घोडा हिनहिनाउँछ, दुई खुट्टा उचाली चर्को आवाजमा। नेपथ्यमा घोडाको टापको आवाज आउँछ। सवारीको वेग जति बढ्दै जान्छ, पुच्छर सिधा अनि तेज दौड सुरु हुन्छ।
लगातारको दौड।
घत्रक्क घत्रक्क
टक टक टक
झन्डै झन्डै हावाकै वेगमा अर्को घोडा पनि सँगसँगै दौडिरहेछ। कहिले अघि त कहिले पछि गर्दै ***
साह्रै सुन्दर छ रारा। साथै मनमोहक पनि।
चारैतिर हरियाली, निलो सग्लो पानी। अग्ला पहाड। अनि पहाडमाथि हाँसिरहेको हिमाल। आँखा चिम्म गर्नै मन नलाग्ने दृश्य वरिपरि।
एक टकले हेरिरहूँ जस्तो यो तालको सुन्दरता म कुन शब्दले बयान गरूँ थाहा नै छैन। स्वर्गझैँ यो ठाउँमा प्रिय मान्छेसँग तालको किनारै किनार हावाको वेगसँग घोडचढीको मजा लिनुको आनन्द नै बेग्लै। मन्द चिसो यो सिरेटोलाई छिचोलेर रफ्तारसँग किना सर्त ऊसँग रेसमा दौडिँदा न हार्ने डर हुन्छ न त जित्ने नै।
त्यही पनि म सधैँ हार्छु। ऊ सधैँ मलाई छोडेर अगावै गन्तव्यमा पुग्छ। उसको रफ्तार या भनूँ घोड सवारी क्या गज्जबको छ।
म थामिन्छु ऊ भए स्थानमा। हाम्रो गन्तव्य जहाँ रारासँग हामी आमनेसामने हुन्छौँ।
नजिकै रुखको फेदमा घोडालाई आराम गर्न दिँदै उसको समीप पुग्छु। ऊ मभन्दा केही क्षण अगावै पुगी यही स्थानमा मलाई कुर्दै छ। म झ्याप्प उसको पछाडिबाट ढेसिँदै अगाडि अँगालोमा समाउन पुग्छु।
उसको काख यति न्यानो छ कि राराको सिरेटोले कापेका मेरा शरीरले आराम महसुस गर्छ। घोडचढीले थाकेका मेरा काँध जसै उसको काखमा पुग्छ म संसार भुल्न थाल्छु।
नयन जुध्छ अनायासै। मधुर मुस्कान छाउँछ दुवैको मुहारमा। उसको आँखामा निलो रारा सलबलाइरहेछ। त्यही नानीबिचको तालमा आफूलाई पाउँदा म संसारकै भाग्यमानी महसुस गर्छु। यो पल, यो क्षण मेरो जीवनकै अविस्मरणीय पल हो भन्दा फरक नपर्ला।
जब उसले मेरो सुनकेशरी कपाल पन्छाउँदै दुई हातले च्याप्प समाएर आफ्नो तातो श्वासले मेरो नाम लिँदै भन्छ- वर्षा, आज पनि मैले तिमीलाई हराएँ। फेरि पनि मैले नै जितेँ है।
मिठास भरिएको उसको जितको हाँसो गुन्जिन्छ। उसको हाँसोसँगै म अर्कै संसारमा पुग्छु। उसको जित नै मेरो महाजित हो। दुवैको हठ हाँससँगै नजिकिएको तातो श्वासले म यसरी लट्ठिन्छु कि मेरो शरीरको रोम रोममा एउटा अनौठो तरङ्ग उत्पन्न हुन थाल्छ। उसको न्यानो कसिलो अङ्गालोको समीपले मेरो शरीरसँगै गुलाबीबाट चिसोले निला भएका ओठहरू थरथर काँप्दै छ।
टि टि टिट टि टिट...
टि टिट टिट…
उफ्! यो घडी म कुन दिन भित्तामा कच्याक् कुचुक्क हुने गरी फोड्दिन्छु। कुनै दिन सपना पूरा हुन दिन्न। एक छिन नबज्या भए तेरो के बिग्रिन्थ्यो। दुवै हातले झ्याप्प घडीको अलार्म बन्द गर्छु।
टाउको मास्तिर सिरानी राख्दै आफैसँग गनगनाउँछु- सधैँ हारेर आखिर मैले के पाएँ, के गुमाएँ?
घडीको अलार्मसँगै आँखा खोल्नु। ब्रस गर्नु। ट्याङ्कीमा पानी भरेको दिन नुहाउनु। नभए पासपोर्ट साइजको नुहाइ प्रायजसो। जाँगर चलेको दिन ब्रेकफास्ट। नभए भोक भोकै। पानी आउने दिन पानी थाप। फोहर फाल्न कहिले नभ्याउने बानी। हरेक दिन कौसीमा भएको फूलमा पानी हाल्ने बहानाले घरबेटीले दिने अनौठो कचकच सुन्नु। उफ्! यो काठमाडौँको अस्तव्यस्त जीवन।
अनि मेरो असफल प्रेमकथा।
***
म वर्षा।
उमेर २५।
हैन हैन, २७ पो यो असोजमा त!
जागिर बैङ्कमा।
तर ओहोदा पिउन बराबरको लाग्छ।कामको प्रेसर कति हो कति अनि हाकिमको मिठो गाली सधैँ।)
घर मधेस ( अहिलेको २ नं प्रदेश)
घरको माइलो सन्तान।
दिदी भाइ दुवैको बिहेवारी भइसक्यो, मेरो चाहिँ…
बुवा दमको रोगी, आमा गृहिणीभन्दा बढी समाजसेवी। चाडबाडमा घर जाँदा सुब्बाको नातिनी भनेर अहिले पनि २/४ जनाको नमस्कार सित्तैमा खान पाइन्छ। उ बेला हजुरबुवाले कमाइदिएको नाम नाता-नातिनीलाई अहिले पनि बेलाबेला काम लागेको छ। बुवा हजुरले त खासै केही गर्नु नै परेन। फलानाको छोरा नै काफी थियो जिन्दगी सोखले जिउनलाई।
ओहो! अफिस टाइम। घडी हेर्छु। घडीसँगै भएको सिगरेटको डब्बा खिस्स हाँस्छ।
'वर्षा नानी। ए नानी! जाने बेला भएन? यही छौ त अहिलेसम्म।'
जहिले तान्ने बेला टप्किन्छन् यी घरबेटी बा। हतार हतार सिगरेटको ठुटा बट्टामा ढुस्दै निभाउँछु अनि चारैतिर रुममा परफ्युम छर्छु।
'हजुर बुवा। झर्न लागेको अब।'
'ढोका खोल खोल। यसो पानी हालेन भने त दिनभरिमा ओइली पो हाल्छन् त यी सबै फूलहरू।'
'मैले हालेको छु पानी बुवा। पिर नमान्नुस् न। मेरा पनि त साथी यिनै फूलहरू त हुन् नि। कहाँ ओइलाउन दिन्छु र।'
झटपट टेबलमा छरपस्ट फाइल र ल्यापटप ब्यागमा कोच्दै ढोका खोल्छु, झर्ने सिँढीको। सिँढीमा कुरेर बसेका घरबेटी बालाई गेटको साँचो थमाउँदै 'ल बुवा, म लागेँ अब। पानी हालेर चाबी लाइदिनुस् है। अनि एक/दुई भाँडो पानी भर्दिनुस्, भरे हाल्न पर्छ फेरि।'
'हस् बा। नानीलाई नि दुख भयो। हन बास्ना कति मगमगाको नानी। आँखा लाउलान् बाटामा होस् गर है।'
पछाडि फर्केर हेर्दा कुटिल मुस्कान छरिएको देखेँ बुवाको आँखामा।
सिगरेटको गन्ध हटाउन महिनामा १००० रुपैयाँ त पर्फ्युममै खर्च हुन्छ। किन पिउँछु म? यो भोकमरी जिन्दगीमा। कहिले नछोड्ने भयो यो कुलतले मलाई!
***
'कोटेश्वर, तीनकुने, बबरमहल!
थापाथली, थापाथली
भक्तपुर
चाबहिल, थली थली थली…
टि टि टि टु टु टु
प्वाँ टिटिट्'
'आँखा देख्दिनस्?'
'कस्तो रिसाएको के यो दिदी! तपाईंको पनि त आँखा छ त।'
'अझ! जहाँ पायो त्यही ब्रेक लाउँछस्, अझ मलाई। दुइटा खुट्टा उभ्या मान्छे देख्नै नहुने! आफू पनि मर्छस् अरूलाई पनि मार्छस्।'
'सुटबुट लाउनुभयो भनेर नहेप्नु है दिदी। मुख सम्हालेर बोल्नु है। तपाईं स्कुटर धेरै परे २ लाख होला, मेरो गाडी २५ को हो २५।'
दुवै जनाको आँखा तरातर हुन्छ, ढोका पिट्दै अगाडि बढ्ने सङ्केत गर्छ।
हे भगवान्! म किन छु के यो सहरमा? न सपना पूरा हुन्छ कहिले, न त बिपना नै सहज। आज पनि ढिला हुने भएँ। व्यस्त समयमा १५ मिनेटको बाटो छिचोलेर अफिस पुग्न पनि पहाडै हुन्छ जहिले।
अफिसमा प्रवेश गर्छु, सबैलाई गुड मर्निङ भन्दै। आज पनि ढिला आएकोमा बहाना बनाउन पर्ने भयो। सधैँ झैँ टाइममै निस्केको तर ट्राफिकले गर्दा ढिला भयो भन्छु।
'आज फिल्डमा २ बजे पुग्नुपर्छ। केही त्रुटि भए सच्याउनू है। अब म्यानेजर हुने पालो तिम्रो नै हो। आशा छ तिमी यो कुर्सीमा छिटै हुनेछौ। काम राम्रो गर्छौ तर समयको चाहिँ ख्याल गर्दैनौ। कामसँगै अलि टाइमको पनि म्यानेज गर्नै गर। पछि पछुताउनु नपरोस् है,' सरले भन्नुहुन्छ।
म खिस्स हाँस्छु। आश्वासन झुट या सत्य जे भए पनि मौन समर्थनसँगै जिजीविषा चलाइरहेको छु।
'हुन्छ सर, म गर्दै छु।'
'अनि सुन त, त्यो कँडेल जीको लोन पास गरेको हैन? अस्ति फाइल साइन गरे जस्तो लाग्छ। अझ स्वीकृत भएको छैन। मलाई फोन गरेर हैरान छ भन्या।'
'हैन सर। लगभग काम भइसक्यो। आज सबै पैसा उहाँको बैंक खातामा डिपोजिट हुन्छ सर।'
म्यानेजर रुमबाट बाहिर निस्कँदै थिए, कमला दिदीसँग झन्डै ठोकिइनँ। एक कप तातो चिया बनाइदिन उहाँलाई भनेँ।
मध्य दिउसो १२ बजेसम्म कम्प्युटरमा एकनास टाइपिङको आवाज आइरहन्छ; टक टक टक टकटक्क्क्… टक!
ढोका खुल्छ। कमला दिदी सोध्नुहुन्छ, 'म्याम, आज नास्ता भेज कि नन-भेज?'
'भेजमा के छ दिदी?'
'त्यही त हो सधैँको भेज मःम, आलु-चना, रोटी सब्जी।'
यसो कहिलेकाहीँ नयाँ पनि बनाउनु न दिदी भन्छु। दिदीको बनावटी हाँसो माथिबाट आदेश भए त बनाउँथे पनि भन्नुहुन्छ।
रोटी सब्जी ल्याउन भन्छु। साथमा चिया पनि।
टेबल नै थर्कने गरी फोन बज्छ। पेन बोकेको हातले नै फोनको स्क्रिन हेर्छु। ममीको न रहेछ, उठाउँछु।
ममी सधैँ झैँ बेला न कुबेला बिहेको कुरा झिक्नु हुन्छ। म उहाँलाई टार्न खोज्छु। समय आएपछि आफै सबै मिल्दै जान्छ भन्छु। उहाँ ढिला हुनेमा चिन्ता गर्नुहुन्छ। न केही ढिला नभएको बताउँदै बिहे मैले गर्ने हो नि अरूलाई किन चासो के भनेर झर्किन्छु।
ममी बुवाको कुरा निकालेर ब्ल्याकमेल गर्न खोज्नु हुन्छ। म अफिसमा धेरै काम भएकाले भरे फोन गर्छु भन्दै फोन काटेँ।
दिमाग खराब! ममीको बिहेको किचकिचबाट पनि कहिले छुटकारा नपाउने भएँ। एउटा बाँकी भएको सन्तान पनि बिहे गरेर लखेट्न कति हतार!
रिस जति सबै कम्प्युटरको किबोर्डमा पोखिए जस्तो चलाउँछु।
कति चाहिएको मान्छेहरूलाई बैंकको ऋण पनि! दिक्क लाग्ने फाइल हेर्दा पनि। तिर्नै नपर्ने जस्तो ताती छ फाइलको।
ढोका खुल्छ। फेरि अर्को फाइल थपिन्छ। फाइलको चाङ घट्ने नाम नै छैन।
'वर्षा म्याम रेडी हो? फिल्डमा जाने टाइम भयो।'
'ए ल ल, म निस्किहालेँ सुजन सर।'
'माथेमा सर तल कुर्दै हुनुहुन्छ। छिटो झर्नुस् है। फेरि बुढाको मुड बिग्रियो भने...'
दुवै खुलेर हाँस्छौँ एक छिन।
'ल सुजनजी, आज वर्षा र म फिल्ड भिजिट गरेर उतैबाट बिदा हुन्छौँ। आएको इमेलहरू सबै चेक गर्नुस् है। अनि रिप्लाई पनि। त्यो तल इन्टर्नसिपको लागि आएका दुई जना नयाँ बहिनीहरूलाई अकाउन्ट ओपनिङ र क्लोज गर्न चाहिने सबै डकुमेन्ट र प्रोसेस कम्पिल्ट हुने गरी सिकाउनुस् है। अनि न्यु कस्टुमरसँग कसरी डिल गर्ने त्यो पनि। भोलिबाट उनीहरूले नै फ्रन्ट टोटल ह्यान्डल गर्न सक्ने हुनुपर्छ। अरू कुरा जान्दिनँ म। केही कम्प्लेन सुन्न चाहन्नँ।'
फिल्डमा जान निस्किन्छौँ। पहिला कपन साइड जाने त्यताको भ्याइयो भने आज नै गोकर्णको अर्को साइट पनि भिजिट गर्ने कुरा हुन्छ।
***
थकित शरीर सिँढी चढ्न पनि गाह्रो मान्छ। ४ तला माथि पुग्नु छर। उफ्! यो कामको थकान भन्दै उक्लिन्छु।
'आयौ नानी?' भन्दै घरबेटीमा सोध्नुहुन्छ।
हजुर बुवा भन्छु।
पानी आज २ भाडा थाप्दिएको बताउँदै फूललाई पनि हाल्देऊ है भन्नुहुन्छ। म हस् भन्छु।
'भोलि छुट्टी छ, जाँगर चल्यो भने गोडमेल पनि गर्दिउँला।'
'दुःख नगर बा। पानी मात्र हाल्देऊ, गोडमेल मै गरुँला। दिनभरि मेरो पनि के नै काम छ र!'
यL बा र मेरो बुवा हजुरमा कति फरक छ। मेरा हठी बुवा। कसैलाई मन पर्दैन। सधैँ सबैलाई बसी बसी यसो गर उसो गर भन्ने। यो भएन त्यो भएन। कसैले चित्त बुझाउन नसक्ने। बुवा हजुरको अघि मामु झन् भिजेको मुसा जस्तो। कहिले त लाग्छ मेरै मामु हो र! बुवा दम रोगी होइसिन्छ। अलि जोडले बोले फुत्रुक्कै जाने जस्तो तर पनि बोलीको रवाफ आज पनि उस्तै छ।
अनि यी घरबेटी बा। आमैलाई ढलेको लोटा पनि उठाउन दिँदैनन्। कति प्रेम र सम्मान छ दुई बिच।
मेरा बुवा र मामुबिच सम्झौता जस्तो सम्बन्ध। हस्, हुन्छ भन्दा अरू खासै वार्तालाप सुनेको छैन। कहिलेकाहीँ त अचम्म लाग्छ, हामी तीन जना कसरी जन्मियौँ? घरभित्र खासै नबोल्ने मेरो ममी बाहिर समाजमा फेरि अर्कै व्यक्तित्व छ। सहयोगी, मित्र भाव, पैसादेखि ऐँचो पैँचो सबै चलाइसिन्छ। घर छरछिमेक इष्टमित्र सबैको प्यारो।
आज बाहिर सरसँग भोजन गरेर आइयो। फिल्डमा जाँदाको यही एउटा फाइदा छ। कामबाट आएर केही पकाउनु परेन। आज पानी घरबेटी बाले भरेर राखेकोले फ्रेस हुन पाएँ आउने बित्तिकै।
एक कप कफीसँगै सिगरेट लिँदै बाहिर कौसीमा बसेँ।
साँझ परेपछि घरबेटी बा कहिले माथि उक्लिँदैनन्।
झमक्कै साँझ परिसकेछ। धुवाँ उडाउँदै माथि-माथि आकाशतिर फाल्छु। सुक्क तातो कफी पिउँछु। काठमाडौँ उपत्यका नियाल्छु। दिनमा भन्दा राति केही सुन्दर लाग्छ। ताराहरूको चादर धर्तीमा बिछ्याए झैँ। पर आकाशमा पिल-पिल गर्दै उड्दै छ हवाईजहाज। मभन्दा ठुला-ठुला सपना बोकेर सँगैका कैयौँ युवाहरू उडान भर्दै छन् हरेक दिन। तिनका जस्तै मेरा पनि सपना थिए कुनै दिन, लामो उडान भर्ने।
दिउँसो फोनमा आएको ममीको आवाज गुन्जिरहेछ कानमा- 'हिजो पल्ला घरको श्याम काकाले तेरो लागि केटाको कुरा ल्याइसेको थियो। केटो खाइलाग्दो छ। परिवार नै लन्डन बस्छन् रे। तँ जतिकै पढेलेखेको छ। अब त २७ पुग्छस्। अब त हुन्छ भन्। अझ पनि बिहे नगर्, बुढी कन्या भएर बस् सधैँका लागि। तेरो बुवा जहिले छोरी तैँले बिगारिस् भनिसिन्छ। म कति सुन्नु सहेर बस्नु। अब त नाइँ नभन् छोरी। कम से कम मेरो वचन राख्नै भए नि बिहे गर्दे न। शिशिरले बिहे गरेको पनि २ वर्ष भइसक्यो। कि त्यसैलाई सम्झिँदै छस् अझ पनि।'
शिशिर!
आत्था! चुस्स पोल्छ हातमा सिगरेटको ठुटाले।
२ वर्ष भएछ सिगरेटको लत लागेको पनि।
कप, सिगरेट, कुर्सी, सबै एक्लै भए अब।
घत्रक्क ज्यान बिस्तरामा फाल्छु। बिस्तारै आँखामा कालो बादल छाउँछ।
घोडा हिनहिनाउँछ
हि ऽ हि हि हि ~
राराको निलो पानी
पानीमा वेगले कुदिरहेछ दुई घोडाको छाया।
मन्द मुस्कानसँगै मिठो हाँसोको गुञ्जन।
घोडाको वेगसँगै उडिरहेका ती सुनकेशरी केश।
उसका ठुला आँखा।
आँखाको तालमा नाचिरहेको म।
टक टक टक
घत्रक्क धतरक्क
टक टक टक टक
हिऽ हिऽ हिऽ