प्रसंग २० को दशकको मध्येतिरको एक ग्रामीण पहाडी गाउँ सिस्नेरीको हो। न्यौपाने बज्यै एउटा विशाल पारिवारिक विरासत सुम्पेर परलोक भइन्। चार भाइ छोराहरू अनि तीन जना छोरीहरू जन्माएकी उनले दर्जनभन्दा धेरै नाति नातिनीहरू खेलाइन्। जेठा छोरोको नातिनी अर्थात् एउटी पनातिनीको अनुहार हेर्न पनि उनलाई जुरेको रहेछ।
आफ्ना पति न्यौपाने बाजेको देहान्तपछिको करिब एक दशकसम्म उनी परिवारको मियो भएर रहिन्। छोराहरूले निकै अघि नै छुट्टिएर बेग्लै घर व्यवहार चलाए पनि आमाप्रतिको उच्च आदर भाव कहिल्यै टुटाएनन्। चारै जना बुहारीहरू सासूसँग सतर्क हुन्थे र अन्तिम घडीसम्म पनि उनको आदेश शिरोपर गरिरहे। उनको अपूर्ण भएको एक मात्र अभिलाषा भनेको कान्छो छोरोको पाँच वटी छोरीहरू भए तर एउटा पनि पुत्र भएन भन्ने थियो। त्यो इच्छा पूरा नभईकन उनले जगत्बाट बिदा लिइन्।
ढिला गरी पाएकोले हुनपर्छ, छोराहरूमध्ये कान्छो छोराप्रति न्यौपाने बज्यैको स्नेह अरूको भन्दा धेरै थियो। बाह्र वर्षमै कान्छोको बिहे गर्दिइसकेका थिए। सानो जीउ डाल भएकी केटीलाई कसरी बुहारी बनाउनु भन्दै उनले पतिसमक्ष जब्बर असहमति नराखेकी होइनन्। तर न्यौपाने बाजेले केटी दुई खुट्टामा उभिएर हिँड्न सक्छे भने केही फरक पर्दैन भन्दै दश वर्षकी केटीसँग कान्छाको बिहेको कुरा छिनेका थिए।
अरू बुहारीहरूजस्तै कान्छी बुहारी पनि निरक्षर थिइन् तर महाभारत र रामायणका श्लोकहरू कण्ठस्थ थियो। स्वस्थानी र पुराणका कथाहरू मुखमा झुन्डिएका थिए। उनी सुरुदेखि नै व्यवहारको असमञ्जसमा परिन्। जेठानीहरू उनीभन्दा उमेरमा ज्येष्ठ र अनुभवमा पोख्त भइसकेकाले तिनको द्रुत गतिसँग उनको तुलना नै थिएन। बिहे के हो, घर व्यवहार के हो भन्ने राम्रोसँग ठम्याउन नपाउँदै उनले पहिलो सन्तान पाइसकेकी थिइन्। घर खेत र गाई वस्तुको धन्दाले एक क्षण पनि राहतको सास फेर्न पाइनन्। त्यसमाथि हरेक साल भइरहने बसुदेउ, रुद्री, श्राद्ध, देवाली अनि गोठ धूप जस्ता कर्मकाण्डमा कान्छीले साबिकको घरधन्दाभन्दा थप सक्रिय हुनुपर्थ्यो।
अनि छोरीहरू एकपछि अर्को गरी संसारमा भित्रिए। जेठी माण्डवी, माइली भवानी, साइँली भगवती, काइँली चन्द्रिका र सबैभन्दा सानी सावित्री। तीस वर्ष पुग्न लागि सक्दा पनि छोरो पाउन नसकेपछि कान्छीको मनमा पहिलेदेखि सुषुप्त डेरा जमाएर बसेको भयले उग्र रूप लिन थाल्यो।
पुत्र लाभबाट तृप्त भएका तीन जना जेठानीहरू बेलाबेला वक्र वाणीमा आफू त अपूतो मरिन्न क्यारे भन्दै कान्छीको सहनशीलताको परीक्षा लिइरहन्थे। त्यस्ता वाणीले उनको हृदयमा काँढा बिझ्थ्यो तर उनीसँग निःशब्द हुनुको विकल्प थिएन। पाँचौँ सन्तान पनि छोरी भएपछि अब पतिको धैर्यताको बाँध टुट्न लागेको उनले चाल पाइसकेकी थिइन्। पानी पँधेरो गर्दा उनले गाइँगुइँ हल्ला सुनेकी थिइन् कि जेठाजुहरू कान्छा भाइको लागि नयाँ ठाउँमा कुरा छिन्ने कि भनेर सोच्दै छन्।
ढिलो चाँडो सबै छोरीहरू अन्मिएर पराई घर गइहाल्छन्। त्यसपछि आउन सक्ने अनिश्चय भविष्यको चित्र उनलाई प्रीतिकर लागेन। छोराबिनाको त्यो अँध्यारो आगत कल्पना गर्दा उनको धड्कनको गति बढ्यो र दुवै पैताला चिसा भए। अब कसरी के गर्ने भन्ने उनले पटक्कै ठम्याउन सकिनन्। निरक्षर कान्छीको सहारा बनेर धार्मिक रूढ देखा पर्यो। उनले पतिसमक्ष पुत्र लाभको कामना गर्दै हरिवंश पुराण लगाऔँ भनी प्रस्ताव राखिन्। कर्मकाण्डमा रुचि भएका पतिले निसर्त स्वीकारे।
गाउँघरको सापेक्षमा त्यो भव्य पुराण कार्यक्रम थियो। आफन्त र छरछिमेक मात्र होइन टाढा गाउँबाट पनि नामी पण्डितहरू आमन्त्रित थिए। माझगाउँदेखि बूढा भण्डारी, सान्डाँडाबाट खनाल बाजे, सिम्लेबाट अर्याल पुरेत र उति टाढा रिट्ठेदेखि अधिकारी पण्डित आएका थिए। बडो उल्लासमा पूजाका प्रत्येक विधिहरू सम्पन्न भए। समापनको बेलामा खनाल बाजेले सबै कर्ताहरूको हातमा चरु दिँदै आफूले चिताएको कुरा भगवान्सँग प्रार्थना गर्नुस् भनेर उद्घोष गरे।
कान्छीले दुई हात जोडिन्, आँखा बन्द गरिन् र मनमनै प्रार्थना गरिन्, 'हे परमेश्वर, म अबलालाई पुत्र ममताको अधिकारबाट वञ्चित नगराऊ। तिम्रो अनुकम्पाले यो सारा जगत् थामिएको छ। तसर्थ म अकिञ्चनको एउटा चाहना पूर्ति गर्नु तिम्रो निम्ति कुनै ठुलो कुरा होइन। मेरो कामना छ एउटा तेजस्वी पुत्रको, मेरो भविष्य थाम्ने होनहार पुत्र। महाराज द्रुपदले अग्निदेवसँग मागेका धृष्टधुम्नझैँ परिवारको ध्येय हेर्ने संकटमोचक पुत्र।'
सबैले अग्निमा चरु आहुति गरे। खनाल बाजेले शङ्ख फुक्दा सिस्नेरीको रनबन थर्कमान भयो। अर्याल पुरेतले ठुलो स्वरमा भट्टाए-
'श्री सत्यनारायण भगवान्को'
सबै सहभागीले चिच्याए- 'जय'
'श्री अनन्तेश्वर महादेवको'
'जय'
'आजको आनन्दको'
'जय'
'जय नभन्ने भक्तजनको'
'जय'
पुराण सकिएर सबै अतिथि र मान्यजनलाई बिदाइ गरेको रात कान्छीलाई राम्रोसँग निद्रा लागेन। सानी छोरी सावित्री आमासँग टाँसिएर सुतेकी थिई। उसको निश्चल अनुहार देखेर कान्छीलाई दिउँसो मागेको कामना सम्झेर एक मनमा ग्लानि लाग्यो। अर्को मनले भने के खराबी भयो त भन्दै प्रतिरक्षा गर्न थाल्यो। त्यस रात उनको रूढीगत सोच र अन्तर्मनमा लुकेको छिपछिपे प्रगतिशील चेतना एक आपसमा प्रश्नोत्तर शैलीमा द्वन्द्वमा होमिए।
उनको चेतनाले सोध्यो, 'छोरीहरूप्रति तिमीलाई अलिकति प्रेम छैन? किन छोरोको लागि यस्तो मरिहत्ते गरिरहेकी छौ?'
उनले जवाफ फर्काइन्, 'परमेश्वर साक्षी छन् यी फूलजस्ता छोरीहरूलाई आजसम्म हेलाको कुरा पर जाओस्, एक थप्पड पनि हानेको छैन।'
तुरुन्तै चेतनाले पुनः प्रश्न तेर्सायो, 'त्यसो भए यो पुत्र आशक्ति चाहिँ किन?'
उनले प्रतिरक्षा गरिन्, 'यो व्यवहारिक दुनियाँमा म अबलाले पुत्रको कामना गर्नु के अपराध हो र? त्यत्रा प्रतापी रघुवंशी राजा दशरथले समेत पुत्र प्राप्तिको लागि यज्ञ गरेका होइनन् र?'
चेतनाले तर्क गर्यो, 'उनै दशरथलाई अति पुत्र मोहले चितासम्म पुर्याएको होइन र? फेरि तिमीलाई आफ्नो भारी बोकिदिने पुत्र चाहिएको छ। यो त चरम स्वार्थीपनको दृष्टान्त भएन र? यशोदाले मैले हुर्काएको छोरो तँ गोकुल छाडेर मथुरा जान पाउँदैनस् भनेर कृष्णको बाटो छेकिन् र? हर सन्तानको आफ्नै जीवन पनि हुन्छ होला।'
सवाल जवाफको शृङ्खलालाई बिट मार्दै उनभित्र रहेको रूढी सोचले भन्यो, 'अर्को जुगमा या अर्को लोकमा यी कुराहरू सायद होलान्। त्यस्तो जुग र लोकमा म पनि त्यही गरौँला। तर यो जुगमा मैले जे सही लाग्यो त्यही मागेँ। यदि कसैले मलाई स्वार्थी भन्छ भने त्यो स्वार्थको कालकुठ विष सेवन गर्न मलाई कुनै आपत्ति छैन।'
पुनः गर्भिणी भएपछि उनका दिनहरू यसपालि छोरो होला कि नहोला भनेर त्रासमै बित्यो। उनको लागि नयाँ सन्तानलाई संसारमा भित्राउने कुरा जीवनको वार कि पार लगाउने परिघटनाजस्ता भएको थियो। एक साँझ उनलाई सुत्केरी बेथा लागेपछि घरमा छरछिमेकका साासूबुहारीहरू जम्मा भए। वरबोटकी माइली काकीले माण्डवीलाई अह्राइन्, 'ए नानी, दियोमा तेल थप् त। बत्ती निभ्ला जस्तो छ।'
माण्डवीले तेल थपिदिएसँगै दियोको चमक बढ्यो। केही क्षणमै च्या-च्या गर्दै नयाँ सन्तानको आगमन भयो। कान्छीले प्रसव पीडामा कसले के भन्यो केही सुनिनन्। त्यस्तो अप्ठ्यारोमा पनि उनको चिन्ता यही थियो कि छोरा भयो अथवा छोरी।
तल्लारे सान्काकीले उनको कानैमा आएर भनिन्, 'कान्छी, ढिकुरोको पुजारी पाइस् यसपालि।'
सान्काकीका बाँकी आवाज के थियो कान्छीले चाल पाइनन्। उनले सन्तोषको लामो श्वास फेरिन्।
न्वारनको दिन पतिले भने, 'यो बच्चो भगवान् श्री नारायणको प्रसादको रूपमा आएको छ। त्यसैले यसको नाम नारायणप्रसाद हुनेछ।'
समयको उतारचढावसँगै पचास वसन्तहरू बितेको कान्छीले पत्तो पाइनन्। सिस्नेरीबाट उनी काठमाडौँको घरमा बस्न थालेकै २० वर्ष भइसकेछ। नारायणप्रसादकी छोरी अर्थात् उनकी नातिनी पोखराबाट दुई वर्षकी छोरी लिएर माइत आएकी थिई।
'त्यत्रो तिघ्रे बाबुसाहेबलाई ओछ्यानमै कफी टक्राउनु पर्ने। छोरो भनेर टाउकोमा चढाएर त भएन नि,' कान्छीकी नातिनी आफ्नो भाइलाई एकाबिहानै गाली गर्दै थिई।
बुढेसकालमा स्मृतिहरू कमजोर हुँदै गए पनि उनलाई नातिनी देखेर झलझली आफ्नी सासू न्यौपाने बज्यैको याद आउँथ्यो। उस्तै हक्की अनि उस्तै निर्भीक।
नातिनीले सोधी, 'हजुरआमाले आधा दर्जन सन्तान कसरी पाउनु भयो अनि कसरी हुर्काउनु भयो? मलाई त यही एउटी छोरीले पुगिसक्यो।'
उनले पनातिनीलाई काखमा लिएर उसको कपाल सुमसुम्याउँदै जवाफ फर्काइन्, 'जुग फेरियो नानी।'