गत शनिबार साउन १९ गते साथीहरूसँग भेटघाटमा रमाउने उद्देश्यले करिब १२:१५ बजे म मैतीदेवीस्थित निवासबाट चोभारस्थित मञ्जुश्री पार्कतर्फ आफ्नो मोटरसाइकलमा सवार गर्दै हानिएँ।
मेरा मित्रहरू विनय र शम्भु पनि केहीबेरमै आइपुगे। एकछिनको भेटघाटमा आज त हल्का बियर पिउनुपर्छ है केटा हो! भन्ने मनसाय रह्यो अनि कीर्तिपुर निवासी मित्र शम्भुले 'होइन मेरो घरमा राम्रो घरमै बनाएको मदिरा छ त्यही पिउँला' भने।
साथीसँगै म पनि उनलाई साथ दिँदै उनको घरतर्फ लाग्यौं तर मेरा अर्का प्रिय मित्र विनय भने हामीलाई त्यहीँ कुरेर बसे। केहीबेरमै हामी आइपुग्यौं। अनि कता जाने अलि प्रकृतिमा रमाउने हामी सबैको स्वभाव - नभन्दै हामी खोकनास्थित सिकाली मन्दिर परिसर पुग्नुअगावै पसलहरूमा पेयपदार्थ लगायत खानेकुराहरू जोहो गर्न लाग्यौं जहाँ एक मासु पसल भेट्यौं। त्यही करिब पुग-अपुग १ किलो ब्रोइलर कुखुराको मासु किनेर एक सानो खाजाघरमा पकाउन दिने निर्णय गर्यौं। अनि त्यही बसेर बियर पिउन थाल्यौं।
धेरै दिनपछि भेटेका हामी तीनै जना मिलनसार मित्रहरू निकै गफ, रमाइलो गर्दै थियौं। खाजाघर मालिक दाइ राई समुदायको निकै फरासिलो र ठट्यौलो स्वभावको हुनुहुँदो रहेछ। त्यहाँ हाम्रो खाजा प्याक गरी हामी गन्तव्यतर्फ सोझियौं। सिकाली मन्दिर परिसर सुन्दर घाँसे मैदान रहेछ।
शनिबारको दिन थुप्रै युवायुवती पनि त्यही रमाइलो गर्न आएका रहेछन्।
हामी पनि निकै रमाउँदै थियौं एकआपसमा गफ गरेर। समय बितेको पत्तो नै भएन। हामी निकै मातिसकेका रहेछौं। मेरा मित्र विनयले 'होइन यतिका दिनमा भेट भएको छ केही बियर त अझै थपौं' भन्दै स्वयं गएर ल्याए।
म भने निकै मातिएर घाँसमा लतपतिँदै सम्भुसँग गफिएको रहेछु। निकै मातिएर लठ्ठ परेका हामी साँझ परेको पत्तै भएन। विनयले मलाई हामी कलेजमा सँगै पढ्दा देखिनै 'भान्जा' नामले बोलाउँछन्। म त निकै नसामा लठ्ठिएको रहेछु।
एक्कासि 'भान्जा अब घर जाने होइन? रात परिसक्यो!' भनेपछि बल्ल म झस्किएँ अनि घर फर्किन लाग्यौं। घरबाट धेरै पटक फोन गरेकी रहिछन् श्रीमतीले मलाई केही पत्तो भएन।
बल्ल बल्ल हल्लिँदै पार्किंङमा आफ्ना साधन लिँदै घरतर्फ बाटो सोझाइयो। फर्कने क्रममा बाटो केही समय पक्की नभएकोले गाह्रो भइरहेको थियो।
बाटोमा मेरो बाइक ढल्कियो तर जसोतसो ठड्याए आखिर नखरा कामको परिणाम न हो.... । खोकना बजार आइपुग्ने बेला उकालो सकिने बित्तिकै चौपारिनेर ट्राफिक प्रहरीहरू तैनाथ रहेछन्।
मेरा साथीहरू प्रहरीलाई छक्याएर भाग्न भ्याए तर म भने सकिनँ, प्रयास पनि गरिनँ। ड्युटीमा खटिएका उपत्यका ट्राफिक प्रहरीका एक अधिकारीले मलाई हेर्दै, 'सर कहाँ जान लाग्नुभएको? मापसे गर्नु भएको छ?' भनी सोध्न के भ्याएका थिए मेरो पारा देखेर थाहा पाइहाले अनि मेरो मुखमा एउटा यन्त्र तेर्स्याए। आफ्नो जिब्रो टोक्दै 'आमाम्..मा...मा ! पूरा १००% मापसे, लौ लाइसेन्स निकाल्नुस् त सर' भने।
मैले पनि खुरूक्क निकालेर आफ्नो चालक अनुमतिपत्र दिएँ। अनि मेरो मोटरसाइकलको चाबी पनि लिइयो। 'तपाईं आज ड्राइभ गरेर घर जान पाउनुहुन्न र सक्नुहुन्न सर, तपाईंको कण्डिसन राम्रो छैन। कि त आफ्नो फ्रेस मान्छे बोलाउनुस् नत्र पठाओमा जानुहोस् अनि मोटरसाइकल लिन भोलि नख्खु आउनुहोला। तपाईं यस्तो हालतमा जानुभयो भने दुर्घटना हुन सक्छ। बाटोमा अरू पनि चेकिङ छ। झन् तपाईं झमेलामा पर्नुहुन्छ।' भनेर मेरो हातमा मापसे कारबाहीको चिट थमाइदिए।
'मैले मिल्छ भने जान दिनुहोस्,' भनेँ तर प्रहरी जवानले फेरि सचेत गराउँदै भने, 'मिल्दैन सर, तपाईंलाई निकै लागिरहेको छ।'
आफ्नो हालत खराब थियो अनि 'हस्....!' भनेँ। पठाओ बुक गर्नै सकिनँ मेरो मोबाइलको डाटाले खासै काम गरेन र तिनै प्रहरी अधिकारीले एक चालकलाई आग्रह गरेर व्यवस्था मिलाइदिए। अनि प्रहरीलाई 'भोलि म आउँछु, धन्यवाद!' भन्दै म पठाओमा आफ्नो निवास वनस्थलीतर्फ लागे।
बाटोमा पठाओका चालकसँग गफ गर्दै बाटोमा समय बितेको पत्तो नै भएन र सुरक्षित घर पुराइदिए।
'मौका मिले फेरि भेटौंला, तपाईं मान्छे चाहिँ सारै रमाइलो हुनुहुँदो रैछ,' भन्दै उनी आफ्नो बाटो लागे, म घर भित्रपट्टी लागेँ।
मेरो यस्तो हालत देखेर श्रीमतीले सोधिन्, 'खोई त मोटरसाइकल? मैले यसरी नखानु भनेकै थिएँ।'
'बाइक आज साथीको मै राखेको छु, भोलि लिएर आउने हो। यस्तो बेला कहाँ चलाउनु नि?,' भनेँ त्यसपछि भने उनी केही खुसी भइन्।
उनलाई लाग्दो हो 'मेरो बुढाले ठिकै गर्नु भएछ, रिस्क लिनुभन्दा बरू पठाओ मै आएर राम्रो गर्नु भो,' तर उनलाई के थाहा कस्तो परिस्थितिको सामना गरेर आएकी थिएँ मैले!
'एकदिन सत्य ओकल्छु ,ढिलो चाँडो' मनमनै भन्दै म आफ्नो बेडतर्फ लागेँ। रातको २/३ बजेतिर मलाई अलि गाह्रो अनि उकुसमुकुस भयो। बाथरूम गएपछि बान्ता नै भयो। केहीबेरपछि केही हल्का महसुस त भयो तर भन-भन रिँगटा लागिरहेको थियो। केहीबेरपछि सुत्न सकेँ। बिहान उठ्ने बेला निकै कमजोर महसुस भयो सायद खानपान नमिलेकोले र ह्याङले गाह्रो भएको थियो। अरू दिनभन्दा केही ढिलो आफ्नो कर्म तर्फ निस्केँ। बिस्तारै खाना, फलफूल खाँदै गर्दा केही हल्का महसुस भयो। करिब दिउँसो ३:०० बजेपछि इन्ड्राइभमार्फत् भैंसेपाटीस्थित ट्राफिक प्रहरी कार्यालय पुगी त्यहाँ रहेका प्रहरी, जो हिजो ड्युटीमा खटिएका थिए, उनलाई फेरि धन्यवाद दिँदै मोटरसाइकल लिई घर फर्कें। तर मनमनै नेपाल उपत्यका ट्राफिक प्रहरीलाई उहाँहरूले गरेको मित्रवत र अभिभावकीय व्यवहारप्रति म आभारी छु, धन्यवाद अहिले पनि मन- मनै दिइरहेको छु।
सम्भवतः सम्भावित गम्भीर दुर्घटनाबाट बचाइएको भान भइरहेको छ। कारबाही स्वरूप रु. ५०० /- जरिवाना गरिएको रहेछ। उक्त रकम दाखिला गरी सचेतना कक्षा 'उपत्यका ट्राफिक प्रधान कार्यालय', सिंहदरबारमा लिएँ अनि चालक अनुमति पत्र लिन सातदोबाटोस्थित 'ट्राफिक प्रहरी कार्यालय' मा गएर लिएँ। आइन्दा मापसे लागि ड्राइभ गर्ने मेरो यो गल्ती पहिलो र अन्तिम बनाउने प्रण गर्छु।
मापसे गरी सवारी कहिल्यै नचलाऔं। सम्भावित दुर्घटनाबाट आफू बचौं र अरूलाई पनि बचाऔं।
(यो कथा काल्पनिक हो, धेरै जनाको वास्तविक जीवनसँग मेल खाना सक्छ जुन संयोग हो।)