घर गाडी घडेरी!!
जोड्नलाई चाहियो जागिरी!!
खाउँला बरू गुन्द्रुकको तिउन तरकारी!!
केटाको जागिर चाहिँ हुनुपर्यो सरकारी!!
यी कुनै सडकमा चर्केको आन्दोलनको नारा होइनन्। यी कुनै पम्पप्लेटमा उतारेका अक्षरहरू जुन लामबद्ध र्यालीमा प्रदर्शन गरिन्छ त्यो पनि होइनन्। तर यो नेपाली समाजमा छोरी हुर्काएर ज्वाइँ खोजिरहेका हरेक परिवारको लागि क्रान्तिकारी ठानिने नारा हुन्। तिनै विवाह गर्ने उमेर भएकी छोरीहरूको निधारमा समाजले लेखिदिएको अदृश्य नारा हुन्। फेरि यी नारा राजनीतिक आन्दोलनका जस्ता कमजोर नारा पनि होइनन्। जो कि सम्झौताको लागि वार्तामा बसेर कम्प्रमाइज गर्न मिल्ने किसिमका। यी नारा त हरेक अभिभावकका लागि मुख्य एजेण्डा तथा शर्त बनेका छन्। केटीहरूको लागि सिद्धान्त बनेका छन् अनि केटाहरूको लागि माग पूरा गर्ने उद्देश्य तथा प्रतिबद्वता बनेका छन्। साथै केटा पक्ष परिवारको निम्ति माग पूरा गर्नुपर्ने कर्तव्य बनेका छन्।
समाजमा यस्तो स्थिति बनेको छ कि कतिपयको निम्ति लोक सेवा पास भनेको विवाह गर्नलाई लाइसेन्स पास हुनुजस्तै हो। लोक सेवामा असफल हुनु भनेको विवाह गर्न असफल हुनुजस्तै हो। सम्झिनुहोस्, तपाईंसँग स्थायी जागिर छैन भने तपाईंको प्रेम सम्बन्ध पनि स्थायी छैन।
यदि तपाईं स्थायी जागिरवाला हुनुभएन भने सामाजिक सम्बन्ध पनि स्थायी हुँदैन। बेरोजगार भएको हुँदा तपाईंको जहाँ आवश्यकता पर्छ, त्यहाँ मान्छेहरू फाइदा लिनलाई तपाईंसँग नजिक हुन्छन् र जुन दिन फाइदा लिन्छन् त्यसपछि तपाईंलाई मतलब गर्न छाड्छन्। तर तपाईं स्थायी जागिरवाला हुनुभयो भने तपाईंबाट एकपटक मात्र होइन अर्कोपटक अनि पटकपटक फाइदा लिन पाउने आशा र अपेक्षाले सम्बन्ध जोगाइराख्छन्। सम्पर्कमा रहिरहन्छन्। जति कार्यकाल बिताउनुहुन्छ तपाईंको पद पनि बढ्ने, अनि पैसा तलब पनि बढ्ने हुँदा आफन्त, इष्टमित्र, समाज, साथीभाइ सर्कल सबै नजिकै झुम्मिन्छन्। नत्र त मतलब गर्दैनन् कोही कसैले।
यदि तपाईं स्थायी जागिरेवाला भए तपाईंको पछाडि खुट्टा ताने पनि अगाडि देख्दा सम्मान गरेको कम्तीमा नाटकसम्म त गर्न सक्छन् मान्छेहरू। तर बेरोजगार भएमा तपाईं समाज तथा समाजका मान्छेदेखि भाग्नुपर्ने, टाढिनुपर्ने स्थिति हुन्छ। जसले जहिले पनि कहिले हो जागिर खाने? के गर्दै हो अचेल? कहिले हो त विवाह? अझै नाम निस्केन क्या है? जस्ता यावत प्रश्न गर्ने हुँदा प्रश्नको जबाफ दिनुपर्ने हैरानीले पनि टाढिनुपर्ने हुन्छ। यही त आज देशभित्र रहेका हामी बेरोजगार युवाको अवस्था छ। होइन र?
यसरी बेलुकापख एक रेष्टुरेन्टमा एक जना दाइले मलाई प्रश्न गर्दै आफ्नो कुरा राख्नुभएको थियो।
उहाँ टेबलमा बियर भरिएको गिलास उचाल्दै ओपाएको मुखसम्म पुर्याएर चुस्स घुट्की लिँदै बोल्दै गर्नुहुन्थ्यो। म पनि चिसो पिएर उहाँका कुरा सुन्दै आफ्ना कुरा राख्दै, कतिपय अवस्थामा हो! हो! भन्ने संकेतले टाउको हल्लाउँदै साथ दिँदै गएको थिएँ।
यसरी उहाँमा साहित्य, दर्शन धाराप्रवाह तरिकाले फुरेको देख्दा अचम्म लागेको थियो। केही त रहस्य अवश्य छ भन्ने लागेको थियो तर त्यतिन्जेल थाहा थिएन।
'भाइ! मान्छेले नसोचेको कुरा भोग्नु नै जीवन रहेछ। नसोचेको कुरा भोग्नुपर्ने भएकै कारणले जीवनमा सहजता मात्र होइन कठिनाइ पनि भोग्नु पर्दो रहेछ र आज म त्यही भोग्दैछु,' उहाँ भन्दै हुनुहुन्थ्यो।
मैले ट्याक्कै बोलिहालेँ 'नाइँ के भयो र? दाइ!'
'के भएन र भाइ! आज आएर ऊसँग ६ वदेखि रिलेसनसिपमा बसेको हाम्रो प्रेम सम्बन्धको ब्रेकअप भयो।'
बल्ल पो मैले कुरो बुझ्दै गएको थिएँ। यत्रो दर्शन र साहित्य फुर्नुको रहस्य। उहाँलाई बियरको नशा जाबो के नै लागेको थियो र! लागेको त उहाँलाई ६ वर्षदेखिको प्रेम सम्बन्धको धोका पो रहेछ। नशा खाएको मान्छेलाई म प्रसंग बदलेर कुराको विषय बदल्न सक्थे तर धोका खाएको मान्छेसँग प्रसंग बदल्नु हुन्थेन। किनकि उहाँले सुन्दिने कोही त छ भन्ने मेरो विश्वासले सुनाउँदै हुनुहुन्थ्यो। त्यसैले उहाँले बोल्दै गर्दा मैले सुन्नुपर्थ्यो र सुन्दै गएको पनि थिएँ।
'भाइ! आजभन्दा ३ वर्ष अगाडि मैले डिग्री भ्याएर बोर्डिङ स्कुलहरूमा प्लस टुतिर पढाउने गर्थें। उसको सल्लाहकै कारण त्यो सबै छाडेर अबको ५ वर्षभित्र पैंतीस वर्ष नपुगञ्जेल जसरी पनि निजामती सेवामा प्रवेश गरिहाल्नुपर्छ भनेर लोक सेवातिर लागेँ। हुन त मलाई तिम्रो जस्तो उमेरमा लोक सेवा पढ्नुपर्छ भन्ने बुद्धि आएन। ऋणसिन लगेर भए पनि नियमित मास्टर गरिहाल्नुपर्छ भनेर एकोहोरो लागेँ। गर्न त मास्टर गरियो अनि मास्टर पनि भइयो। तर पार्टटाइम मास्टर भएर पेट पाल्न पुगे पनि घरपरिवार पाल्न नपुग्ने रहेछ। त्यसैले उनकै सल्लाहलाई शिरोधर गर्नु उपयुक्त ठानेर लोक सेवातिर लागे।
सधैं सबैलाई सोचेझैं हुन्थ्यो भने यहाँ मान्छे कोही पनि दुखी हुन्थेन। मेरो पनि सोचेझैं हुन सकेन ३ वर्षसम्म प्रयास गर्दा भाग्यको खेल भनौं या मेरो कर्म नै यस्तै भनौं सफलताको नजिक पुगियो तर सफलता प्राप्त गर्न सकिएन। संघीय ना.सु प्रशासनमा पहिलो नम्बरको वैकल्पिक उम्मेदवार भएर फालिए।
उता घरतिर बाआमा आफन्त आत्तिएका थिए। हुन पनि मेरो उमेर ३० पुगेर ढल्किसकेको थियो। बा-आमाले छोराले उसले भनेझैं स्थायी जागिर खाला, विवाह गर्ला भन्ने आशा राखिरहनु भएको थियो। तर बुढेसकाल लागेसँगै आमा दमको बिरामीले थलिन थाल्नुभयो। घरको जेठो सन्तान म आमाको बिग्रँदो स्वास्थ्य स्थितिले चिन्तित नै थिए र छु।
एकदिन आमाले म यसै मरिजाने पो हुँ कि बाबु, मेरो श्वास रहन्जेल कम्तीमा बुहारी भित्र्याउन पाए मेरो प्राण पनि सजिलै जान्थ्यो कि भनेर अस्पतालको बेडमा आँसु झार्दै भनेपछि आमाको त्यो कुराले त्यो दिनबाट जागिर खाएर बिहे गर्छु भन्ने ढिपी मबाट सकिएको थियो। हुन्छ आमा विवाह गर्छु भनेर आमाको हात समाएर वचन दिएको थिएँ। हुँदा पनि बिरामी आमालाई आफू नभएको बेला दबाइ खुवाइदिने कोही त चाहिएको थियो। बहिनीको पनि ब्याचलर दोस्रो वर्षको परीक्षा नजिकै आएको हुँदा उसले तयारीलाई पढ्नु र परीक्षा दिनु थियो। आमा बिरामी भएपछि बिचरा बहिनीले कलेज जान त के घरमा किताब हेर्नसम्म पाएकी थिइन। त्यसैले विवाह गरियो भने मलाई यता लोक सेवाका परीक्षा ठाउँठाउँमा गएर दिनलाई केही हाइसुक्क पनि हुने उता आमाको हेरचाह उनीबाट हुने सोचेर आमाको अस्पतालबाट डिस्चार्ज भएको दुई हप्तापछि बुवा र म उसको घरमा उसलाई माग्न गएका थियौं।
हुन त मैले उसलाई भागेर नै विवाह गरौं भनेको थिएँ। तर उसले मानिन। घरपरिवारसँग सल्लाह गरेर घरपरिवारले स्वीकारेमा विवाह गर्न तयार हुने बताएपछि माग्न जानुपर्ने नै भयो। उसले नै बोलाएर हामी उसको घर गएका थियौं। जाँदा त हाम्रो प्रेमले आज सफलता प्राप्त गर्दैछ, उसलाई आफूसँग पाउने भए भनेर मन भित्रभित्रै खुसीले गदगद भएको थियो। तर ती मनभित्रका खुसीहरू उसको बाबाले के गर्नुहुन्छ भनेर सोध्दा? एउटै प्रश्ननले एक्कासि कालो बादल बडारिएर धपक्कै हराएका थिए। एकपटक त अलमलिएँ, के भन्ने अब? तर आपतकालीन संकटले ओकल्ने भनेको सत्यता रहेछ। किनकि झुट बोल्न सोच्नुपर्छ अनि सोच्न त समय लाग्छ। न त मसँग सोच्ने समय थियो न त झुट बोल्ने आँट र त्यो नैतिकताले पनि दिँदैन्थ्यो। त्यसैले जे छ त्यहीँ वास्तविकता बताउँदै भने बेरोजगार छु। लोक सेवा तयारी गर्दैछु। त्यसो भए सरी! स्थायी जागिर खाएको दिन छोरी माग्न आउनुहोला। भनेर उसको बाबा उठेर आफ्नो कोठातिर निस्केपछि लाग्यो जिन्दगीमा बरू कुकुरको जुनी पाएर बाँच्नु ठिक तर बेरोजगार भएर बाँच्नु त बेकार रहेछ।
यो संसारमा मान्छेको जागिर त के मान्छे पनि स्थायी छैन। तपाईं हामी सबै यो धर्तीका दुई दिनका अस्थायी पाहुना हौं भनेर उसको बाबालाई भन्न मन थियो। तर आँट आएन। सकिनँ। भाइ!
उसको बाबालाई छोरी पाल्ने कुराकै चिन्ता थियो भने अझै पनि पार्टटाइम टिचिङ गरेर प्रेम र सम्मान साथ पाल्न सक्थेँ। यदि त्यो पनि भएन भने इमान बचाएर बेल्चा समाएर श्रम गरेर भए पनि खर्च जुटाउने सामर्थ्य राख्थेँ, राख्छु पनि। बस् त्यहीँ सहरमा घर, जग्गा, गाडी, घोडा र घडेरी जोड्न पो गाह्रो हो त। हुन त इमानदारीका साथ आफ्नो काम, कर्तव्य र अधिकार निभाउने अधिकृत तहको कर्मचारीले पनि पैत्तृक सम्पत्ति बाहेक आफ्नो तलबी कमाइले घरजग्गा घडेर सबै जोड्न निकै कठिन हुन्छ। सजिलै सक्ने भनेको त स्थायी जागिर खाएर बिल भरपाई मिलाएर राज्यको ढुकुटी लुट्नेहरूले पो हुन। यो त म स्थायी जागिरे भएर पनि गर्न सक्दैन। तर उसको परिवारले स्थायी जागिरे ज्वाइँ भए घर जग्गा, घडेरी जोड्न सक्छ भन्ने अपेक्षा राख्छन् र त्यही हिसाबले छोरी सुम्पिन राजी हुन्छन् भने म त उसको परिवारको लागि योग्य ज्वाइँ स्थायी जागिर खाँदा पनि त बन्न सक्दिनँ होला। होइन र? त्यसैले आज उसकै इच्छा बमोजिम ब्रेकअप दिएर आएँ।
भाइ! यहाँ जुन समाजले भ्रष्टाचार भयो भन्छ आखिर त्यही समाजले यहाँ भ्रष्टाचार गर्न प्रोत्साहन गरेको हुन्छ।
अँ कुरा के भने सरकारी जागिरे अभिभावक भएकाहरूको घरमा सन्तानहरूको विवाहको कुरा उसका सन्तानहरू जागिरे भए वा जागिरवाला पाएपछि मात्र सोचिँदो रहेछ। हामी मजदुर श्रमिकका छोराछोरीको विवाह त बाध्यता र परिस्थितिले हुँदोरहेछ। हामीले विवाहको मामिलामा देखेका सपना र बनाएका योजना त बस् कल्पनाको लागि मात्रै सीमित रहेछन्। म र मेरो परिवार परिस्थितिको घडीले विवाहको निर्णयमा पुगेका थियौं। ऊ र उसको परिवार म स्थायी जागिरे नभएको कारण हाम्रो विवाह नहुने निर्णय गरेर बसेको थियो। हेर त, कस्तो आकाश-पाताल फरक?'
मैले टाउको हल्लाउँदै 'हो नि दाइ!' भनेर समर्थन गर्दै बोल्दै थिएँ। बेलुकाको ८ बज्नै लागेको थियो। उहाँको मोबाइलमा बुवा भनेर सेभ गरेको नम्बरबाट कल आयो तर उहाँले उठाउनु भएन। सायद नशा पिएको अवस्थामा बुवाको फोन उठाउन अप्ठ्यारो मान्नुभयो। लगत्तै अर्को कल आयो बहिनी सेभ गरेको नम्बरबाट रिङ्गटोन लामै बज्यो। उठाउने कि नउठाउनेको दोधारको बीचमा फोन उठाउनुभयो। फोन लाउड स्पिकर अन गरेर हेल्लो भन्दै हुनुहुन्थ्यो। उताबाट बहिनीले हेल्लो पनि नभनेर रूँँदै र अत्तालिँदै भनिन्, 'दाइ! आ..मा..!'
यताबाट अत्तालिँदै 'के भयो आमालाई?' भन्दै हुनुहुन्थ्यो। उताबाट रूँदै बहिनीले भनिन्, 'आ..मा .. ले..दाइ!.. हामी..लाई ..छो..डे..र ..जा..नु भयो। बित्नु ..भ..यो!'
फोन काटियो।
'न त मैले स्थायी जागिर नै खान सकेँ न त आमा जिउँदो हुन्जेल बुहारी भित्र्याएर आमालाई दिएको वचन पूरा गर्न सकेँ न त समयमै आमाको उपचार गर्न सकेँ। म त निकम्मा सन्तान भएँ भाइ' भन्दै दाइ भक्कानिएर रून थालेपछि मेरो आँखाबाट पनि आँसु झरे।
अघिसम्म बियर र चिसो खाएर रित्तिएका गिलासहरू आँसुले भरिँदै गए.....।
{प्रिय पाठकहरू यो तपाईंहरूको कथा नहोला तर कसैको वास्तविक कथा हो। यसको दोस्रो भाग ल्याउने छु। कृपया प्रतीक्षा गर्नुहोला!}