'बाबा! बाबा! माइला बढिबा त घाँस काट्दा रुखबाट लड्नुभएछ! चेतन काकाहरू अब बाँच्न गाह्रो छ भन्दै हुनुहुन्छ। हजुर जाने होइन हेर्न?' आशा दौडँदै आई र हस्याङफस्याङ गर्दै आफ्ना कुरा सुनाई। ऊ पसिनै पसिना भएकी थिई।
'हैन के भन्छे यो! कहाँबाट लडेछन् दाइ? हरे! मधु पनि सहर तिरै होला। के गर्ने होला अब? घरमा कोही छैनन्।'
सोमनाथ बाजे पाञ्चायन पूजा गर्दै थिए, पूजा नै नसकी उनी बाहिर निस्किए। पूजा गर्दा फेरेको धोती खोलेर कमिज सुरुवाल लगाए र हतार हतार दाइ लडेको अलैँची बारीतिर लागे। आशा पनि पछि-पछि लागी।
माइला दाइ बिहानै घाँस काट्न गएका रहेछन्। गोगुनको रुखमा चढेर घाँस झार्न लाग्दा जरैदेखि रुख ढलेछ र रुख ढल्दा उनको टाउको भुइँमा भएको अर्को ठुटामा बज्रिएछ। उनी हँ-हँ गर्दै थिए। सोमनाथ बाजेले नाडी छामे, आँखा पल्टाएर हेरे। अनुहारमा रगतै रगत थियो। यति बेलासम्ममा केही मानिस भेला भइसकेका थिए।
उनले यताउता हेर्दै भने, 'पखेरु उडेको छैन। दाइलाई चाँडै अस्पताल लानुपर्छ। आज के बार हो? मङ्गलबार होइन? सरकारी अस्पताल पुर्याउन टाढा छ। माईभ्याली अस्पतालमा बुधबार त मधु नै पनि आउँछ क्यारे! आज कोही त होलान् नि राम्रा डाक्टर। त्यहीँ लैजाऔँ। ए चेतन! ल ल तिमेरू मिलेर काम्रो बनाओ!'
सोमनाथ बाजेले माइला दाइको अनुहार पुछिदिए। निधारबाट रगत बगिरहेको थियो। गाउँका केटाहरूले बाँस र बोराको परम्परागत स्ट्रेचर बनाए। अलैँची बारीबाटै सबै मिलेर माइला दाइलाई काँधमा बोकेर हिँडे।
आफ्नो घरमा आइपुगेपछि 'एकछिन पर्ख है' भन्दै सोमनाथ बाजे घरभित्र पसे। झोलाबाट एउटा सानो पोको गोजीमा हालेर पत्नीलाई घर हेर्नू है, म भरे आउँछु कि आउँदिनँ भन्दै निस्किए। आशा जान खोजेकी थिई तर पर्दैन भन्दै सोमनाथले रोके।
उकालो बाटो थियो, केटाहरूले पालो गर्दै र चौतारामा बिसाउँदै माइला दाइलाई अस्पतालतिर लगे। सोमनाथ बाजे घरीघरी माइला दाइलाई हेर्थे। भोर्लाका पातले यसो हम्कन्थे। घाइतेलाई पानी पियाइदिन्थे। माइला दाइको घरीघरी हँ हँ आवाज आउँथ्यो। उनी बेहोस जस्तै थिए। सबैमा के हुने हो भन्ने चिन्ता थियो।
करिब तीन घण्टा हिँडेपछि माइला दाइलाई माईभ्याली अस्पताल पुर्याइयो। अस्पतालमा मानिसको लामो लाइन थियो। केटाहरूले स्ट्रेचर भुइँमा राखे। सोमनाथ घाइतेका हातखुट्टा मिलाइदिन थाले। चेतन र केही साथी अस्पतालको इमरजेन्सी कक्षमा पुगे। त्यहाँ केही डाक्टर र नर्स थिए। तिनका नजिक पुगेर चेतनले भने, 'डाक्टर साहब! हामी मानेगाउँबाट बिरामी लिएर आएका। रुखबाट लडेर बिरामी सिकिस्त छ। चाँडो डाक्टरलाई देखाउन पाए हुन्थ्यो!'
'ए भाइ, तिमीले भनेर हुन्छ! यहाँ यत्रो लाइन छ। पालो पर्खनु पर्दैन? यहाँ सबै सिकिस्तै भएर आउँछन्। ऊ पर गएर लाइनमा बसेर पैसा तिरेर आउने,' त्यहीँ बसेकी एक जना महिलाले चर्को स्वरमा भनिन्।
'हैन डाक्टर साहब! हामी टाढाबाट आएका। बिरामी सिकिस्त छ। अलिक चाँडो हेरिदिन पाए हुन्थ्यो। बचाउन पाए हुन्थ्यो भन्ने लागेको। हतारमा हामीले पैसा बोक्न पनि भुलेछौँ। बिरामीको उपचार हुँदै गर्छ, हामी पैसा खोजेर ल्याइहाल्छौँ। उपचार गरिदिनु पर्यो डाक्टर साहब!'
'हैन कहाँका गाउँले हुन् यी! यो निजी अस्पताल हो। यहाँ पैसाबिना उपचार हुँदैन। पैसाबिना उपचार गर्न त जिल्लाको सरकारी अस्पताल जानुपर्छ। लिएर जानुहोस्। ए भाइ, तिम्रा बाको अस्पताल हो यो! कस्ता कस्ता मान्छे आउँछन्। सेक्युरिटी, यो भिड हटाऊ त,' पहिलेकै महिला फेरि च्याँठिइन्।
केटाहरूले केही भन्न सकेनन्। उनीहरू फर्केर सोमनाथ बाजे भएका ठाउँमा गए। उनी बिरामीलाई शीतल ठाउँमा राखेर पर्खिराखेका थिए। केटाहरूका कुरा सुनेपछि उनी 'यहाँ हेर्दै गर है त' भनेर अघि बढे र डाक्टरहरू भएका ठाउँमा पुगे। उनले हात जोड्दै भने,'डाक्टर साहेब, यी दाइ गाउँले हुन्। यिनका छोरा पनि सहरमा डाक्टर छन् तर डाक्टर गाउँ नआएको धेरै भयो। पछि थाहा पाएर आउलान्। अहिले मानवताका नाताले पनि उपचार सुरु गरिदिनुहोस् न। हामी पैसाको व्यवस्था गरौँला।'
'ए बाजे, तपाईँलाई थाहा छैन, यो निजी अस्पताल हो। यहाँ आज हामीले सहरका ठुला डाक्टर बोलाएका छौँ। उहाँको शुल्क नै धेरै छ। हामी कसैलाई निःशुल्क उपचार गर्दैनौँ। पहिले पचास हजार जम्मा गर्नुहोस् अनि उपचार सुरु हुन्छ। नत्र बिरामी लिएर अन्तै जानुहोस्।'
सोमनाथ केही भन्न खोज्दै थिए। भित्रैबाट एक जना पुरुषको आवाज आयो, 'केको हल्ला हो यो? डाक्टर बन्न कति खर्च लाग्छ, यिनलाई थाहा छ? अनि अस्पताल त्यसै बन्छ? पैसा छैन भने यिनलाई पठाइदिए हुन्छ। यी गाउँलेसँग केही गर्दा सकिँदैन। पैसा छैन बाहेक केही भन्दैनन्।'
सोमनाथले बाहिरबाटै भने, 'हामी हतारमा आयौँ। अहिले पूरा पैसा छैन। हामी पछि सबै व्यवस्था गर्छौँ। डाक्टर त भगवान् हुन्, यो माल्दाइको ज्यान बचाइदिनुहोस् डाक्टर साहब! मानवताको कुरा पनि हुन्छ नि! मसँग आशाको फी तिर्न भनेर राखेको पच्चिस हजार छ। छोरीले परीक्षा अर्को साल दिए पनि हुन्छ। म यही पैसा जम्मा गरिदिन्छु। उपचार सुरु गर्नुहोस्।'
पच्चिस हजारको कुरा सुन्ने बित्तिकै डाक्टरले भित्रैबाट भने, 'बिरामीलाई अपरेसन थिएटरमा लगेर तयारी गर्नुहोस्। म आइहालेँ।'
पैसा तिरेपछि बिरामीको उपचार सुरु भयो। सोमनाथ र अरू सबै बाहिर पर्खेर बसे। सहरबाट आएका महँगा डाक्टर थिएटरमा पसे। बिरामी निकै गम्भीर थिए। उनको अनुहार देख्ने बित्तिकै डाक्टर निकै आत्तिए र सबै डाक्टरलाई बोलाएर अपरेसन सुरु गरे।
दुई घण्टा बितिसक्यो। थिएटर बाहिर रातो बत्ती मात्र बलेको थियो। भित्रबाट केही खबर नआउँदा सोमनाथ र अरू रुँगालुको होसहवास उडिसकेको थियो। किन ढिलो भयो भन्ने थाहा नहुँदा कसैले केही बोल्न सकेका थिएनन्। भित्र सबै काम सकेर सहरका डाक्टरले आँखाका कोस पुछ्दै नर्ससँग भने, 'नर्स एक गिलास पानी ल्याउनुहोस् त।'
उनले बिरामीको खुट्टातिर गएर पाउ छोए र फेरि कोस पुछे अनि स्वाट्ट पानी पिएर बाहिर निस्के।
डाक्टरलाई देख्नासाथ सोमनाथले भने, 'डाक्टर साहेब, कस्तो छ बिरामीलाई? बिरामीको अपरेसन राम्रो भएको भए हामी घर गएर पैसा खोजेर बेलुकासम्ममा तपाईँको पैसा ल्याइदिन्छौँ। धन्यवाद डाक्टर साहब, तपाईँले आधा पैसामा पनि माइला दाइको उपचार गरिदिनु भयो। के गर्नु हामी गरिबसँग भने जति पैसा कहाँ हुन्छ र। जुटाउनै गाह्रो छ।'
थिएटरमै लगाएको पोसाकमा रहेका डाक्टरले सोमनाथलाई अँगालो हालेर सुँक्क-सुँक्क गर्दै भने, 'अब खतरा छैन। तपाईँहरूले तिरेको पैसा फिर्ता लानुहोस् है,' उनी आफ्नो कोठामा पस्न खोजे।
यो देखेर सोमनाथले हात समाउँदै भने, 'तपाईँ ठुलो डाक्टर, पढ्दा यत्रो खर्च लागेको छ। यो अस्पताल बनाउँदा कति खर्च लागेको छ, हामी तपाईँ शुल्क तिर्छौँ डाक्टर साहब। नतिरी कहाँ हुन्छ र? यो बिरामीको छोरो मधु पनि सहरमा डाक्टर छ। ऊ हाम्रो गाउँको गहना हो। हामीले जान्दा उसको स्वभाव राम्रै थियो। अहिले पो भेट नभएको धेरै भयो। गाउँमा माइला दाइ मात्र बस्छन्। उसले थाहा पायो भने पनि पैसा तिर्छ। पैसाको कुरा होइन, माइला दाइलाई ठिक छ कि छैन, त्यो चाहिँ भनिदिनुहोस् न।'
डाक्टरले भने, 'यी बिरामी मेरा पनि भगवान् हुनुहुन्छ। आज मैले तपाईँहरूबाट कहिल्यै नबिर्सने पाठ पढेँ। पैसाको अहङ्कारभन्दा मानवता धेरै ठुलो रहेछ। म लज्जित छु। त्यो पैसा लगेर आशाको फी तिरिदिनुहोस् काका।'
बिरामीबाहेक केही नसोचेका सोमनाथलाई अहिले 'काका' शब्द सुन्दा चिने चिने झैँ लाग्यो। यही बेला डाक्टरले मुखबाट मास्क खोले र भनेँ, 'काका, म मधु!'
डाक्टर र सोमनाथ अँगालामा भक्कानिए। दुवैका पिठ्यूँमा ताता थोपा चुहिरहे।