केही वर्ष अगाडिको कुरा। पर्वतको एउटा गाउँमा आफ्नो बेरोजगार छोरा समर्पणको लागि बुहारी खोज्ने कुरा चलिरहन्छ। समर्पण पढाइमा फिटिक्कै मन नगर्ने कमजोर केटा थियो। जागिर बिनाको केटालाई केटी पाउन मुस्किल पर्ने सोची बिबिएस स्नातक परीक्षा दिएपछि समर्पणले जागिर खोज्न लाग्छ।
समर्पणको आमाले ऊतिर हेरेर मुसुक्क हाँस्दै हिन्दी भाषामा भन्छिन्, 'सप्लिमेन्टरी बेरोजगार छोराको विवाह कैसे होगी?'
यत्तिकैमा लमी भनेर चिनिएका गणेशप्रसाद समर्पणको घरको आँगनमा टुप्लुक्क आइपुग्छन् र भन्छन्, 'राम्री केटी भेटिएकी छिन्, केटीको फोटो हेर त कति सुन्दर छिन्, एमए पास छिन्, काका कानुन मन्त्री छन्।'
समर्पणको आमा र बुवासँग लमी गणेशप्रसादको गोप्य छलफल हुन्छ। लमीले समर्पणको आमा र बुवाको अनुहारमा हेर्दै भन्छन्, 'केटीको मानसिक अवस्था कमजोर छ, होस ठेगानमा रहँदैन तर केटीको काका कानुन मन्त्री छन्। तपाईंको परिवार र छोराहरूको लागि ठुलो पदको जागिर मिलाइदिन सक्छन्। समर्पणलाई सिभिल जज बनाइदिन सक्छन्। विवाह पछाडि विदेश पनि घुम्छन्, इज्जत पनि रहन्छ। केटीका काका बोलीका पक्का छन्। यति ठुलो घरकी यी केटीले तपाईंको बेरोजगार छोरालाई आफ्नो निजी सचिव र राजा जस्तो बनाएर राख्नेछिन्।'
लमीको कुराले समर्पणकी आमा मुसुक्क हाँसिन्।
समर्पणको आमा-बुवा आफ्नो बेरोजगार छोराले ठुलो पद पाउने आशामा केटीको मानसिक अवस्था कमजोर भएको र होस ठेगानमा नरहेको कुरा समर्पणलाई ढाँटी, लुकाई मनोकामनालाई बुहारी बनाउन राजी भए। समर्पण पनि राम्री र आफूभन्दा धेरै पढेकी केटीको कुरा आउँदा मक्ख थियो।
समर्पण र उसको बुवा मनोकामनालाई भेट्न गए। गर्मीको महिना केटीले टिसर्ट माथि स्वेटर लगाएर बसेको देखी समर्पणले डराउँदै बाबाको मुखतिर हेरेर भन्यो, 'यो के हो बाबा?'
बाबाले समर्पणलाई चुपचाप बस्न सिकाए। समर्पणले केटीलाई प्रश्न गर्यो, 'एमए कुन डिभिजन थियो? फर्स्ट डिभिजन?'
केटीले टाउको हल्लाएर इसारा गर्दै 'उम्' भनिन्।
समर्पण मनोकामनालाई बिहे गर्न राजी भयो। बेरोजगार छोराको लागि भव्य विवाहको प्रस्तावले बाबु आमा मक्ख थिए। बिहेको साइत जुराइयो। धूमधामसँग बिहे भयो। बिहेपछि समर्पणका दुई जना भाइले नयाँ भाउजूको सङ्गत गर्न खुब मन पराउँथे, भाउजूसँग स्वतन्त्र भएर गफ गर्न रुचाउँथे। मनोकामना पनि देवरहरूसँग डुल्ने, जिस्कने, ठुलो-ठुलो स्वरमा हाँस्ने गर्थिन्। यो देखेर समर्पणले तिमी कोठामा जाऊ भन्थ्यो।
यताबाट समर्पणकी आमा समर्पणसँग रिसाउँदै भन्छिन्, 'न केही काम सिक्छे, न जानेकी छे, हाँस्छे मात्र, यसलाई सभ्यता र संस्कार सिकाऊ।'
आमाको जवाफ सकिन नपाउँदै समर्पणले भन्छ, 'तिमी सिकाऊ आमा, तिम्री मन परेकी बुहारी हो।'
यो सुनेर फेरि आमाले समर्पणलाई भन्छिन्, 'तैँले किन नसिकाउने? तँ योदेखि हैरान भएको छैनस्?'
आमा छोराको भनाभनपछि समर्पणले मनमनै सोचिरह्यो, 'सब ठिक छ, उसको आपराधिक मानसिकता छैन।'
समर्पणले मनोकामनाको साथ जीवनयापन गर्दै थियो। एउटा पनि प्रश्नको सही उत्तर दिन नसकेको निम्न र असक्षम समर्पण जो छिट्टै सिभिल जजको लागि छनोट भयो। आमा-बुवाको कार्यक्रम सफल बन्यो। समर्पणकी आमा खुसी हुँदै भनिन्, 'दुलही, तिम्रो काका बचनको पक्का, सदाको लागि जज बनाइदिए।'
समर्पणको पहिलो पोस्टिङ भयो, मनोकामना पनि आफ्नो पतिको साथमा जान तयार भइन्। समर्पणकी आमा रिसले आगो हुँदै भनिन्, 'समर्पण यसलाई नलैजाऊ, न यसले घरको ख्याल गर्छे न तिम्रो।'
यो सुनेर समर्पणले भन्छ, 'आमा, यो सब तिमीले विवाह पहिले सोच्नु पर्थ्यो। जे हुन्छ देखा जायगा, यसलाई यहाँ कसको भरमा छोडौँ? जब यसको माइतीबाट सामान आउँछ तिमीलाई बडो राम्रो लाग्छ, अनि पछि तिमी यसलाई नै मजाक बनाउँछौ। यसको माइतीबाट जग्गा पाउने आसले समय-समयमा तिमी यसका बाबा-आमालाई सघाउन जान्छौ हैन?'
आमाले आशय बदल्छिन्, 'छोरो, हामीले तिम्रो लागि गरेको हो, तिमी जज बनिहाल्यौ, खाली बसेका छैनौ, तिमीलाई जज बनाउन नै हामीले यो सब गरेका हौँ।'
समर्पणले आमाको कुरा नसुनी मनोकामनालाई सँगै पोस्टिङमा लिएर जान्छ। मनोकामना कहिले मधुरो स्वरमा कुरा गर्थी त कहिले ठुलो स्वरमा रुन्थी भने कहिले खुलेर हाँस्थी। उसले वरपरको समाज र परिस्थितिको विचार गर्थिन। जब समर्पण ठुलो स्वरमा बोल्थे तब मात्र ऊ चुप बस्थी।
मनोकामनाको व्यवहारले समर्पणको मस्तिष्कमा दबाब पर्दै जान थाल्यो। मानसिक प्रताडनबाट गुज्रँदै जान थाल्यो। सानो सहरिया ठाउँ, मनोकामनाको व्यवहार छिटो प्रसारित भयो। समर्पणलाई आफू अफिस जाने आउने समयमा वरिपरिका मानिसले बाटोमा रोकेरै प्रश्न गर्थे, 'भाइजी, भावीजीका दिमाग ठिक नही रही? पैसा समाल्न नही जान्थी? भाइजी भावीजी सादीके पहिले यसी थि या बादमे?'
समर्पणले मानिसलाई सोझै जवाफ दिन्थेन, मतलब गर्थेन। उसलाई अरूले सुनाएका नराम्रा कुराले केही फरक पार्दैनथ्यो। उसले सोच्ने गर्थ्यो- हामी समाजको एउटा हिस्सा हो, त्यसैले मनोकामनालाई सहयोग गर्नुपर्छ। बेवकुफ साबित गर्नु हुँदैन।
एक्कासि मनोकामना गर्भवती भएको खबरले समर्पणमा चिन्ता र खुसी दुवै बढ्दै जान्छ। सन्तानको जन्म भयो भने मनोकामनालाई खुसी मिल्नेछ। मनोकामना केही गल्ती गरेर बसी भने गर्भावस्थाको शिशुमा आघात पुग्छ, मेरी आमाको भरोसा छैन, उसलाई उसकी आमाको साथमा छोड्नु पर्छ।
समर्पणले मनोकामनालाई उसको माइतीमा छोड्दै आमालाई भन्छ, 'आमा, मनोकामना गर्भवती छिन्, यिनको रेखदेख गर्नु है?'
आमा खुसी हुँदै भन्छिन्, 'मेरी छोरी धेरै सिधा छ, माया गरेर सम्झाउन साथ सम्झिन्छे, आउँदै जाँदै गर्नुहोला।'
समर्पण फर्किन लाग्दा मनोकामनाले उसको सामु आएर भनिन्, 'मलाई नछोड है? तिमी ठिक छौ नि? म तिम्रो बुढी हुँ बेवकुफ, फेरि कहिले आउँछौ? मलाई त छोड्दैनौ नि?'
यो सुनेर उसले भन्यो, 'म छिट्टै आउँछु, आफ्नो ख्याल राख्नू।'
केही समयपछि मनोकामनाले छोरालाई जन्म दिन्छिन्। समर्पण छुट्टी लिएर हस्पिटल जान्छ, चिकित्सकलाई सोध्छ, 'डाक्टर साहेब बच्चा मानसिक रूपमा ठिक छ, छैन? अनि आमाको अवस्था कस्तो छ?'
दुवैको स्वास्थ्य अवस्था राम्रो भएकोले बच्चाको नाम सत्यव्रत राखी मनोकामना र छोरालाई साथमा लिएर समर्पण घर जान्छ। उसकी आमा रिसले आगो हुन्छिन्। मनोकामनाकी आमा नाति भेट्न उपहार लिएर छोरीको घरमा जान्छिन् तर समर्पणकी आमाले नाति भेट्न दिँदिनन् किनकि उनलाई उपहारमा चित्त बुझ्दैन।
उनले छोरालाई गाली गर्छिन्, 'बुहारीको जज गर्ने समय यही हो, तैँले सधैँ ससुरालीको भर गर्थिस्, हेर तेरी बुढी खाली हात आएकी छ। छोड्दे यो पागल्नीलाई, यसको आफ्नो होस त छैन बच्चा कसरी पाल्छे?'
समर्पणले आमातर्फ हेर्दै भन्यो, 'भगवान्ले स्वस्थ बच्चा दिनु भएको छ, अरू केही चाहिँदैन।' समर्पणले मनोकामनातर्फ हेर्दै भन्यो, 'आमाको कुरा सुनेर के सोच्यौ?'
ऊ प्रतिक्रिया विहीन भई।
समर्पणले भन्यो, 'म पाल्छु बच्चा।'
मनोकामना रातको समयमा विक्षिप्त हुन्थिन्, उसले दूध तातो बनाएर छोरालाई खुवाउँथ्यो, छोराको स्याहार सुसार गर्न पाउँदा आफूलाई भाग्यमानी ठान्थ्यो, छोरालाई मनोकामनाको साथमा एक्लै छोड्दा वारदात हुन्छ कि भन्नेमा सशङ्कित हुन्थ्यो।
८ वर्ष भएपछि साँझ छोरा लड्छ, कुकरलाई बिस्कुट खुवाउन जाँदा उसको हातमा कुकुरले टोक्छ। समर्पणले कुकरलाई पिटेर लखेट्छ, छोराको हातको दुई वटा औँलामा रगत लागेको हुन्छ। छोराको हात सफा गरी आँगनमा राख्छ। भगवान्लाई धन्यवाद दिँदै मनोकामनालाई गाली गर्छ, 'मनोकामना, तिमी साँच्चिकै पागल हौ, तिमी किन मर्दैनौ?'
अपार क्रोधका कारण छोरालाई भुइँमा राख्दै मनोकामनाको घाँटी थिच्न जान्छ। उसले आफ्नो रक्षा गर्न खोज्छे तर सक्दिन। श्रीमानको खुट्टा समाउँदै रुँदै भन्छे, 'मेरो मानसिक विकास कमजोर भए पनि, विवेक नभए पनि पूर्ण, तन्दुरुस्त बच्चालाई जन्म दिएकी छु।'
समर्पणले मनमा अनेकौँ कुरा खेलाउँदै भन्छ, 'आमा-बुवाले मलाई मनोकामनालाई स्विकार्न लगाएकोमा बदला लिनुपर्छ। अपराधको बोधबाट आमा-बुवा पनि बच्न सक्नु हुन्न।'
पारिवारिक माहौलका कारण छोराको मस्तिष्कमा असर पर्ने सोची समर्पणले छोरालाई घरबाट टाढाको बोर्डिङ स्कुलमा भर्ना गरिदिन्छ।
समर्पणले मनोकामना विरुद्ध सम्बन्ध विच्छेदको मुद्दा हाल्छ। पारिवारिक फाँटमा मुद्दा चलिरहन्छ। गवाह अथवा साक्षीका लागि पेशी तोकिन्छ, साक्षी बकपत्र हुन्छ। मुद्दा मेलमिलापमा जान्छ, मेलमिलाप हुन नसकेपछि मुद्दा पुनः कानुनी प्रक्रियाअनुसार अगाडि बढ्छ।
पेशी चढ्छ, पेशीको दिन समर्पण (वादी) ले न्यायाधीश समक्ष आफ्नो भनाइ राख्दै भन्छ, 'सर यो केश चलिरहँदा मैले ४ वर्षसम्म मिल्ने कोसिस गरेँ तर सकिनँ। अब यसको साथमा बसेँ भने म पागल हुन्छु, पागलको साथमा बसे भने मेरो परिवार पूरै पागल हुन्छ।
मनोकामना (प्रतिवादी) ले आफ्नो पतिलाई हेरिरहेकी थिई, ऊ पनि केही बोल्न चाहन्थी तर सकिन।
मनोकामनाको वकिलले न्यायाधीशतर्फ हेर्दै भन्छन्, 'मेरो पक्ष पागल छैन श्रीमान्, थोरै सुस्त मनस्थितिको मात्रै हो, राम्रो मान्छेलाई पागलको संज्ञा दिन कदापि मिल्दैन।
फेरि समर्पण बोल्छ, 'यसलाई मेरो बाबा-आमा र मेरो साथमा राख्न सक्दिनँ। हामी सबैलाई धोकामा राखेर यसले मेरो साथमा विवाह गरी। यसको जन्म दिनेले त राख्न सकेनन् भने मैले कसरी राख्न सक्छु? विवाहको बन्धन जन्मको बन्धनभन्दा मजबुत कसरी हुनसक्छ? यसका बाबाआमाले धोकासाथ विवाह गर्दिए। कि अब यसले जान्दछे, कि त मैले जान्दछु। सर जिन्दगी एक समय मिल्दछ, म आफ्नो जिन्दगी बरबाद गर्न चाहन्नँ।'
समर्पणका प्रश्नले न्यायाधीश बेचैन हुँदै प्रश्न गर्छन्, 'तिमीलाई धोका त भयो तर तिमीलाई यिनका मातापिताले धोका दिए कि तिम्रो मातापिताले? तिम्रो मातापितालाई यिनको मानसिक अवस्था कमजोर रहेको कुरा जानकारी थियो भने यिनले तिमीलाई कसरी धोका दिएको भन्न मिल्छ? यिनको एक सामर्थ्य र पहुँच भएको काका जसले तिमी र तिम्रो भाइका लागि ठुलो जागिर मिलाइदिए, तिम्रो परिवारलाई सम्पन्न शाली बनाइदिए तर जब तिम्रो हिस्सामा यी महिला आइन् तिमी बेचैन भयौ! न्यायाधीशको गरिमा र गम्भीरताको ख्याल राख, यस्तो प्रश्न नगर। तिमीले पत्नीलाई छोड्ने मानसिकता कसरी बनायौ? तिमी यति निष्ठुर कसरी हुन पायौ?'
अब न्यायाधीशको नजर मनोकामनामा जान्छ। निर्दोष नजरले न्यायाधीशले उनलाई हेर्छन्, प्रतिवादी निरपराधी छिन्, आफ्नो लागि कुनै फैसला गर्न सक्दिनन्। दोस्रो व्यक्तिले गरिदिएको फैसलामा उनले आफ्नो चित्त बुझाउनु पर्ने अवस्था छ। यदि बुझ्दी हुन् त रुँदी हुन्, प्रतिकार गर्दी हुन्।
न्यायाधीशले फेरि पनि मेलमिलापमा जान कोसिस गर्नु भन्दै आदेश गर्छन्।
यता सत्यव्रत घरबाट टाढा बोर्डिङ भर्ना गर्दिएकोमा बाबालाई दोषी मान्थ्यो तर उसले पछि सम्झिन्थ्यो आफ्नो कल्याणका लागि नै यस्तो माहौलबाट टाढा राख्दिएको कुरा। ऊ १२ वर्षको पुग्छ, उसले बाबाआमा दुवैलाई माया गर्छ, मित्रवत् व्यवहार गर्छ। आफ्नो पढाइको कुरा गर्छ, जानकारी दिन्छ।
ऊ अदालतका गतिविधिको बारेमा कुरा गर्छ र सम्बन्ध विच्छेदका मामलामा जिज्ञासा राख्छ, 'बाबा, के फैसला भयो?'
समर्पणले सत्यव्रतलाई प्रश्न गर्छ, 'भन त तिमी जज हुन्थ्यौ त के गर्दथ्यौ?'
'यस्ती केटीसँग विवाह गर्थिनँ, चिटिङ हुन्थ्यो त पहिलो दिनमै ब्रेकअप दिन्थेँ। बाबा, अब केही दुस्मनी भावना राख्नु हुँदैन। सबको आफ्नो-आफ्नो लाइफ छ, मलाई त दुवै जना राम्रो लाग्छ, आफ्नो स्थितिलाई जति कठिन सम्झ्यो उति कठिन बन्दै जान्छ। तपाईं जस्तो सुविचार बाबा मैले कहिल्यै पाउन सक्दिनँ। तपाईंले मेरी आमाको यति धेरै ख्याल राख्नु हुन्थ्यो, यति धेरै केयर त हजुरबुबा हजुरआमाले पनि गर्न सक्नु हुन्थेन। मलाई बताउनुस् न बाबा, जसलाई बाबा-आमाले केयर गर्न सक्नु हुँदैन उसलाई आफ्नो पतिले माया गर्नुपर्छ हो?'
समर्पण निःशब्द हुन्छ। के विवाहको नाता जन्मको नाताभन्दा ठुलो हो? विवाहपछि माइतीको जिम्मेवारी हुँदैन भने छोरीको विवाह यति धेरै जरुरी किन?
मेलमिलापका लागि कोसिस भयो तर हुन सकेन। समर्पण सहमत हुन सकेनन्। वादीले न्यायाधीशका सामु यति धेरै प्रश्न गरे कि न्यायाधीश सामु कुनै तर्क थिएन। न्यायाधीशले मेलमिलापबाट वादी प्रतिवादी दुवैका साथ न्याय गर्न चाहन्थे तर सकेनन्। अन्तमा न्यायाधीशले कलम उठाई वादीका पक्षमा फैसला गर्दिए।