प्रतिक बिहानै उठेर आफ्ना हातका रेखाहरू आँखालाई दर्शन गराउँदै मनमनै भन्छ, 'उठ्नासाथ अनुहारलाई आफ्नै हातको दर्शन गराउनुपर्छ।'
आशा बोकेका अनि सपना देखेका मानिसहरू अक्सर भाग्यभन्दा संस्कार र कर्ममा विश्वास गर्छन्।
रातभरि परेको पानीले घरको खपडालाई थिलो पारेको थियो। खपडाका बिचको खोल्सो रसाएर मझेरीभरि पानीको ताल बन्यो। प्रतिककी आमा गाग्रोमा सानो पतिलाले पानी भर्दै बाहिर मिल्काउँदै थिइन्। ढोकाको बिचमा गुमुक्क परेको बिरालो आङको रौँ ठाडो बनाउँदै दैलोबाट निस्कियो।
'भाग, साइतको बेला यो बिरालो के दैलोमा देखिन परेको हो फेरि!'
'मनमा कर्मप्रतिको लगाव हुनुपर्छ, यो बिरालोले बाटो काटेर केही फरक पर्दैन आमा। यो मानिसको मानसिकता हो, राम्रो माने राम्रै हुन्छ।'
'भो, भो... आजकालकासँग बोलेर कहाँ सकिन्छ र? ल आइज यता निधारको कपाल माथि गर्।'
निधारको टीकाले कपाल लतपतिन्छ।
'कपाल काट्नुपर्ने भा’रैछ। आजकलका केटाकेटी कपाल लामो पाल्ने, दारी पाल्ने, सटको टाँक खोलेर छातीका रौँ देखाउँदै हिँड्ने, कपडा पनि च्यातिएका लगाउन मन पराउने। खै, के ठानेका हुन्, अचम्म लाग्छ मलाई त।'
'त्यसो होइन नि आमै, हिजो कपाल काट्न गएको थिएँ। सैलुनमा महँगो लागेर फर्केर आएँ। माथि वीरे दाइलाई काट्दिनु भने’थेँ उहाँलाई फुर्सद नै रहेनछ। भोलि काठमाडौँ जाने रे, दुई/चार दिनपछि कतारको लागि फ्लाइट छ भन्दै हुनुहुन्थ्यो। अरूका रहर होलान् मेरा त बाध्यता हुन्, यी च्यातिएको, फाटेका लगाउने। अब केही वर्ष पर्ख न, म पनि माथि वीरे दाइले जस्तै कतार गएर पैसा कमाउँछु अनि यी खपेटा फेरेर घरमा ढलान गर्छु। अबको दुई/चार वर्षपछि गोबरले लिप्ने यो मझेरीमा मार्बलमाथि पोचा लगाउँछ्यौ आमा तिमीले। तिम्रो घाँटीमा झुन्डिएको मैलो कण्ठीको ठाउँमा सुनको सिक्री हुन्छ। अहिले त ढोकामा लगाउने चुकुल पनि छैन। भोलि ऊ त्यो घर परबाट गारो लगाएर गेटमै चाबी लगाइदिन्छु।'
प्रतीक बोल्दै थियो। आमाका आँखाबाट तप्-तप् आँसु खसिरहेका थिए। ऊ एकातिर फर्केर आमाको हातमा भएको जेब्रा झोला बोकेर पाइला अघि बढाउँछ।
झन्डै आधा घण्टा हिँडेपछि प्रतीक हाइवेमा आइपुग्यो। चितवनदेखि काठमाडौँसम्मको यात्रा थियो, त्यो पनि अझ बर्खा यामको। गाडीभरि यात्रुहरूको ठेलमठेलको कारणले खुट्टा राखिनसक्नु थियो। काठमाडौँसम्म कसरी पुग्ने यही चिन्ताले प्रतिकलाई पिरोल्न थाल्यो। गाडी चढ्नासाथ चिनजानका कोही छन् कि भनी उसले एक पटक नजरलाई चारैतिर फिँजायो। त्यो भीडमा नयाँ अनुहार बाहेक चिने जानेका कोही थिएनन्।
सबैका आँखाभरि सपना थिए, मनभरि वेदना अनि ती वेदनामा सबैको आ–आफ्नो भोगाइ र भोगाइले जन्माएका तिता मिठा कथा अनि कथाभित्र व्यथा। कुदिरहेको गाडीले कैयौँ परिवारका सपना बोकिरहेको थियो।
अचानक गाडी रोकिन्छ। ड्राइभरले फोन उठाउँछ। मुग्लिनमा निकै ठुलो पहिरो गएको रहेछ। थाहा थिएन बाटो कति बेला खुल्ने हो? लामो घ्यारघ्यारपछि गाडी आफ्नो साइड च्यापेर बस्यो। सबै यात्रुहरू चलबलाउन थाले। मौसम आफ्नै ड्युटीमा मस्त अनि व्यस्त थियो। प्रकृति, दैव र ईश्वरका अगाडि हामी सामान्य मानिसको शक्ति र स्तुतिले के नै गर्न सक्थ्यो र? प्रतिकले भगवान् भरोसामा विश्वास र प्रार्थनाले झोली भरेको थियो। गाडीमा सवार ती चिचिला नानीबाबुहरूको उकुसमुकुसमा आमाहरूको सास नै बन्द होला जस्तो भयो। न फकाएर मानेका थिए, न नचाएर। बाल हठ अगाडि भगवान् पनि झुक्न पर्दो रहेछ।
प्रतीक भर्खर मात्र ‘प्लस टु’ सकेर उच्च अध्ययनका लागि काठमाडौँ हिँडेको थियो। सानैमा बुबाको मृत्यु भएपछि गाउँकै विद्यालयमा आमाले जसोतसो अक्षर चिनाएकी थिइन्। सानोतिनो जागिर गर्दै पढ्ने अनि अघि बढ्ने दृढ सङ्कल्पले उसलाई काठमाडौँ डोर्याएको थियो।
दायाँ गोजी छाम्यो, पानीकागजमा पोको परेको पैसा भेट्यो। भोक त निकै लागेको थियो। पटुकीको फेरमा बाँधेको पैसालाई आमाको धाँजा फाटेका हातले पानीकागजमा बेरेर उसको गोजीमा राखिदिएको दृश्य सिनेमाको रिलजस्तै घुम्न थाल्यो। त्यो पैसा खर्च गर्ने आँट उसमा भएन। मन उति बेलै गाँठो पारेर उही पोकोमा जतन गरी राख्यो।
अनिदोले सपना देखाएको मान्छे थियो ऊ, मनभरि आशा अनि आफ्नो कर्ममा भरोसा थियो उसलाई। जेब्रा झोलाको कुनापट्टि स्टिलको टिफिनमा आमाले बनाइदिएको मस्यौरा रहेछ। चिसै भए पनि कपाकप खायो। आधा बेलुकाको लागि साँचोमुचो गरी पुनः झोलामा राख्यो। जमाना फेरियो भन्छन्। तर केही व्यक्तिको जिन्दगी उस्तै छ, दुःख फेरिएको छैन। किताबका पानाले भन्दा जीवन भोगाइका पानाले धेरै व्यवहारिक र सहनशील बनाउँदो रहेछ।
प्रतीक झ्यालबाट पुलुक्क बाहिर हेर्छ। ड्राइभर फोनमै झुम्मिएको थियो। रातले आफ्नो राज गर्दै थियो। बाटो अझै खुलेको थिएन। घर फर्केर जाने अवस्था पनि रहेन।
'ल... आज यतै बास हुने भयो।'
बसभित्र कल्याङकुलुङको आवाज आउन थाल्यो। प्रतीक भने सुनेको नसुन्यै गरी गाडीमा बसिरहेको थियो।
'भाइ झर्ने होइन?' खलासीले हातको पैसा गोजीमा राख्दै भन्यो।
'झरेर कहाँ जानु यो मध्य रातमा?' प्रतिकले आँखामा आँसु टिलपिल पार्दै भन्यो
'यहीँ कतै होटेलमा बस्नु नि!'
प्रतीक अकमक्क पर्यो।
'होइन दाइ, म यहीँ गाडीमा सुत्छु। हुँदैन र?'
'हुँदैन भाइ यस्तो जिद्दी नगर। हिँड, सुत्ने व्यवस्था म मिलाउँछु।'
प्रतीक होटेलमा जान्छ। होटेलको बसाइँ उसको लागि पहिलो थियो। आमाले दिएको पचास रुपैयाँ खर्च गर्न पनि ऊ पचास पटक सोच्ने गर्थ्यो।
सहचालक दाइले खाना खुवाउँछन् अनि आफू सुत्ने कोठाको भुइँमा उसलाई सुत्ने व्यवस्था मिलाउँछन्।
यो अभाव भन्ने कुरा पनि अनौठो हुँदो रहेछ। चाहे धनको होस्, चाहे कसैको साथ र मायाको। यही अभावले जिउँदो छँदा छँदै बारम्बार मारिरहेको हुन्छ। कोठामा रातभरि लामखुट्टेले दोहोरी खेलिरहेको थियो उता प्रतिकको मनमा भने आफ्नै अभावको जिन्दगीले दिएको दबाब र पीडाले।
प्रतीक गोजीको टुकटुके फोन झिक्छ र छिमेकीलाई फोन गर्छ। 'काका! म बिच बाटोमै छु, काठमाडौँ पुगेको छैन। बाटो राम्रो छैन। जताततै पहिरो गएको छ। काका, आमालाई खबर गरिदिनुस् है।'
'हुन्छ नि बाबु, वीरे दाइ पनि बिच बाटोमै अड्किएको छ रे! भोलिसम्म पुग्छ कि? मिल्यो भने काठमाडौँमै भए पनि भेट है एक पटक। तँलाई भेट्न खोजेको थियो, हतार भएछ हिँडिहाल्नु पर्यो।'
'हस्, काका।'
ऊ ढुक्कको सास फेरेर निदाउँछ। बिहानै मानिसहरूको हल्लीखल्ली सुनिन्छ। ऊ जुरुक्क उठ्छ।
ऊ मनमनै सोच्छ- 'बाटो खुलेछ क्यारे, अब त हिँड्न पाइने भो।'
तर उसको खुसी एक पल पनि टिक्न सकेन। ऊ चढेको बसभन्दा करिब एक घण्टाअघि चितवनबाट काठमाडौँको लागि हिँडेको बस त्रिशुलीमा खसेछ।
ऊ झसङ्ग भयो। वीरे दाइको गाडी त परेन त्यो? उसको अड्कल वास्तविकतामै परिणत भइदियो।
हत्तपत्त गोजीबाट मोबाइल झिकेर काकालाई फोन गर्यो। दशौँ पटकमा बल्लतल्ल फोन उठ्यो। फोन कसैले उठाएको थियो।
वीरे दाइ सवार भएको गाडी दुर्घटना भएको रहेछ। वीरे दाइले कतारको दुई चार वर्षको कमाइले घर सजाएका थिए। बाँकी कमाइले बिहे गरी जिन्दगी सजाउने सपना लिएर हिँडेका वीरे दाइको सपना त्रिशुलीसँगै बगिरहेको छ।
मेरा सबै सपना पूरा होलान्, नहोलान् तर वीरे दाइलाई भोलि काठमाडौँमा भेटी कतारमा सँगै काम गर्ने मेरो योजना उनलाई सुनाउने सपना म नब्युँझिँदै चकनाचुर भएको रहेछ।