'सिट खाली हो?'
उसले मेरो छेउमै आएर सोधी।
केही पलको लागि हाम्रा आँखा जुधेपछि मैले हो भनेँ। यति भनेर सिटको छेउमा राखेको मेरो ब्याग काखतिर तानेँ र उसलाई बस्ने व्यवस्था मिलाइदिएँ।
ऊ आफ्नो ब्याग काखमा राखेर मेरो छेउमा टुक्रुक्क बसी। मैले बसको पछाडितिर नजर घुमाएँ। केही समयअघि लगभग खाली भएको बसका सिट अहिले यात्रुले भरिइसकेछन्।
टुक्रुक्क बसेकी ऊ बिस्तारै फैलिँदै थिई। उसका काँधदेखि पैतालासम्मका एक भागका प्रत्येक अङ्ग मसँग टाँसिँदै थिए।
उसलाई सुटुक्क हेरेँ। कपाल थाइकट काटेको, नमिलाएरै मिलेका आँखीभौँ, गहुँ गोरो वर्ण, भि सेपको च्यापु।
उसले मेरो हेराइमा हेरी। म बसको झ्यालतिर फर्किएँ।
प्राय: केटाहरूको बस यात्रा गर्दा एउटा इच्छा हुन्छ, बसको साइडको सिट खाली होस् र त्यहाँ कोही केटी बसोस्। मेरा जीवनका कैयन यात्रामा मेरा कल्पना फेल खाइरहन्थे। नयाँ यात्रा उनै पुराना अभिलाषासहित सुरुवात हुन्थे तर नतिजा पुरानै।
आज कोही केटी बसोस् भन्ने मात्र होइन, राम्री केटी परोस् भन्ने कल्पना पनि पूरा भएको थियो। अब केही घण्टाको यात्रा हामी सँगै गर्नेछौँ, यदि म पुग्ने ठाउँमा ऊ पनि पुग्नुपर्ने हो भने।
झ्यालबाट बाहिर हेरेर मुसुक्क मुस्कुराएँ। फेरि एक पटक ऊतर्फ फर्किन मन लाग्यो।
ऊ आफ्नो सिटमा अडेस लगाएर आँखा चिम्लिरहेकी थिई, कानमा राखेको इयर पड्समा कुनै मिठो गीत बजेको होला सायद। उसको ओठ सोही गीत गुनगुनाउँदै थियो।
उसका बन्द आँखाको मौका छोपेर मैले उसलाई तलदेखि माथिसम्म हेरेँ। उसको शरीरको गन्ध उसले लगाएको पर्फ्युमसँग मिसिएर झ्याल हुँदै बाहिरिन खोज्दै थियो।
मैले लामो सास तानेर सरर त्यो हावा आफूतिर खिचेँ। मत्ताउनलाई काफी थ्यो त्यो सुगन्ध।
बस गुडेको केही बेर भइसकेको थियो। मैले फेरि यसो उसलाई नियालेँ। यति बेला ऊ आफ्नो मोबाइल हेरेर खितखिताइरहेकी थिई। अहिले दाँत देखियो। साइडबाट हेर्दा मकैका दानाझैँ लस्करै बसेका तर सेता। लाग्छ कुनै मिम हेरेर हाँसेकी छे।
'साह्रै हँसाउने मिम छ जस्तो छ नि?' मैले कुरा सुरु गर्ने निहुँ झिकेँ।
'हजुर?' उसले सुनिनछ क्यारे।
'के हेरेर हाँसेको नि?' मैले दोहोर्याएँ।
'मोबाइल' उसको उत्तरले खल्लो लाग्यो।
'मोबाइल हेरेर नि कोही हाँस्छ र?' तैपनि म मौका किन छोड्थेँ।
'देख्नु भएन म हाँसे,' यस पटक भने उसले हाँस्दै भनिरहेकी थिई।
'पूरै देख्न पाइनँ, अघि आँखा चिम्लेको रहेछु,' मैले जिस्किने मौका पाइहालेँ।
'मौका गुमाउनु भएछ।'
'म पनि हाँसूँ नि त के मिम रहेछ?' मैले भनेँ।
'लेडिज रिलेटेड थियो, तपाईंलाई देखाउन मिल्दैन,' उसले बहाना बनाई।
'ए मिममा पनि यस्तो हुन्छ? मैले त सोच्थेँ मान्छेमा मात्र होला भेदभाव हुने भनेको।'
'सोझो हुनुहुँदो रहेछ तपाईं,' मतर्फ फर्किँदै उसले भनी।
'हात हेराउने काम गर्छौ क्या?' मैले सोधेँ।
'यो लाइन पुरानो भयो हजुर,' उसले भनी।
म भने अब परिचयको मुडमा थिएँ- 'म संस्मरण।'
'म यात्री,' ऊ फेरि जिस्किई।
'कस्तो राम्रो नाम पहिलो पल्ट सुनेँ।'
'हाहा, छुच्चो मान्छे,' उसले भनी।
'यात्रीसँग यात्रा गर्न पाउनु मेरो अहोभाग्य,' मैले भनेँ।
'म सुरक्षा,' उसले आफ्नो वास्तविक परिचय दिई।
'ए, त्यसैले त मलाई एकदम सुरक्षित महसुस भइरहेको रहेछ,' मैले हाँस्दै भनेँ।
'ला सोझो भनेको बाङ्गो हुनुहुँदो रहेछ हजुर त,' उसले मुख खुम्चाउँदै भनी।
बस आफ्नै गतिमा गुडिरहेको थियो। पूर्व-पश्चिम राजमार्ग विभिन्न ठाउँमा पुनर्निर्माण चलिरहेको थियो। सरकारको हो या ठेकदारको कसको कमजोरी हो तर बाटो बन्नुपर्ने समयमा अझै बनेको थिएन। केही ठाउँ त साह्रै दिक्क लाग्दा हुन्थे। तराईको सम्म भूभागमा पनि पहाडका घुम्ती बाटोझैँ तल-माथि, दायाँ-बायाँ हल्लिरहनु पर्थ्यो। पेट नै होड लिने गरी।
यति बेला बस त्यस्तै बन्दै गरेको तर बनेर नसकिएको यात्रुको लागि सबैभन्दा झिँजो लाग्ने ठाउँमा आइपुगेको थियो जहाँ प्राय: खाल्डै खाल्डा र धुलै धुलोले मडारिएको हुन्थ्यो। जहिले यात्रा गर्दा पनि मनले चाहन्थ्यो, यो ठाउँ नै न आओस्, आए पनि कटिहालोस्।
तर आज जीवनमा पहिलो पटक म चाहन्छु, बस अझै ढिलो चलोस्। सकेसम्म यो बाटो नै नकटोस्। पहिलो पटक बाटो नबनेकोमा म बनाउने जिम्मा लिएर नबनाउनेहरूलाई धन्यवाद दिँदै थिएँ।
'तर तपाईं ठिक हुनुहुन्छ जस्तो लाग्यो,' हाम्रो केही बेरको मौनतालाई चिर्दै ऊ बोली।
'कसरी?' म जिज्ञासु बनेँ।
'अगिको भाइलाई गरेको व्यवहार देखेर।'
मैले सम्झिएँ अघिको कुरा। बस गुड्नै लाग्दा एउटा उमेरले ७/८ वर्षको देखिने भाइ 'पानी पानी' भन्दै बेच्न आइपुग्यो। मेरो छेउमा अनजान केटी कानमा एयर पड्स कोचेर कुनै गीतमा व्यस्त थिई सायद। मैले बल्लतल्ल पाइन्ट पछाडि राखेको पर्स निकालेर पानीको मूल्य सोधेँ। उक्त भाइले तीस रुपैयाँ भन्यो। तत्काल सयको नोट दिँदै मैले बाँकी चाहिँ आफै राख्नू है भनेको थिएँ । हस् भनेर ऊ खुसीले उफ्रिँदै गएको थियो।
सायद उसले उक्त कुरा नोटिस गरेकी रहिछे। उसलाई देखाउनकै लागि त गरेको थिइनँ तर पनि केही मिठा छाप छोडिएछ, तिर्खा नलागे पनि पानी किनेकोमा झन् तृप्ति मिल्यो।
आजको यात्रा केही मिठो स्मृतिसहित टुङ्गिने छ भन्ने मनले अनुभूति गर्दै थियो। उसको मानसपटलमा पनि केही मिठो छाप छोड्ने ध्येय मनमा उब्जिँदै थियो।
यत्तिकैमा उसले भनी, 'ल संस्मरणजी, मेरो त ओर्लने बेला आयो। राम्ररी जानुस् है।'
'यहीँ झरिहाल्ने हो?' म झस्किएँ।
' हजुर।'
ऊ सिटबाट उठेर कन्डक्टरलाई त्यो चोकमा रोकिदिन भनेर हातले इसारा गर्दै बसको ढोकैछेउ पुगी। बस रोकियो र ऊ ओर्लिई।
ऊ झरी, मलाई नरमाइलो लाग्यो। केही गुमाए जस्तो, केही नपाए जस्तो।
एक छिन अवाक् बनेँ, मेरो छेउको सिटमा नियाले जुन रित्तो थियो। आफ्नै शरीरलाई हेरेँ। आफ्नो अङ्गबाट केही छुट्टिएर गए जस्तो र सो अङ्गको अभावमा ती रित्ता भागहरू दुखे जस्तो झन् भारी भएको थियो।
म बडो असमञ्जसमा परेँ। केही पल पहिले कोही मेरो छेउमै थियो, आफ्नै जसरी बसेको थियो, आफ्नोपन झल्किने गरी बोलेको थियो। ऊ ओर्लिएपछि पनि अहिले बस आफ्नै सुरमा चलिरहेछ तर मेरो मस्तिष्क भने आफै बेसुरमा बोलिरहेछ।
हामीले नम्बर साटेनौँ, फेसबुकमा एड भएनौँ। यतिसम्म कि न घर सोध्यौँ न थर नै।
उहिले उहिले बाटो हिँड्ने बटुवाहरू आफ्नो गन्तव्यका बाटो मोडिएपछि छुट्टिन्थे, अहिले बस सवार यात्रुहरू आफ्ना पायक चोक भेटिएपछि ओर्लिन्छन्। आखिर हिँडेर होस् या गुडेर, यात्रामा दुई अनजान यात्रुहरू छुट्टिने परम्परा त पुरानो नै हो नि।
केही पनि नगुमाएको तर केही नपाए जस्तो भएको यो अचम्मको मनको पछुतोलाई मैले मुस्कानसहित थमथमाएँ र गोजीबाट इयरफोनसहित मोबाइल निकालेर अर्जित सिंहलाई सुन्न थालेँ। आखिर अर्जितलाई सुन्ने योभन्दा उत्कृष्ट मौका अर्को कुन हुन सक्थ्यो र?
अझै केही बेरको बस यात्रा, झ्यालको सिट अनि अर्जितको गीत मन बहलाउन पर्याप्त थिए। बसको चोक चोकमा रोकिने र गुड्ने प्रक्रियाले निरन्तरता पाइरहेकै थियो।
यत्तिकै कोही मान्छे मेरो सिटमा आएर गजक्कले बस्यो। मेरा शरीरको एक भाग फेरि बोझिला भए। झ्यालबाट आँखा त्यो रित्तिएर भरिएको सिटतर्फ तन्काएँ। जहाँ एउटा अधबैँसे पुरुष बसेको थियो। काखमा भिर्ने झोला च्यापेको, जिन्स प्यान्ट भित्र सर्ट घुसारेको सर्टको कलर भने मैलो देखिन्थ्यो। मुख चलिरहेको थियो। पक्कै गुट्खा चपाइरहेको हुनुपर्छ। शरीरबाट पसिनाको गन्ध सासै फेर्न नसकिने गरी आइरहेको थियो।
मलाई एक्कासि उकुसमुकुस भयो। केही बेर पहिले त्यहाँ कोमल कमल जस्तै सुरक्षा थिई जसको सुगन्ध मलाई पूरै फोक्सोभरि लैजान मन लागिरहेको थियो। तर अहिले यहाँ कोही जवान व्यक्ति छ जसको छुवाई कुनै तातो ढुङ्गामा छाला घोटे जस्तो लाग्छ, जसको गन्धले पूरै नाक बिझाइरहेछ।
'यसो हट्नुस् त भाइ,' उसले मुखभरि गुट्खा भरिएको आवाजले मलाई भन्यो। मैले उसको इसारा बुझेँ र सिट पछाडि आफूलाई सारेँ।
उसले बसको झ्यालबाट पिच्च थुक्यो। मलाई औडाहा भयो। एक त केही बेरको मिठो यात्रा बिथोलिएको थियो। त्यसैमाथि यो मान्छेको गन्ध, मनमनै बस छिटो चले हुन्थ्यो भनिरहेँ। त्यही पनि सकेसम्म गीत र झ्याल बाहिरको दृश्यको सहायताले आफूलाई पूर्ववत् अवस्थामै ल्याउने कोसिस गरेँ।
अर्को चोकमा बस घ्याच्च रोकियो। मेरो छेउको मान्छे झर्यो। मलाई एक छिन त विश्वास नै लागेन।
हेरेँ, छेउको सिट खाली भइसकेको थियो। बल्ल आनन्द मिल्यो। आफूलाई पाए जस्तो केही शान्ति भेटाए जस्तो लाग्यो। आफ्नै शरीरलाई हेरे कुनै बोझिलो बस्तुबाट हटे जस्तो हलुको भएको थियो।
मैले लामो सास फेरेँ। एक्लो सिटमा वरिपरिको कुनै वास्ता भएन, झ्याल बाहिर नियाल्न थालेँ।
पृथ्वी संसारका मानिसहरू आफ्नै अनेक संसार बनाएर भागिरहेछन् आफैसँग। बसभित्र बसेर भाग्नेहरूलाई एकै छिन छाडेर बाहिर भइरहेका सांसारिक जगतका तँछाडमछाड माथि घोत्लिन थाल्छु। जहाँ बससँगै हिँडिरहेका छन् घरहरू। घर चलाउन हिँडिरहेका छन् मान्छेहरू, मान्छेलाई मान्छे बनाउन दौडिरहेका छन् उनीहरूका सपनाहरू। रुखका पातसँगै रुख पनि चलिरहेछन्। ती चलिरहेका रुखका हाँगामा चराका बच्चाबच्ची आफ्ना चुच्चोले एक अर्कासँग चलिरहेछन्। यहाँ मान्छे बोक्ने बस चल्नु त केही निश्चित दूरीको लागि न हो।
मान्छेको वश चल्यो भने जीवनभरको यात्रा गरेर पनि कुनै बस्तुप्रतिको अभिलाषामा कहाँ रोकिन्छ र? तिल जत्रो यो पृथ्वी नामको धर्ती छ। यहाँ बस्नेहरूको भने सारा ब्रह्माण्डभन्दा ठुलो भोक छ। केका लागि? जीवनभरको भागाभागले अन्त्यमा के दिन्छ आखिर? एउटा स्थिर मृत्यु! एउटा चिर शान्ति! एउटा म्याराथनको अन्त्य! उसो भए किन चल्दै छन् त बससँगै ती भाव शून्य, आत्मा शून्य, चेतना शून्य निर्जीव वस्तुहरू पनि? धत्! ती त मेरा आँखाका छारो पो हुन्। तब जीवन केको छारो हो त?
केही बेर अघि चञ्चल भएको मेरो मन, प्राप्तिको बिन्दुमा नपुगी टुटेको भावना अनि भर्खरै कसैको सम्पूर्ण तह शरीरको घृणापछि म अहिले कसरी यति गम्भीर कुरा सोच्दै छु?
के हाम्रा विचार एउटै बसको एउटै सिटको यात्रामा पनि अलग्गिएर नयाँ-नयाँ परिकार बनेर पस्किन सक्ने रहेछन्? होइन भने मेरा यी विचारका परिधिहरूले के परिभाषित गर्न खोज्दै छन्?
के म पानी हो? भाँडो बसेअनुसार बनिदिने? उसो भए के म अगि नै सुरक्षासँग हुँदा चञ्चलता वा प्रेमको भाँडोमा थिएँ अनि भर्खर अधबैँसे मान्छेसँग हुँदा घृणाको भाँडोमा र अहिले एक्लै हुँदा गम्भीरताको भाँडोमा?
हत्तेरिका! कति धेरै प्रश्न उब्जिन्छ यो मनमा। हुन त खाली भाँडो धेरै बज्छ, उसले खाली गरेर गएको सिटले मेरो मस्तिष्क रित्ताइदिएको हो र यति धेरै सवाल जवाफ गरिरहेको छ?
यो छेउको रित्तो सिट पनि अब सुरक्षाको स्पर्शको पनि रहेन। संस्मरणसम्ममा हुन सक्थ्यो। भर्खरैको मान्छेले त्यसलाई तहस नहस गरेर ओर्लेको छ।
म जबरजस्ती आँखा चिम्लन्छु। केही सोच्दिनँ भन्ने सोच्छु। म पुरुष भित्रको पुरुषार्थलाई दबाइदिन्छु अनि त्यो सांसारिक वैराग्यतालाई पनि भगाइदिन्छु। अब जेसुकै होस्, बस रोकियोस् या चलोस्, कोही चढोस् या झरोस्, म मेरो गन्तव्यमा नपुगुन्जेल निदाइदिन्छु भनेर मुठी कसेर प्रण गर्छु।
बस रोकिन्छ, चल्छ। एकैछिनमा सिटबाट केही पर धकेलिए जस्तो हुन्छु। बिस्तारै निदाउँछु। अहिले भने हावामा एउटा मिठास पर्याप्त छ। जसलाई म मज्जाले तानेर फोक्सोसम्मै पुर्याउन सक्छु। अहो! सुरक्षाको सुगन्ध अझै नाकले सम्झिँदै रहेछ तर अझै मिठोसँग।
शरीरको एक भाग फेरि तातिन लाग्छ।
चल्दा चल्दैको बस रोकिन्छ।
'ल ओर्लने ठाउँ आइपुग्यो है,' कन्डक्टर कराउँछ।
म बिस्तारै आँखा खोल्छु, कोही मेरो सिटमा बसेको रहेछ।
सुटुक्क हेर्छु। अहो! ऊ त सुरक्षाभन्दा पनि राम्री रहिछ। ऊ झर्ने तयारी गर्दै थिई।
केही बोल्न मन हुन्छ तर ऊ उठिसकेकी थिई। मलाई जबरजस्ती निदाउने प्रयत्न गरेकोमा आफैसँग पछुतो लाग्छ।
ढोकाबाट झर्नै लाग्दा उसलाई फेरि हेर्छु, सुरक्षाको सम्झना धमिलो हुँदै जान्छ।