घरको माइलो सन्तानको रूपमा भएको मेरो जन्म, मलाई थाहा छैन, त्यो बेला मेरो आमाबुवा खुसी हुनु भयो कि दुःखी। सायद त्यो घरमा मेरो आगमन भएलगत्तै मेरो आमाबुवाको जिम्मेवारी दोब्बर बढ्यो होला।
तर मलाई थाहा छ, म जन्मेको तेस्रो सालमा मेरो खेल्ने साथी बन्न जन्मिएकी मेरी बहिनी जन्मिँदा मेरो आमाबुवासँगै हामीहरूको मुहारमा एकदम खुसी छाएको थियो। त्यो दिन मैले महसुस गरेँ, म जन्मिँदा नि सबै त्यसै गरी खुसी भए होलान्।
त्यो सानो बच्चाको रूवाइको आवाज सुन्दा मुस्कुराएको त्यो मेरी आमाको ओठ अझै याद छ मलाई। मेरो बुवाले आनन्द तरिकाले सास फेरेको म कहाँ बिर्सिन्छु। घरमा कान्छो सन्तानको रूपमा जन्मिएकी मेरी बहिनी साँच्चिकै लक्ष्मीकै रूप लिएर जन्मिछिन्।
बहिनीको आगमनसँगै बेजोड सफलता प्राप्त हुन थाल्यो। कुनै काममा बाधा अड्चन आएनन्। दाइ र मेरो जन्म सँगै घरमा अनेक खुसीसँगै सफलता प्राप्त भएको खबर सुनाउनुहुन्थ्यो, तर बहिनीको जन्मपश्चात मैले पनि महसुस गरेँ, बहिनीले आफूसँगै धेरै खुसी अनि सफलता लिएर आएको देख्दा।
हामी अलिकति ठूलो हुँदै बुझ्दै गयौं। तीन भाइबहिनीबीच झगडा भए नि आमाबुवाको अगाडि बोल्न डराउने दाइ र म, बहिनी भने सिधै वार्तालाप गर्न सक्थिन्। घरको कान्छी छोरी भएर होला आमाबुवाले उसलाई गर्ने माया अथाह थियो। म सबै कुरा महसुस गर्न सक्थेँ, जेठी छोरी भएर होला, सानै उमेरमा आमाजस्तै व्यवहारमा परिपक्व भइसकेकी थिएँ। मेरी आमाले मलाई सिकाउँदा जहिले नि एउटै कुरा भन्नु हुन्थ्यो।
'छोरी तिमीलाई कसैले प्रलोभनमा पार्लान् है, तिमी सोझी छौ, ख्याल गर है।'
तर त्यति बेला मलाई के थाहा, आमाले मलाई मात्र के के भन्नु हुन्छ भनेर धेरै रिस उठ्थ्यो, तर आमाको अगाडि रिस देखाउन नसक्ने म, राति आमाको त्यो व्यवहार अनि मलाई मात्र यस्तो कुरा भन्नु हुन्छ भनेर राति निद्रा समेत पर्थेन।
उमेर बढ्दै गयो, आमाले हामी सबैलाई माया गरे नि, मेरोबारे धेरै चिन्ता गर्थिन्, दाइ बहिनीको अगाडि सम्झाउने अनि कुनै बेला हामी साथी जस्तै मिल्थ्यौं, कुनै बेला उहाँ शिक्षक, म विद्यार्थी।
मैले स्कुलमा नपढेको कुरा घरमा आमाबुवाबाट मज्जाले सुन्न मिल्थ्यो, मेरो आमाबुवा धेरै पढेका त छैनन् तर मलाई अंग्रेजी र नेपाली सिकाउने प्रशिक्षक हुन्। गाउँको अंकलहरूले नेपाली बोल्न सिकिरहेका बेला, म भने नेपाली सकेर अंग्रेजीतिर जाँदै थिएँ।
म मेरो पढाइलाई निरन्तरता दिँदै गएँ। म पढाइसँगै राजनीति र कलाकारिता क्षेत्रमा बढी चासो राख्ने गर्थें। मेरी आमाले म हिरोइन भएको देख्ने ठूलो इच्छा थियो। मेरो नि नभएको होइन तर त्यहाँसम्म पुग्दा गर्नुपर्ने संघर्ष अनि भोलिको दिन सफल भइनँ भने के हुन्छ भन्ने डरले आफ्नो पाइला त्यहीँ रोकेर पढाइतिरै अगाडि बढ्दै गए।
मेरो दाइ त मेरो बालापन नसकिँदै ठूलो भएछ। म मेरो धेरै पढ्ने सपना अनि आफ्नो नामको अगाडि डाक्टर लगाउने भन्दै गर्दा कहिले पो मेरी बहिनी म जत्रै भइछन् पत्तै पाइनँ।
दाइले त नभन्दै जागिर खाएको नि १ वर्ष भएछ। अब दाइले नि छुट्टीमा आउँदा एउटै कुरा भन्नु हुन्छ। 'हाम्रो इज्जतको ख्याल राखेर हिँडिस् है बहिनी।'
समय बित्दै गयो। उमेर सँगसँगै शारीरिक बनावट नि परिवर्तन हुँदै गयो। त्यो कलिलो उमेरमा मेरो सुन्दर अनुहार अनि शरीरको तारिफ नगर्ने सायद कमै थिए होलान्।प्रेम प्रस्ताव धेरै आउँथे, कसैले के देखाउँथे, कसैले के। तर आमाको त्यो बोलीले कसैलाई हुन्छ भन्ने हिम्मत नै भएन। सबै गलत थिए भन्न सकिन्न तर सबै सही नै हुन्छन् भन्न नि सकिन्न।
म त ठूलै भैसके छु, गाउँबाट सहर पसे। सहरमा नि प्रलोभन देखाउनेहरूको के कमी! तर नि मैले त्यस्ता कुराहरूदेखि मन मारिसकेको थिएँ, कसैलाई विश्वास नगर्ने मेरो बानी, सायद कसैले साँचो प्रेम गरेको पनि थियो होला तर भनिन्छ फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार भने जस्तै मेरो आँखामा लागेको त्यो शंकाको कालोपट्टी अनि मेरो उठाएको कदमले आमाबुवाको इज्जतमा दाग पो लाग्छ कि भन्ने डरले कहिले कसैलाई बुझ्ने अनि नजिक हुने मौका दिनै सकिनँ। मात्र म बाँचिरहेको थिएँ आफ्नो सपना अनि परिवारको खुसीको लागि।
उता मेरो बहिनीले नि नयाँ यात्रा सुरू गर्दै रहेछिन्। सानैदेखि कसैको ठूलो स्वर नसुनेकी ऊ एकदमै जिद्दी भइसके छिन्। उसको अगाडि सिधै आमाबुवा नि बोल्न सक्दैनन्, म फोनमा भन्छु 'ठिक्क भो धेरै पुल्पुल्यायो भने यस्तै हुन्छ।'
आमा निःशब्द हुन्छिन्।
बहिनीको सानै उमेरदेखिको सपना पत्रकार बन्ने, १४ वर्षमै रेडियोमा काम गर्न थालिन्। धेरै सिपालु छिन् उनी। अहिले त टेलिभिजनमा समेत देखिन्छिन्। तर घरबाट पाएको त्यो अथाह प्रेम अनि छुटको कारण उसलाई आमाबुवा,दाजु दिदीको महत्व पनि थाहा छ कि छैन्? एकचोटि सोध्न मन छ।
तिमी आमाबुवालाई जितेर के पाउँछ्यौ बहिनी? यो सोध्न मन छ।
अर्कोतिर मेरो दाइ
बिहे गरेर घरबार चलाउनमा मस्त छ।
उसलाई सोध्न मन छ, म कमाउँछु अनि बहिनीहरूलाई पढाउँछु भन्दै आमाबुवाले तिमीमा लगाएको त्यो लगानी अनि, बुवा म जागिरे भए तपाईं चिन्ता नलिनुस् म छु। अब त हामी दुइटै मिलेर घरको जिम्मेवारी उठाउँदा हलुंगो हुन्छ भन्दै दिएको आश्वासन याद छ कि बिर्स्यौ?
म यता आफूले सकेको मेहनत त गर्दैछु। मेरो बुवालाई मलाई हेर्ने रहर लाग्छ रे, फिल्म हेर्दा यस्तै हिरोइन जस्तै छिन् मेरी छोरी भन्नु हुन्छ रे आफ्नो साथीभाइलाई। मेरो आमा अब म भनेर मात्र बाँच्दै छिन्, मेरो बुवा म सफल हुने प्रतीक्षामा हुनुहुन्छ, मेरी आमा छोरी कमाउने होलिन् अनि म मेरो रहर पूरा गरौंला भन्छिन्।
मेरो बुवाआमा भन्नुहुन्थ्यो, 'हाम्रो माइली छोरी, छोरा भइदिएको भए कति राम्रो हुन्थ्यो। तर अहिले आएर मलाई नि लाग्दै छ, म छोरी भएर किन जन्मे?'
उमेर बढ्दै छ, जिम्मेवारी बढ्दै छ, २२ वर्ष पुग्दासम्म, पहिलेको तुलनामा अनुहार फरक हुँदैछ, तर मेरो हाल बदलिएको छैन, कक्षाकोठा बदलिए, स्कुल बदलिए, तर त्यो आमाबुवाले सिकाएको त्यो शिक्षा अझै बदलिएको छैन। आमाबुवाको म प्रतिको विश्वास अनि माया दोब्बर भयो तर मेरो बच्चा बेलाको त्यो मानसिक स्थिति अझै बदलिएको छैन।
मेरो बुवाको काँध थाक्दै छ रे, अब मेरो जिम्मेवारी अरूलाई सुम्पिन चाहनु हुन्छ। मेरी आमाको आश मर्दैछ, यो आशलाई जीवित राख्ने मान्छे खोज्दै हुनुहुन्छ।
१५/१६ वर्षको उमेरसम्म मलाई आँखा उठाएर कसैलाई हेर्न नदिएको मेरी आमाले अहिले ममाथि यति विश्वास गर्नु कसरी सम्भव छ जस्तो लाग्थ्यो तर अहिले थाहा पाएँ मैले त्यो चञ्चले अवस्था अनि गलत निर्णय लिन सक्ने त्यो उमेर पार गरेछु। अब त मैले बिहेको लागि आफै केटा खोज्दा नि फरक पर्दैन मेरी आमालाई, किनकि मेरी आमा पनि समाज अनुसार चल्न सुरू गरिन्।
मलाई खुसी लाग्छ तर मेरी आमालाई सोध्न मन छ,
आमा,
अब त्यो विश्वास कसरी जगाऊँ? अब त म हर व्यक्तिमा खोट देख्छु।
आमा,
म त्यो डर कसरी भगाऊँ? अब त म हरेक मेरो नजिक हुन खोज्ने व्यक्तिदेखि डराउँछु।
आमा,
म त्यो शंका कसरी हटाऊँ?
अब त मलाई हरेक व्यक्ति स्वार्थी अनि धोकेबाज लाग्छ।
कति बेला सोच्छु, मेरो जीवन प्रश्न नै प्रश्न ले घेरिएको छ, मलाई केवल अब सोध्न मन छ।
मेरो बुवा
जसले हामी तीनवटा सन्तानको भविष्यको लागि भनेर मनभित्र भएको त्यो व्यथा कहिले देखाएनन्। गाउँमा ऋण नै निकालेर भए पनि कलेज शुल्क अनि कोठा भाडा समय अगावै पठाउनु भयो।
छोराछोरीबाट राखेको त्यो आश, भरोसा कसैले पूरा गर्न सक्यो र? बुवा।
मेरी आमा
जसले चुँडिएको चप्पल लगाइन्, च्यातिएको कपडा लगाइन्, मेरो छोराछोरीले राम्रो कपडा, गुणस्तरीय शिक्षा पाऊलान् भन्ने आशमा।
भोलिको दिनमा मेरो रहर पनि पूरा गर्लान् भनेर।
ल भन त आमा?
तिम्रो त्यो चोली उस्तै छ, तिम्रो कपडा उस्तै छ,तिमीले नलगाई नखाई बचाएको पैसा काम लाग्यो त आमा?
कुनै दिन तिम्रो मुखबाट छोरा हुनैपर्छ, वंश अगाडि बढ्छ भन्ने धारणा सुनेको, तर अहिले यो असफल छोरी, छोरा जस्तो किन लाग्छ आमा?
छोरा सफल बनाउन दुनियाँसँग लडेर अहिले के खुसी पाउँदैछौ आमा?
मेरो दाइ
कुरा गरे जस्तो सजिलो छैन घर चलाउन, छोराछोरी हुर्काउन, पढाउन,
तिमी नबिर्स भोलि बुढेसकाल लाग्छ।
तिमीलाई पनि छोराछोरीको साथ चाहिन्छ।
खबर सोध्नु ठूलो कुरा होइन।
छोराको जिम्मेवारी निभाउँदै छौ कि आज, आज,भोलि, भोलि भन्दै आमाबुवाको आशलाई मार्दैछौं।
कि अझै आमाबुवा कमाउन सक्छन्, जवान छन् भन्ने भ्रममा छौं?
कि तिमी यो भ्रममा छौ, म कहिले बुढो हुँदिनँ,कसैको साथ चाहिँदैन?
मेरी बहिनी
उमेर सबको एउटै हो, आउँछ, जान्छ। तिम्रो उमेर पार गरेर आएको छु, तिमीमा परिवर्तन आउनु कुनै ठूलो कुरा होइन, तर ती परिवर्तन अनि सानो सफलतामा के आफूलाई चन्द्रमामा छु जस्तो लाग्छ?
तर याद राख जीवनपर्यन्तसम्म परिवार रहन्छ। त्यसैले परिवारको महत्व थाहा छ कि छैन?
म यो भन्दिन आफ्नो आमाबुवा मात्र परिवार हो,
भोलिको दिन अर्को परिवारको सदस्य भएसँगै तिमीलाई याद आउने छ, आफ्नो आमाबुवालाई झुटो आँसु देखाएर उनीहरूको मन पगाले जस्तो सजिलो छैन अर्काको आमाबुवाको मन पगाल्न।
तिमीलाई दुनियाँले लत्याएको बेला, तिमीलाई साथ दिने को थियो याद छ कि बिर्स्यौ?
तिमीबाट परिवारले देखेका सपना, तिमीलाई गरेको माया अनि तिम्रो लागि भनेर दुनियाँसँग लडेको बिर्स्यौ कि याद छ?
तिमीलाई सोध्न मन छ,
आमा को हुन्, बुवा को हुन्, तिमीलाई सोध्न मन छ। परिवार प्यारो कि दुई दिन जीवनमा आउने मान्छे।
अब एक म छु,
आमाबुवाको अन्तिम आस, बुढेसकालको सहारा, दाइको सुखदुःखमा साथ दिने, अनि दाइलाई बुझाउनु छ,आमाबुवा प्रतिको जिम्मेवारी
अनि बहिनीको जीवनशैली परिवर्तन गराउनु छ। उसलाई सबैको महत्त्व बुझाउनु छ, परिवारसँग घुलमिल अनि रमाउन सिकाउनु छ।
मैले आफूले आफूलाई सुधार्नु छ। तर कसरी थाहा छैन।
एकातिर उमेर बढ्दै छ, अर्कोतिर जिम्मेवारी,
एकातिर आफ्नो सपना, अनि अर्कोतिर आमाबुवाको सहारा।
एकातिर हरेक कसैमा खोट अनि झुट देख्ने, बुझ्ने मेरो मनस्थिति बदल्नु छ।
मैले पूरै आफूलाई बदलिएर यो समाज सँगै हिँड्नु छ।
तर पनि पिर नगर्नुस् आमाबुवा अरू केही नभए नि तपाईंहरूको सपना पूरा नहुन्जेलसम्म हार मान्दिनँ।
तपाईंको फाटेको पैतालाको मलम अनि पुरानो, फाटेको त्यो लुगा फेर्न सक्ने र तपाईंहरूको सानोसानो रहर पूरा गर्न सक्ने औकात बनाएर आउनेछु।
मेरो अन्तिम साससम्म नि म हार्ने छैन, म मेरो सपना बिर्सेकी छैन, तपाईंको म माथिको लगानी बिर्सेकी छैन। तपाईंले ममाथि देखेको आशा बिर्सेकी छैन। तपाईंले सिकाएको त्यो संस्कार अनि खुन पसिना बगाएर पढाएको शिक्षा कहिले असफल हुन दिने छैन।
तपाईंको लागि यो छोरी असफल हुने छैन, यसमा विश्वस्त रहनुस्।
केही समय प्रतीक्षा गर्नुहोस है बाबाआमा। समाजको नजरमा असफल रहे नि, हजुरहरूको नजरमा सफल भएर आउने छु।