व्यक्ति र समाजको विदेश मोह अचम्मैको छ नेपालमा। विदेश जानु एकातिर बाध्यता हो भने अर्कोतिर सामाजिक प्रतिष्ठाको विषय बनेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बिदाइ कक्षमा देखिने रोदन र खुसीयालीले त्यसलाई पुष्टि गर्छ। युरोप अमेरिका र अस्ट्रेलिया जानेहरूमा खुसीको सिमाना हुँदैन। मानौँ उनीहरू नर्क लोकबाट स्वर्ग लोकमा जाँदै छन्।
देशमै बस्नु पर्छ भनेर यो उमेरसम्म विदेशबारे कहिल्यै सोचिनँ। देशमा गरिखानु पर्छ भन्ने सिकाउँछु भनेर बसेको युवा हुँ म।
उमेर, २५ वर्ष। बिएड सकिने बित्तिकै शिक्षक सेवा आयोगको जाँच दिएँ। फ्याट्ट नाम निस्कियो। आफै पढेको स्कुलमा नियुक्ति पाएँ। खुसीको सिमाना भएन। आफैलाई पढाएका सरहरूसँग पढाउन पाइयो। उहाँहरू नै साथी हुनुभयो।
स्कुलको कान्छो शिक्षक भएँ म। त्यसैले सबैको भाइ सर। सक्दो पेसाप्रति जिम्मेवार हुन कोसिस गरेँ। पढाइलाई भन्दा पार्टीको राजनीतिलाई बलियो बनाउन जोड दिनुपर्ने रहेछ। त्यो जानिनँ मैले। स्थानीय राजनीतिक नेतृत्वहरू मसँग खुस थिएनन्। उनीहरूले भनेको मानिनँ रे मैले। एउटा न एउटा पार्टीको पछाडि नलागे गाउँमा टिक्न गाह्रै रहेछ। अनुभवले त्यही भन्छ।
नियमित ड्युटी १०-५ बाहेक कक्षा १२ का पढ्न चाहने विद्यार्थीलाई बिहान बेलुका गणितको ट्युसन पढाएँ, निःशुल्क। बहिनीकी साथी निष्मा पनि पढ्न आउँथी जान्थी, अरू विद्यार्थी जस्तै। किन हो कुन्नि एक दिन 'विदेश नजाने दाइ तपाईं?' भनेर सोधी।
उसको कुरा सुनेर हाँसेँ म। 'यही स्थायी जागिर छ नि, किन विदेश जानु पर्यो र?' भनेँ उसलाई। मेरो उत्तर सुनेर ऊ खुसी भइन। अँध्यारो मुख लगाई। थप कुरा गरिनँ मैले त्यस बारे।
अङ्ग्रेजी सर पैसा लिएर ट्युसन पढाउनु हुँदो रहेछ। पछाडि-पछाडि मेरो कुरा काटेको सुनेँ। अर्कै नजरले हेर्नु हुँदो रहेछ मलाई। त्यस्ता कुरालाई खासै मतलब राखिनँ मैले। पढाउँदै पढ्दै एमएड पास गरेँ। त्यो पनि फर्स्ट डिभिजनमा।
ऊबेला आफू विद्यार्थी हुँदा सरहरू त कति जान्ने क्या! सरहरूलाई नआउने केही छैन जस्तो लाग्थ्यो। सर भएपछि धेरै कुरा बुझेँ। जीवनको हर समय सिकाइ रहेछ। सिकाइ नै जीवन रहेछ।
स्कुलमा हामी पढ्दा कक्षा कोठाहरू खचाखच थिए। सुविधा सम्पन्न र पर्याप्त भवन थिएनन्। भुइँ वा काठका पिर्कामा बसेर पढ्नु पर्थ्यो। अहिले सबै कुरा छन् तर विद्यार्थी छैनन्। धनी गरिब सबैको स्कुल थियो त्यो बेला। आजकल स्कुल भरिमा १५० विद्यार्थी पुग्न मुस्किल छ। गाउँका स्कुलहरू गरिबका स्कुल बनेछन् अहिले। हरेक कक्षामा बढीमा १२/१५ जना विद्यार्थी। त्यो पनि सहरमा पहुँच नभएकाहरू मात्र।
युवा सहर छिरे। सहरबाट विदेश। युरोप र अमेरिका पुग्नेहरूका परिवारले देशै छोडे। खाडी पुग्नेहरूका परिवार सहर पसे। सहरमै रमाए। छोराछोरी सहरमै पढाए। पूर्वी र मध्य पहाडका जिल्लामा यसरी नै जनसाङ्ख्यिक चाप घट्दो छ।
२५ वर्षे जवान म गाउँमै छु। गाउँका विवाह वा मृत्यु संस्कारमा मै अगाडि नलागी सुख छैन। लाग्नै पर्छ। गाउँको एक्लो युवा हो म। जिम्मेवारीले थिचिएको छु। ख्यालठट्टा गर्नेहरू छैनन्, रमाइलो गर्नेहरू छैनन् गाउँमा। मुर्दा शान्ति छ गाउँमा। मनका कुरा साटफेर गर्न साथीहरू नहुँदा निरस छु म। म मात्र होइन, पूरै गाउँ निराशामा बाँचेको छ। बिहे नगरी बुढो हुने भयो कि क्या हो गाउँको यो ठिटो? आफैले आफैलाई प्रश्न सोधेँ मैले।
घरमा विवाह गर्नु पर्छ भनेर आमाले कर गर्नु भएको धेरै भयो। हो जस्तो पनि लाग्छ मलाई। तर जिन्दगीमा लभ गरिनँ। केटी साथी बनाइनँ। आजको जमानामा लभ नगर्ने बुद्धु नै हुँ म। खासमा लभ गर्ने सिप भएन मसँग। अरूलाई नीति, नियम र नैतिकता सिकाउने शिक्षण पेसाले जथाभाबी गर्न पनि दिएन मलाई। त्यसमा सचेत थिएँ म।
बिहेको कुरा चल्यो तर म शिक्षक केटीहरूको रोजाइमा पर्दै परिनँ। आमा पनि छोराको विवाह नभएकोमा त्यत्तिकै चिन्तित हुनुहुन्छ। बहिनीकी साथी निष्मासम्म कुरा पुर्याउनु भएछ आमाले। कहिलेकाहीँ बहिनीसँग हाम्रो घरमा पनि आउँथी। उसले मसँग गणितको ट्युसन पढेकी थिई। उसले मलाई, मैले उसलाई राम्रोसँग चिनेका थियौँ। राम्रै लाग्थ्यो। हँसिली र चिटिक्क परेकी थिई। बहिनीकी साथी भएर होला दाइ भन्थी मलाई। सर कहिल्यै भनिन उसले।
बहिनीसँग हप्तामा एक दुई पटक हाम्रो घरमा आउजाउ गर्थी ऊ। घनिष्ठ कुराकानी भने हुन्थेन ऊसँग मेरो। पढाउने मान्छे भनेर हो वा के हो, टाढिन खोज्थी मसँग। बिहे गर्ने बेला भएको छैन भनिछे आमालाई। कुरा टारिछे। निष्माका आमा-बाले 'त्यस्तो केटो भए हुन्छ, केटो जागिरे हो' भनेका थिए रे। तर उसले टिकी खान दिइनछ। खासमा कुरो बुझ्दा मास्टरसँग बिहे नगर्ने रे ऊ। कुरा सक्किगो।
गाउँमा ५ वर्ष विज्ञान शिक्षक बनेर पढाएँ मैले। दिक्क लागेर उपत्यकामा सरुवाको प्रोसेस गरेको फ्याट्टै मिल्यो। गाउँ छोड्नेमा दर्ज भएँ म पनि। राई माईलाले गाउँ छोड्यो भनेर देशभर चर्चा र हल्ला हुँदा वीरबहादुरले गाउँ छोडेको चर्चा भने भएन। लागेँ है सरकार म पनि सहरतिर। युवा विहीन गाउँमा बस्न सकिनँ। अरूभन्दा फरक हुन सकिनँ। अरूलाई सिकाउँछु भनेको मान्छे आज आफै परिवर्तन भएँ। यो देशको युवा हुँ म पनि। माफ पाऊँ है।
सहरमा केही वर्ष पढाएपछि विदेश जाने चक्करले म पनि अछुतो भइनँ। पुगेँ अस्ट्रेलिया। केही वर्षपछि पिआर अनुमति दियो सरकारले। व्यक्तिगत रूपमा नेपाल र अस्ट्रेलियाको काम तुलना गर्दा त्यहाँको काममा सन्तुष्ट थिएन मलाई। डलरलाई नेपालीमा हिसाब गर्दा पैसा धेरै हुन्थ्यो। सन्तुष्टि त्यसैलाई मानेँ मैले। उता बसे पनि मन भने नेपालमै हुन्थ्यो। आफ्नै ढङ्गले जीवन चलाउँदै थिएँ त्यहाँ।
खै किन हो, उता निष्माले बहिनीसँग भेटेर मेरो बारे सोधिखोजी गरिछे। दाइ कुन देशमा हो? दाइले बिहे गर्नु भो कि नाइँ? के काम गर्दै हुनुहुन्छ? इत्यादि। बहिनीले आमालाई भनिछे त्यो कुरा। आमाले कुरा थाम्न सक्नु भएन। अनलाइनमा कुरा गर्दा सुनाउनु भयो मलाई। आमासँग नियमित कुरा हुन्थ्यो मेरो अनलाइनमा। उहाँको त्यो कुरा सुने नसुने झैँ गरिदिएँ। कुनै प्रतिक्रिया दिइनँ। बरु अरू कुराले ढाकिदिएँ।
एक दिन फेसबुकमा साथी बन्न अनुरोध पठाई त्यसले। थाहा पाई-पाई एक हप्तासम्म कुराएँ मैले उसलाई। साथी बनाइनँ। साथी नबनेपछि म्यासेज पठाई। मैले उसको म्यासेज नै पढिनँ। साथी बन्न आतुर छ भन्ने कुरा थाहा पाएँ। एक हिसाबले उसको परीक्षा लिएँ मैले। एक मन त साथी नै नबनौँ भन्ने पनि लाग्यो। फेरि अचेतन मनले होस भन्यो। एक हप्तापछि फेसबुकमा साथी बनेँ म।
साथी बन्ने अनुरोध स्वीकार गरेको केही मिनेटमै उसले फेरि म्यासेज पठाई, 'दाइ नमस्कार! हालखबर के छ? साथी बन्न पनि कति गाह्रो क्या हजुरलाई। विदेश जाने कि भनेर सोच्दै छु म पनि। सहयोग र सहजीकरण गर्नु भयो भने त्यतै आउँछु। हुन्छ नि?'
उत्तरै नदिए पनि लगातार कुराहरू लेखिरही उसले। पढेँ मात्र, जवाफ दिइनँ मैले। आत्मीयता भएन ऊसँग र पनि पटक-पटक च्याट गरी। खासमा ऊसँग खुस थिइनँ म। 'ए हो र?' मात्र भनेँ मैले। निरसिलो कुरा गर्थेँ म। ऊ भने कुरामा रस मिसाउन खोज्थी।
झुक्किएर हो वा जानी जानी, म्यासेजमा पानको पात वाला स्टिकर पठाई। च्याट गर्दा गर्दै एक दिन त अनलाइनमा फोनै गरी। भिडिओ अफ गरेको थिएँ मैले। भिडियो अन गर्न कर गरी। मन्द मुस्कान छोडी मलाई। हाउभाउ र प्रस्तुति फरक थियो।
के झोक चल्यो मलाई पनि अनि भनिदिएँ, 'मास्टरसँग बिहे नगर्ने भनेकी होइन? मान्छे त उही हो म। मात्र फरक अस्ट्रेलियाको पिआरवाला भएँ। अब त बिहे गर्छेस् होला नि? सुनिस् नि मेरो कुरा?'
अँध्यारो मुख लगाई। विगतको कुरामा माफ मागी। पुरानो कुरा बिर्सन अनुरोध गरी उसले। 'समय अझै बाँकी छ नि होइन र?' प्रतिप्रश्न गरी। घुमाउरो पारामा बिहे गर्ने प्रस्ताव राखी।
म भने दोधारमा परेँ।