थाहा छैन आजभोलि के भइरहेको छ मलाई। न कोहीसँग बोल्न मन लाग्छ, न कतै हिँड्न मन। एउटा अँध्यारो कोठा प्रिय भएको छ, मान्छेको भिडमा पनि एक्लो भएझैँ लाग्छ।
भविष्य बनाउन गाउँदेखि सहर पसेको पनि तीन वर्ष लागेछ। घरबाट काठमाडौँ हिँड्ने बेलामा आमालाई 'धेरै पढेर जागिरे भएर छिटै फर्किन्छु' भनेको पनि तीन वर्ष भएछ। वर्ष फेरियो तर मेरो हाल अझै फेरिएन। उमेर बढ्दै गएपछि जिम्मेवारीको बोध हुँदो रहेछ। रहरहरू पनि बिस्तारै मर्दै गए।
साथमा मास्टर सकेको प्रमाणपत्र छ तर म अझै बेरोजगार छु। प्रमाणपत्र लिएर प्राइभेट जागिर खान नधाएको होइन मैले, अन्तरवार्तामा सोध्ने गरिन्छ- 'तपाईंले कतै काम गरेको अनुभव छैन?'
जागिर खान अवसर नै नभई अनुभव कहाँबाट ल्याउनु खै! प्राइभेट क्षेत्रमा राम्रोलाई भन्दा हाम्रोलाई भन्ने प्रविधिको अन्त्य अझै सकिएको छैन भन्ने सुनेको छु। नातावाद कृपावाद प्रविधिले पनि मैले निजी क्षेत्रमा प्रवेश गर्न नसकेको हो कि झैँ लाग्छ।
सरकारी जागिर खान प्रयास नगरेको पनि होइन। मेहनत नपुगेको हो कि भाग्यले साथ नदिएको, आफैले बुझ्न सकिरहेको छैन।
सँगैका साथी कोही विदेश गए, कोही खरिदार, कोही सुब्बा, कोही अधिकृत भए। विदेश गएका साथीले ३/४ वर्षमै काठमाडौँमा घर घडेरी जोडिसके। सरकारी जागिर खानेको जीवन पनि राम्रै बितिरहेको छ। बाइक छ, साथमा आइफोन बोकेका छन्। आफू भने त्यही स्क्रिन फुटेको मोबाइल लिएर हिँडिरहेको छु।
बाटोमा कोही जागिरे साथी भेटेँ भने पनि तर्किएर हिँड्न मन लाग्छ। मसँगैको साथीले प्रगति गरिसके, म के मुख देखाएर बोलाउनु झैँ लाग्छ।
मन भारी हुँदा मनलाई क्षणिक शान्त पार्ने माध्यम मोबाइल भएको छ। यसो फेसबुक हेर्छु, हेरेको १० मिनेटपछि वाक्क लाग्छ। जता हेरे नि बधाई छ, प्रगति गरेकोमा भन्ने पोस्ट मात्र आइरहेको हुन्छ।
बाटोमा हिँड्दा कोही आफन्त भेटेँ भने पनि तर्किएर हिँड्न मन लाग्छ। के गर्नु आफन्तसँग बोलेर पनि, हालखबरभन्दा नि कि त 'बिहे कहिले गर्ने? कि के गर्दै छौ? पेसा के छ?' भनेर सोध्ने गर्छन्। सबै आफन्तको प्रश्नको जवाफ मसँग मौनता बाहेक अरू केही छैन। त्यसैले बोल्नुभन्दा तर्किएर हिँड्न मन लाग्छ।
मन भारी हुँदा यही अँध्यारो कोठालाई गुनासो पोखेर मन शान्त पार्ने गर्छु। असल मित्र एक्लोपन भएको छ।
दिन यसै प्रगति बेगर बितिरहेको छ। काठमाडौँको महँगी उस्तै, दिन कटाउन पनि म बेरोजगारलाई चर्को परिरहेको छ। महिना बित्ने बित्तिकै घरबेटीको कोठा भाडा कसरी तिर्ने भन्ने पिर पर्छ।
खाना खाने चामल कोठामा नहुँदा एउटा चाउचाउमा रात दिन कटाउँदा एक दिन त अवश्य मेरो जिन्दगीमा उज्यालो आउँछ भन्ने आशामा कति बिते बिते।
काठमाडौँ सहर सपनाको सहर भन्ने गरिन्छ। यहाँ मान्छेहरूको कमी छैन तर आफूलाई दुःख पर्दा आँसु पुछिदिने साथी पनि त छैन। कसैलाई कसैको वास्ता पनि छैन। यहाँ एउटै घरमा कोठा बस्ने मान्छे को कहिले आउँछ जान्छ समेत थाहा हुँदैन।
गरिब किसानको छोराछोरी टिक्न धेरै गाह्रो, लाग्छ हामी गरिबको लागि यो सहर बनेको होइन। अभाव जिम्मेवारीको बोध हुन थालेपछि घरमा पैसा माग्न पनि लाज लाग्दो रहेछ।
यो समाजमा छोरी मान्छेलाई हेर्ने नजर फेरि बेग्लै हुने रहेछ। २२ वर्षको हुन पाएको छैन बिहेको कुरा चलिहाल्छ। बेलैमा बिहे गरे हुने हो, फेरि उमेर बढ्दै गएपछि पछि बिहे नहोला नि भनेर घरमा आफन्तले दबाब दिन थालिहाल्छन्।
मनमै कल्पिने गर्छु, बिहे गरेर गएपछि अरूको घरलाई मैले आफ्नो घर बनाउनु पर्छ। जिम्मेवारी थपिएर आउँछ। फेरि सबै नबुझ्ने त नहोलान् तर सबै बुझ्ने पनि हुन्छन् जस्तो लाग्दैन। बुहारीले पनि छोरी झैँ पढ्नु पर्छ भन्ने घर परिवार कमै मात्रामा भेटिन्छ। कतै मैले लिएको उद्देश्यमा पुग्न तय गरेको यात्रा बिचमा रोकिने हो कि झैँ लाग्छ।
फेरि आफैले आफैलाई सुझाव दिने गर्छु, होइन अहिले बिहेको कुरा गर्नु हुँदैन। राख् सिरानीमुनि मास्टर सकेको प्रमाण पत्र अनि हिँड् अब खाडी मुलुक। राम्रो देश जान पैसा पनि त छैन, बरु खाडी मुलुक नै हिँड्।
अनि फेरि देख्छु ती बाटो हिँडिरहेका विशेष व्यक्तिहरू जो आँखा, हात-खुट्टा नभएर पनि एउटा लौरो, ह्विलचियरको सहारामा आफ्नो यात्रा तय गरिरहेका छन्।
मेरो त हात खुट्टा छन्, आँखा देख्छु। म कसरी हार मान्नु! मेरो सफलता हेर्न पर्खिनु भएको आमा बुवाको आशा मैले कसरी मार्नु!
अब जेसुकै होस्, जस्तोसुकै परिस्थिति होस् म हार मान्दिनँ। यात्रामा काँडा देखेर बाटो फेर्दिनँ। म काँडा पन्छाएर हिँड्छु र अघि बढ्छु। एक दिन मेरो मेहनत देखेर परिस्थितिले पनि झुक्नै पर्छ। अरूको छोराछोरीले प्रगति गर्दा र मेरो प्रगति नहुँदा खिन्न भएको आमाको मनलाई एक दिन म अवश्य खुसी पार्ने छु।