आधा रात गएको हुनुपर्छ। 'यो मनसुनमा यसपालि कोरियामा के विधि पानी परेको!' ऊ आफै फतफतायो। भोलि त आइतबार सार्वजनिक बिदा, काममा पनि जान परेन। यो सम्झेर ल्याउँदा मात्रै पनि उसलाई आनन्द लाग्यो।
बाहिर एकदमै ठुलो पानी दर्किरहेको छ। यस्तो लाग्छ आकाश रित्तिन खोज्दै छ। कि कसैले आकाशमा प्वाल पारिदियो हँ! कि उत्तर कोरियाले रकेट हानेर आकाशै भत्काइदियो? ऊ यस्तै यस्तै उटपट्याङ सोच्दै युरिनलमा पिसाब गरिरह्यो।
पिसाब फेरिसक्दा उसको गालामा एउटा लामखुट्टे आएर बस्यो। उसले बिस्तारै हत्केलाले लामखुट्टेलाई प्याट्ट हिर्कायो। अधमरो लामखुट्टे उसको हातमा टाँसियो। उसले लामखुट्टेलाई युरिनल छेवैमा रहेको कमोडको पानीमा मिल्काइदियो। लामखुट्टे अझै जिउँदै थियो। पानीमा तैरिएर चलमलाइरह्यो। उसले फ्लस बटन थिचिदियो।
त्यहाँ एउटा अचम्मको दृश्य देखिन आयो। लामखुट्टेको शरीर मात्रै फ्लस भएर बग्यो तर दुई वटा पखेटाहरू पानीको भुमरीमाथि तर्लङ्ग तैरिरहे। त्यसलाई बेवास्ता गरेर ऊ हतार गर्दै आफ्नो कोठातिर लम्कियो जहाँ रित्तिनै लागेको भोड्काको बोतल र अन्तिम दुई टुक्रा बाँकी रहेको मासुको सितन उसको प्रतीक्षा जो गरिरहेको थियो।
समय केही मिनेट मात्रै अगाडि बढेको हुँदो हो। अचानक पूरै भवन हल्लिन थाल्यो। धरररर। झरीको आवाजसँगै स्वाँ-स्वाँ आवाज पनि मिसिएको सुनियो। उसको छाती ढुकढुक गर्न थाल्यो। के भारी वर्षासँगै तुफान आएको हो? रु कि समुद्री आँधी आएको हो? नजिकमा कुनै समुद्र नभएकोले समुद्री आँधीको सम्भावना त शून्य प्राय थियो।
'ला भुइँचालो आएछ' ऊ आत्तिएर दगुर्न थाल्यो। बहत्तर सालको भुइँचालो जाँदा ऊ काठमाडौँमै थियो। त्यसको झझल्कोले ऊ झनै तर्सियो। उसले असन्तुलित हुँदै झ्याल खोलेर हेर्यो। उसले जे देख्यो त्यसपछि उसको होस् हवास सबै उड्यो। उसले आफ्नो आँखालाई विश्वासै गर्न सकेन।
झ्याल बाहिर अँधेरो रातमा जताततै पानी-पानी टल्किरहेको थियो। उसले आँगन ठम्याउन खोज्यो देखेन। सबै पानी नै पानी भएको थियो। सब थोक डुबिसकेको थियो। उसले आफू बसिरहेको घर ढल्कँदै गइरहेको चाल पायो। एक पटक बेस्सरी करायो, 'ओइ भिमु कहाँ छस्? घर ढल्यो भाग्।'
त्यसपछि सब थोक बिर्सेर ऊ झ्यालबाट हाम फाल्यो। गर्मीको महिना हुनाले ऊ हाफ पाइन्ट र गन्जीमा बसिरहेको थियो। त्यही कपडामै ऊ हाम फालेको थियो छप्ल्याङ्ग। उसले हेर्दा हेर्दै कम्पनीको दुई वटै भवनका प्रत्येक झ्याल ढोकाबाट पानीका छाँगा छुट्न थाले। एकै छिनमा गर्ल्याम गुर्लुम्म सबै थोक भत्कियो। उसले सबैतिर अन्धकार देख्यो। उसको होस् गुम्दै गयो र एकै छिनमा सब थोक अन्धकारले घप्लक्कै निल्यो।
उसको होस खुल्दा ऊ जाडोले लुगलुग काँपिरहेको थियो। पानी लगातार परी नै रहेको थियो। उसको भिजेको गन्जी जीउमा टाँसिएर ट्याप्पै समाइरहेको थियो। त्यसमाथि उसको टाउको, ढाड जताततै पानीले हिर्काइरहेको थियो। उसले आफूलाई एउटा आरुको बोटमाथि अल्झिरहेको पायो। आरुको बोट पानीमाथि तैरिरहेको थियो। ऊ त्यसैमाथि अल्झेको थियो। उसले त्यो आरुको बोट चिन्यो। त्यो उसकै कम्पनीको आँगनमा हुर्किएको ठुलो बोट थियो।
यस्तो स्थितिमा पनि उसले आरुको बोटमा टाँसिएर बसेको एउटा किरालाई देख्यो। ऊ डरायो। उसले आफूलाई बाघ-भालुभन्दा किरा र सर्पसँग ज्यादा डर लाग्ने कुरा सम्झियो। उसको हातमा केही चिज पर्यो। एक मन त्यही चिजले परबाटै हिर्काएर किरालाई पानीमा खसाल्दिऊँ कि झैँ लाग्यो। तर उसको मनमा त्यसै-त्यसै करुणा पलायो। किरालाई उसले छोडिदियो। ठिक त्यति नै बेला उसको तिघ्राकै छेउ भएर एउटा सर्प सिलिलिली पानीमाथि कुद्दै गयो। उसको सातो गयो तर तुरुन्तै सम्हालियो पनि। सर्प पानीभित्र कतै हरायो। ऊ ढुक्क भयो।
'यदि यो सङ्कटबाट म बाँचेछु भने बाँकी जीवन किरा सर्प सबैलाई प्रेम गर्नेछु भगवान्' उसले आफै सम्झियो।
उसलाई आखिर के भइरहेको छ यो सब छुट्टाउन मुस्किल पर्यो। अब बाँचिँदैन। अब केही क्षणमा मरिन्छ भन्ने विचारले ऊ सुँक्क-सुँक्क रुन थाल्यो। न मोबाइल छ हातमा र कसैलाई फोन गर्नु। न कोही देखिन्छ र गुहार माग्नु। उसलाई बेस्सरी जाडो भयो। उसले प्रार्थना गर्यो- 'हे भगवान् मलाई बचाऊ। यो सब के भइरहेछ? हे कुल देवी देवता हो म परदेशमा यसरी बिजोग भएर मर्न चाहन्नँ। मेरो रक्षा गर। मलाई उद्धार गर।'
उसको प्रार्थना कबुल भएझैँ गरी अचानक पानी पर्न रोकियो। तर वातावरणमा भने अप्राकृतिक महसुस हुने गरी गर्मी पैदा भयो। आकाश उज्यालो भयो मानौँ कसैले आकाशमा आगो झोसिदियो र त्यो दनदनी सल्कियो। उसले आकाशको उज्यालोमा वरिपरि हेर्यो। खै हिजो अस्तिका खेतका गराहरू? खै बस स्टपहरू? खै रोड? खै?
सारा धरती जलमग्न भएको थियो। निक्कै पर उसले रहस्यमय ढङ्गले यत्रो बाढीमा पनि केही नभई ठिङ्ग उभिएको एउटा घर देख्यो। त्यो कुनै कम्पनीको भवन थियो। तब अचानक ठुलो आवाज गर्दै ह्वारह्वारती आगो लागिरहेको एउटा हवाईजहाज उक्त कम्पनीको भवनको छानातिर खस्दै आयो। उसलाई त्यो कम्पनीको भवन कता-कता चिनेको देखेको झैँ लाग्यो। तब उसले झल्याँस्सै सम्झियो- अहो! यो कम्पनी त दैलेखका गजलकार राज काम गर्ने कम्पनी पो हो त! उही के त, चर्चित गजल सङ्ग्रह माटोका सर्जक। तब ऊ अत्तालियो।
'हेल्लो राज सर! ओ राज सर! छानामा प्लेन खस्यो है! ओ गजलकारज्यू! भाग्नुस् है! हेलो! हेलो!'
ऊ नाभि देखिको बल निकालेर चिच्याइरहेको थियो। हेर्दाहेर्दै प्लेन ड्याम्मै छानामाथि बज्रियो। ड्वाङ्ग ठुलो आवाज आयो। उसको आँखा, कान, दिमाग सब थोक केही पललाई बन्द भयो।
दोस्रो पटक होस फिरेपछि उसले देख्यो कि ऊ दक्षिणतिर बग्दै गइरहेको थियो। सब थोक पछाडि छोडिँदै गइरहेका थिए। फेरि मुसलधारे पानी सुरु भैसकेको थियो। आरुको रुखको उसको डुङ्गा उसको नियन्त्रणबाट फुत्किँदै गएको थियो। उसलाई लागिरहेको थियो अब अन्तिम समय आइसकेको छ। उसले श्रीमतीलाई सम्झ्यो। आफ्नो आमालाई सम्झ्यो। भर्खरै जन्मिएका दुई छोरीहरूलाई सम्झियो। ऊ रुन थाल्यो। लगातार उसको अनुहार पखालिरहेको झरीले उसको आँसु निमेषभर पनि गालामा टिक्न दिएन, बगाइरह्यो।
आरुको बोट उसलाई पानीमै पछारिराखेर बग्दै बग्दै कतै हराइगयो। ऊ आफ्ना हात गोडा चलाएर निकै बेर पानीमा पौडिरह्यो। मान्छे पौडिन जति नै सिपालु भए पनि कति बेर पो पानीमा टिक्न सकिन्छ र! ऊ पनि थाक्दै गइरहेको थियो। अचानक उसको अगाडि भर्खरै खसेको प्लेनको पखेटा तैरँदै आइपुग्यो। उसले त्यसलाई स्पर्श गरेर हेर्यो। पखेटा मनतातो थियो। त्यो अझै पूरै सेलाइसकेको थिएन। ऊ त्यसमाथि चढ्यो र दुई तिरै बलियो गरी समायो। त्यसरी उसको ज्यान जोगिन गयो।
पानीमाथि बसेर उसले आखिर यो के भइरहेछ भनेर बुझ्ने प्रयास गर्यो। उसले सोच्यो, यो पक्कै पनि उत्तर कोरियाले आक्रमण गरेको हुनुपर्छ। उत्तर कोरियाले आफ्नो सिमानामा बनाएको ठुलठुला भीमकाय ड्यामहरू खोलिदिएको हुनुपर्छ। हो, पक्कै यसै भएको हो। उसलाई त्यो क्षेत्र नजिकैमा अमेरिकी सेनाको क्याम्प छ भन्ने कुराको पनि सम्झना भयो। अब त ऊ निश्चित जस्तै नै भयो। भर्खरै खसेको जहाज उनीहरूले नै खसाल्दिएको हुनुपर्छ। उत्तर कोरियाले अमेरिकी क्याम्पमा हमला गरेको हुनुपर्छ। उसले पक्कापक्की गर्यो। तर कुनै ठोस प्रमाण भने भेटेन।
निकै बेरसम्म ऊ भोलिको प्रतीक्षामा भगवान् पुकार्दै आफूलाई टिकाइरहेको थियो। भोलि हुनेछ। भोलि उज्यालो हुँदा सब ठिकठाक हुनेछ। उसले आँखा चिम्म गर्यो। तर अचानक ठुलो हलचल महसुस गर्यो। उसले थाहा पायो ऊ पानीको विशाल र एकदमै डरलाग्दो चक्रमा फसिसकेको छ। त्यो भुमरीमा ऊ बडो वेगसँग एकै दिशामा गोलो-गोलो हुत्तिइरहेको थियो। उसको सातो त तब गयो जब उसले देख्यो कि ऊ आफूले लामखुट्टे फ्लस गरेको त्यही कमोडको पानीको रिङमा घुम्दै थियो। अरू केही सोच्नु अगाडि नै तुरुन्तै पानीको प्रेसर बढ्यो र ऊ फ्लस भएर कालो अँध्यारो ढ्वाङमा पसिगयो। अब ऊ सम्पूर्ण रूपले मर्न तयार थियो।
उसका आँखाहरू अन्धकार पानीभित्र खुले। छिटो-छिटो हात गोडा चालिरहेको उसले प्लेनको त्यो पखेटा पनि गुमाइसकेको थियो। अब ऊ पूर्ण रूपले पानीको गहिराइभित्र डुबिसकेको थियो, उकुसमुकुस भइरहेको थियो। अन्तिम सास फेर्नलाई ऊ अब ढुक्क भइसकेको थियो। अब कुनै आशा बाँकी थिएन। कुनै भरोसा पनि थिएन। अब ऊ जल समाधिमा आफूलाई समर्पित गर्न तयार थियो। अब बाँच्नलाई प्रयास गर्नुको कुनै अर्थ थिएन किनकि पानी यति धेरै थियो न उसले गहिरामा भुइँ भेट्न सक्यो न उसले कुनै किनारा नै देख्यो। बस् उसले हिम्मत छाडिदियो र ऊ अनन्त गहिराइमा आँखा चिम्म गरेर क्रमशः डुब्दै गयो, डुब्दै गयो।
धेरै तल-तल डुब्दै गइरहेको थियो ऊ। अचानक उसका दुवै पैतालाहरू कुनै वस्तुमा गएर टेकिइए। त्यो वस्तुले उसलाई पानीको सतहतिर उचाल्न थाल्यो। ऊ विस्तारै-विस्तारै माथि उचालिइँदै आयो। केही छिनमै ऊ पानीमा तैरिरहेको थियो। ऊ फेरि बाँच्यो। हाँस्नु कि रुनु जस्तो प्रतिक्रियाविहीन भयो। बिलकुलै हतप्रभ।
हेर्दाहेर्दै उज्यालो पनि भयो। उसले आफूलाई वरिपरि पानी नै पानीले घेरिएको सागरको बिच भागमा पायो। अचानक उसले माथि आकाशबाट आफैले आफैलाई पो हेरिरहेको देख्यो। ऊ लमतन्न सुतिरहेको पहेँलो सागर अर्थात् एल्लो सीको बिचमा कतै एक्लै तैरिरहेको थियो र उही फ्लस गर्दा कमोडको पानीमा छुटेको लामखुट्टेको पखेटामा पो उभिरहेको थियो। त्यो पखेटा कुनै एक कार्पेटको साइज जत्रो ठुलो थियो। विशाल सागरको पानीमाथि तैरिरहेको लामखुट्टेको विशाल पखेटा र त्यसमाथि भिजेको हाफ पाइन्ट र गन्जी लाएर टुक्रुक्क बसेको एउटा दयालाग्दो अशाहीन केटो, उसले आफू हो भनेर चिन्यो। उसलाई कोरियाको जमिन 'मैनल्यान्ड' छोडेर बग्दै बग्दै आफू सागर पुगिसकेको ज्ञान भयो। तब ऊ बेस्मारी अत्तालियो र कराउन थाल्यो 'हेल्प! हेल्प!'
'रमेश! ओइ रमेश!'
यो आवाजले उसको होस् खुल्यो।
'के विधि पिएछौ रे! मर्ने मन भइहालेछ कि कसो?'
आफ्नो नामको बिचमा यसरी आधा म थप गरेर बोलाउने भिमु यादव बाहेक अरू को नै हुन सक्थ्यो र! उसले भिमु यादवको स्वर चिनिहाल्यो। भिमु यादव अर्थात् उसको रुम मेट।
उसले आँखा खोल्यो। आफूलाई आफ्नै ओछ्यानमा पायो। सबैभन्दा सुरुमा आफू जिउँदै छु भन्ने चेतनाले ऊ खुसी भयो। मान्छे आफू जिउँदै छु भन्ने कुराले जति अरू के कुराले खुसी हुन सक्ला र! कोठाभरि रक्सी र बियरको तिखो ककटेल गन्ध फैलिएको थियो। उसले आफू सुतिरहेको तन्नामा आँखा लगायो। तन्ना पूरै खजमजिएको थियो। तन्नामा पहेँला रङका तेर्सा धर्काहरू थिए। ती धर्काहरू उसले तलमाथि तलमाथि पानीको तरङ्ग झैँ नाचिरहेको देख्यो। उसको टाउको एक फन्को पूरै घुम्यो र उसलाई चक्कर लाग्यो।
आँत पूरै सुकेको थियो। ओठहरू कलेटी परिसकेका थिए। टाउको दुखेर कटकटी खाइरहेको थियो। आँत सुकेर हरहरी प्यास लागेको थियो। जीउ यति शिथिल थियो कि आफ्नै हातखुट्टा पनि आफ्नै ज्यानलाई भारी भइरहेको थियो। यस्तो लाग्थ्यो मानौँ यी हात गोडाहरू फ्यालेर काठको मुढाझैँ ओछ्यानमा डर्लङ्ग लडिरहन पाए नि हुने। तर छालाहरू समेत दुखेर छोई नसक्नु भएकोले ओछ्यानै पनि त बिझाइरहेको थियो नि।
उसको अनुहारमा झ्यालबाट आएको किरण छ्याप्पै पोतियो। उसको आँखा दुख्यो। घामले आँखा खाएकोले किरणबाट बच्नको लागि उसले कोल्टो फेर्यो। उज्यालो भएछ उसले सोच्यो। भिमु यादव बरबराएको आवाज टाढाबाट आएर उसको कानमा ठोकिरहेको थियो- 'पिउन पनि के सारो पिएको रे! होस गुम्ने गरी, पूरा पग्लाउने गरी पनि कोही दारु पिउँछ?'
कोल्टो फेर्नासाथ उसले एउटा छोटो सपना देख्यो। सपनामा ऊ फेरि कोल्टो फेरेर अघिकै स्थितिमा झ्यालतिर फर्कियो। झ्यालबाट उसका पोहोर साल मात्रै जन्मिएका जुम्ल्याहा छोरीहरू आशा र भरोसा उडेर पालैपालो उज्यालो किरणसँगै उसको कोठामा छिरे। उनीहरू पखेटा फिरिफिरी हल्लाउँदै उसको अगाडि हावामा तैरिरहे। उनीहरू कुनै लोक कथाका परीहरू जस्तै सुन्दर देखिएका थिए। उज्याला, चम्किला, हँसिला र एकदमै हातैमा समाइ राखूँ जस्ता हलुका। उसले छोरीहरूको पखेटा कहीँ त्यही लामखुट्टेको पखेटा त होइन भनी नियालेर हेर्यो। अहँ, ती लामखुट्टेका नभएर कुनै ड्र्यागनफ्लाइका जस्ता ठुलठुला दुई पाते पखेटा थिए।
उसको सिरानीको ठिक अगाडि आशा र भरोसा दायाँबायाँ भएर फैलिएर हावामा अडिइरहेका थिए। आशाले मुख खोली- 'ड्याडी, यसरी रक्सीको लतमा फस्नु भयो भने हाम्रा पखेटाहरू चुँडिई झर्नेछन्। हामी भविष्यको आकाशमा उडान भर्न सक्ने छैनौँ। अब हजुरले पिउन छोड्नै पर्छ ड्याडी।'
भरोसाले पनि थपी, 'हो पापा, यो नशाको आदतले गर्दा तपाईंकी छोरीहरूको उड्ने पखेटा काटिइनेछन्। हाम्रो भविष्य अन्धकार हुनेछ। यो सब बन्द गरिदिनुहोस्। बिन्ती!'
रमेशका आँखाहरू रसाए। गह भरिएर आयो। थर्थर काँपेका हातहरूले छोरीहरूलाई पालैपालो छुन खोज्यो तर छोरीहरू पालैपालो हावामा कतै विलीन भएर गए।
उसले काँपिरहेको आफ्नो कमजोर शरीरलाई ओछ्यानबाट जबरजस्ती उठायो। भनन रिँगटा लाग्यो। सिरानी छेउमा रहेको आधा बोतल भोड्का उठायो र सरासर भान्सातिर लम्कियो। उसले बुझ्यो एक बोतल पूरै सकेर उसले लगभग अर्को आधा पनि रित्याएछ हिजो। सितन पनि एक टुक्रा त बाँकी नै बसेछ। भान्सामा पुगेर भोड्काको बोतल खोल्यो अनि किचनको सिङ्कमा सबै बगाइदियो,घत्लक घत्लक घत्लक।
फ्रिजबाट पानी झिकेर घटघट पियो। छाती पूरै चहर्यायो चरर। मनमनै जाँडरक्सी चटक्कै छोड्ने वाचा गर्यो।
आफैलाई भन्यो- 'थुइक्क तँ! अब त रक्सी खाएर भिमलाउनु पनि थालिस् होइन? भ्रमित हुन पनि थालिस् होइन? ह्यालुसिनेसनको सिकारै भएर छाडिस् होइन? धिक्कार!'
पिसाबले बेस्सरी च्यापेको रहेछ। ऊ बाथरुम छिर्यो। युरिनलमा मूत्र त्याग गर्यो। नजिकैको कमोडमा फेरि उसको नजर पर्यो। उसै गरी हिजो रातिका लामखुट्टेका पखेटाहरू पानीमा तैरिरहेका रहेछन्। उसले फ्लस गरिदियो। यो पटक भने ती पखेटाहरू सजिलै फ्लस भए। अनि ऊ अबदेखि नशालाई सम्पूर्ण रूपमा त्याग्ने कसम खाँदै सरासर आफ्नो कोठातिर लम्कियो।
उसले भित्रैदेखि महसुस गरिरहेको थियो। मान्छेको जिन्दगी डुबाउन कुनै शक्तिशाली आँधी, तुफान, सुनामी या बाढी आइरहनु पर्दैन,केबल ७५० एमएल सिसीहरूको आदत नै पर्याप्त छ। बोतलमा डुबेकाहरूको जिन्दगी खतरामा छ। उसको स्वास्थ्य, धन र परिवारको सर्वनाश गर्नलाई बेलगाम नशाहरूको डुबान नै काफी छ। किन चाहियो कुनै अप्रत्याशित सुनामी?