शनिबारको दिन। अफिस जानु थिएन। बाहिर पनि खासै हिँड्न मन लागेन। खाना खाएपछि टिभी खोलेँ। त्यसैमा एकोहोरो भएछु।
किताब पढ्छु, मोबाइल हेर्छु। दुनियाँ अर्कै छ। अन्तरिक्षमा बस्ती बसाउने युगमा विश्व प्रवेश गरेको छ। एआईले धेरै काम गर्न लागेको छ। प्रविधिले व्यापक फड्को मारेको छ। तर मेरो देशको पश्चिम उत्तर भागमा अझै 'छाउ' बार्नु पर्छ। त्यो पनि कडाइका साथ।
'आमा म स्कुल जान्छु, जान्न छाउगोठ,' एक अबोध १२ वर्षे बालिकाको अनुरोध र माग हो यो।
'छाउगोठ एक्लै छ। त्यो टाढा छ। राति डर लाग्छ। बत्ती छैन। अँध्यारो छ। लामखुट्टेले टोक्छ। सर्प आउँछ। रातभर एक्लै बस्न सक्दिनँ। दिशा पिसाब लाग्दा के गर्नु? जान्नँ आमा। स्कुलको पढाइ छुट्छ। पढाइ छुटे फेल हुन्छु।'
अनेक बिलौना गर्छे एउटा केटी।
'परापूर्व कालदेखि चलेको चलन हो। बार्नै पर्छ। जानै पर्छ, जा छाउघर। खाना ल्याउँछु म' भन्दै बाध्य बनाइन् आमाले।
उनको अनुनय विनयलाई आमाले अस्वीकार गरेपछि रुँदै गई छाउगोठ। डराउँदै डराउँदै गई। त्यो अनकन्टार र निर्जन ठाउँमा! साँझ पर्नै लाग्दा झ्याउँकिरी बास्यो। झ्याउँकिरीको आवाजसँग झस्की ऊ। झम्के साँझमै बेस्सरी स्याल करायो नजिकै आएर। डराई। ढोका हेरी, खासै बलियो थिएन। बत्ती बाल्न बत्ती थिएन। सिङ्गो छाउघरमा एक्लै बसी ऊ।
मनमा अनेक कुरा खेले उसका। आफैसँग मनोवाद गरी उसले। छाउ नबार्दा रिसाउने कस्तो समाज हो? भगवान् किन रिसाउने होला छाउ नबार्दा? भगवानका पालामा आइमाई मान्छे थिएनन् कि क्या हो? देवीहरूले पनि छाउ बार्थे होला? कूल देवता किन रिसाउने होला? युरोप र अमेरिकाका महिलाहरूले पनि छाउ बार्छन् होला?
भाइले बाहेक अरू कसैले माया गर्दा रहेनछन् मलाई। मनमा त्यस्तै त्यस्तै कुरा खेलाई। भाइले दिदी छाउगोठ नजाओस् भनेको थियो रे। घरैमा बसे हुन्छ, केही हुन्न भन्थ्यो रे। आमाले दिनु भएन। आमा मान्दै मान्नु भएन। नत्र जान्न थिई रे ऊ।
कोठा अँध्यारो छ। झ्याल छैन। मनमा डर पाल्दै कलिलो उमेरकी केटी छाउगोठ बसी। राति हुन लाग्यो। चोर आए के गर्ने होला? भूत आयो भने के होला? मनमा त्यस्ता सोचहरूको बाढी आयो उसमा फेरि। बेचैन भई ऊ।
परिवारका पुरुष सदस्यलाई हेर्नु हुँदैन रे। कुरा गर्नु हुँदैन रे। के गरी बिताउने समय? परिवारका महिला सदस्यले ढोकाको छेउमा खाना ल्याएर छोडिदिन्थे। हेर्दैन थिए। बोलाउँदैन थिए। त्यही खाना खान्थी ऊ। नमिठो भए नि खान्थी। खानै पर्थ्यो अरू विकल्प थिएन।
बेला बेलामा पेट दुख्थ्यो उसको। उसलाई गाह्रो हुन्थ्यो। हेरविचार जरुरी भएको बेला झन् एक्लो घरमा... गुनासो जीवित भगवान् आमाले त सुन्नु भएन, ढुङ्गाको भगवानले के सुन्थे? कुरीति, कुसंस्कार र कुप्रथाहरू महिलामाथि थोपरिएका छन्। महिला सचेत हुनु पर्नेमा किन त्यस्तै कुसंस्कारको भर्याङ भएका होलान्? महिला सशक्तीकरण र मानवअधिकार खै? मेरी आमाले किन नबुझेको होला? मनमनै आमाप्रति आक्रोश र धिक्कार व्यक्त गरी।
मासिक धर्म हुनु अपराध हो र? आफैले आफैलाई प्रश्न गरी। अनि उत्तर आफैले दिई। यो त प्राकृतिक कुरा हो। यो नियमित प्रक्रिया हो। यो बेला छोरीहरूलाई दुखाइ हुन्छ। पीडा हुन्छ। एक्लो गोठमा राख्न नहुने नि। किन राखेका होलान्? अब भने विद्रोह गर्छु। स्कुलमा गए छि छाउ बार्ने चलन बारे साथीहरूसँग मिलेर 'छाउ अपराध होइन, प्राकृतिक प्रक्रिया हो' भन्दै छाउ विरुद्ध अभियान चलाउँछु। यो अन्याय हो, यो कुप्रथा हो भन्ने कुरा सोच्दै सुती ऊ। सोच्दा सोच्दै निदाई। सानी केटी न परी।
छाउगोठमा राति एउटा कालो सर्प छिर्यो। नटोके हुन्थ्यो। भगवान् पुकारेँ मैले। डराएँ। आङ सिरिङ्ग गर्यो। आँसु आए। केटी जोडले कराई। नभन्दै सर्पले डसेछ क्या रे। 'आइया मरी म' भनी। हिँड्नै नसक्ने गरी हात खुट्टा सुन्निए उसका। क्षण भरमा पूरै शरीर फुल्यो। त्यो एक्लो घरमा कसैले सुनेन उसको वेदना र आवाज। बेहोस भई। भुइँमै ढली उ। एक अबोध बालिकाले मृत्यु वरण गरिन्। नरमाइलो लाग्यो मलाई।
भोलिपल्ट आमाले खाना लिएर आइन्। छोरीलाई नबोलाई ढोकामा खाना छोडिन्। छोरीले उठेर खान्छे भन्ने लाग्यो होला। घर फर्किइन् र बेलुका फेरि खाना लिएर छाउगोठ आइन्। गोठको ढोका खोलिएको थिएन। खाना त्यत्तिकै ढोका बाहिर थियो। आमा कराइन्, झुमा झुमा भनेर।
आवाज आएन। गाउँमा गएर हल्लाखल्ला गरिन्। गाउँका मानिस जम्मा भए। ढोका खोली हेरे। भुइँमा ढलेकी थिई ऊ। शरीर निलो भएको थियो। सर्पले टोकेको अनुमान लगाए गाउँलेहरूले।
स्थानीय मानिस, राजनीतिक नेता-कार्यकर्ता जम्मा भए। नजिकको पुलिसलाई खबर गरे। पुलिस आए। पोस्टमार्टम गर्दा विषालु सर्पको विष शरीरमा भरिएको रिपोर्ट आयो। भद्र भलाद्मी कानेखुसी गर्न लागे, देउता रिसाए कि क्या हो? स्कुलका विद्यार्थी साथी आए। शिक्षकहरू आए। राजनीति कार्यकर्ता र गैरसरकारी संस्थाका कार्यकर्ताको भिड लाग्यो।
भिडबाट छाउगोठ भत्काउने अभियान चलाउनु पर्छ भन्न थाले। आजैबाट सुरु गरौँ, यो जरुरी छ भन्न थाले। उनीहरूले छाउगोठलाई मुख्य समस्या देखे। एक दुई वटा छाउगोठ भत्काए पनि रिसको झोकमा।
मृतककी आमा हिमाले 'स्कुल जान्छु, छाउगोठ जान्न' छोरीले भनेको झलझली सम्झिएर डाँको छोडेर रोइन्। छोरीको हत्यारा म हुँ म भनिन्। छाउगोठ मैले नपठाएको भए मर्दिन थिई छोरी भनेर मरेकी छोरीलाई अँगालो हालिन्।
एक जना शिक्षकले 'छाउगोठ भत्काउनु पर्दैन, घाँस-दाउरा-पराल राख्नु हुन्छ। मनको छाउगोठ भत्काउनुस्। दिमागमा रहेको विकार फाल्नुस्। कुसंस्कार र कुप्रथालाई मनबाट फाल्नुस्' भन्दै बेस्सरी कराए।
मानिसहरूले उनको कुरा नबुझे जस्तो लाग्यो। के भन्छन् यी मास्टर भनेर कानेखुसी गरे। परिवर्तनको भूमिका खेल्न नसकेकोमा पश्चात्ताप गरे ती शिक्षकले पनि। तर ढिला भइसकेको थियो।
विद्यार्थीको हुलमा आएको एउटा केटाको हाउभाउ अरूको भन्दा फरक थियो। बेला बेलामा डाँको छाडेर रुन्थ्यो।
'झुमा तिमीले किन छोडेर गयौ? स्कुलमा मिल्ने साथी अब कोही छैन, म के गरूँ? मैले तिमीलाई बचाउन सकिनँ। म दुखित छु' भनेको सुनेँ मैले। हेर्दाहेर्दै टिभीमा क्रमशः आयो।
वृत्तचित्र थियो वा सिरियल, भेउ पाइनँ मैले। तर पनि मलाई अवाक् बनायो। पश्चिम नेपालको अवस्था देखेर अचम्मित भएँ। राजधानी सहरमा बस्ने मजस्ता मनुवालाई साँच्चिकै यस्तो पनि छ र भन्ने लाग्यो।