डिङ पढाउनुहुन्छ। लोक सेवा आयोगको तयारी गर्दै हुनुहुन्छ। यसपालि शाखा अधिकृतमा नाम निकाल्नुहुन्छ। फिजिक्समा मास्टर्स सकाउनु भएको छ भान्जा बाबुले।'
मामाले कुरा गरिरहँदा भास्कर भने बुढाको अनुहार पढिरहेको थियो। उनको अनुहार त्यति सहज पाएको थिएन उसले। बुढाले एक पटक घर सल्लाह गरेर खबर गरौँला भन्दै सबैलाई बिदा गरे। केटीको अनुहार एक झल्को मात्र हेर्न पायो उसले, चिया लिएर आउँदा। सायद संकोचले राम्रोसँग याद पनि गर्न सकेन। अर्को चोटि कतै बाटोमा भेट्यो भने उसलाई चिन्न पनि सक्दैन होला। केटी नायब सुब्बा थिई। सायद सरकारी कर्मचारी केटीलाई बिहे गर्ने केटाको पहिलो योग्यता नै सरकारी जागिरे हुनुपर्ने थियो।
केटीको बुवाले घर सल्लाह गर्छु भने पनि सबैले बुझिसकेका थिए, त्यो उनको छोरी नदिने बहाना थियो। केटी नपाएकोमा भन्दा पनि सरकारी जागिरे नभएकोमा भुक्तान गर्नुपरेको अपमान भास्करको मुटु बिझाउने खालको थियो। यसबाट अझ उसले सरकारी जागिरको महत्त्व बुझ्न पायो। बुवाले पनि परिस्थिति बुझेकोले खासै कर गर्नु भएन। आमालाई सम्झाउने जिम्मा पनि उहाँले नै लिनुभयो र ऊ काठमाडौँ छुट्ने बेलामा यति मात्रै भन्नुभयो, 'इख लिएर पढेस्।'
ऊ काठमाडौँ पुगेपछि नियमित कार्यमै अभ्यस्त भयो। बोर्डिङ। कोठा। आयोगको तयारी। निरस थियो जीवन। कुनै रोमाञ्चकता थिएन। अनि नयाँ पन पनि केही थिएन। एउटै दैनिकीको पुनरावृत्ति। तर पनि आशावादी थियो ऊ जीवनप्रति। सपनाप्रति। यही सपनाको त्यान्द्रोले त रहेछ मान्छेलाई जीवित राख्ने।
एक रात ९ बजेतिर उसको फोन बज्यो। यो फोन आउने नियमित समय थिएन। अनि यसरी नियमित फोन आउनको लागि उसको नियमित मान्छे पनि थिएन। यति राति फोन आएको छ। कोही चिनेकै मान्छेले अर्को नम्बरबाट गरेको हो कि सोचेर उसले फोन उठायो। उताबाट मधुर महिला आवाजले हेलो भन्यो। थोरै नर्भस भएकोले उसले आफूलाई सम्हाल्दै हजुर भन्यो।
'सायद मलाई चिन्नु भएन होला। म सरला बोलेको।'
'सरला! अलि सम्झन गाह्रो भयो त' भन्दै उसले आफ्नो अप्ठ्यारो पोख्यो।
'नाम नै थाहा नपाई मलाई माग्न आउनु भएको थियो अनि?'
उताबाट मन्द मुस्कानको साथमा परिचय पाएपछि भास्कर अवाक् भयो। के बोलूँ बोलूँ भयो उसलाई। अनायास उसको मुखबाट हजुर शब्द निस्कियो। केटी बिस्तारै सहज भई। उसको पनि धक फुक्दै गयो।
उनीहरू निस्किएपछि घरमा सरकारी जागिर नखाएको केटोलाई छोरी नदिने सहमति भएछ। तर सरलालाई ऊ एकदम मन परेर फोन गरेकी रे। उसले भनी, 'थाहा छैन। हजुरलाई म मन परेँ या परिनँ। मलाई भने पहिलो नजरमै हजुर मन पर्नुभयो। केही दिन आफूलाई सम्हाल्न खोजेँ तर सक्दै सकिनँ। यसरी मनमै कुरा गुम्स्याएर बसिरहेँ भने पागल हुन्छु भन्ने लाग्यो। बरु जेसुकै होस् मनको कुरा भनेर हलुका हुन्छु भन्ने लागेर फोन गरेको।'
सरलाको कुरा सुनेर भास्कर को मुटु जोड जोडले धड्किरहेको थियो। उसले केही भन्नै सकेन। सरलाले नै उसलाई सजिलो बनाइदिई- 'हजुरले मेरो बारेमा के सोच्नु भयो थाहा भएन। मलाई चाहिँ मेरो बाबाले सागर बन्न सक्ने खोलालाई कुवा सम्झने भुल गर्नु भयो भन्ने लागेको छ। हजुर मजाले लाग्नु भयो भने लोक सेवा आयोगभन्दा कठिन परीक्षाहरूमा सफल हुन सक्नुहुन्छ।'
भास्करले सोच्नै सकिरहेको थिएन कि उसको कानले के-के कुराहरू सुनिरहेको छ। नियमितताको क्रमभङ्ग यसरी होला भन्ने उसले सपनामा पनि सोचेको थिएन।
यसरी सरला उसको जीवनको अभिन्न हिस्सा बन्न पुगी। ऊ निराश हुँदा, उसलाई आर्थिक तथा मनोवैज्ञानिक कठिनाइ हुँदा दरिलो खम्बा बनेर सरला उभिइदिन्थी। यसले उसको आत्मबल निकै बढाएको थियो। अब त सरलाको लागि भए पनि उसले नाम निकाल्नु थियो।
अघिल्लो परीक्षाको नतिजा आउनै बाँकी थियो। परीक्षा बिग्रिएकै भए पनि रिजल्ट नआई त कहाँ मन मान्छ र? सरलासँग कुरा हुन थालेपछि उसलाई त्यो परीक्षाको पनि अलिअलि आस लाग्न थालेको थियो।
सरलाले पनि परीक्षा दिएकी रहिछ। उसैले भनेकी थिई, 'लोक सेवा आयोगको परीक्षामा सफल हुन एक्स्ट्रा हुनु पर्दैन। औसत हुन सके पुग्छ। भन्न त साथीहरू मेरो प्रथम पत्रमै ८० मिल्यो, ९० मिल्यो भन्छन् तर लेखन पत्रमा ४० ल्याउन नसकेर गुल्टिन्छन्। त्यसैले कुनै एउटा विषयमा भयङ्कर राम्रो गर्ने तर अरू विषयमा पास मार्क पनि ल्याउन नसक्ने मान्छे लोक सेवा आयोगको परीक्षामा सधैँ निराश हुन्छ। तपाईंजस्तो निरन्तर अध्ययन गर्ने मान्छेले नै हो नाम निकाल्ने।'
भास्करलाई सरलाको कुरा हो झैँ लागेको थियो।
एक दिन भास्कर कक्षाबाट पढाएर निस्किँदै थियो। सरलाको फोन आयो। स्कुलमा फोन उठाउन अनुमति त थिएन तर उसले आफ्नो जिन्दगी नै उठाउने मान्छेको लागि त्यति रिस्क लियो।
'ल बधाई छ हजुर। भर्खरै रिजल्ट आयो। लिखितमा नाम निस्किएछ नि तपाईँको,' सरलाले एकै सासमा भनी सिद्ध्याई।
ऊ खुसीले उफ्रियो। खुसीयालीमा उसले सरलाको नतिजा सोध्नै बिर्सेछ। तत्काल फोन गरेर सोध्यो। ऊ पनि पास भइछे। उसको खुसी झन् दोब्बर भयो। बेलुका कुरा गरौँला भन्दै उसले फोन राख्यो र आफ्नो परीक्षाको बारेमा सोच्न थाल्यो। यो लोक सेवा आयोगको परीक्षा त भन्नै नसकिने। फेल हुन्छु जस्तो लागेको थियो। लिखित चरणमा त उत्तीर्ण भइएछ। अब कम्प्युटर सिप परीक्षण र अन्तर्वार्तामा पनि सफल हुन सके त!
सफलतालाई सम्झिएर ऊ रोमाञ्चित भयो। उसले स्कुलमा त्यो कुरा कसैलाई सुनाएन। सोच्यो, अहिले धेरै हल्ला गर्नु हुँदैन। भोलि वैकल्पिकमा परियो भने आफैँलाई अप्ठ्यारो हुन्छ।
त्यो रात सरला र भास्करले कुरा गरेरै छर्लङ्ग उज्यालो पारे। थोरै माया पिरतीका अनि धेरै आगामी चरणमा कसरी सफलता हासिल गर्न सकिन्छ भन्ने विषयमा कुराकानी भए। सरलाले अफिसबाट बिदा मिलाएर काठमाडौँ आउने कुरा भयो। उनीहरू नमुना अन्तर्वार्ताहरूमा सहभागी भए। कम्प्युटरको लागि पनि सकेको मेहनत गरे। भास्करलाई सरलाले नायब सुब्बा हुँदा दिएको अन्तर्वार्ता तथा कार्य अनुभवले धेरै फाइदा गर्यो।
करिब २० दिन जतिको समयमा उनीहरूले एक अर्कालाई थप बुझ्ने मौका पाए। अझ नजिकबाट चिन्ने मौका पाए। अन्ततोगत्वा नतिजा प्रकाशित भयो। सरला र भास्कर दुवै शाखा अधिकृत बने। सरलाको त टप टेनभित्रै नाम निस्कियो। भास्कर को बिचतिर। अब यो नम्बरको खासै अर्थ थिएन। मुख्य कुरा उनीहरू शाखा अधिकृत भए।
उनीहरूलाई धेरै धेरै बधाई तथा कार्य सफलताको शुभकामना। सधैँ प्रेम, स्नेह एवं समर्पणले सिँचिएर उनीहरूको जिन्दगी फुलिरहोस्, फलिरहोस्।