पोस्ट ल्याम्पको बत्तीमा हेर्दै आफ्नो कोठाबाट म टोलाइरहेको थिएँ।
बाटैमा घर भएकाले पनि होला प्रकाश सोझै मेरा आँखामा ठोक्किन पुगेको थियो। धेरैपछि बल्ल तल्ल उसले एउटा केटा मन पराएकी थिई। एक वर्षको प्रयासपछि न हो यो संयोग जुरेको। यो दौरान उनकै लागि गतिलो श्रीमान खोज्ने जिम्मा मेरै काँधमा थियो।
तर म भित्रको म कत्ति खुसी थिएन। आशा बन्दै, गुम्दै गरेको एउटा निस्सार जिन्दगी जिउँदै थिएँ। बहुत भलादमी बनेर आफूभित्रको कुरा भन्न नसक्ने म आफै पीडित थिएँ। अरू त अरू मलाई सायद यो अधिकार पनि थिएन कि कसैलाई प्रेम गरी बसूँ?
जस्मिन र म प्लस टु देखिको बेस्ट फ्रेण्ड। केटा र केटी पनि मिल्ने साथी हुन सक्छन् भन्ने दृष्टिकोणलाई अगाडि ल्याउने सायद नै हामी थियौं। जस्मिनले प्लस टु मा नै दुई दुई वटा ब्वाइफ्रेन्ड फेरी तर मलाई नसोधी उसले कहिल्यै च्वाइस गरिन। ब्वाइफ्रेन्डसँग मनमुटाव भएका कुराहरू मसँग सेयर गर्थी। तँ तँ र म म चल्थ्यो हामीमा।कहिल्यै पनि हामीमा यो लभ सभ पर्ला भनेर त देख्नेले पनि भन्न सक्दैन्थे। म सँगको जस्मिनको सम्बन्ध देखेर चाहिँ उसका ब्वाइफ्रेन्डहरू डाहा गर्थे। मलाई त्यसको मतलब हुन्थेन।
बिस्तारै प्लस टु सकियो। ब्याचलरमा हामी भिन्दाभिन्दै भयौं। अलि टाढा भएपछि भेटघाट कम हुन थाल्यो। आकलझुकल हुने भेटघाटमा अलि परिपक्वता आउन थाल्यो। इशारा, हेराइ र सूक्ष्मतामा म चाहिँ हराउन थालेँ। विस्तारै जस्मिनलाई मैले मन पराउन थालेँ। त्यो सफेद सत्य हुन सक्थ्यो तर अव्यक्त थियो। जस्मिन कसैसँग रिलेसनसिपमा थिई। अब ऊ कसैसँग हाँस्नु, पिउनु, खानु, रमाउनु वा घुम्न नै जानुले म भित्रको चैन उडाउन थाल्यो। जस्मिन बारम्बार आफ्नो झगडा भइरहेको कुरा बताइरहँदा म रमाउन थाल्ने भएँ। आगोमा घिउ हाल्ने 'टक्सिक' सल्लाह दिन थालेँ। तर छुटिहालेमा म आफू चाहिँ प्रेम व्यक्त गर्न सक्छु वा सक्दिनँ त्यो भने अत्तोपत्तो थिएन। भुइँमा नझर्दैको अवस्थामा म त्यो सम्बन्ध टिप्न चाहन्थेँ तर भइरहेको कोल्टाभरिको मित्रता पनि भुइँभरि पोखाउँछु कि भन्ने डर त्रास थियो।
मेरो प्लान ए सफल भयो अर्थात् जस्मिनको ब्रेकअप भयो। रूँदैरूँदै फोन गरेकी जस्मिनलाई सान्त्वना दिँदै मैले आधा रात बिताएँ। जतिबेला बिछोडको पीडामा म खुसी नै थिएँ। तर आधा रात मेरो अत्तालिएरै गयो। मलाई थाहा थियो जस्मिनलाई सीमा मन पर्दैन, ऊ उड्न चाहन्छे, टिप्न चाहन्छे, एउटा मन नपरेकोलाई मिल्काएर अर्को अंगाल्न चाहन्छे। तर म के उसको मन परेको व्यक्ति रहे हुँला त? मलाई पनि उसैगरी उसले मिल्काइदिई भने? बेस्ट फ्रेन्डको आडमा माया पिरेमको ग्रहण थोपर्ने कालो धब्बा मात्र भन्ठानी भने? म कसरी बाँच्ने? हाम्रो मित्रताको उच्च कदर गर्ने प्लस टुको हेडसरका अघि मैले कसरी मुख देखाउने?
उन्नेहरु निकै सिपालु हुन्छन्। कपासबाट धागो र धागोबाट स्विटर उन्छन्। कति धेरै न्यानो दिन्छ स्विटरले जाडोमा। त्यो न्यानोलाई प्रेमसँग पनि दाज्छौं हामी। तर उन्नै नजान्नेले निकट हुँदाहुँदै पनि भावहरूबाट प्रेम उन्नै सक्दैन। महसुस गर्नै सक्दैन। हो म मित्रताको चिसोपनामा कठ्यांग्रिरहेँ तर प्रेम उन्न नजान्नेमा परेँ। प्रेमको न्यानोपनबाट टाढै रहन पुगेँ।
ग्र्याएजुएट भएपछि जस्मिनको घरमा बिहेको कुरा चल्यो। दिन बिताउन जस्मिनको घर जाँदा अंकल आन्टीले जस्मिनलाई नै साँची राखेर केटा खोज्ने जिम्मा मलाई दिनुभयो। मतिर हेर्दै जस्मिन भनिरहेकी थिई, 'तपाईंहरूले खोजेकोभन्दा म उसले खोजेकोमा बढी विश्वास गर्छु।'
म चुरोट, रक्सी खान्थिनँ, भर्खर गाउँबाट झरेको जस्तो सोझो थिएँ र एकोहोरो थिएँ त्यही भएर प्रेम पनि एकोहोरो नै भयो होला। यति सोझो भएरै अंकल आन्टीले जस्मिनलाई मसँग देख्दा सुरक्षित महसुस गर्नुहुन्थ्यो।
बिहेको साइत जुरेको दिन त म निदाउनै सकिनँ। बिहेको किनमेल गर्न जाँदा म जस्मिनसँगै हुन्थेँ। हुनेवाला श्रीमानका लागि भनेर सिउन खोजिएका कोट, पाइन्टमा मेरै नापो लिएर जस्मिन काम चलाउँथी। चस्मा रोजिदिँदा होस् वा ढाकाटोपी किन्दा होस् मेरै शिरमा भिराएर जस्मिन रोज्ने गर्थी। पसलका अघिल्तिर एउटा डमी थियो, म आफूलाई त्यही डमीकै रूपमा उभ्याएँ जो आफ्नो भावना व्यक्त गर्नै सक्दैन्थ्यो तर प्रयोग भइरहन्थ्यो। के जस्मिनले पनि मलाई साथीको नाता गाँसेर प्रयोग गरिरहेकी छे? अहँ! मनले मानेन। ऊ निश्छल रूपमा मित्रतामा रमाइरहेकी छे। मै उस्तो हुँ बरू के के सोची बस्ने।
केही छिन जस्मिन पसलमा व्यस्त हुँदा वासरूम गएर रून्थेँ, टाउको भित्तामा ठोक्थेँ। अझै पनि त समय बाँकी छ बोल्दिऊँ जस्तो लागेर आउँथ्यो तर फेरि जस्मिनमा फिँजिएका खुसीका बहार अघि बाधक नबन्ने भन्दै चुपचाप बसिदिन्थेँ।
प्रेम एकोहोरो हुन्छ सुरूआतमा अनि अभिव्यक्त भएपछि दोहोरो हुनसक्छ वा नहुन पनि सक्छ। यो होइन कि एकोहोरो प्रेम जहिल्यै सफल हुन्छ। आफुले भाव राखेको मान्छेले आफैलाई फेरि उही भाव राखिदिओस् भन्न पनि त सकिँदैन तर कामना गर्न सकिन्छ। प्रेम दोहोरो नहुने डरमा अभिव्यक्त नै नगर्नु पाप हो। किनकि जीवन्त हुन पनि त प्रेम उद्गारित हुनुपर्छ। नदी भएर बग्न पनि त मुहान रसाउनुपर्छ। तर म त थिग्रिरहेँ वा जमिरहेँ हिमालको फेदमा रहेको हिमताल जस्तै। जो कालान्तरको अनिश्चित भविष्यमा फुटेर आफ्नै बहाव आफ्नै स्वरूपलाई क्षति पुर्याउन सक्थ्यो।
मेहेन्दी लगाउने दिनदेखि नै म जस्मिनकै घरमा व्यस्त भइराख्थेँ। केटा इन्जिनियर थियो मेरो रोजाइमा परेको। सायद सुखैले राख्थ्यो जस्मिनलाई तर पनि आँसु बहिरह्यो मेरो, बिहेको दिन। त्यो सिउँदोको सिन्दुर मैले हेर्न सकिनँ, दुई जनाको सुहाएको जोडी मज्जाले हाँसेको मैले हेर्न सकिनँ, उनीहरू सात फेरो लिँदै थिए तर म ओझेल परेँ आफ्नै तकदिरदेखि।
विदाइमा मलाई अंगालो हालेर जस्मिन धरधरी रोई। मैले उसको आँसु पुछ्न सकिनँ सायद मेरो मुटु पनि त रोइरहेको थियो। कसले नै देख्यो र? त्यो मौन रूवाइ। न त क्यामरामा नै कैद भयो, न त कतै बयान भयो। मसँग अंगालिएकी जस्मिनलाई देखेर कोही शंका मिस्रित कानेखुसी गर्दै थिए, 'त्यस्तो केही होइन, बेस्ट फ्रेन्ड मात्र हो रे।'
आफैभित्र गल्दै, अल्झिँदै, ठोक्किँदै, भत्किँदै, रित्तिँदै, घर आएँ। पोस्ट ल्याम्पको प्रकाशमा पनि झोक्राएको गमलास्थित गुलाबको बोटप्रति मौन सहानुभूति व्यक्त गरेँ। जो म जस्तै बोल्न सक्दैन,आफूले काँडै काँडा बीच संगालेको, मन पराएको फूल अरू कसैले टपक्क टिपिदिँदा।