पुसको महिना, बिहान निकै चिसो थियो। घडीमा १२ बज्यो। आकाशमा टन्टलापुर घाम लाग्यो। म नुहाएर मोबाइलमा फेसबुक चलाउँदै घाम ताप्दै कुर्सीमा बसिरहेको थिएँ।
दुई दिन अघि एउटा अपरिचित केटीलाई मैले फेसबुकमा पठाएको रिक्वेस्ट एसेप्ट भएको नोटिफेकेसन आयो। उनको प्रोफाइल हेरेर फेसबुकमा रिक्वेस्ट पठाएको थिएँ। सुर्खेत बुलबुले उद्यानमा फूल समातेर खिचिएको तस्बिर थियो उनको प्रोफाइलमा।
लाग्यो उनी यही सुर्खेतमा बस्ने रहिछन्। रिक्वेस्ट एसेप्ट भए लगतै बोलौँ भनेर मैले ‘हेल्लो’ भन्दै म्यासेज गरेँ। म्यासेज गरेको केही सेकेन्डमै ‘हजुर’ भन्दै रिप्लाई आयो।
मैले 'के गर्दै छौ?' भन्दै यतादेखि प्रश्न गरेँ।
उनी मेरो उमेरदेखि कमै होलिन् भन्ने लागेर तिमी भन्दै च्याटमा निरन्तर दुई घण्टा बढी कुरा गरेँ। मैले घर कहाँ हो? के गर्छ्यौ? भनेर सबै कुरा सोधिसकेको थिएँ र उनले पनि। दुई घण्टाभन्दा बढी कुरा भएपछि मैले भिडिओ कल गर न भन्दै प्रस्ताव राखेँ। उनले ‘हस्’ भन्दै भिडिओ कल गरिन्।
म पत्रकार मान्छे, अन्य दिनमा कार्यक्रममा जानुपर्ने र त्यो बाहेक पनि अन्य कामहरूमा अलि व्यस्त नै हुने। त्यो दिन पनि कपडा धुने र नुहाउने भन्दै अफिसमा बिदा मागेको थिएँ। कोठामा धेरे कामहरू थियो। उनीसँग भिडिओ कलमा धेरै कुरा हुन सकेन। थोरै कुरा भएपछि मेरो आज अफिसमा बिदा छ तिम्रो समय छ भने भेटौँ न भनेँ।
उनले 'मेरो ४ बजे क्लास छ, हजुर ३ बजेतिर घण्टाघर निर आउनु भेटौँला' भन्दै कुरा गरिन्। मैले आउने बेलामा कल गर्न मेरो नम्बर पठाएँ। म कोठामा आफ्नै काममा व्यस्त थिएँ।
काममा व्यस्त भए पनि मनमनै कति बेला भेट्ने होला? पहिलो भेट हो, कुन कपडा लगाउने होला? भन्दै सोचिरहेको थिएँ। मोबाइलमा ३:१४ भएको थियो, उनले मलाई कल गरेर घण्टाघर अगाडि आउनुस् म आइसकेँ भनिन्।
मलाई मेरो कोठादेखि घण्टाघर जान करिब ७ मिनेट जति लाग्थ्यो। एक्लै जान अप्ठ्यारो लागेर साथीलाई लगेर जाने निर्णय गरेँ। मेरै गाउँको साथीलाई फोन गरेर सबै कुरा बताएँ। उसले नाइँ भन्नै सकेन, बरु जिस्काउँदै अनेक थरी कुरा गर्थ्यो। म साथीको रुममा गएर साथीलाई लिएर घण्टाघर अगाडि गएँ।
उनी त्यही आइसकेकी रहेछिन्। मुखमा मास्क लगाएको हुँदा मैले चिन्न सकिनँ। साथीले बरु उनी हुन् कि भन्दै उनलाई देखायो। मैले तिमी हो भन्दै सोधेँ। उनले 'अँ म हो' भनिन्। बाटोमा कुरा गर्न अप्ठ्यारो लाग्यो होला उनलाई, घण्टाघर भित्र जाऊँ भन्दै उनी अगाडि गइन्। मैलै पनि साथीलाई भनेर 'हुन्छ जाऊँ बरु छिट्टै निस्किन पर्छ ल, तिम्रो पनि क्लास छ मेरो पनि थारै काम छ' भनेँ।
घण्टाघर भित्र यताउति घुमेर अन्तिममा फोटा खिच्ने कुरा भयो। मैले साथीलाई उनको र मेरो फोटा खिच्न लगाएँ। सँगै उभिएर फोटो खिच्न मलाई अप्ठ्यारो लागेको थियो। साथीले जिस्काउँदै अलि नजिक भएर फोटा खिच्न सुझाव दिएको थियो। फोटो खिचेर हामी घण्टाघरदेखि निस्कियौँ। बाहिर निस्केर खाजा खाऊँ न भनेँ। उनले 'नाइँ मलाई अलि हतार छ, म क्लास जान्छु' भन्दै त्यहाँदेखि छुट्टिइन्।
मैले पछि म्यासेन्जरमा बोल ल भन्दै बाई गरेँ। त्यति बेला खिचिएको तस्बिर अहिले पनि मसँग सुरक्षित छ।
उनी क्लास गइन्, म र साथी उसको रुममा गयौँ। रुममा साथीले के-के भन्दै जिस्काइरहेको थियो, म भने उनको र मेरो फोटाहरू हेर्दै बसिरहेको थिएँ।
त्यस्तै निरन्तर एक हप्ताभन्दा बढी कुरा भयो। कहिले उनी मलाई म्यासेज गर्दै बोलाउँथिन् त कहिले मैले। कहिलेकाहीँ त 'तिमी कति ठुलो भएको, मैले मात्रै बोलाएपछि बोल्ने नत्र आफूले म्यासेज नै नगर्ने' भन्दै खुब रिसाएको नाटक गर्थिन्।
बोल्न मन मलाई पनि लाग्थ्यो तर अफिसको काममै अलि व्यस्त हुन्थेँ। प्रायः अफिसदेखि कोठामा गएपछि बेलुकीपख मात्रै च्याट र कल गर्थेँ। आफूले मनमनै उनलाई मन पराउन थालेको थिएँ तर म मन पराउँछु भन्न मात्रै सकेको थिइनँ।
शनिबारको दिन थियो, उनको क्लास बन्द। म त पत्रकार केको शनिबार, केको शुक्रबार! सधैँभरि अफिस गइरहनु पर्ने। अफिसमै भए पनि समय मिलाएर कुराकानी गरिरहन्थेँ। शनिबार दिउँसो २ बजेको समयमा अफिसमै बसेर उनलाई ‘म तिमीलाई मन पराउँछु, मेरो गर्लफ्रेन्ड बन्छ्यौ’ भन्दै म्यासेज पठाएँ।
उनले तत्कालै म्यासेज हेरिन् तर केही रिप्लाई दिइनन्। म रिप्लाईको प्रतीक्षामा बसिरहेको थिएँ। अरूको म्यासेज आउँदा पनि उनको रिप्लाई आयो कि भन्दै बेलाबेलामा मोबाइल हेरिरहन्थेँ। एक घण्टामा पनि म्यासेजको रिप्लाई आएन। मैले फेरि के भयो किन केही रिप्लाई नदिएको भन्दै म्यासेज गरेँ। उनले ‘हजुर’ मात्रै भनिन् अरू केही रिप्लाई दिइनन्।
उनले हजुर भन्दै गरेको म्यासेजको रिप्लाई नगरी मैले मोबाइलको वाइफाई बन्द गरेर अफिसकै काममा व्यस्त भएँ। उनले मलाई अफलाइन देखेपछि नम्बरमा कल गरेर अन आउनु न भनिन्।
म अन हुने बित्तिकै उनले म्यासेन्जरमा सोचेर जवाफ दिउँला भनेको म्यासेज देखेँ। मैले यतादेखि ‘ओके’ भनेर रिप्लाई दिएँ।
मलाई शङ्का लागिसकेको थियो, उनले पनि मलाई मन पराउँछिन् भनेर। उनले खुलस्त रूपमा जवाफ नदिए पनि बिस्तारै बिस्तारै कुराको मोडेल चेन्ज भइसकेको थियो। प्रायः म्यासेन्जरमै हाम्रो कुरा हुने गर्थ्यो। कुरा गर्दा गर्दै म्यासेन्जरमा मैले रिप्लाई ढिला दिँदा उनी रिसाउँथिन् त उनले रिप्लाई ढिला दिँदा म रिसाउने गर्थेँ।
यस्तै शङ्का गर्दै गर्दा फेसबुकको पासवर्ड साटासाट भयो। तर पनि किन-किन मनमा शङ्का उत्पन्न भइरहने गर्थ्यो। उनीसँग कहिले झगडा त कहिले ख्यालठट्टा कुरा भइरहन्थे। मैले उनलाई जिस्काउँदै अब हामीले छिट्टै बिहे गर्नुपर्छ ल भन्थेँ। उनले पनि हाँस्दै हस् भनेर जवाफ दिन्थिन्।
हाम्रो कुरा भएको मेरा घरपरिवार सबैलाई थाहा थियो। उनको भने परिवारलाई थाहा थिएन। तर उनका साथीहरू धेरैलाई थाहा थियो। मैले घरमा कुरा हुन्छ भनेर थाहा देऊ न भन्दा उनले नाइँ गाली गर्नुहुन्छ भन्दै पछि हट्थिन्। यसरी नै निरन्तर कुरा भइरहेको थियो। उनी मेरो रुमभन्दा करिब आधा घण्टा टाढा वीरेन्द्रनगरमै बस्थिन्।
उनीसँग गाउँकै एक जना साथी पनि थिइन्। साथीले गाली गर्छिन् भनेर राति धेरै अबेरसम्म बोल्न पनि नपाइने। म बोल्न भन्दै धेरै जबरजस्ती गर्थेँ। तर उनले नाइँ गाली गर्छिन् बरु साथी क्लास गएको बेलामा फोन गर्छु भन्दै आश्वासन दिन्थिन्। उनको साथी शुक्रबार भने आन्टीको कोठामा जाने र आइतबार बिहान मात्रै आउँथिन्। सायद भेट्न र धेरै कुरा गर्न पाइन्छ भनेर होला मलाई शुक्रबार कहिले आउँछ होला भन्ने लागिरहन्थ्यो। कुरा गर्दागर्दै हामी धेरै नजिक भइसकेका थियौँ।
एक दिन मैले उनलाई घुम्न जाऊँ भनेँ। उनले पनि हस् भनिन्। घुम्न जाने क्रममा बाटोमै मैले उनको मोबाइल मागेँ। उनले आफ्नो मोबाइल दिन इन्कार गरिन्। मोबाइल दिन इन्कार गरेपछि मलाई शङ्का लाग्यो, यो मोबाइलमा के छ र उनले दिन इन्कार गरिन्।
मैले जबरजस्ती उनको मोबाइल खोसेँ। मोबाइल खोसेर सुरुमै उनको ह्वाट्सएप खोलेँ। उनले मदेखि आफ्नो मोबाइल खोस्नलाई धेरै प्रयास गरिन तर सकिनन्। ह्वाट्सएप खोल्ने बित्तिकै उनको मुहार रातो पिरो भएको थियो। मलाई शङ्का लाग्यो, उनको मबाहेक अरूसँग पनि कुरा हुन्छ। ह्वाट्सएप खोल्ने बित्तिकै सुरुमै देखेँ एक जना केटाको म्यासेज।
नाम राखिएको थियो, माई एभ्रिथिङ। त्यो देख्न बित्तिकै उनीहरूको कुराहरू हेर्न मन लागिहाल्यो। हतार-हतार उनको मोबाइल लगेर म घुम्न छोडेर आफ्नो कोठामा गएँ।
उनीहरूका सबै च्याटहरू हेरेँ। गर्लफ्रेन्ड–ब्वाइफ्रेन्ड तरिकाले कुरा भएको रहेछ। केटाले मसँग लभ परेको पनि थाहा पाएको रहेछ। उसले च्याटमा लेखेको थियो- कुलेन्द्र तिम्रो ब्वाइफ्रेन्ड हो नि! उनले यताबाट जवाफ दिएकी थिइन्- ‘ऊ त मेरो साथी हो, म त हजुरलाई मन पराउँछु। छोड्नुहोस् उसको कुरा।'
उसको त्यो च्याट देखेपछि म छाँगाबाट खसेजस्तै भएँ।
उनले आफ्नो मोबाइल लिन अरू कसैको नम्बरबाट बारम्बार फोन गरिरहेकी थिइन्। मैले कोठामा आएर मोबाइल लिन आग्रह गरेँ। उनले आधा बाटोसम्म आउन भनिन्। मलाई जान मन त थिएन तर पनि उसको नजरमा म साथी भएको रहेछु, अब उसको मोबाइल मैले किन राख्नु भनेर मोबाइल दिन गएँ।
उनलाई मोबाइल हातमा दिँदै ‘ल धेरै-धरै धन्यवाद छ’ भनेर म आफ्नो बाटो लागेँ। उनले मलाई बारम्बार रोक्ने प्रयास गरिरहेकी थिइन्। तर उनको म्यासेजले नसुनेझैँ गरेर आफ्नो बाटो लाग्न बाध्य बनाएको थियो।
मनमा हजारौँ कुरा खेलिरहेका थिए। विगतमा गरेका कुरा र भेटहरू सम्झिँदै म कोठामा पुगेँ। मोबाइलको वाइफाई अन रहेछ। मोबाइलमा म्यासेज आएको घण्टी बज्यो। मोबाइल हेर्न मन थिएन तर पनि सुरुमा उनलाई भेट्न जाँदा लगेको गाउँकै साथीको म्यासेज आएको थियो। उसको म्यासेजको रिप्लाई दिनै मन लागेन। बरु उसको र मेरो म्यासेजमा भएका कुराहरू पढ्न मन लाग्यो।
म्यासेज हेर्दै जाँदा उनले हजुरलाई मन पराउँछु, माया गर्छु भन्दै मसँग क्या मिठो तरिकाले झुट बोलेकी रहेछिन्।
साँझ पर्दै थियो, मनमा सुरुको भेटदेखि अन्तिमसम्मका कुराहरू याद आइरहेका थिए। आँखामा आँसुको भेल बगिरहेको थियो। गीत सुन्न बाहेक अरू केही गर्ने मन लागेको थिएन। आस त थियो कतै उनले नम्बरमा फोन गर्छिन् कि भनेर। तर राति भइसक्दा पनि उनको एक कलसमेत आएन। तैपनि मन नलगाई नलगाई मोबाइलको हेरेँ। एउटा म्यासेज आएको थियो, 'हजुरले दिएको सिम फिर्ता लैजानू।'
अरूसँग बोल्छिन् भन्ने शङ्का लागेर उनको पुरानो सिम भाँचेर मैले नयाँ सिम दिएको थिएँ। सायद त्यही सिम लैजानु भनिन् होला। उनको त्यो म्यासेजको कुनै जवाफ दिनै मन लागेन।
'सिम त म ल्याउँछु, मसँग भएका तिम्रो यादहरू तिमी फिर्ता लैजाऊ न त' भनौँ कि सोचेँ। फेरि भयो उनलाई केही रिप्लाई नदिऊँ भन्दै वाइफाई बन्द गरेँ।
रातिको ८:३० बजेको थियो। खाना खान मन लागेको थिएन, घरबेटी दिदीले खाना खान बोलाउनु भयो। 'मैले दिउँसो बजारमा साथीहरूसँग बसेर मःम खाएको दिदी, केही खान मन छैन हजुरहरू खानु' भन्दै जवाफ दिएँ।
बिचरा दिदीलाई के थाहा, भाइले मःम होइन केटीबाट धोका खाएको छ भनेर। दिदीहरू अर्को कोठामा खान खाँदै थिए, भाडा बजेको आवाज आइरहेको थियो। म भने मनमा भएभरका कुराहरू खेलाउँदै मोबाइल चलाइरहेको थिएँ।
मोबाइल चलाउँदै गर्दा म्यासेन्जरमा गएर उनीसँग बोलेको कुराहरू हेर्न मन लाग्यो। म्यासेन्जरमा सुरुमा हुनुपर्ने उनको नाम मेरा साथीहरूको म्यासेज आएर होला केही तल गएको थियो। मैले स्क्रोल गर्दै उनको नामलाई क्लिक गरेँ। तर लेखिएको थियो, ‘दिस पर्सन इज अनएभाइलेवल अन म्यासेन्जर।' त्यो देख्दा झनै मन भक्कानिएर रोयो। मनले उसैसँग बोल्न खोजिरहेको थियो।
धेरै प्रयास गरे पनि रोक्न सकिनँ र नम्बरमा फोन डायल गरेँ। मेरो नम्बर पनि उनले ब्ल्याक लिस्टमा राखिसकेकी रहेछन्। त्यसपछि उनलाई छुट्न मन रहेछ, खुसीले टाढा भइन्। जीवनभर सम्झिरहने याद छोडेर गइन् भन्दै मोबाइलमा भएका स्याड गीत सुनिरहेको थिएँ। गीत सुन्दा सुन्दै कति बेला निदाएछु थाहा पाएन। बिहान उठ्दा मोबाइल खाटबाट भुईँमा खसेको थियो।
त्यसपछि मैले बोलाउन छोडेँ, उनले बोल्न छोडिन्। हाम्रो सम्बन्ध सधैँका लागि सकियो। माया त अथाह छ अहिले पनि तर अब चाहेर पनि म बोल्ने छैन उनीसँग। बाटोमा हिँड्दै गर्दा कहिलेकाहीँ भेट हुन्छ। उनीले मलाई हेरिरहेकी हुन्छिन् र मैले उनलाई। तर हामी दुवै बोल्दैनौँ।
सुनेको छु अहिले पनि मैले दिएको सिम चलाइरहेकी छन् रे उनले! अँ, उनको अझै पनि उहीँ केटासँग कुरा हुन्छ रे। छिट्टै बिहे गर्ने तयारी छ रे! उसको साथीले भनेको मलाई। मैले पनि उसको साथीलाई भनेको छु, वैवाहिक जीवनको अग्रिम शुभकामना सुनाइदिनू ल। यदि यो मेरो प्रेम कथा पढ्दै छौ भने तिमीलाई वैवाहिक जीवनको शुभकामना छ ल।