सरकार
म छाडा भएँ मलाई ऐनले बाँध
राज्यको नुन खाएर पनि
किन देश र जनताको हुन सकिनँ
अवसर हेरी हेरी
दलको झन्डा बोकेर हिँडेको छु
देश र जनताप्रति भन्दा
नेता र दलप्रति उत्तरदायी बनेको छु
त्यसैले म जनता रिझाउँदिनँ, नेता रिझाउँछु
नेताले मलाई पुरस्कार दिएका छन्
कहिले यातायात कहिले भन्सार
र कहिले सडक दिएका छन्
म आफूले चाहे जति मिलाई मिलाई खान सक्छु
कागज ढुङ्गा, गिट्टी, बालुवा
जे पायो त्यही खान्छु र खुवाउँछु
खुवाएपछि खाएको कसले हेर्छ?
तलब त मैले हाजिर गरे बापतमा पाएको हो
मेरो तलब थोरै छ त्यसैले
फर्जी बिल भरेर भए पनि भत्ता खान पाउनु पर्छ
किन खाइनस्? खोजी गर्ने को छ?
किन खाइस्? खोजी गर्ने को छ?
कहाँबाट ल्याइस्? कसरी ल्याइस्?
देश लुटेर ल्याइस् कि गरिब मारेर ल्याइस्?
खोजी गर्ने को छ?
आयोग बन्ने हो प्रतिवेदन लेख्ने न हो
सरकार मेरो बिन्ती छ
ऐन ल्याऊ र मलाई ऐनको डोरीले कसेर बाँध
चलखेल गर्नेहरूको पाता कस
सहरमा बस्न नदेऊ, डाँडा कटाऊ गाउँमा खटाऊ
बाँच्ने गरी वेतन देऊ
इमानदारीपूर्वक देश र जनताको सेवा गर्न लगाऊ
दलहरूका झोला र झन्डा फ्याँकेर
मातृभूमिको सेवा गर्न लगाऊ
मलाई बेस्कन बाँध, जोतेर काम लगाऊ
एक पेट खान र एक सरो लाउन देऊ
मलाई मेरो पेसा र मेरो देश नै प्यारो छ।