सेडेप, लोक सेवा तयारीको केन्द्र। जहाँ निजामती बन्ने सपनामा आएका ७७ जिल्लाकै अझ भनौँ ७५३ वटै स्थानीय तहका मानिसहरू भेटिन्छन्।
निजामती बन्ने सपनाका साथ एक १८ वर्षे तन्नेरी एउटा कापी समातेर सिँढी उक्लिन थाल्यो। त्यो ठेलम ठेल भिड अनेकौँ कुरा खेलाउँदै कोठासम्म पुगेँ। बेन्चहरू भरिभराउ थियो। अन्तिमको एउटा बेन्च खाली रहेछ। त्यही गएर बसेँ। सर आएर निजामती यस्तो उस्तो हो भन्दै क्लास सुरु गर्न लागे।
त्यत्रो भिड केही हलचल नगरी सुनिरहेका थिए।
क्लास लिन आउँदा जाँदा एक जना साथी बन्यो कर्णालीको। उसै मात्र भयो चिनजानको, अरू आफ्नै धुनमा।
एक दिन क्लासमा पढ्दै गर्दा ढोकाबाट एउटी केटी कपाल फिँजाएर, मास्क लगाएर आई
र सबेतिर हेरी। खाली ठाउँ नभेटेपछि ऊ मेरै छेउ आई र सोधी, 'बस्न मिल्छ?'
म अकमक्क भएँ। साथीले जवाफ दियो, ' मिल्छ मिल्छ, बस।'
'ओए यता सर,' ऊ मलाई सर्न भन्यो। ऊसँग आँखा जुध्यो तर त्यस दिन कुरा भने भएन।
अर्को दिन अन्त खाली हुँदा हुँदै पनि ऊ मसँगै आएर बसी। त्यो कक्षामा आइक्यु जान्ने मध्येको एक थिएँ।
उसले कुरा निकाली, 'सुन्नु न, तपाईंले आइक्यु कसरी पढ्नु हुन्छ? आइडिया दिनु न, म त जान्दै जान्दिनँ।'
'पढ्नु त के पर्यो र प्राक्टिस गर्ने न हो,' सहज जवाफ फर्काएँ।
'मलाई आइक्यु सिकाउनु ल,' अनुरोध गरी।
'हुन्छ' जवाफ दिएँ।
महिलासँग बोल्न अलिक लजाउँथे म।
साँझ मोबाइल चलाउँदै थिएँ, एउटा फ्रेन्ड रिक्वेस्ट आयो। यसो हेरेको त उहीँ बेन्च पार्टनरको रहेछ।
कहाँबाट आइडी पत्ता लगाइछे यसले भन्दै एसेप्ट गरेँ।
एसेप्ट हुनासाथ म्यासेज आयो, 'ओह लजालु सर, चिन्नु भो?'
'उम चिनेँ चिनेँ, कहाँबाट भेटाएको आइडी?' प्रश्न गरेँ।
'मन हुन पर्छ भेटाइहालिन्छ नि सर,' जिस्काउन थाली।
'होला होला, के छ अनि?'
'ठिक छ सर, भोलि सिट राख्दिनु ल मलाई,' उसले भनी।
'हुन्छ हजुर, तपाईंको नाममा बुक भयो, सुत्नुस् ढुक्कले,' यति भनेर सुतेँ।
अर्को दिन कुर्ता सुरुवालमा सजिएर आई ऊ। ढोकाबाट छिरेर बेन्चमा आउने बेलासम्म उसबाट नजर हटाउन सकिनँ।
फेरि जिस्काउन थाली, 'मलाई पनि लजाउन सिकाउनु न, म त अलि बढी बोल्छु है।'
'हैन ठिकै छ,' सरल जवाफ दिई पढ्न लागेँ।
घर गएपछि कुरा हुने त नित्यकर्म भइसकेको थियो। बिस्तारै बिस्तारै एक अर्कासँग नजिक हुन थालिएछ।
रुमसम्म आउने साथीको बाइक हुँदा हुँदै पनि माइतीघरसम्म उसैसँगै हिँड्दै गफ गर्दै आउन थालेँ। क्लासमा नि पढाइमा ध्यान कम उता ज्यादा हुन थाल्यो। आफ्नो नोट नबनाउने, उसको बनाइदिन लागेँ। क्लासमा नि कुरा गर्ने, कुरा गर्दा गर्दै आवाज निकाली हाँस्ने हुन लाग्यो। अघि पछिका अरू साथीहरू डिस्टर्ब भयो भन्न थाले। सँगै बस्ने साथी पनि अघिको बेन्चमा बस्न थाल्यो।
एक दिन त कक्षामा हल्ला भयो भनेर सरले कक्षाबाटै निकालिदिए। हामीलाई त झन् फाइदा पो भयो, क्यान्टिन गएर चिया गफ मार्न।
अब ऊ उसको घर जाने कुरा आयो, मन नरमाइलो लाग्यो। अन्तिम दिन साँगा घुम्न जाने सल्लाह भयो। दुई जोडी साँगा पुगियो। ऊ बसबाट ओर्लिँदा आँखा रसाए। पर पुग्दासम्म हेरिरहेँ। मोबाइलमा एक दुई फोटा पनि खिचेँ।
अर्को दिन ऊ आफ्नो घर गई।
ऊ घर गएपछि बिस्तारै कुरा पातलिन थाल्यो। कहिलेकाहीँ फ्याट्ट फुट्ट रिप्लाई आउँथ्यो। मेरा परीक्षा नजिकिँदै आयो। म पनि धेरै बोलाइरहन छाडेँ। एक दिन भन्दै थिई, 'म अब आयोग तयारी गर्दिनँ, क्यानडा जाने हो।'
के किन तिर नलागी हो र भन्न लागेँ।
'अब तिमीले राम्रोसँग पढ, मसँग भएका नोटहरू पनि पठाउँछु' भन्न लागि।
१/२ दिनपछि नोट पठाई कुरियरमार्फत। आफैले लेख्दिएका नोट आफैसँग आए। त्यसको दुई दिनपछि बिहेको कार्ड आयो म्यासेन्जरमा। लेखेकी थिई, 'बिहेमा जसरी पनि आउनू है।'
'अस्ति त क्यानडा जाने हो के-के भन्थ्यौ त। आज बिहेको कार्ड?' नर्भस हुँदै प्रश्न गरेँ।
'बाबाले मेरो बिहे फिक्स गर्नु भयो। त्यो भन्दा तिमी अत्तालिन्छौ, अन्तरवार्ता आएको थियो। त्यसैले त्यसो भनेकी,' उसले भनी।
'भागेर बिहै गरौँ न त,' मैले भन्न थालेँ।
'नाइँ हुँदैन, जिद्दी नगर। बाबाले फिक्स गर्दिएपछि गर्दिनु भयो, म उहाँको कुरा काट्न सक्दिनँ।'
'पहिल्यै भो भन्न पर्थ्यो नि? भावुक हुँदै भनेँ।
'तेरो बिहे पक्का भयो, केटो शाखा अधिकृत हो, अरू कोहीसँग बोल्छेस् भने छोड्दे कुरा गर्न, शाखा अधिकृत छ भने बोला,' यति भन्नुभयो।
'बाबा एउटा छ खरिदार, पछि अधिकृत हुन्छ नि,' भनेँ।
'धेरै जान्ने न हो, हुन्छ भन्ने के ग्यारेन्टी छ? भएन भने खरिदारले तँलाई पाल्न सक्छ? मैले तेरै लागि यो निर्णय गरेको हुँ, अरू थाहा छैन भन्नुभयो। तपाईं आफै भन्नु अब म के गरौँ?'
'अब के गर्नु, बिहे गर,' यति भन्दै ब्लक गरेँ उसलाई।
अनि आफ्नो नियुक्ति पत्र हेर्दै बसेँ।