सपनाको सहर
सपनाको जमात
सपनाको गन्तव्य
यो काठमाडौँ हो !
देशकै राजधानी भएर होला
बाक्लो जनसङ्ख्या छ
बाक्लै बस्ती छ
यो काठमाडौँ हो !
आफ्नो सपना बोकेर
सहर पसेको छ एउटा मान्छे
खोज्दै छ आफ्नो सपना गल्ली-गल्ली धाएर
भेटिन्छन् पनि हरेक गल्लीमा
म्यानपावर र विदेशी भाषा पढाइ हुने साइन बोर्डहरू
यो काठमाडौँ हो!
व्यस्त सहर र सपनाको जमातमा
साँच्चै उसले आफ्नो सपना भेट्टायो, परिस्थिति भेट्टायो
अन्ततः गन्तव्य भेट्टायो
यो काठमाडौँ हो !
दैनिक देखिन्छन् आकाशमा कैयौँ जहाजहरू
जसमा कोही सपना त कोही परिस्थितिले
उडिरहेछन् विदेशतिर
यो काठमाडौँ हो!