आदरणीय बाबा
धेरै धेरै सम्झना
विषय: एक वर्षपछि आमा भेट्टाएँ
बाबा नमस्कार। सञ्चै हुनुहुन्छ? आशा छ हजुर जहाँ भए पनि हामीलाई हेरिरहनुभएको छ, हाम्रो दुःख अनि सुखमा हाम्रो साथ हुनुहुन्छ।
हजुर बित्नुभएको पनि ५ वर्ष भइसकेछ। अझै हजुरले कान्छु भनेको झल्को आउँछ। भौतिक शरीर हामी साथ नभए पनि हजुरप्रतिको माया, आत्मीयता अझै उस्तै छ। मेरा जीवनका हरेक सुख दुःख यसरी नै सधैं हजुरको फोटोको सामुन्ने व्यक्त गर्नेछु। हजुर टाढै भए पनि हजुरसँग मनमा भएका पीडा सुनाउँदा, मन हलुङ्गो हुन्छ। कुनै काम गर्न डर लागे हजुरको नाम सम्झनासाथ हिम्मत आउँछ। हजुरले मलाई सानोमा बोकेको फोटो सधैं मेरो पर्समा हुन्छ, जुन आमालाई पनि थाहा छैन।
हजुर बाढीपहिरो पीडितलाई बचाउन जाँदा उतै सहिद हुनुभएको कुरा सुनेदेखि सुरू भएको हाम्रो जीवनको दुःखकष्ट विस्तारै सामान्य बन्दैछ। हाम्रो भाग्यबाट भगवानले पिताको साथ लुटेर लागे पनि हाम्रो मन र मस्तिष्कमा हजुरको माया, सपना र विश्वास सधैं रहन्छ।
म पनि १२ कक्षामा पढ्दैछु। दाइ इन्जिनियरको पढाइ पूरा भएर जागिरको खोजीमा हुनुहुन्छ। हजुरआमा पनि अझै हिँड्डुल गर्न सक्नुहुन्छ। आमा अझै विद्यालयमा पढाउँदै हुनुहुन्छ। दाइको पढाइ सकिनाले आमालाई आर्थिक बोझ अलि कम भएको छ।
बाबा, विगतको ५ वर्ष सारै पीडादायक रहृयो। हजुर बित्नासाथ आमाको सिउँदो पुछियो, हातका चुरा फुटाइए, गलाको पोते अनि नाकको फुली फुकालियो,आमा पूरै श्वेत वस्त्रमा बेरिनुभयो। हजुर बित्नुभएको पीडा एकातिर थियो भने आमालाई सेतो वस्त्रमा अचेत भै मुढो जस्तो लडेको देख्दा झन् पीडा थपियो।
मैले हजुरआमा, सानिमा, फूपु सबैलाई सम्झाएँ। बुवा बित्नु हाम्रो दुर्भाग्य हो। त्यो पीडा कहिले मेटिन्न, तर म आफ्नी आमालाई कहिले यस्तो हालतमा देख्न सक्दिनँ। दुई हात जोडेर आमालाई १३ दिनको काम सकाएर पुरानै पहिरन लगाइदिन बिन्ती गरेँ तर मेरो कुरा कसैले मानेनन्। स्वयम आमालाई पनि सम्झाए, तर उहाँले एकोहोरो रूने बाहेक केही प्रतिक्रिया दिनुभएन।
मैले दाइलाई पनि आग्रह गरेँ, 'बाबालाई हामी ब्युँताउन सक्दैनौं, तर आमालाई यस्तो दुर्व्यवहारबाट जोगाउन सक्छौं। परिवर्तन हामीले नै ल्याउने हो।' तर दाइले यस्तो प्रथा मन नपरे पनि यसको विरोध गर्ने हिम्मत गर्न सक्नुभएन।
हजुरआमा पनि हामीले देखेंदेखि नै विधवा नै हुनुहुन्थ्यो। उहाँलाई सम्झाउन कोसिस गरेँ तर खेर गयो। हजुरआमाले भन्नुभयो, 'हामी नारीको सौभाग्य भनेको पति हुन्, पति बितेपछि यस्तै साधा जीवन बिताउन पर्छ, यही हाम्रो धर्म र कर्तव्य हो। मैले पनि निभाएँ, अब तेरी आमाको भाग्यमा पनि यस्तै लेखेको रहेछ। समाजमा बसेपछि समाजको चलन मान्नु पर्छ।'
मेरो कुरामा कसैले सहमत जनाएन तर पनि मेरो मनमा सन्तोष भएन।
बाबाको बर्खान्त नसकुन्जेल एक दिन, एक वर्ष जस्तो लाग्न थाल्यो। सधैं रातो सिन्दुर, चुरा, पोते, अनि रातै पहिरन लगाएर मुस्कुराइरहने आमालाई श्वेत पहिरनमा देख्न मलाई सारै पीडा भयो। बाबा गुमाउनु हाम्रो दुर्भाग्य हो तर आमालाई यस्तो देख्नु हाम्रै कमजोरी हो भनेर आत्माले झकझकाई रह्यो।
एकदिन आमालाई बोलाएर बाबा जिउँदो हुँदाको जस्तै पहिरन लगाउन आग्रह गरेँ तर उहाँ मान्नुभएन। कम्तीमा एक वर्ष यस्तै होस्, त्यसपछि सोचौंला भनेर मेरो कुरा टार्नुभयो। मैले फेरि अनेक प्रश्न गर्न थालेँ।
आमाले भन्नुभयो, 'मलाई पनि यसरी बस्न रहर थिएन। यो गलत प्रथा हो, मलाई पनि थाहा छ। तर समाजले, नक्कल गर्नुपर्ने, पोइला जान्छे , बैंस जागेको जस्तो कटु वचनको वाणले घोच्छन् जुन म सहन सक्दिनँ। उसै पनि श्रृंगार गर्न मन लाग्दैन, कसका लागि गर्ने अब? यत्रो तीर्थ व्रत गरियो, आखिरमा कलिलै उमेरमै बिधवा हुनुपर्यो।'
मैले आमालाई सम्झाएँ, 'आमा हरेक दिन हजुरलाई यस्तो स्वरूपमा देख्दा मलाई सारै पीडा हुन्छ। हरेक दिन आफू टुहुरो भएको अनुभव हुन्छ। हजुरले आमा र बुवा दुवै बनेर आफ्नो जिम्मेवारी पूरा गर्दै हुनुहुन्छ, तर मलाई सधैं बुवाको कमी महसुस हुन्छ हजुरको यस्तो पहिरनले।'
मैले भन्दै गएँ, 'आमा हजुर विवाह अगाडि पनि त राता लुगा, चुरा, टीका, माला लगाउनुहुन्थ्यो। त्यो सिउँदोको सिन्दुर अनि गलाको पोते मात्र त हो बाबाले दिएको। अरू त हजुरले बाल्यकालदेखि लगाएकै हो अनि अब लगाउन किन हुन्न? अनि सिन्दुर र पोते बाबाले दिएको उपहार भएर लगाउन नहुने भए हामी सन्तान को त? के हामीलाई पनि आफ्नो जीवनबाट लत्याउनुहुन्छ?'
आमा निःशब्द हुनुभयो।
मैले कुरा थप्दै गएँ।
'हाम्रो समाजमा विधवालाई देख्नासाथ अशुभ भयो भन्छन्। कुनै शुभ कार्य विधवाको हातबाट गराउँदैनन्। पहिले सती भनेर २-४ घण्टा जिउँदै जलाउँथे, अचेल आफ्नो रहर, चाहना, मारेर, अबसगुनको संज्ञा दिएर हरपल आत्मैबाट जलाउँछन्। समाजले के भन्छ भन्दा पनि आफू र आफ्नो परिवार केमा खुसी हुन्छ त्यो सोच्नुस्। अनि हजुर मलाई साँच्चै माया गर्नुहुन्छ भने पहिलेकै पहिरनमा आउनुस्।'
बर्खान्तको दिन पनि आयो। परिवारका सबै जना भेला भए। मैले हजुरआमा, फूपु सबैलाई आमालाई पुरानै पहिरन लगाउन अनुमति दिन ढिपि गरेँ। मेरो कुरा कसैलाई पचेन। हजुरआमा कराउन थाल्नुभयो।
'२-४ अक्षर के पढिस्, हामीलाई सिकाउने? आफ्नो संस्कृति र परम्परा भुल्ने? तेरी आमा मात्र हैन विधवा भएको! सबैले मानेको चलन हो मान्नै पर्छ।'
मलाई त कुटौंला झैं झन्टिनुभयो।
मलाई पनि सारै असह्य भयो अनि प्वाक्क भनेँ, 'बाबाको सट्टा आमा मरेको भए, ४५ दिन नकट्दै छोराको अर्को बिहे गर्दिन्थौ होला सबै मिलेर! हामीलाई सौतिनी आमा लेराउँथौ होला! नियम कानुन केटीलाई मात्र हो? हजुर, आफू मन मारेर यस्तो विधवा बनेको ३० वर्ष भयो। आफ्नै छोराको बिहेमा विधवा भनेर पाथी चुल्ठो भर्न नदिएको याद छैन? अनि दसैं, पूजा, तीज हरेक चाडमा निरास भएर बसेको बिर्सिनु भयो? हामीले शोक गरेर बाबा आउने भए म पनि गर्थे। जुन पीडा तपाईंले भोग्नुभयो बुहारीलाई त्यै पीडा किन भोग्न लगाउनुहुन्छ?'
म त भन्छु, 'तपाईं पनि साधारण लुगा लगाउनु, समाजको डरभन्दा मनको रहर सुन्नुहोस्। तपाईंले विधवाको लुगा लाउँदैमा हजुर बुवाको आत्माले शान्ति पाउने हो र?'
हजुरआमा अवाक हुनुभयो। फूपु हाम्रो कुरा सुनिमात्र रहनुभयो।
बाबाको बर्खान्त पश्चात घरमा लाखबत्ती बालियो, अनि आमालाई माइजूले सेतो लुगा फुकाएर पहेंलो लुगा लगाइदिनुभयो। मलाई त्यो पटक्कै मन परेन। मैले कोठामा गएर बाबाले सिक्किमबाट लेराइदिएको रातो बर्को लिएर आमालाई बेराइदिए अनि टपरीमा भएको प्रसाद (रातो अक्षता) निधारमा लगाइदिएँ। आमालाई बेस्सरी अंगालो हालेँ। आमा धुरूधुरू रूनुभयो। मैले सही गरेँ या गलत थाहा छैन तर आफ्नो मनको गरेँ।
बुढापाका रिसाएर कलियुग आयो भन्न थाले, भर्खरकाले ठिकै हो समय अनुसार परिवर्तन हुनुपर्छ भन्न थाले। मलाई कसले के भन्यो मतलब थिएन, मात्र रातो टीका अनि रातो बर्कोमा धपक्क बलेको आमाको अनुहार देख्दा एक वर्षपछि आमा भेट्टाएको अनुभव भयो।