रत्नपार्क पुग्दा घडीमा दिउँसोको करिब एक बजेको थियो। बाटोमा पैदल यात्रा गरिरहँदा आफ्ना आँखाले नियाल्न सक्ने हरेक चिजलाई दिमागमा सजाउन मलाई इच्छा हुन्छ। बाफ्रे! अझै त्यो कोलाहल रत्नपार्क।
गाडीका सह-चालक यात्रुलाई डाक्दै भनिरहेका थिए- 'बानेश्वर, कोटेश्वर, ठिमी, भक्तपुर...।'
कोही फुटपाथमा कपडा बेच्दै भनिरहेका थिए- 'ए हजुर कता? पाँच सयको टिसर्ट यता।'
हो, यस्तै-यस्तै भनिरहने त कति पो थिए!
बाँच्न संघर्ष गरिरहेका कैयौँको भिड छल्दै म बाँच्नैका निम्ति अस्पतालमा उपचाररत ठुलोबुबा भेट्न रत्नपार्कबाट केही दूरीमा रहेको ट्रमा सेन्टरतर्फ अगाडि बढेँ। अस्पतालको गेटमा पुग्न नपाउँदै मेरो मनमा निराशा उब्जिन थाल्यो।
अघि भर्खर मात्र रत्नपार्कमा नियालेको त्यो दृश्य र अस्पतालको गेटबाट भित्र छिर्ने बित्तिकै देखिएको दृश्य फरक थियो। कोही रोइरहेका थिए, केही एम्बुलेन्स साइरनसहित प्रवेश गरिरहेका थिए, कोही सम्हालिरहेका थिए आफ्ना आफन्तलाई।
कारुणिक दृश्य नियाल्दा मन आत्तियो। आफूले आफैँलाई सान्त्वना दिँदै आफ्नै मनलाई भनेँ, 'भाइ संसार यस्तै हो, एक दिन मर्नुपर्छ।'
अस्पतालको सिँढी उक्लिँदै छैटौँ तलामा पुगेँ। ६०६ नम्बरको बेडमा ठुलोबुबालाई राखिएको थियो। उहाँ हुनु भएको ठाउँमा पुगेँ। औषधि खाएर ठुलोबुबा निदाउनु भएको रहेछ। उठेपछि बोलाउनु पर्ला भन्ने सोचले एकछिन मोबाइल चलाउन थालेँ।
बाहिर आकाश गडगडाउन थालिसकेको थियो। अब एकैछिन ठुलोबुबालाई बोलाएर फर्कने सोच बुन्दै म उहाँको बेडमा गएर बसेँ। मस्त निदाइरहनु भएको ठुलोबुबा मेरो एकै स्वरमा बिउँझनु भयो। एकैछिन उहाँसँग बात मारेँ।
दिउँसो डाक्टर राउन्डमा हिँड्दा रहेछन्, बिरामीको अवस्था जाँच्न। एकजना नर्स आएर ठुलोबुबाको पछिल्लो स्वास्थ्य अवस्था बारे चेकजाँच गर्नुभयो र भन्नुभयो, 'अब यो एउटा औषधि खुवाएर एकछिन बिरामीलाई सुत्न दिनुस्।'
नर्सले भने अनुसारको औषधि खुवाएको केही समयमा ठुलोबुबा पुनः निदाउनु भयो। अघि गडगडाइरहेको आकाशबाट अब पानी बर्सिन थाल्यो। पानी नरोकिएसम्म अस्पतालबाट निस्कने सम्भावना थिएन।
ठुलोबुबाको बेडमा अडेस लगाएर बसिरहेको थिएँ। आँखा चारैतिर घुमिरहेको थियो। वरिपरि रहेका बिरामीका आफन्त मस्त गफ गरिरहेका थिए। यत्तिकैमा मेरो आँखा बेड नम्बर ६०५ तर्फ गयो।
सेतो फुलेको कपाल, अनुहार उस्तै सेतो, हातखुट्टा झनै गोरा। झट्ट हेर्दा विदेशी पर्यटक जस्तो देखिने एकजना बिरामी सिरानीमा अडेस लागेर बसिरहनु भएको थियो। बिरामीका वरिपरि ३/४ जना जति कुरुवा थिए। छैटौँ तलाको त्यहीँ बेडमा मात्र होला कुरुवा सबै बिरामीको मात्र गफ सुनिरहने। एकैछिन उहीँ बिरामीको कुरातिर मेरो ध्यान केन्द्रित भयो। ती बा जिन्दगीबारे बढो गह्रुङ्गो शब्दहरू व्यक्त गरिरहेका थिए।
बाहिर मुसलधारे पानी अनि अस्पतालभित्र बा'का महत्त्वपूर्ण भनाइ। वाह! अस्पताल बसाइँ पनि कस्तो रमाइलोसँग बितेको। एकोहोरो उहीँ बालाई हेरेर उहाँको गफ सुनिरहेको थिएँ। एक्कासि बाले भन्नुभयो, 'बाबु चाहिँ उहाँको को पर्नुहुन्छ?'
मैले भनेँ, 'उहाँ मेरो ठुलोबुबा पर्नुहुन्छ बुबा।'
हँसिलो अनुहार सहित उहाँले फेरि थप्नुभयो, 'घरमा यताउता हिँडिरहने, वरपरका छरछिमेक भेटेर बात मारिरहेन म त यस्तै छु बाबु, चुप लागेर बस्नै सक्दिनँ।'
बाको कुराले खुबै ध्यान तानिरहेको म पनि खासमा चुप लागेर बस्न नसक्ने भइसकेको थिएँ। बालाई कुर्न बसेका आफन्तहरू खाजा खान क्यान्टिनतर्फ गए।
बाले मलाई बोलाउँदै भन्नुभयो, 'सबै खाजा खान गइहाले, बाबु यता आउनुस् एकछिन बसेर बात मारौँ।'
बाले मेरो मनकै कुरा बुझ्नु भयो झैँ लाग्यो। उहाँ बारे मलाई अझै धेरै बुझ्न मन थियो, उहाँ आफैले बोलाएपछि त झनै सहज भयो।
म बाको नजिक रहेको कुर्सीमा गएर बसेँ। बाले मेरो उमेर, अध्ययन, बसाइँ सम्पूर्ण जानकारी लिनुभयो। अब अघिदेखि मेरो मनमा उब्जेका प्रश्न बालाई सोध्नु थियो। खासमा उहाँको नाम, उमेर, के भएको इत्यादि।
मेरो प्रश्न तेर्सिन नपाउँदै बाले भन्नुभयो, 'तोयानाथ, अहिले उमेरले ७८ भएँ बाबु। आजसम्म एउटा औषधि मुखमा परेको थिएन। यो उमेरमा आएर एक्कासि यति ठुलो बज्रपात बेहोर्न पर्यो। राष्ट्रिय परिचयपत्र बनाउन लाइनमा बसिरहेको थिएँ, थाहै नपाई भुइँमा ढलेछु। एकैछिनमा वरिपरि भएकाले पानी छम्किएपछि होस आएछ। होस आएपछि ज्यादै गाह्रो भयो। नहोस् पनि कसरी सिधै भुइँमा छाती बजारिएछ बाबु, अहिले करङ भाँचिएर अस्पताल बसेको पाँच दिन भयो।'
भगवान् कस्तो जीवन दिएको यो? कुन बेला के हुन्छ भर नै नहुने। बाका कुराले मेरो आँखा रसिला हुन थाले। युवा उमेरमा गुच्छा, फुटबल खेलेका कैयौँ कहानी सुनाउँदै अघिसम्म हँसिलो रहेका बा अब आफै भक्कानिन थाल्नुभयो। मैले सम्झाऊँ पनि कसरी? म आफैँ निःशब्द भएँ।
म केही बोल्न नसकेर होला बा आफैले खाँभरि टिलपिल आँसु पार्दै थप्नुभयो, 'यति ठुलो पीडा खेप्नुपर्यो, अब बाँचेर पहिलाको जस्तो हुन्छु कि हुँदिनँ त्यो त भगवान्को हातमा छ। यसरी अरूलाई दुःख दिएर बाँचेको छु। मर्न पनि गाह्रो रहेछ।'