भनिन्छ नि, पालो सबैको आउँछ। त्यसको लागि समयसँगै निरन्तर चल्नुपर्छ।
समय बित्दै जाँदा आउने हरेक बाँधा अप्ठ्यारापछि आउने समय नै आफ्नो हुन्छ। किन-किन आज मलाई यस्तै भान भएको छ। सधैँभन्दा फरक महसुस भएको छ।
मान्छेको सोच विचार परिवर्तन गर्न एक पलले पनि कति फरक पार्छ भन्ने कुराको महसुस भएको छ। फेसबुक र स्टोरी हेराइमा आज फरक विचार आएको छ। भलै यो लत जस्तै भएको महसुस भए पनि आज भने मन खुसी र आनन्दित दुवै छ।
त्यो उसको स्टोरीमा राखेको व्यक्ति बाल्यकालको साथी थियो। उनीहरू एकै कक्षामा पढ्थे। उसले अपलोड गरेको ऊ र उसको बुवासँगको भिडिओ कल गरेको तस्बिरले मेरो मनमा कल्पनाको हावाहुरी चलेको छ।
मलाई दुःख लागेर आउँछ त्यो समाज र त्यहाँका मानिसहरूप्रति जो सदैव आफैलाई ठुला र महान् सम्झिरहन्छन्। उसको जीवनस्तर त्यहाँका अरू मानिसको तुलनामा निकै जीर्ण थियो। उसको बुवा ऊसहित अरू ४/५ जना सन्तानको पेट पाल्न ज्याला मजदुरी गर्नुहुन्थ्यो। उसको आमा पनि त्यस्तै एक छाक खानाका लागी घर–घरमा अनेक सहयोग तथा विभिन्न कामहरू गर्थिन्।
कस्तो अचम्मको छ नि हाम्रो समाज! मानिस मानिसबिच पनि यति धेरै भिन्नता, त्यही पनि एउटै गाउँमा। अहिले सम्झँदा मात्रै पनि कस्तो नराम्रो महसुस हुन्छ। यसमा दोष कसको? ती हाम्रा पुर्खा जसले परिवर्तन चाहेनन् वा ती हाम्रा अग्रजहरू जसले आफ्नो फाइदाका लागि मान्छेलाई पनि पशु सरह व्यवहार गरे? कि दोष हाम्रो पनि जो परिवर्तनको नारा लगाए पनि परिवर्तनको संवाहक बन्न सकेनौँ?
कस्तो अचम्म! यति सानो गाउँमा त दुई वटा समाज छ भने सोच्नुहोस् त यो देश तथा दुनियाँमा कति समाज होला?
उनीहरूको दिनचर्या त्यसरी नै चलिरहेको थियो। उसको बुवा सधैँ जसो ज्याला मजदुरी गरेर परिवारलाई दुई छाकको जोहो गर्नुहुन्थ्यो। उसको घर तथा खेतबारी पनि सबैभन्दा तल बाँदर लाग्ने ठाउँमा थियो। त्यसैले उनीहरूले मिहिनेत गरेर लगाएको बालीनाली पनि सबै जङ्गली जनावरको सिकार हुन्थ्यो।
भनिन्छ नि 'दुखीलाई दुःखले कहिल्यै छोड्दैन, त्यो त छाया सरि ऊ जहाँ जान्छ त्यही जान्छ।' त्यस्तै थियो उनीहरूको पनि। शिक्षाको अभावका कारण परिवारको सङ्ख्या पनि धेरै थियो। त्यसैले जीवन निर्वाह गर्नै धौ–धौ भएको थियो। उसको घर पनि उनीहरू जस्तै दुखी थियो। सानो खरले छाएको घर जसमा बर्खा यामसँगै चुहिने छाना तथा सबै जना घरभित्र नअटाउने हुनाले बाहिर दलानमा समेत सुत्न बाध्य थिए।
उनीहरूको तुलनामा हाम्रो जीवनयापन निकै सुविधायुक्त थियो। बाहिर पिसाब फेर्न पनि डराएर मम्मीको सहायता लिने हामी, उनीहरू भने बाहिर नै सुत्ने गर्थे। कस्तो डर नलागेको! सम्झिँदा पनि मन झसङ्ग हुन्छ। त्यसमाथि वरिपरि अरू घरहरू पनि थिएनन्। एक्लो ठाउँमा बाहिर सुत्दा पनि नडराएका।
मानिसलाई दुःख र अभावले नै पूर्ण मानिस बनाउँछ रे। त्यस्तै महसुस भएको छ। ऊ र म उमेरले उस्तै-उस्तै थियौँ। कक्षामा पनि सँगसँगै पढ्थ्यौँ। ऊसँग धेरै सङ्गत र घुमफिर गर्ने मौका नपाए पनि कक्षामा भने सँगै हुन्थ्यौँ। सधैँ ढिला आउनु र सरको पिटाइ खानु उसको लागि सामान्य जस्तै थियो। त्यसमा उसले लगाएका लुगा र त्यसबाट आउने दुर्गन्धले भने सबै कक्षालाई हाँसोको माहौल बनाउँथ्यो। त्यतिखेर अनजानमा हाँसे पनि अहिले भने ग्लानि महसुस हुन्छ।
उसको के दोष? ऊ त निर्दोष छ। अहिले सम्झँदा मलाई ती शिक्षकहरूप्रति दया लागेर आउँछ। जो शिक्षाको माध्यमबाट परिवर्तनको संवाहक बन्नुपर्थ्यो, उनीहरू नै त्यसबाट पछि हटे। ऊ कमजोर थियो, शारीरिक रूपमा होइन कि मानसिक रूपमा।
उसलाई हामीलाई जस्तो सुविधा कहाँ थियो र? ऊ बिहान उठेर काममा जानुपर्थ्यो। उसलाई हामीलाई जस्तो आमाको स्याहार कहाँ मिलेको थियो र? तर आमाको स्नेह र माया भने थियो। त्यसैले त ऊ समाजमा हिँड्न सकेको थियो। आफूमाथि भएको जातीय विभेदमा पनि जिउन सिकेको थियो।
ऊ र म एउटै कक्षामा पढे पनि ऊ कति कक्षासम्म पढ्यो, त्यो भने मलाई हेक्का छैन। तर ऊ पक्कै ४/५ कक्षासम्म चाहिँ पढेको हो। त्यसपछि ऊ बाध्यताले परिवारको खुसी साट्न र आफ्नो जीवनस्तर उकास्न मुगलान पस्यो भने म आफ्नो भविष्य बनाउनतिर। त्यसपछि आजसम्म लगभग १५/१६ वर्ष बितेछ।
कस्तो अचम्म! समय चलिरहेछ घडीको सुइसँग र यादहरू पनि मिसिरहेछन् खोला सरि ती यादहरू र बन्न पुगेछन् समुद्र। त्यस्तै हुन्छ मानिसका बितेका पलहरू, चल्नु नै छ समयसँग, हुनु नै छ अनेक तिता मिठा यादहरू। अतीत नभई वर्तमान कहाँ सम्भव छ र? त्यसैले अतीतको सदैव कदर गर्नुपर्छ र त्यसबाट सिकेको पाठले वर्तमान चलाउनु पर्छ। अनि मात्र बन्छ सुन्दर जीवन।
हो, यस्तै महसुस भएको छ मलाई। ऊ त्यसमा अडिग भएको महसुस भएको छ। ऊ आफ्ना लक्ष्य र उद्देश्यमा पुग्न सकेको भान भएको छ। उसले आज आफ्नो बुवाको च्यातिएको टोपी र ओठमा हाँसो ल्याउन सकेको छ। आमाको गुन्यू चोली र घरको छानो फेर्न सक्ने भएको छ। ऊ आफ्नो घरमा भएको अँध्यारो र दुःखलाई केही हदसम्म कम गर्न सफल भएको छ।
आखिर सबैले गर्न खोजेको त्यही होइन? मैले पनि त आखिर चाहेको त्यही हो। सायद समस्या फरक हुन सक्छ तर गर्नु पर्ने त एउटै हो नि। आज मलाई ऊ सफल भएको महसुस भएको छ भलै उसले के सोच्छ भन्ने कुरा भने मलाई थाहा भएन तर ऊ मेरो नजरमा सफल छ।
आखिर सफल हुनु भनेको अरू मान्छेको प्रशंसा पाउनु होइन, समाज यसलाई त सफल भएको मान्छ नि। ऊ आफ्नो लक्ष्यको नजिक पुगेको छ। आखिर सबैको उद्देश्य एउटै होइन, असल मान्छे बन्ने। त्यसमा त्यो केही हदसम्म सफल भएको छ। आखिर मेरो लक्ष्य पनि त्यही हो भने भेदभाव किन?
बाटा अनेक भए पनि गन्तव्य एउटै भएपछि आखिर फरक के नै पर्छ र? हो, उसले मैले जस्तो बाटो हिँड्न सकेन वा अरूको जस्तो सजिलो बाटाहरूमा हिँड्न उसलाई भाग्यले दिएन। तर ऊ आफू हिँडेको बाटोबाट गन्तव्यमा पुग्छ भने ऊ र हामीमा फरक के? अनि भेदभाव किन?