थाहा छैन के लेख्दै छु! जस्ता देखिएका छन् अक्षर, साहसी बनेर लेख्दै छु। मेरा यी शब्दहरूले कसैलाई नदुखाउन्, आशा छ मेरा यी शब्दहरूले कसैलाई नरुवाउन्।
पखेटा लागेपछि भुईँ नबिर्सनु रे। पखेटा एकाएक काटिएर आफूबाट अलग हुँदा आफूले आफैलाई बिर्सिएको कसले देख्ने? मनभरि पीडाको भारी बोकेर तनमा नभएको जोस अनि उत्साह नभएको बेवारिसे शरीर कसलाई देखाउने? हातमा घडी नहुनेले पनि समयले दिएको तमाम चोटहरू महसुस त पक्कै गर्यो होला। हातै नहुने पनि जीवन कटाइरहेका छन्। खै गुनासो पनि कसलाई गर्ने? गुनासोको पनि गुनासो होला, कसले सुन्ने?
अनि बाँच्ने आशा जोगाउन नसकेर होला नि! सपनाका भारी बोक्ने जिउँदा आत्माहरू आर्यघाटमा जल्नुपर्ने। मुर्दाले जल्ने पालो पाएको छैन। कहीँ जिउँदो लास बनेको छ तर कसले हेर्ने? कोही हुनु अनि नहुनु कसैलाई फरक नपर्दो रहेछ, आफ्नै आफ्नो बन्न नसकेकाहरूले मलाई म बनाइदे भनी कसलाई भन्ने?
खैर! यहाँ बाचेका सबै छन् जिउँदा कोही छैनन्। यहाँ हाँसेका सबै देखिन्छन् तर खुसी भएका कोही होइनन्। आजसम्म जे गरेँ, त्यो मेरो कर्म थियो र अब जे गर्दै छु त्यो पनि एक कर्म नै हो। लाग्थ्यो म खास छु, त्यसैले त म खास बन्न हिँड्छु तर वास्तविकता फरक रहेछ। दुःख नदेख्ने कोही छैनन्। आँसु ननिल्ने आँखा कसैका छैनन्। कसैले ‘जीवन के हो?’ भनी प्रश्न गर्दा प्रतिउत्तर ‘खुसी हो? भनी जवाफ दिने मान्छे हुँ म, कति खेर हाँस्न अनि मुस्कुराउन बिर्सिसकेकी रहेछु थाहा नै पाएकी थिइनँ। तर अब समयसँगै यो मुस्कानले, यो हाँसोले मलाई अँगाल्दै छ।
सफलताको भोक, प्रेमको रहर, जिम्मेवारीको कहर अनि बाध्यताको डोरीमा मलाई अल्झिनु छैन। आफूलाई हारेर मलाई कहीँ पुग्नु छैन। न त कसैलाई हराउन नै चाहन्छु। यो ३० वर्ष जसरी बाँचेँ, मलाई त्यो अब बाँच्नु छैन। म हिँड्न चाहन्छु हारलाई अँगालेर, म बाँच्न चाहन्छु खाली पनलाई समातेर।
गल्ती दोहोराउँदिनँ त म भन्दिनँ तर अब आफ्नो मन दुखाउँदिनँ, यो बाचा गरेकी छु। मेरो महत्त्व नबुझ्नेलाई प्रेम गर्ने छैन। आँखा बन्द गरेर कसैलाई विश्वास गर्ने छैन। मलाई विकल्पमा राख्नेको लागि मरिहत्ते गर्नु छैन। किनकि मैले यो बुझिसकेँ कि, कसैले कसैलाई पनि प्रेम गर्नु भनेको आफूले आफैलाई दुःख दिने काम गर्नु हो। तपाईंहरूलाई तितो लाग्ला तर यो सत्य हो।
जो मबाट छुट्न चाहन्छन् मलाई मन्जुर छ। जे मबाट छुटे, त्यो मेरा लागि एकदमै खास छ र जे अब म गर्छु त्यो सबै मेरा पक्षमा रहने छन्। जसलाई म ऐनामा देख्दै छु, त्यो म होइन मेरो नयाँ स्वरूप हुनेछ। म अभ्यस्त जरुर बन्नेछु तर अब अचेत बन्ने छैन। अब कालो वस्त्र मेरो पहिरन हुने छैन। अन्धकार जीवन मेरो प्रिय हुने छैन। म रमाउने छु, नहाँसेका प्रहरहरूसँग। सुस्त–सुस्त सुस्केरा हाल्ने प्रकृतिको काखसँग। किनकि मैले सहन सिकिसकेँ। दुनियाँको भर अनि डर केही लाग्दैन आजकल। मैले आफूलाई पत्थर बनाइसकेँ।
मलाई अझ ताजै छ, मध्यरातसम्म ननिदाउँदा अनि पीडाले छटपटिँदा मैले आफ्नो आँसु आफैले पुछेकी छु। धेरै डर लाग्दा समस्याहरूसँग एक्लै लडेकी छु। केको उत्सव अनि केको रमाइलो? आफ्नो आफ्नै बनेर बाँच्न सिकेकी छु। जिम्मेवारीको बोझलाई नबोक्ने निर्णय गरेकी छु। निदाउन नदिने यी व्यवहारहरूलाई नसोच्ने भएकी छु। भलै देख्नेले घमन्डी रहिछे भन्लान् अनि भेट्नेले परिवर्तन भइछे भन्लान्।
हो, म बद्लिएँ। अब मलाई कसैको प्रवाह लाग्दैन। बाँच्न बिर्सेको जिन्दगीमा सास जम्मा गर्दै छु। अब आफूलाई बन्द कोठामा मात्र सीमित गर्ने छैन। अब मलाई रमाउनु छ। अब कसैको मनस्थितिलाई सुनेर आफ्नो परिस्थिति बिगार्ने छैन। चाहे मरूँ या त जिउँदो लासमा सीमित नै किन नबनूँ। मलाई मेरो दुखाइहरूको प्रदर्शन गर्नु छैन। दुःख पर्दा आमाले शिर राख्ने काख सधैँ दिने छिन्, विश्वास छ। बाँकी आँसु पुछ्न अनि सम्बन्ध निभाउन मलाई कोही चाहिँदैन। अब थकाइ मार्न कसैको अँगालो रोज्ने छैन।
साथ छोड्ने अनि साथ तोड्ने सबैप्रति आभारी छु। म पत्थर बनेकी छु, तिनै व्यवस्थाहरूले एकपल्ट तिमीहरू पनि दुःखको उत्सव मनाउनू। मैले शरीर त्यागिनँ तर मन त्यागिदिएकी छु। हतार छैन चट्टान बन्ने। यो यात्रामा एक/दुई थान पीडा अझै आउने छन्। जसलाई अझै झेल्नु छ, सहनु छ।
मान्छेको जीवन सधैँ उही रहँदैन। परिवर्तनलाई आत्मसम्मान गर्नु नै हाम्रो कर्तव्य हो। मलाई हुने पीडा अनि दुःखको आलोचना कसैबाट चाहिँदैन। 'टुट्ने मान्छे उठ्न सक्नु पर्छ' मेरो शब्दहरू प्रायः तुच्छ लाग्न सक्ला कसैलाई। म अप्रिय बन्न सक्छु कोही मान्छेहरूलाई। तर मैले जे भोगेकी छु, त्यसले मलाई परिपक्व बनाएको छ।
मलाई अब कुनै भ्रमको पात्र बन्नु छैन। सम्बन्ध, साथी, मित्रता, माया कुनै उल्झनमा पर्नु छैन। अब हिम्मत गरेर आफूलाई सम्हाल्नु छ। मालाबाट चुँडिएर यत्रतत्र सर्वत्र छरिएको दाना जसरी आफ्नो भावनालाई छरपस्ट हुन दिने छैन। यो त सुरुवात हो, ठक्कर खान अझै बाँकी छ। एकान्तको यो कोलाहल सुनेर कुनै गलत कदम उठाउने छैन। यहाँ कोही कसैका लागि हुँदैनन् र नभए पनि के भयो त? जे हुनु छ, त्यो हुन्छ नै। एक/दुई दिन आँसु बगाएर पीडा सकिँदैन। न त एक/दुई दिन खुसी भए जस्तो गरेर नै सकिन्छ।
आफैलाई मारेर सबैलाई खुसी बाँड्दा के पाएँ त? आफ्नो खुसी अरूको स्वार्थको लागि सम्झौता गरेर के पाएँ त? त्यसैले म बद्लिनु छ र बद्लिएको पहिरनले आफूलाई श्रृङ्गार्नु छ। आफ्नो अस्तित्वलाई खुसीमा बद्लिनु छ। आफूले चाहेको सबै पाउनु नपाउनु त्यो भाग्यको कुरा हो। तर पनि संघर्ष गर्न छोड्ने छैन। पीडाको तुफानले सबै उत्साह उडाएर लगे पनि आफ्नो आत्मविश्वासलाई घट्न दिने छैन।
अहँ! आज म गुनासो लिएर आएकै छैन। कसैमाथि केही आरोप लगाउने छैन। जसले जति दुःख अनि पीडा मलाई दिए, ती सबै माफ भए। जसका कारण मेरो आँखामा कहिले आँसु सुकेनन्, ती सबैलाई माफी दिएँ। आजबाट एउटा सङ्कल्प गरेँ- म त्यही नै हुँ जति मैले आफूलाई बुझेकी छु। म त्यही नै हुँ जति आफूलाई महसुस गरेकी छु। म गलत बोल्ने छैन कसैको बारेमा। त्यति जति म आफ्नो बारेमा सुन्न सक्छु। मलाई अब मूल्याङ्कनको पिँजडामा नराखियोस्। मैले चालेका हरेक पाइलाहरूलाई दलदल नबनाइयोस्।
म लड्ने छु, नसके टुट्ने छु। मेरो आत्मविश्वासहरूलाई फुटाउने प्रयत्नसम्म पनि नगरियोस्। म कसैको होइन, न मेरो मात्र पनि कोही छ यहाँ। मेरो म नै हुँ। बिन्ती सम्बन्धको आडम्बर बोकी मेरो पहिचानको व्यापार नगरियोस्। म त्यो दिनसम्म स्वतन्त्रता मन पराउँछु, जुन दिनसम्म स्वतन्त्रताले मलाई आजाद गराउन सिकाउँदैन। म त्यो दिनसम्म आफ्नो रहन्छु, जुन दिनसम्म मैले विगतमा फर्किँदा मेरो अस्तित्व मुस्कुराउँदैन।
म हराएको त हैन तर कुनै नाताले मलाई नखोजुन्। म बद्लिएको त हैन तर मेरो बद्लिएको सोचले गन्तव्य नभुलुन्। म आफैमा खुसी छु। फलानोको वास्तविकता त यस्तो पो रहेछ भनी मेरो चरित्रको निर्धारण नगरियोस्। मेरो पनि खुसीको सीमा छ। मेरो मुस्कुरावटको पनि परिधि छ। मलाई बोलिरहन मन पर्छ। मलाई मौनता प्यारो लाग्दैन आजभोलि। अनि पीडा क्षणिक हुन् भने खुसी पनि एक पलको लागि मात्र हो।
मैले मूल्याङ्कन गर्ने गर्छु समयको। कृपया मेरो अठोटहरूलाई मूल्याङ्कनको पिँजडामा कैद नगरियोस्। यो जटिलभन्दा जटिल चोटहरू मलाई मेरो आफ्नो लाग्छ। मलाई आफ्नोपनको अङ्कमालबाट छुटाउन प्रयत्न नगरियोस्। मेरो आफ्नो म हुँ। भोलि शरीरमा चोट लाग्दा मैले आफूले आफैलाई सम्हाल्नु पर्छ। भोलिका दिनहरूमा पीडाले छटपटिँदा आफूले आफैलाई अङ्गाल्नु पर्छ। यो दुनियाँ मेरो लागि होइन। मैले जस्तो परिस्थितिसँग नि रमाउन सिक्नुपर्छ।
त्यसैले मेरो हिम्मतहरूलाई चामलको बियाँ केलाएझैँ यत्रतत्र बनाइदिने कोसिस नगरियोस्। अब यो अनेक प्रश्नहरूको पिटारो मेरो सामु नपोखियोस्। म आफ्नै प्रतिबिम्बसँग सवाल जवाफ गर्न डराउने मान्छे, मलाई जवाफ दिन नसक्ने यी प्रश्नहरूको बोझ नथमाइयोस्।