प्रिय,
केही फेरिएको छैन
तिमी गएपछि
जीवनको दौड त्यस्तै छ
भेटिने र छुटिने क्रम उस्तै छ
घडीको सुई
लगातार फन्को मारिरहेछ
फरक यति हो
तिमी हुँदा समय
आनन्दको छमछममा
मात्तिएको थियो
तिमी गएदेखि
समय अत्यासको रमझममा
आत्तिएको छ
जीवनको रङ उधारो गरेरै
इन्द्रेणी रङ्गिइरहेछ
फरक त्यति हो
तिमी हुँदा आसहरू रङ्गिन थिए
बातहरूमा मिठास थियो
तिमी गएदेखि
सासले रङ भुलेको छ
आँत बेस्वादले घुमेको छ
पर्खाइले पर्खेर बग्न जानेकै छ
फरक यति हो
तिमी हुँदा
पर्खनु आफैँलाई पाउनु थियो
तिमी गएदेखि
पर्खनु भ्रम जालमा हराउनु हो
मेसेन्जर पलेटी कसेरै
स्क्रिनमा झुन्डिइरहेछ
फरक त्यति हो
तिमी हुँदा मेसेजको बहाव
बहारमा आउँथ्यो
तिमी गएदेखि
मेसेजको अभाव अलमलमै परिरहेछ
मोडलाई समेटेर अघि बढ्नु
यात्राको नियति हो
फरक यति हो
तिमी हुँदा समेटिनु भनेको
एक अर्कामा पोखिनु थियो
तिमी गएदेखि समेटिनु भनेको
आफैँमा छरिनु रहेछ
दिनको यादमा रातले शीत झारिरहेछ
फरक त्यति हो
तिमी हुँदा यादले
बिर्सेको सम्झाउँथ्यो
तिमी गएदेखि यादले
नबिर्सेको सम्झाइरहन्छ
कोही आउनु जत्तिकै
सुन्दर जानु पनि भइदिए
कोही हुनु जत्तिकै
सुन्दर नहुनु पनि भइदिए
जाने मन भइसकेकालाई
रोक्न नसकिने रहेछ
तर मन पनि त त्यही रोकिने रहेछ
फर्किँदैन थाहा छ
मन त्यही अल्झिने रहेछ
आँखामा भाव रसाउँछ
सम्झनाको सुवास बरबराउँछ
साथ अघाउन्जेल पुगेको हुँदैन
सत्यलाई आत्मसाथ गरेर मान्नुपर्ने रहेछ
प्रिय,
केही बद्लिएको छैन तिमी गएदेखि।