ऊ बेला सरम मात्र हो र, डर पनि लाग्थ्यो। यो त त्यो केटीसँग बोल्छ रे नि, त्यो केटी नि बोल्छे रे योसँग त। यस्ता कुरा अरूका त खुब सुन्न पाइयो। आफ्नो त न सुन्न पाइयो न सुनाउनै।
केटीहरू राम्रा नलागेको भनेको पनि होइन, राम्रा त छन् नि! जेब्रा क्रसिङमा आमनेसामने भएकी त्यो केटी कम्ता राम्री थिई। अझै त्यो भेस्पाबाट मलाई लेकसाइडको बाटोमा ओभरटेक गरेकी त्यो केटी त झन् कति राम्री हो राम्री। एक पटक कलेजमा पढ्ने सिनियर पनि कस्ती राम्री लाग्थ्यो। जोडीहरूलाई आकाशको जून जस्तो म अविवाहितलाई सबै केटी राम्रो लाग्थ्यो। सबै केटी राम्रा हुँदैनन्, राम्रा जति हाम्रा हुँदैनन् भने जस्तो मलाई राम्रो लागेका केटीहरूको कि त बिहे भइसकेको हुन्थ्यो कि तिनीहरूको लभ परेको।
सिङ्गल हुँ भन्दा केटीहरू त टाढाको कुरा आफ्नै साथीहरूले त पत्याउँदैनन्। 'खुब, एउटी हैन यसको त कति वटी होलान्!' प्रायः सबैका साथीहरूको मुखबाट निस्कने वाक्य भन्दा फरक नपर्ला। बरु मैले चिया पिउन छोडेँ भन्दा पत्याउलान् तर मेरो कसैसँग लभ परेको छैन भन्दा पत्याउँदैनन्।
नारायण गोपालको गीत 'मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्या छ' भन्ने कुरा मेरो जिन्दगीमा मज्जाले मेल खाइराख्या हुन्छ। जब जब लभ अनि सम्बन्धको कुरा सुरु हुन्छ, तब बज्छ भायोलिनको ब्याकग्राउन्ड म्युजिक मेरो मनमा अनि कुँडिन्छ मन एकोहोरो, हतारिए जस्तो, हुत्तिए जस्तो। हो भिरालो बाटोमा हुत्तिन्छन् यादहरू, भावनाहरू र शब्दहरू।
कुनै केटी राम्रो लाग्नु नौलो कुरा होइन, नौलो त तब लाग्छ जब साथीहरूलाई बढाइ चढाइ गफ लगाइन्छ। उता उसलाई फेसबुकको रिक्वेस्ट सेन्ट गरेपछि सुरु हुन्छ सम्बन्धका पिल्लर जोडिन। नगरपालिकाले नक्सा पास नगरेजस्तो उसले फ्रेन्ड रिक्वेस्ट एसेप्ट नगरेकै कारण मेरो मायाको घर बन्न नसकेको, सायद।
'सधैँ उसलाई देख्न मन लाग्नु, भेट्न मन लाग्नु, चौबिसै घण्टा ऊसँगै बोल्न मन लाग्नु, उसकै बारेमा सोचेर बस्नु। हो यस्तै त हुन् मायाका लक्षण,' मेरो ब्याचलर पढ्ने साथीले एक पटक भनेकै थिइन्।
यस्तो हो भने त मेरो पनि लभ परेको हो कि!
हो, म सूर्य अनि ऊ चन्द्रमा जस्तै एउटै आकाशमा भए पनि भेट हुने सम्भावना शून्य। भेट्ने चाहना त कति हो कति तर 'के काम छ र!' हो, यो वाक्य नै मेरो लागि चन्द्रमा र सूर्य बिचको दूरी जस्तो लाग्थ्यो। यसैले बढाइरहेको थियो दूरी, उसको उपस्थितिको अनि मेरो पर्खाइको। भेट नभएको पनि होइन, उसलाई अगाडि देख्दा मुहार पूर्णिमाको जून जस्तो बनिहाल्थ्यो अनि उसको प्रतिशोधले औँसीको जून जस्तो कालो अनि एक्लो छ कि नाइँ थाहा नै नहुने।
हरेक भेटमा म मूल्याङ्कन गर्छु उसका आँखालाई, उसको मुस्कानलाई र सुन्दरतालाई जसले मेरो मनमा एक किसिमको तरङ्ग ल्याउँछ। हो, ती तरङ्गसँगै किनारा लाग्छन् मेरा मायाका शब्द अनि भावहरू। साँच्चै सुन्दरतामा उसले पिएचडी पास गरेकी छ। अनि म एसएलसी फेल। मलाई उसको सुन्दरताको वर्णन गर्नुभन्दा पनि उसमा डुब्न मन लाग्छ। मलाई डुब्न मन छ उसमा अनि उसको मायामा। जसरी बिस्कुट चियामा डुब्छ, जसरी बाती दियोमा अनि टाइटानिक पानीमा डुबे जसरी।
इच्छा अनि सपनाहरूको कुनै सीमा हुँदैन तर मेरो एउटै इच्छा उसको हुन मन छ र एउटै सपना उसलाई आफ्नो बनाउनु छ। काल्पनिक कुराहरूले दिमाग भरिएको हुन्छ, मन भने सधैँ रित्तो अनि एक्लो।
ऊप्रतिको चाहनाभन्दा पनि उसको बेवास्ताले मेरो मन बरालिनु कुनै फरक कुरा पनि होइन। मान्छेहरू भन्छन् नि, मायामा पागल हुनु। हो, मलाई पनि पागल हुनु छ उसको मायामा तर चाहना यही छ कि मेरो मायाको अन्त्यमा ऊ मेरो साथमा हुनुपर्यो। एकतर्फी मायामा छुट्टै मज्जा, न ऊ रिसाउने न त मैले फकाउनु नै पर्ने बाध्यता। तर डर भने कति हो कति।
हृदयका भावनाहरू हरेक पटक मोबाइलको किबोर्डमा टाइप त हुन्छन् तर पठाउन सक्ने हिम्मत भने आजसम्म भएन। उसलाई भन्न नसकेका ती शब्दहरूको हरेक पटक हत्या हुन्छ, किबोर्डको ब्याकस्पेस नामक हतियारबाट। तर हरेक पटक सेन्ट नामको त्यो सम्झौता गरिदिने बटन छुने प्रयास भने गरिरहेको छु।
चिया र ऊ, मलाई उस्तै-उस्तै लाग्छ। न चिया खाएर मेरो पेट भरिन्छ न त उसलाई हेरेर। हो म उसलाई हेरेर कहिल्यै थाक्दिनँ। किनकि उसको मुहार अनि मुस्कान मेरो जीवनको अदृश्य प्रकाश बनिसकेको छ। उसको उपस्थितिले मेरो हृदयलाई प्रेमको नयाँ अर्थ दिएको छ, जसको गहिराइलाई म शब्दमा व्यक्त गर्न सक्दिनँ। उसको आँखामा मैले देखेको संसार मेरो आत्मा भित्रको सबैभन्दा मिठो वास्तविकता हो।
अब त ऊबिना यो संसार सुन्निएको, बेरङको लाग्दै छ। ऊ मेरो हृदयको सङ्गीत बनिसकेकी छ। उसलाई थाहा छैन तर पनि ऊ मेरो हृदयको हरेक धड्कनमा सँगै छे। नोटिफिकेसन प्यानलमा उसको म्यासेज या रियाक्ट देख्दा १० म्याग्निच्युट बराबरको कम्पन मेरो शरीरमा आउँछ। यही कारण होला म उसको प्रोफाइल हदभन्दा ज्यादा हेरिरहेको हुन्छु, घुरिरहेको हुन्छु। उसको प्रोफाइल अनि उसका ती पोस्टहरूमा।
उसलाई मेरो प्रेमको वास्तविकता बुझाउन सक्ने शब्दहरू म खोजिरहेको छु, तर सायद शब्द भन्दा पनि उसको उपस्थितिले मात्र यसलाई महसुस गर्न सक्छ।
ऊसँगका केही पल मेरो जीवनको न्यानो पल हुन् भन्दा फरक मान्दिनँ जसलाई म सदैव सम्झिरहन्छु।
'के हामी दिनदिनै भेट्न मिल्छ? दश मिनेट मात्र? नत्र एक कप चिया खाएपछि छुटिहालौँला!' म नियमित उसलाई भेट्न उत्सुक हुन्थेँ तर उसले मेरो त्यो भावना बुझ्नु धेरै परको कुरा जो थियो। एक पटक त जे पर्छ पर्छ मनको कुरा भन्छु भन्ने ख्याल नआएको पनि होइन। ऊ टाढिने पो हो कि भन्ने डर अनि ऊप्रतिको झुकाव यही त छ आजकल।
रहर मात्र हो देखाउन मिल्ने, जिम्मेवारी त कहाँ सकिन्छ र देखाउन! यो जिन्दगीको जिम्मेवारीहरूमा ऊ पनि थपिएकी छे। उसलाई नै घरकी बुहारी बनाउनु छ, दिदी-बहिनीकी भाउजू अनि बुहारी। अनि एक दर्जन साथीहरूकी भाउजू। हो, मलाई यो जिम्मेवारी पनि पूरा गर्नु छ कि ऊ नै मेरी हो र म नै उसको हो भन्ने कुरामा कुनै शंका नहोस्, अनि संकोच पनि।
म मेरो जीवनको ब्यालेन्स सिटमा उसलाई सम्पत्तिमा राखेर उसका चाहनाहरूलाई दायित्व मानी बुवा-ममीको मायालाई प्रतिधारित आयमा राखेर अघि बढ्न चाहन्छु। होला, केही सपना खराब ऋण जस्तै हुन सक्छन्; अज्ञात अनि अपूर्ण। तर म उसलाई पेटी फन्ड जस्तो सदैव साना-साना मायाका गिफ्टहरूले खुसी बनाउने छु। हरेक सफलतामा ऊसँगै रमाउन चाहन्छु अनि हारमा रुन। तर यो कुरामा दुई मत छैन कि उसलाई पाएपछि म कुनै कुरामा हार्ने वाला पनि छैन। मायाको धागो नगाँसिन्जेल पो काँचो, माया गाँसेपछि त बलियो डोरी बन्नेछ।