म समीर दाहाल लामो समय युरोप बसेर सम्बन्धित देशको नियमअनुसार पिआर प्राप्त गरेँ। मेरो निम्ति त्यो फगत पिआर मात्र थिएन। जीवनको सबैभन्दा ठूलो सफलता थियो। पिआर प्राप्त गरेको दिन आफूलाई संसारको भाग्यमानी र खुसी मानिसहरूमध्ये एक हुँ भन्ने लागेको थियो।
पिआर हातमा परेको दिन सबैभन्दा पहिला घरमा आमालाई फोन गरेर सुनाएको थिएँ।
'आमा! जसलाई सफलताको मानक मानेर वर्षौं पहिले घर छोडेको थिएँ, आज त्यो सफलता प्राप्त गरेँ।'
आमाले भन्नुभयो- खुसी लाग्यो छोरा अब घर कैले आउँछस् त?
आमाले मेरो सफलतालाई उस्तो 'सेलिब्रेट' गरेझैं लागेन।
आमाले मेरो कुरालाई 'मिनिमाइज' गरेझैं लाग्यो।
मैले जुन कुरालाई सफलता र खुसी मानेँ, आमाको निम्ति त्यो छोराको सफलतासँग जोडिएर आएको खुसीबाहेक अरू केही थिएन।
आमाको निम्ति पिआरभन्दा ठूलो सफलता र खुसी भनेको छोरो आफ्नो आँखा अगाडि हुनुमा थियो।
'हजुरबुवा बिरामी हुनुहुन्छ। मिल्छ भने आज, भोलिमा नै छुट्टी मिलाएर आइज। हजुरबुवाले तेरो नाम लिएर बोलाइरहनु हुन्छ।'
'म केही समयपछि आउँछु आमा।'
'तैंले आउँछु भन्न थालेको थुप्रै वर्ष भयो बाबु।'
'यो पटक भने अवश्य आउँछु। सधैंको झैं यसपालि पनि आमालाई ढाँटें।'
मैले घर फर्कने मिति एकपछि अर्को गरी सार्दै गएँ।
केही महिनापछि हजुरबुवा बित्नुभयो। म फर्कने मितिभन्दा अघि हजुरबाको मृत्युको समय आयो। फेरि पनि म घर गइनँ। मेरो निम्ति घर र बुढो भएका हजुरबुवाको मृत्युको शोकभन्दा आफ्नो काम प्यारो भयो। खबर सुनेपछि औपचारिकताको निम्ति दुईचार थोपा आँसु खलासीटोपले, केही छाक नुन छोडेँ। हजुरबुवाको अन्तिम इच्छा मृत्युअघि एकपटक मेरो अनुहार हेर्ने थियो। मलाई स्पर्श गर्ने थियो। मैले हजुरबुवालाई स्पर्श गर्ने मौका दिइनँ।
आफ्नै हातले तातेताते गरेर हुर्काएको नातिलाई मृत्युअघि केही कुरा भन्न मन थियो होला। त्यो अवसर गुमाएकोमा मलाई कुनै ग्लानि महसुस भएन। मलाई लाग्यो संसारमा जन्मेपछि मृत्यु शाश्वत सत्य हो। अरू जसरी अस्ताए मेरो हजुरबुवा पनि उसैगरी अस्ताउनु भयो। भोलि हाामी पनि एकदिन त्यसैगरी जानेछौं। मैले मृत्युलाई यथार्थता भित्रको व्यावहारिक पक्षबाट हेर्नुको सट्टा विज्ञानको नियम अनुसार तर्कमा राखेर हेरेँ।
हजुरबुवा बितेको वर्षौंपछि सपनीमा घर देखेँ!
हिँउदको पारिलो घाममा आमाले आँगनमा बिस्कुन सुकाइरहनु भएको थियो।
एक छेउबाट एक जोडी भँगेराले बिस्कुन चारोको रूपमा टिपिरहेका थिए। म त्यही चारोको खोजीमा दशकअघि युरोप आएको थिएँ।
आमाकै छेउमा बाले हलो बनाइरहनु भएको थियो।
बारीमा पहेँलै फुलेको तोरी बारी देखेँ।
आँगनको डिलमा अम्बा पाकिरहेका थिए। घरदेखि अलि पर निबुवा र भोगटे लटरम्म फलेका थिए। घरमुनि केराको घरि। आँगननको डिलमा रंगी-विरंगी फूलहरू फुलेका थिए। भमराहरू फूलको रसमा झुम्मिइरहेका, पुतलीहरू फूलको पातहरूमा पखेँटा फिजाउँदै नाचिरहेका थिए।
बार्दलीमा मौरीले तोरी बारीबाट फूलको रस ल्याएर घारमा मह जम्मा गर्दै गरेको दृश्य देखेँ। हजुरआमाले भर्खर ब्याएको बाख्रालाई पिठो पकाएर खोले खुवाउँदै गरेको देखेँ।
बहिनीले बाख्राको साना पाठाहरू बोकेर डुलिरहेको देखेँ।
छिमेकी दाइले हलो र जुवा काँधमा बोकेर हलगोरु लिएर बारीमा जाँदै गरेको देखेँ। डोकोभरी मल बोकेर दाइको पछिपछि जाँदै गरेकी छिमेकि भाउजूलाई देखेँ।
हिउँदे घामले दसैंको संकेत गरिरहेको थियो। खेतबारीको काम एक चरण सकिएपछि आगमन हुने वडादसैंको रौनक गाउँभर फैलिएको थियो। बारीमा कोदोको बालाहरू र खेतमा धानका झुत्ताहरू लटरम्म झुलेका थिए। रातभर सपनीमा गाउँघर डुलेर बिहान अबेर बिउँझिएँ। एकछिन अघिसम्म सपनीमा देखेका ती सुन्दर दृश्यहरूले मलाई पछ्याउन छोडेन। मलाई एकाएक घरले निम्ता गरेको आभाष भयो। मलाई आफूले मेहनत र पसिनाले सिर्जित गरेर वर्षौं लगाएर प्राप्त गरेको पिआरले दिएको खुसीको घेरा पहिलो पटक केही साँघुरो भएकोझैँ लाग्यो।
मैले घर जानको निम्ति बिछ्यौनाबाट नै अनलाइन टिकट बुक गरेँ। सबै कामबाट बिदा लिएर सामान प्याक गर्न थालेँ। किनमेलको निम्ति मसँग कुनै त्यस्तो बहुमूल्य चिज थिएन, जसले परिवारमा खुसी ल्याओस्। म स्वयं परिवारको खुसीको स्रोत थिएँ।
घरमा आफू आउने कुराको जानकारी नदिई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएँ। बाटो बिराएर अपरिचित ठाउँ पुगेझैं लाग्यो। आफ्नै देशको माटोले किन आइस् कान्छा भनेर प्रश्न गरेझैं लाग्यो। एयरपोर्टमा ट्याक्सी बुक गरेर निस्कँदै गर्दा, बाटोभरी कुनै बिरानो गाउँ जान लागेको महसुस भइरह्यो।
घरदेखि केहीबर दोबाटोमा ओर्लिएँ। परैबाट आफ्नो जन्मघर धित मरून्जेल एकोहोरो हेरिरहेँ। पाइलाअघि सर्न मानेनन्, कुनै अपरिचित ठाउँमा अर्को गाउँको भुस्याहा कुकुर जानलाई हिचकिचाहट गरेझैं भइरह्यो।
घरको आँगनमा पुगेर साँझ बास बस्न आएको बटुवा जसरी उभिएँ। घरको झ्याल, ढोका, पर्खाल, छाना र भित्ताहरूले रिसाएर झाप्पड हानेझैं लाग्यो। जसरी बच्चालाई अभिभावकले छोडेर कतै गएर बेलुका घर फर्केपछि गुनासो गरेर पिट्छन्। मैले त्यो पिटाइले आफ्नो गल्ती क्रमशः क्षयीकरण भएको महसुस गरेँ। अझै हिर्काए हुन्थ्यो नि! भने झैं लागिरह्यो। आमाले रातो माटोले पोतेको दैलोमा रातो पासपोर्ट हातमा लिएर पिँढीमा टुसुक्क बसेँ। धेरैबेरसम्म पासपोर्ट र घरको दैलो पालैपालो हेरिरहेँ।
वर्षौं पहिले यही ढोकाबाट बिदा भएर निस्कँदा भर्खर दाह्री जुंगा पलाउन सुरू गरेका थिए। फर्कंदा दाह्री जुंगा बाक्लिए, शरीरमा मासु थपिए तर मेरो कारणले परिवारमा खासै गुणात्मक रूपमा खुसीहरू थपिएनन्। बेलुकी खाना खाने समयमा सबै जना जम्मा हुनुभयो। खाना खाइसकेपछि वर्षौं पहिला जसरी सल्लाह र कुराकानीहरू हुन्थे त्यसरी भएनन्।
केबल कुराको निम्ति कुराहरू गरिए। सायद म परिवारको सदस्य कम पाहुना जस्तो ज्यादा देखिए। पाहुनासँग गरिने कुराको सीमितता हुन्छन्। घर भित्रिएको पहिलो रात कुराहरू कम र गफगाफ ज्यादा भए।
घरको मटानमा सुत्नको निम्ति उक्लिएँ। जहाँ सुतेर मैले बाल्यकालमा धेरै रंगीन सपनाहरू देखेको थिएँ। तिनै खुट्टे खाट, तिनै दलिन, निदाल, डुंडाल, र थामहरू ढुंगाको छाना, रातोमाटोले लिपेको भित्ताहरूबाट माटोको मीठो सुगन्ध आइरहेको थियो।
मैले यिनै बिस्तारामा सुतेर आकाशका ताराहरू गनेर र पूर्णिमामा जुन हेरेर कयौं रात अनिँदो बसेको थिएँ। आकाशको ताराहरू देखेर हजुरबुबालाई सम्झिएँ। हजुरबुबा भन्नुहुन्थ्यो- मान्छे मरेपछि आकाशमा जान्छ र तारा भएर चम्किरहन्छ। सधैं सुत्ने बेलामा श्लोकपछि हजुरबुबाले भनेका कुराहरू सम्झनामा ताजा भएर आए।
घरको मटानबाट देखिने खोलाको बगर देखाउँदै भन्नुहुन्थ्यो- राम्रोसँग पढिनस् भने त्यही बगरको ढुंगाको गिटी कुटेर खानुपर्छ। हजुरबुबालाई तिनै बगरका ढुंगामाथि लगेर जलाउँदै गर्दा हजुरबुबाले मेरो निम्ति बगरका ढुंगाहरूलाई केही भन्नुभयो कि भएन होला?
बिहान घामको किरण आँखामा परेपछि बिउँझिएँ।
धनबहादुर दाइ आँगनमा घाम तापिरहनु भएको रहेछ। धनबहादुर दाइको उमेर र बैंस जीवित हुँदो हो त! बिहानैदेखि खेतबारीको काममा व्यस्त हुनुहुन्थ्यो। धनबहादुर दाइ हाम्रो छिमेकी हुनुहुन्छ। उहाँको पूरा नाम धनबहादुर श्रेष्ठ हो। उहाँलाई चिन्ने चारकोश वरपरका मानिसहरू सबैले धनबहादुर दाइ नामले सम्बोधन गर्छन्।
एक दशकअघि म विदेश उड्दा धनबहादुर दाइ लक्का जवान देखिनु हुन्थ्यो। म उड्ने दिन बिदा माग्न जाँदा धनबहादुर दाइ गैरा बारीमा मकै गोड्दै हुनुहुन्थ्यो। उमेर सँगसँगै कपालहरू फुलेर सेतै भएछन्। बाहरूले धनबहादुर दाइ भनेको सुनेर, बच्चा बेलामा मैले पनि धेरैपटक धनबहादुर दाइ भनेर सम्बोधन गरेको छु।
अलिपछि बुझ्ने भएपछि हजुरबुवा भन्न थाले। हजुरबुवाको उमेरको धनबहादुर दाइसँग मेरो रमाइलो बाल्यकाल जोडिएको छ। गोठालो जाँदा ऐंसेलु, अमला, आँप लगायत जंगलमा पाइने सिजन अनुसारको फलफूल र कन्दमूल टिपेर दिनुहुन्थ्यो। धनबहादुर दाइ हाम्रो छिमेकी सँगसँगै हाम्रो अभिभावक पनि हुनुहुन्छ।
घनबहादुर दाइको घर र हाम्रो घर केही मिटरको दुरीको छ। लगेज गुडाउँदै धनबहादुर दाइको घर आँगन भएर निस्किँदै गर्दा हात हल्लाउँदै छिट्टै आइज है कान्छा भन्नुभएको अस्ति जस्तो लाग्छ।
दश वर्षको समय भनेको एउटा युग रहेछ। धनबहादुर दाइलाई बुढ्यौली लागेसँगै ज्यानमा सुगर र प्रेसर थपिएपछि थला पर्नुभएछ। दश वर्षपछि भेट्दा मलाई राम्रोसँग ठम्याउन सक्नुभएन। केहीबेरको कुराकानीपछि मलाई मुस्किलले चिन्नुभयो। सामान्य हिँड्डुल गर्न सक्ने धनबहादुर दाइ, आफू बुढो भएको कुरा स्वीकार्नु हुन्न।
'बाहिर-भित्र आफै गर्न सक्छु। पोहोर असारमा धान रोपाइँको दिन धानको बीउ उखल्दै गर्दा एक्कासि खेतको गरामा ढलेपछि लौरोको सहारा बिना उभिन नसक्ने भए कान्छा।'
धनबहादुर दाइको दुई छोरा, तीन छोरी छन्। दर्जनको हाराहारीमा नाति-नातिना छन्। पनाति दुई भए, पनातिनी एउटी छिन्, निकै खुसी हुँदै सुनाउनु भयो। सुनाउँदै गर्दै धनबहादुर दाइका आँखामा हर्षका आँसु टिलपिल भए।
रहर नलागेर हो वा परिस्थिति, परिबन्धमा नपरेर हो, धनबहादुर दाइको छोरा, नाति, नातिनिहरू कोही पनि बिदेशिएका छैनन्।
बिहानको खाना खाएर सधैं सुस्ताउने घर मुनिको बाँसको झ्याङमा गएर टुसुक्क बसेँ। चराको चिरबिर र नजिकै खोलामा बगेको पानीको कलकल आवाजले मन्त्रमुग्ध बनायो। मसँगै हुर्किएका चिलाउने, कटुस, बडहर, साल, सल्ला र आँपका रूखहरू मसँगै परिपक्व भएर अँगालो भरका भएछन्।
आमासँग नयाँ घर बनाउने सल्लाह गर्दैगर्दा यिनले नसुन्ने गरी यिनकै कुराहरू कयौंपटक गरेका थियौं। चिलाउनेको दलिन, सालको झ्यालढोका र कटुसको सराबारा एउटा घर बनाउन पुग्ने भएछन्। मैले आफू तृप्त हुन्जेल तिनलाई हेरेिरहेँ, स्पर्श गरेँ, केहीलाई अँगालो मारेर निकैबेर मौन संवाद गरिरहेँ।
दिनभर खोला, बगरका ढुंगाहरू र खेत बारीमा आली र काल्लाहरू सँगको कुराकानीमा बिताएँ। यिनै खेतबारीले मलाई हुर्काएको थियो। यही माटोमा उब्जिएको अन्न खाएर मेरा पाखुरा लागे। उभिन सक्ने भएँ, हिँड्न सक्ने भएको केही समयमा यिनैलाई छोडेर उडेको थिएँ।
मैले कुराकानीको अन्तिममा सबैसँग माफी पनि मागेँ। अबको केही समयमा फेरि वर्षौंको निम्ति उडान भर्नु त छँदैछ। छुट्टिने कुरा सम्झँदै गर्दा थोरै भावुक भएँ, मौन संवादमा पनि बेलाबेलामा गला अवरूद्ध भएझैं भइरह्यो। खेतबारी, बोट बिरूवा, खोला, खोल्सा र बगरका ढुंगाहरूले फेरि विदेश किन जान्छस् कान्छा भनेझैं लाग्यो।
मेरो यो संवाद यात्रा अझै केही दिन चल्नेछ।
गोठालो लागेका वनपाखामा उसैगरी डुल्नुछ, जसरी बाल्यकालमा गाईगोरु लिएर डुलिथ्यो। फेरि एक पटक बाल्यकालमा फर्कनु छ, जहाँ कुनै भविष्यको चिन्ता हुन्नथ्यो। मलाई एक पटक भविष्यको चिन्ता बेगर वर्तमानमा जिउनु छ। गट्टा खेल्ने चौर, चिप्लेटी खेल्ने कालो ढुंगा, झुन्डिएर खेलेका वरपिपलका हाँगाहरू स्पर्श गर्नुछ। जसले मेरो बाल्यकाल रमाइलो र सम्झन योग्य बनाउन सहयोग गरेका छन्।
मेरा भोक मेटाउन सहयोग गर्ने अमला, भलायो, डुम्री र आँपको बोटहरूलाई धन्यवाद भन्नुछ। तिर्खा मेटाउन सहयोग गर्ने कुवा र पँधेराहरूलाई नमन गर्नुछ।
वडा दसैंको सुरूआत भयो जमरा राखियो। वर्षौंपछिको दसैं मेरो निम्ति विशेष उत्सव नै थियो। खसी काटियो, टीकाटालो लगाइयो। आशीर्वादमा सबैले विवाहको कामना गरे। आमाले सबैको सामु विवाहको निम्ति शपथ नै खुवाउनु भयो। मैले नाइँ भन्नको निम्ति कुनै गतिलो बहाना भेट्टाउन सकिनँ। परिवार, सबैको चाहना अनुसार मैले प्रस्ताव स्वीकार गरेँ। सबैले खुसीयालीमा थप्पडी बजाए।
दसैंको टीकाको भोलिपल्ट दिउँसो एक्कासि छिमेकमा खैलाबैला मच्चियो धनबहादुर दाइलाई बेथाले च्यापेछ। घरभरि पाहुना रमझमको बीच धनबहादुर दाइ अचेत हुनुभयो। अस्पताल लैजाने कुरा चल्यो। तर धनबहादुर दाइको अन्तिम इच्छा घरमा नै मर्ने थियो। डाक्टरको सल्लाहमा नै उहाँलाई केही दिनअघि मात्र अस्पतालबाट घर ल्याइएको थियो।
कस्तो संयोग! घरभरि आफन्त जम्मा भएको समयमा धनबहादुर दाइले प्राण त्याग्दै थिए। आँगनभरि छर-छिमेक समाज भेला भए। पुरोहित बोलाएर गाई दानसहित दश दान गरियो। पुरोहितले गीता पाठ गर्दै गए धनबहादुर दाइलाई बेथाले च्याप्दै लग्यो। दुई भाइ छोरा एउटाले टाउको काखमा राख्यो अर्कोले गोडा, श्रीमतीले पानी खुवाइन्। छोरीहरू दायाँबायाँ नाति, नातिना, पनाति, पनातिनी र छर-छिमेकले समेत घेरिएर धनबहादुर दाइले अन्तिम सास लिँदै हुनुहुन्थ्यो। पुरोहितले नारायण भन्न सुझाए, सबैले एकै स्वरमा नारायण! नारायण!! नारायण!!! भन्दै गए।
गीता पाठ गरेर सकिनेबित्तिकै बुढाले अन्तिम पल्ट लामो सास लिए र बिस्तारै छोडे त्यसपछि सास लिएनन्।
धनबहादुर दाइले जीवनप्रति कहिल्यै कुनै कुराको गुनासो गरेको सुनिएन। धन कमाउने र सुखको निम्ति जन्मथलो छोडेनन्। मध्यम परिवारमा हुर्केका धनबहादुर दाइले आफ्नो इच्छा र चाहनाहरूलाई फैलन दिएनन् जे जति छ त्यसैमा सन्तोष मानिरहे। त्यसैले होला उनको मृत्यु यति भव्य भयो।
घाट लगेर चितामा चढाएर जलाउँदै गर्दा धनबहादुर दाइले समाजको निम्ति गरेको योगदानको निकै चर्चा भयो। कहिल्यै अरूलाई अप्ठ्यारो पार्ने काम गरेनन्, कहिल्यै अरूलाई दु:ख दिने काम गरेनन्। धनबहादुर दाइको कामको भन्दा धेरै उनको रहस्यमय मृत्युको चर्चा भयो। मृत्यु होस् त धनबहादुर दाइको जस्तो। मलामबाट घर फर्किएपछि सबैको घरमा जस्तै बेलुकी हाम्रो घरमा पनि धनबहादुर दाइको मृत्युको बारेमा चर्चा भयो।
खाना खाइसकेपछि गोबरले चुलो लोटाएर पोत्दै गर्दा आमाले भन्नुभयो- मरण होस् त धनबहादुर दाइको जस्तो! धनबहादुर दाइ पक्कै स्वर्ग जानुभयो।
केहीबेरको कुराकानी पश्चात् म सुत्नको निम्ति मटानमा उक्लिएँ। एकछिनअघि आमाले धनबहादुर दाइ स्वर्ग जानुभयो भनेको कुरा सम्झिएँ। आमाको अनुमानमा धनबहादुर दाइ स्वर्ग जानुको कारण उनले जीवनमा गरेको असल कर्मको कारण मात्र थिएन। घरभरि पाहुना, आफन्त र छर छिमेकको बीचमा घेरिएर आफ्नै छोराको काखमा प्राण त्याग्नु पनि थियो। छिमेकमा घटेको त्यो मृत्युको घटनाले परिवारमा मृत्युबारे चिन्तन पैदा गर्यो।
मैले जस्तै आमाले पनि आफ्नो मृत्युबारे विभिन्न अनुमान र आकलन गर्नुभयो होला।
जीवन जतिसुकै कष्टकर बिते पनि मृत्यु भने सहज होस् भन्ने आमाको अब्यक्त चाहना म राम्ररी बुझ्न सक्थेँ। आमालाई स्वर्ग पठाउने वा नर्क पठाउने भन्ने कुराको जिम्मेवारी एकाएक मेरो काँधमा आइपुग्यो।
छोराले विवाह गरेर घरमै बसोबास गरोस्, नाति-नातिनी आफ्नै हातले हुर्काउने रहर पूरा गर्न पाइयोस् र जीवनको अन्तिम क्षणमा आफ्नै आँखा अगाडि देखेर मर्न पाइयोस्। उहाँको निम्ति धर्तीको एकमात्र स्वर्ग त्यही हो। आमाले भन्न चाहेको र भन्न नसकेको कुराहरू यिनै थिए।
म यतिबेला पुन:विदेश जाने वा युरोपको पिआर त्यागेर आमालाई धर्तीको स्वर्ग र मृत्युपछिको त्यो काल्पनिक स्वर्गको बाटो तय गर्नको निम्ति सहयोगीको भूमिका निर्वाह गर्ने भन्ने बारेमा कुनै निर्णय लिन सकिरहेको छैन। मेरो छुट्टीको आधा समय सकियो। घरमा विवाहको कुरा चल्दै गर्दा म जीवनको आगामी दिनहरूबारे निर्णय लिन सकिरहेको छैन।
पहिलो पटक युरोप मेरो निम्ति बाध्यता र रहर बराबर जस्तो थियो। यो पटकको यात्रा मेरा निम्ति रहर, बाध्यताभन्दा पनि पारिवारिक कर्तव्यबोध झन् सघन भएर आयो। त्यो भव्य मानव निर्मित महलहरू कहिल्यै ननिभ्ने बह्रमासे झिलिमिली बिजुली, विशाल भौतिक संरचना, सुन्दरता र वैभवताले भरिएको सुन्दर र सफा सहर, पहिलो पटक युरोप पुग्दा मलाई लागेको थियो आखिर स्वर्ग पनि त यस्तै होला।
अचेल स्वर्ग र नर्क प्रतिको मेरो बुझाइमा बिल्कुलै भिन्नता आएको छ। उमेरको परिपक्वताले हो वा पारिबन्धमा परेर हो। अबको युरोप बसाइ मेरो निम्ति पहिले जस्तो सहज र आनन्दित हुनेछैन।
मैले आफ्नो र हुनेवाला सन्तानको भविष्य निर्माणको निम्ति बुढा बा-आमाको बाँकी रहेको एक तिहाइ जिन्दगी खल्लो र बेसहारा बनाउँदै छु भन्ने कुराको गहिरो आत्मबोध भइरहेको छ।
आफ्नो घर-परिवार छोडेर खुसी र सुख खोज्न हिँडेको मान्छेले केही अन्जुली खुसी भेट्न सक्ला तर आफू तृप्त हुन्जेल खुसीहरू समेट्न नसक्ने रहेछ। घर छोडेर कोही निकै खुसी छु भन्छ भने, वास्तवमा उसले खुसीको परिभाषा नै बुझेको नहुने रहेछ। मलाई यतिबेला युरोपको पिआर निकै फिक्का लागेर आयो।